सिनेमा लेखक विकास सुवेदीसँग लामो फिल्म करिअरको अनुभव छ । उनले यसअघि ‘प्रकाश’ जस्ता चर्चित फिल्म लेखिसकेका छन् । उनले लेखेको पछिल्लो फिल्म ‘पुजार सार्की’ यही जेठ १० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । सामाजिक यथार्थवादी फिल्म निर्माणमा उनी केही समयदेखि सक्रिय रहेका छन् । उनको आगामी फिल्म ‘पुजार सार्की’ले जातीय विभेदविरुद्धको संघर्षको कथा बोलेको छ । फिल्मको टे«लर र गीतहरूले पाएको चर्चाबाट पनि यो अनुमान गर्न सकिन्छ । यतिबेला बजारमा यो सिनेमाको निकै चर्चा छ । जसमा चर्चित नायक प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह मुख्य भूमिकामा रहेका छन् । देशमा जातीय विभेदका ठूला ठूला बहस हुने गरेका छन् । नयाँ संविधान निर्माण भई कानुनले पनि विभेदलाई बर्जित गरेको छ । तर, आज पनि समाजमा केही सकारात्मक परिवर्तन देखा परे पनि, विभेद कायमै छ । यही विषयलाई समेटेर बनेको नेपाली सिनेमा ‘पुजार सार्की’ प्रदर्शनको क्रममा छ । सिनेमाका लेखक सुवेदीसँग फिल्म, लेखन शैली र ‘पुजार सार्की’को सन्दर्भमा रहेर मिसन संवाददाता गणेश रावतले गरेको कुराकानीको सम्पादित अंश ः
विकास सुबेदी,चलचित्र लेखक
० ‘पुजार सार्की’ कस्तो कथावस्तु समेटेर बनेको फिल्म हो ?
लामो समयदेखि जातीय छुवाछुतको बारेमा विभिन्न समुदायले भागेका कुराहरू फिल्ममा प्रस्तुत गरिएको छ । ‘पुजार सार्की’ ब्राह्मण कुलमा जन्मिएको पात्र हो । तर उसले कसरी समाजको तल्लो जात भनिने सार्की थरलाई स्वीकार गर्छ त्यो नै फिल्मको महत्वपूर्ण पक्ष हो । जात व्यवस्थाले हामीलाई कसरी विभाजन गरेको छ भन्ने विषयवस्तु समेटेर फिल्म बनेको छ । वर्ण व्यवस्थामा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र भनेर चार भागमा विभाजन गरिएको छ । त्यसमा ब्राह्मणलाई शिर, शुद्रलाई हात खुट्टा मान्ने गरिएको छ । सिनेमामा ‘पुजार सार्की’ले शिर र पाउलाई जोड्ने काम गरेको छ ।
० ‘पुजार सार्की’को विषयवस्तु अहिलेको समाज र समयसँग कत्तिको सान्दर्भिक छ ?
२०४६ सालको मूल पृष्ठभूमिमा चलचित्र लेखिएको छ । सिनेमा जातीय विभेदविरुद्ध हो । जातीय विभेदको शृङ्खला जहाँ हामीले मुलुकी ऐन निर्माणदेखि २०८१ सालसम्म आउँदा के–के कुराहरू भोग्नुपरेको छ । यसप्रति समाजको कस्तो मानसिकता छ भनेर उजागर गर्न र अहिलेको समग्र परिस्थितिलाई हेर्दा पनि यो विषय उत्तिकै सान्दर्भिक छ ।
० चलचित्रको नाम ‘पुजार सर्की’ राख्नुको कारण के ?
यो कसैको वास्तविक र एक जनाको मात्रै जीवन कथा होइन । ‘पुजार सार्की’ नाम राख्नुको एउटा रहस्य छ । मेरो गाउँमा छिमेकी ठूला बालाई ‘पुजार सार्की’ नामका रूपमा बोलाइन्थ्यो । त्यो नामलाई पहिला मैले गम्भीर रूपमा लिइनँ । पछि बुझ्दै जाँदा उहाँ पुजारी रहेको र उहाँले सार्की समुदायकी छोरी बिहे गरेका हुनाले घरै छोडी सार्की गाउँमा बस्नुपरेको रहेछ । मलाई लाग्यो, समाजको उच्च तह ब्राह्मण मान्छे कसरी सार्की बन्न तयार हुनुभयो होला ? दलित समुदायमा कसरी बस्नुभयो ? उहाँलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने अपहेलना मैले देखेको थिएँ । पूरा कथा उहाँको होइन तर बिम्ब मानेर चलचित्रको नाम ‘पुजार सार्की’मा उहाँको नाम सापटी लिएको हुँ ।
० पछिल्लो समय रोमान्टिक फिल्ममा बढी आकर्षण पाइन्छ तर तपाईंले जातीय मुद्दा उठाएर चलचित्र लेख्नुभएको छ । तपाईंको धारण यसमा के छ ?
हेर्नुस्, हामीले हाम्रो भाषाको नेपाली फिल्म त बनायौँ । तर, हाम्रो भाषाभित्र हाम्रो जीवन छुटिरहेको छ । म एउटा नेपाली फिल्म मेकरको हिसाबले हामीले नेपाली भाषामा मात्रै फिल्म बनाउने होइन । हाम्रो फिल्म त्यो हो जहाँ नेपालीपन, नेपाली जीवन, नेपाली विचार र दर्शनहरू मिसिन्छन् । त्यसपछि मात्रै वास्तविक रूपमा नेपाली फिल्म हुन्छ । पछिल्ला केही वर्षदेखि धेरै अध्ययन गरेर नेपाली जीवनलाई नै डेडिकेट गरेर फिल्म बन्ने क्रम सुरु भएको छ । तपाईंले भनेजस्तो रोमान्टिक मात्र नभई सबै जनराका फिल्म बन्नुपर्छ । म व्यक्तिगत रूपमा सामाजिक कथाहरू लेख्ने गर्छु र रुचाउँछु । पहिला आफूले आफूलाई चिन्न र चिनाउन सक्नुपर्छ । हाम्रा कथाहरू, भोगाइ, इतिहास र वर्तमान कुराहरू नेपाली सिनेमाको पहिलो रोजाइ हुनुपर्छ ।
० सुरुवाती दिनहरूमा तपाईंले रोमान्टिक फिल्म बनाउनुभयो । त्यसपछि प्रकाश हुँदै अहिले सामाजिक यथार्थमा टेकेर पुजार सार्की बनाउनुभएको छ । के अब रोमान्टिक फिल्म लेख्न छाड्नुभएको हो ?
मुख्य कुरा त अब व्यक्तिको बुझाइमा भर पर्छ । हामी कोही पनि साहित्यको माथिल्लो तहसम्म बुझेर आएको हुँदैन । उमेर र समय बिताएसँगै चेतनाको धार पनि फराकिलो हुँदै जान्छ । हिजोका दिनमा म कस्तो फिल्म मन पराउँथेँ । आज म कस्तो मन पराउँछु त्यसमा उमेर, समय र चेताको ठूलो भूमिका रहँदोरहेछ । हिजो बच्चा बेलामा म विद्यालयबाट भागेर चलचित्र हेर्थें । यी कस्ता चलचित्र हुन् जस्तो लाग्थ्यो । त्यो बुझाइदेखि आजको बुझाइसम्म आउँदा निकै लामो समय यात्रा गरेको छु । त्यो कारणले मेरो पछिल्लो बुझाइ हाम्रो चिज भन्नुपर्छ भन्ने हो । त्यसको मतलब रोमान्टिक बन्नु हुँदैन भन्ने होइन । पुजार सार्की पनि पुजार कसरी सार्कीमा बदलिन्छ त यो पनि पे्रम कथा हो । जस्तोखालको रोमान्टिक फिल्म भनेका छौँ त्यो खालको चलचित्रले समाजको वास्तविकतासँग मेल नखाने भएकाले नबनाएको अवस्था हो ।
० तपाईंले ‘पुजार सार्की’को स्क्रिप्ट लेख्दै गर्दा के तपाईंले पल शाह, आर्यन सिग्देल र प्रदीप खड्काहरूका लागि भनेर लेख्नुभएको थियोे त ?
लेखकका लागि मेरो कथा कसरी लेख्ने ? कसरी भन्ने ? वा कसरी प्रस्तुत गर्ने ? भन्ने कुरा पहिलो प्रथामिकता हुन्छ । लेखकका लागि कलाकार को हुन्छ भन्ने कुरा सेकेन्डरी पाटो हो । तर, सिनेमाको लेखन बिधा चाहिँ हामीले डाइरेक्टरलाई सफल पार्ने हो । हामीले उहाँले चाहेको जस्तो लेखिदिने मात्रै हो । कलाकारहरूलाई राख्ने कुरामा उहाँहरूकै भर पर्छ । तर, कोही मान्छेसँग निरन्तर काम र कलामा लोभ लागेको छ भने ती कलाकारहरू हुन्छन् भन्ने हँुदोरहेछ । तीनै जना कलाकारहरूसँग पारिवारिक सम्बन्ध जस्तै रहेकाले यो कहीँ न कहीँ उहाँहरूकै लागि हुन्छ कि भन्ने यो कथा लेखिरहँदा पनि मलाई लागेको थियो र मैले डाइरेक्टरलाई यो कुरा भनेको पनि थिएँ ।
० प्रदीप खड्का, आर्यन सिग्देल र पल शाहलाई एउटै पर्दामा जोड्न कसरी सम्भव भयो ?
मैले लेख्दा सोचेको पनि थिएँ । त्यसपछि डाइरेक्टरले पनि सहमति गरेपछि तीनै जनाले क्यारेक्टरलाई न्याय दिन सक्छन् भन्ने लाग्यो र हामीले छलफल ग¥यौँ । चलचित्र क्षेत्रमा हिरोहरू सँगै काम गर्न चाहँदैनन् भन्ने भ्रम थियो । जे होस् हामीले स्क्रिप्ट सुनाइसकेपछि तीनै जना तयार हुनुभयो र काम गर्न सफल भयौँ । मेरो सपना पनि थियो तीनै जना सँगै भएको हेर्ने । त्यो सपना पूरा भएको छ ।
० दुईवटा फिल्म जुध्दै छन् ‘पुजार सार्की ’ नै हेर्नु पर्ने किन ?
पछिल्लो समय जसरी अर्थ बाजर र फिल्म हलको विकास धेरै भइरहेको छ । त्यो हिसाबले हेर्दा एउटा मात्रै चलचित्र र प्रोडक्ट बजारमा जानुपर्छ भन्ने छैन । सिनेमा पनि बजार भएकाले मान्छेले एउटै खालको फरक प्रोडक्ट बजारमा धेरै पाउन सक्छ । जुन मन पर्छ त्यो दर्शकहरूले हेर्नुहुन्छ । हामीले आफूले गरेका कुराहरू बिर्र्सेका हुन्छौँ । आफूलाई फर्केर हेर्न र पछिल्लो समय दर्शकले मन पराउने मैते बहादुर, मेगराज खत्री र पुजार सार्की जस्ता पात्रहरूले मनोरञ्जन र सन्देश दिएका छन् । त्यसैले पनि ‘पुजार सार्की’ हेर्न जरुरी छ । महिला, आमाहरूको दृष्टिमा समाज कस्तो हो ? भन्ने बुझ्न सबैले हेर्ने र आफूलाई रियलाइज गर्ने चलचित्र पनि हो ।
० ‘पुजार सार्की’ कुन–कुन ठाउँमा प्रदर्शन हुँदै छ ?
पुजार सार्की जेठको १० गते देशभर एकसाथ प्रदर्शन हुँदै छ । साथै संसारका विभिन्न ठाउँमा रहेका नेपालीले पनि नजिकै रहेको फिल्म हलमा हेर्न सकिन्छ ।
० अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सिनेमा फगत मनोरञ्जन मात्रै नभएर हाम्रो फरक भाषा, संस्कार र संस्कृति चिनाउने र बुझाउने पनि काम हो । अघिल्लो फिल्म ‘प्रकाश’ कर्णालीको कथा लेख्दा सम्रग नेपालीलाई देखाइयो । सबैले मन पनि पराइदिनु भयो । कर्णाली, सुदूरपश्चिम र मध्यपश्चिमको रहनसहनलगायत कला संस्कृति चिनाउने लेखकको रूपमा मैले यसमा काम गरेँ । यसपटक ‘पुजार सार्की’ पोखरा त्यसको पनि कास्कीको फिजिकल कथा सँगसँगै सबैलाई मेल खाने विषयवस्तु समेटेर चलचित्र लिएर आएको छु । हिजोका दिनमा तपाईंहरूले दिएको साथ, सहयोग र माया निरन्तर पाउने विश्वास गरेको छु । सबैले एकपटक नजिकै रहेको सिनेमा हलमा गएर यो चलचित्र हेरिदिन अनुरोध गर्दछु ।
प्रतिक्रिया दिनुहोस्