17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

तराईमा बढ्यो अत्यधिक तापक्रमः नेपालगन्जमा सोमबार ४०.२ डिग्री मापन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०८१  

केही दिनदेखि पश्चिमी तराईका जिल्लामा अत्यधिक गर्मीको महसुस गरिँदै आएको छ । निरन्तर तातो हावा चलेका कारण वातावरणमा सुक्खापन आएको छ । विगत लामो समयदेखि वर्षा हुन नसक्दा पनि गर्मी बढेको छ । माघमा सामान्य वर्षा भए पनि त्यसपछि वर्षा हुन सकेको छैन ।

कोहलपुर ।

यस वर्ष तराईका जिल्लाहरूमा तापक्रम अत्यधिक बढेको छ । अझ लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा तापक्रम अस्वाभाविक रूपमा वृद्धि भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अघिल्ला वर्षहरूमा यही समयमा मापन हुने तापक्रममा यस वर्ष अत्यधिक मात्रामा वृद्धि भएको पाइएको हो ।

लुम्बिनीका तराईका जिल्लाहरूमा यस वर्ष वैशाखमै अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ । नेपालगन्जमा सोमबार ४० दशमलव २ डिग्री अधिकतम तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जले जनाएको छ । गत वर्ष हिजकै दिनमा नेपालगन्जको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री मापन गरिएको थियो ।

‘वैशाख महिनामा मापन भएको यो अत्यधिक तापक्रम हो,’ जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जका फिल्ड इन्चार्ज मीना शिवाकोटीले भनिन्, ‘पछिल्लो समय नेपालमा तापक्रम बढ्दै गएको छ ।’

शिवाकोटीका अनुसार विसं २०८० जेठमा नेपालगन्जमा अहिलेसम्मकै सबैभन्दा बढी अधिकतम तापक्रम ४२ डिग्री तापक्रम मापन भएको थियो । तर अहिले अप्रिल महिनामै ४० दशमलव २ डिग्री अधिकतम तापक्रम मापन गरिएको छ । यसले पनि तापक्रम निरन्तर बढ्दै गएको देखिएको छ । केही दिन तापक्रम अझै बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हालै एक बुलेटिन प्रकाशित गरी लामो समयको तातो हावा र तातो लहरका कारण तापक्रम अत्यधिक बढेको जनाएको छ । तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई सचेत गराएको छ ।

लुम्बिनी प्रदेशको केही दिनयताको मौसम विश्लेषण अनुसार केही समय तातो हावा र तातो लहर चल्नुका साथै अत्यधिक गर्मी हुने अनुमान गरिएको छ ।

केही दिनदेखि पश्चिमी तराईका जिल्लामा अत्यधिक गर्मीको महसुस गरिँदै आएको छ । निरन्तर तातो हावा चलेका कारण वातावरणमा सुक्खापन आएको छ । विगत लामो समयदेखि वर्षा हुन नसक्दा पनि गर्मी बढेको छ ।

माघमा सामान्य वर्षा भए पनि त्यसपछि वर्षा हुन सकेको छैन । त्यसमाथि विभिन्न स्थानमा भइरहेका आगलागी र डढेलोका कारण वातावरणमा प्रदूषण बढ्नुका साथै अत्यधिक गर्मी महसुस भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले वैशाख १६ गतेदेखि वैशाख २० गतेसम्म तातो हावा र तातो लहरको सम्भावना रहेकाले सर्तक रहन सर्वसाधारणमा अनुरोध गरेको छ । यो समयमा गर्मी अझै बढ्नसक्ने जनाइएको छ ।

तातो हावा र तातो लहरबाट टाउको दुख्ने, खुट्टा बाउँडिने, बढी तिर्खा लाग्ने, शरीर सुक्खा हुने, चक्कर आउने, वान्ता हुने आदि समस्या देखिन सक्ने जनाउँदै यसबाट बच्न गर्मीका समयमा बाहिर ननिस्कन, निस्कनै परे टाउकोमा रुमाल राख्न, पातला सुती कपडा लगाउन, टाउको छोप्ने गरी टोपी लगाउन, झोल पदार्थ (जुस, सर्वत आदि) बढी मात्रामा पिउन र प्रशस्त मात्रामा पानी पिउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०८१     8:28:18 AM  |