गर्मी छल्न बाँके बर्दियाका पाँच पालिकाका विद्यालयमा पठनपाठन स्थगन



बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर उत्पन्न भई अध्ययन गर्न र अध्यापन गराउन असहजता भएको भन्दै बाँकेका दुई र बर्दियाका तीन वटा पालिकाले विद्यालय बन्दको निर्णय गरेका छन् । उनीहरूले सार्वजनिक बिदाबाहेक थप तीन दिन विद्यालयको पठनपाठन स्थगन गर्दै बिदा दिएका हुन् ।


बाँके ।

केही दिनयता तराईका जिल्लामा बढेको गर्मी छल्ल बाँके बर्दियाका केही पालिकाहरूले विद्यालयमा पठनपाठन स्थगन गरेका छन् । गर्मीका कारण बाँकेका दुई र बर्दियाका तीन पालिकाले केही दिनका लागि विद्यालय बन्द गरेर पठनपाठन स्थगन गर्ने निर्णय गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक गर्मीसँगै तातो हावा (लु) चलेकाले जेठ १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद व्यवस्थापनको बैठकले गर्मी बिदा गर्ने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले बताए ।

केही दिनयता नेपालगन्जको तापक्रम ४० डिग्रीभन्दा बढी हुने गरेको छ गर्मी अझै बढ्ने पूर्वानुमान गरिएको छ । गर्मीसँगै ‘लु’ चल्दा विद्यार्थीसँगै नागरिकको जनजिवन प्रभावित भइरहेको छ ।

कोहलपुर नगरपालिकाले समेत सोमबार एक सूचना जारी गरेर १८ गतेसम्म गर्मीका कारण विद्यालयमा पठनपाठन स्थगन गरिएको जनाएको छ । नगरपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख उपसचिव रामबहादुर हमालले बढ्दो गर्मीका कारण तीन दिन विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरिएको जानकारी दिए ।

‘मौसमी प्रतिकूलता (बढ्दो गर्मी) को कारण मिति २०८१/०२/१६ देखि ऐ. १८ गतेसम्म तीन दिनको लागि शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने यस कार्यालयको मिति २०८१/०२/१४ मा निर्णय भएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन अनुरोध छ’ शिक्षा तथा खेलकूद शाखाद्वारा जारी सूचना भनिएको छ ।

अध्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर उत्पन्न भई अध्ययन गर्न र अध्यापन गराउन असहजता भएकोले बर्दियाका तीन पालिकाले समेत विद्यालयमा बिदा दिएका छन् । बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिकाले गर्मीको कारण पालिकाभित्रका सबै विद्यालयमा बिदा दिएका हुन् । तीनवटै नगरपालिकाले जेठ १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

बढ्दो गर्मीका कारण विद्यालय जान र आउन समेत समस्या भइरहेको बैजनाथ गाउँपालिकाका विद्यार्थी अमृत रोकायले बताए । ‘दिनको समयमा कक्षाकोठामा टिनको छानामुनी बसेर पढ्न त कती समस्या छ’ उनले भने, ‘घरबाट विद्यालय आउन र बिदा भएपछि घर जान समेत गर्मीले गर्दा गाह्रो छ ।’

अत्यधिक गर्मीले बाहिर काम गरेर गुजारा चलाउनेलाई धेरै प्रभाव पारेको छ । गर्मीले गर्दा नेपालगन्ज, कोहलपुर, गुलरिया लगायतका प्रमुख शहरमा दिउँसो मानिसहरूको चहलपहल न्यून हुने गरेको छ । स्वास्थ्यकर्मीले पनि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र पानीलगायत झोलिलो खानेकुरामा जोड गर्न आग्रह गरेका छन् ।

तापक्रम बढ्छ सतर्क रहनु

बाँकेसहित तराईका जिल्लाहरूमा तातो हावा चल्ने चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनअनुसार आज मंगलबारसम्म तराईका जिल्लाहरूमा तातो हावा चल्ने भएकाले सतर्क रहन भनेको
हो ।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम बढेर ४० डिग्री वा सोभन्दा बढीसम्म पुगेको जनाउँदै त्यो क्रम थप बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

पश्चिम तराईको तुलनामा पूर्वी तराईमा भने तातो हावाको जोखिम कम रहेको महाशाखाले जनाएको छ । महाशाखाले सोमबार पनि धनगढी र नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री भन्दा बढी मापन भएको जनाएको छ । ती ठाउँहरूमा न्यूनतम तापक्रम नै २९ डिग्रीभन्दा बढी मापन भएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टे बाउँडिने, चक्कर आउने, बेहोस् हुने, मांशपेशीहरू दुख्ने, वान्ता हुने जस्ता समस्या देखिने महाशाखाले जारी सूचनामा उल्लेख छ ।

त्यसबाट बँच्न घरभित्र बस्ने, धेरै बाहिर ननिस्कने, हलुका तथा सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त खान पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार