कोहलपुर ।
बर्दिया बाँसगढी नगरपालिका–४ को जनचेतना सामुदायिक वनमा बाघको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएपछि यस क्षेत्रका बासिन्दा आतंकित बनेका छन् । बाँसगढीको मुख्य बजारबाट करिब पाँच सय मिटर दूरीमा रहेको सो वन क्षेत्रमा पाटेबाघले मानिसलाई आक्रमण गरेपछि बजार क्षेत्रका जनतासमेत त्रसित छन् ।
बाघ आक्रमणबाट महिलाको मृत्यु भएपछि यतिबेला सो क्षेत्रका बासिन्दा त्रासमा रहेका छन् । सो क्षेत्र वरपरका मानिस रातभरि राम्रोसँग सुत्नसमेत नसकेको एक स्थानीयले बताए । सो क्षेत्रमा बाघ देखिएपछि बाँसगढीबाट बठुवा पढ्न जाने र बठूवातिरबाट बाँसगढी पढ्न आउने विद्यार्थीको पढाइसमेत प्रभावित भएको छ ।
सो क्षेत्रमा अहिले स्थानीय प्रशासनले आवागमनमा रोक लगाएको छ । चाँडोभन्दा चाँडो सो बाघ नियन्त्रणमा लिइदिन स्थानीयले सरोकारवाला निकायसँग आग्रह गरेका छन् । केटाकेटी बाघको त्रासले सुत्दै नसुतेको स्थानीय रमा रोकाले बताइन् । ‘हामी रातभरि सुतेका छैनौँ,’ उनले भनिन्, ‘बाघ घरमै आएर आक्रमण गर्ने हो कि भन्ने डरले रातभरि जाग्राम बसेका छौँ ।’ सो वन क्षेत्रको बाटो निकै चल्तीको बाटो हो ।
बाघको आक्रमणबाट बिहीबार बाँके बैजनाथ गाउँपालिका–८ हस्नापुरकी ३५ वर्षीया मनीषा रोकायको ज्यान गएको थियो । मृतक रोकाय बाँसगढी नगरपालिका–४ बठुवास्थित आफ्नी दिदी कैलाशपति थारूसँगै उनको घर जाने क्रममा बाघ आक्रमणमा परेकी हुन् । बाघ आक्रमणबाट महिलाको मृत्यु भएपछि बिहीबारै क्यामेरा ट्र्यापिङ गरेर बाघ खोज्ने काम सुरु गरिएको छ । बाघ सोही क्षेत्रमा भएको पत्ता लागेको छ ।
स्थानीयले बिहीबार बेलुकीसमेत सोही क्षेत्रमा बाघ देखेको बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले जानकारी दिए । ‘बिहीबार पनि स्थानीयले दुई पटक बाघ देखेछन्,’ वडाध्यक्ष बाँस्तोलाले भने, ‘सो क्षेत्रमा बच्चासहतिको बाघ भएको पनि मलाई स्थानीयले जानकारी दिएका छन् ।’ स्थानीयका अनुसार त्यहाँ देखिएको ठूलो पोथी बाघ हो ।
क्यामेरामा पनि बाघ देखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले क्यामेरामा पनि सो क्षेत्रमा बाघ देखिएको जानकारी दिए । ‘क्यामेरामा एउटा मात्र बाघ देखिएको छ,’ उनले भने, ‘त्यो बच्चासहितको बाघ हो कि होइन भन्ने कुरा अनुसन्धानपछि मात्र पत्ता लाग्ला ।’ उनले बच्चासहितको बाघ भए नियन्त्रणमा थप कठिनाइ हुनसक्ने बताए ।
आफूहरू बाघ नियन्त्रणको प्रयासमा रहे पनि कहिलेसम्म नियन्त्रणमा आउँछ भनेर यसै भन्न सकिने अवस्था नभएको उनको भनाइ छ । ‘टोली परिचालन भइसकेको छ,’ उनले भने, ‘बाघ कता छ खोज्नुप¥यो ।’ उनले क्यामेरामा देखिएको बाघ पाटेबाघ नै भएको जानकारी दिए ।
बाघ नियन्त्रणका लागि शुक्रबार निकुञ्जबाट दुईवटा हात्तीसहितको प्राविधिक टोली सो क्षेत्रमा पठाइएको छ ।
‘दुईवटा हात्ती बेलुकी भासताल निकुञ्ज पोस्टसम्म आइपुगेका छन् भन्ने सुनेको छु,’ वडाध्यक्ष बाँस्तोलाले भने, ‘आज अबेर भएकाले भोलि (शनिबार)सम्म आइपुग्लान् ।’
बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलसहितको टोलीले शुक्रबार घटनास्थलको अवलोकन गरेको थियो । अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी खरेलले हात्ती आएपछि बाघ नियन्त्रणमा आउने आश्वासन स्थानीयलाई दिएका थिए ।
बाघ घटनास्थलनजिक घुमिरहेकाले अर्काे अप्रिय घटना नहोस्् भन्ने उद्देश्यले सजगता अपनाउन पनि प्रमुख जिल्ला अधिकारी खरेलले स्थानीयबासीलाई आग्रह गरेका छन् ।
पछिल्लो समय सामुदायिक वनमा बाघ आक्रमणको जोखिम बढेको छ । जिल्लास्थित अधिकांश सामुदायिक वनमा बाघ देखिन थालेकाले सर्वसाधारण त्रसित छन् । सामुदायिक वनसँग जोडिएको चल्ती बाटो हिँड्नसमेत सर्वसाधारण डराइरहेको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्