सडककै कारण यातायात अस्तव्यस्त छ: महासचिव बस्याल



मुख्य राजमार्गमै ठाउँठाउँमा सडकमा बिग्रेको छ । बाटो दिनप्रतिदिन साँघुरो हुँदै गएको छ । बनेका ठाउँहरूमा पनि अन्धाधुन्ध तरिकाले सडक बनाइएको छ । सडककै कारण दुर्घटना बढिरहेको छ । राज्यको यसमा संवेदनशीलता नै छैन ।

टंक बस्याल । महासचिव, बागेश्वरी यातायात व्यवसायी प्रालि

यातायात क्षेत्रको लामो अनुभवका आधारमा नेपालमा यातायात क्षेत्रको विकासलाई कसरी हेर्नुभएको छ ?

स्वाभाविक रूपमा हिजोको तुलनामा आज यातायात क्षेत्रमा विकास भएको छ । तर पनि विकसित देशहरूको तुलनामा यहाँको यातायात विकास हुन सकेको छैन । पहिलो कुरा त यहाँका सडकहरूको अवस्था राम्रो छैन ।

अन्य देशमा राज्यले नै सडक पूर्वाधारदेखि यातायात क्षेत्रमा ठूलो लगानी गर्ने गरेको पाइन्छ । तर नेपालमा व्यवसायीले आफ्नै लगानीमा यातायात सेवा सञ्चालन गरिरहेको अवस्था छ । व्यवसायीले आफ्नै लगानीमा यातायात व्यवसाय सञ्चालन गरेर नेपाल सरकारलाई राजस्वसमेत बुझाउँदै आएका छन् । वास्तवमा भन्ने हो भने नेपालको यातायात क्षेत्र अस्तव्यस्त अवस्थाबाट गुज्रिएको छ ।

यातायात क्षेत्रमा के के सुधार ग¥यो भने अन्य मुलुकमा जस्तै यो व्यवस्थित गर्न सकिन्छ ?

पहिलो कुरा त नेपाल सरकारले सडक पूर्वाधारमा ध्यान दिनुप¥यो । आज कुनै पनि सडक यातायातमैत्री छैनन् । सडकमा कस्ता गाडी गुडिरहेका छन् ? कस्ता गाडी गुड्न सक्छन् ? सडकहरूको मापदण्ड के हो ? लगायतका प्रश्नको जबाफ खोज्नुप¥यो । नेपालका नीति निर्माण तहका सांसद्, मन्त्री, सचिवहरू विदेश जान्छन् । त्यहाँको यातायात व्यवस्था हेरेर र पनि केही सुधार गर्ने प्रयास गर्नुपर्ने हो ।

यातायात क्षेत्रमा लगानीका लागि सहज वातावरण पनि राज्यले बनाइदिनुपर्छ । कस्तो ठाउँमा कस्ता गाडी चल्न सक्छन् भनेर अध्ययन पनि हुनुप¥यो । तपाईं हामीले देखिरहेका छौँ बुटवल खण्डको सडक ८–९ वर्ष भइसक्यो अहिले पनि बन्न सकिरहेको छैन । मुख्य गरी सडककै कारण यातायात क्षेत्रमा असहजता आइरहेको छ ।

नेपालको मुख्य राजमार्ग पूर्व–पश्चिम राजमार्ग नै अव्यवस्थित तरिकाले निर्माण भएका कारण दुर्घटना बढिरहेको भन्ने धेरैको बुझाइ छ । राजमार्गमा हुने खाल्डाखुल्डी र सडक र पेटीबीचको अवस्थाले पनि साइकल र मोटरसाइकलमा सवार यात्रुलाई बढी जोखिम रहेको पाइन्छ । नेपालमा किन यस्तो प्राविधिक हेलचक्र्याइँ भइरहेको ?

पहिलो कुरा त कस्तो बनाउने भन्ने योजना नै सायद हामीसँग छैन । सुरुमै योजना बनाउँदा नै यातायातमैत्री सडक बनाउने कुरामा हेल्चक्र्याइँ छ । सरकारले ठेक्का खोलेर कुनै ठेकेदार कम्पनीलाई सडक बनाउने जिम्मा दिन्छ । उसले पनि फेरि अर्कोलाई दिन्छ । कामको जिम्मा कसको होे भन्ने नै थाहा हुँदैन । उसले कस्तो बाटो बनाउँदै छ त्यसको पर्याप्त अनुगमन पनि हुँदैन ।

उसले त्यहाँ कस्ता मेटेरियल प्र्रयोग गरेको छ भनेर पनि वास्ता गरेको पाइँदैन । यसले पनि सडकको मापदण्डअनुसार काम हुन नसकेको हो जस्तो लाग्छ । तपाईंले भनेजस्तै मुख्य राजमार्गमै ठाउँठाउँमा सडकमा बिग्रेको छ । बाटो दिनप्रतिदिन साँघुरो हुँदै गएको छ । बनेका ठाउँहरूमा पनि अन्धाधुन्ध तरिकाले सडक बनाइएको छ । सडककै कारण दुर्घटना बढिरहेको छ । राज्यको यसमा संवेदनशीलता नै छैन ।

जति नै दुर्घटना न्यूनीकरणका कुरा गरिए पनि सडक दुर्घटना बढेको बढ्यै छन् । यसो हुनुमा सडकका अलावा अन्य के कस्ता कारण पाइन्छन् ?

अघि नै भनियो पहिलो कारण त सडकको अवस्था नै हो । त्यसबाहेक कतिपय अवस्थामा चालक परिचालकहरूको बेवास्ता पनि दुर्घटनाको कारण बनिदिन्छ । त्यस्तै, सडकमा चेकजाँच गर्ने ट्राफिक प्रहरीले पनि नियमभन्दा बाहिर गएर चेकजाँचमा कडाइ नगर्दा पनि यो अवस्था आउने गरेको पाइन्छ । मुख्य कुरा सवारी साधनको गति हो । यसलाई पनि अलि नियन्त्रण गर्नुपर्ने अवस्था देखिएको छ ।

अर्को कुरा मापदण्ड अनुसारका सवारी साधन नहुँदा पनि दुर्घटना बढिरहेको देखिन्छ । यही सडकमा नयाँ गाडी पनि चलेका छन् । २० वर्ष पुराना गाडी पनि चलिरहेकै छन् । पुराना गाडीलाई विस्थापित गरेर नयाँ सञ्चालनमा ल्याउनुपर्छ । दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी मात्र होइन, राज्यका निकाय, ट्राफिक प्रहरी, आम पब्लिकलगायत सबै उत्तिकै जिम्मेवार बन्नुपर्छ ।

एउटा पक्षले मात्र सचेतता अपनाएर हुँदैन । अर्कोतिर लाइसेन्स वितरणमा देखिने बेथितिले पनि दुर्घटना बढाउन मद्दत गरिरहेको छ । दुर्घटनाका कारणहरू धेरै छन् । दुर्घटना न्यूनीकरणका लागि सबै पक्षका आँखा खुल्नुपर्छ ।

बेलाबेला सचेतनाका कार्यक्रम हुनुपर्ने हो । पछिल्लो समयमा ट्राफिक सचेतनाका कार्यक्रम भइरहेका छैनन् । यसमा न ट्राफिक प्रहरी न स्थानीय निकाय न त स्थानीय प्रशासनले नै चासो दिएका छन् ।

लाइसेन्स दिने नेपाल सरकारको एउटा विभाग छ त्यसले पनि यसमा चासो दिएको छैन । कुनै पनि सरोकारवाला निकायले चासो नदिएपछि यातायात व्यवसायीले पनि यसमा त्यति चासो दिएका छैनन् जसका कारण पछिल्लो समय दुर्घटना अझ बढेर गएका छन् ।

कतिपय चालकले सडकबीचमै गाडी रोकिदिने, जहाँ मन लाग्यो रोकेर यात्रु चढाउने र ओराल्ने, जेब्राक्रसहरूमा पनि गाडीको स्पिड नघटाउने जस्ता हेल्चक्र्याइँ गरिरहेको भेटिन्छ । यस्ता सामान्य कुुराहरूको पनि नियन्त्रण किन हुँदैन ?

यो कुरा गलत हो । यस्तो गर्नु हुँदैन । यसको नियन्त्रण सडकमा भएका ट्राफिकहरूले गर्नुपर्ने हो । तर ट्राफिकले यस्ता कुरामा ध्यान पु¥याएको पाइँदैन । ट्राफिकले पनि अनावश्यक ठाउँमा बसेर चेकजाँच गरिरहेको पाइन्छ ।

गर्नुपर्ने ठाउँमा नगर्ने, आफ्नो अनुकूलको ठाउँमा बसेर सवारी साधनहरूलाई अनावश्यक दुःख दिने गरेको पाइन्छ । ठाउँठाउँमा स्टेसन छन्, स्टेसनभन्दा बाहिर कसैले गाडी रोक्छ भने त्यसलाई कारबाही हुनै पर्छ । गल्ती गर्नेले छुट पाउनुहुँदैन ।

मैटहवामा हालै भएको दुर्घटनामा जुन गाडीले मान्छे हान्यो त्योभन्दा सडकछेउमा रोकेको गाडी बढी दोषी देखिन्छ । सडकबीचमा गाडी रोकिएकै कारण त्यहाँ दुर्घटना भएको र मानिसको ज्यानै गएको देखिन्छ । यस्तोमा त्यो अनावश्यक ठाउँमा रोकेको गाडी चालकलाई कारबाही हुनुपर्छ कि पर्दैन ?

हेर्नोस्, दुर्घटना जानीजानी कसैले गर्दैन । यो अनायासै हुने कुरा हो । तर दुर्घटना होला भनेर हामीले सचेतता अपनाउनै पर्छ । सडक नियमको पूर्ण पालना हुनुपर्छ ।

सडक नियमको पालना नगर्नेलाई लाइसेन्स नै दिनुहुँदैन । त्यसका बारेमा सम्बन्धित निकायले बेलाबेला जानकारी पनि दिनुपर्छ । यदि जानकारी दिँदादिँदै पनि अटेर गर्छ भने उसलाई कारबाही हुनुपर्छ ।

कतिपय चालकले ट्राफिक प्रहरीले बाटोमा बसेर पैसा उठाएर हैरान पार्ने गरेका र कतिपय अवस्थामा प्रत्येक ट्राफिक प्रहरी बिटमा मासिक हिसाबले नै पैसा बुझाउनुपर्ने अवस्था रहेको गुनासो गर्छन् । तपाईंहरूलाई यसबारे चालकहरूले केही भन्दैनन् ?

चालकले भन्छन् भन्दैमा प्रमाण नभईकन बोल्नु उचित हुँदैन । चालकले कसैलाई दिएको भए त्यो आफ्नो कुरा भयो । तर संस्थागत रूपमा हामीले यसरी देऊ दिनुपर्छ भनेर भन्न मिल्दैन, हामी भन्दैनौँ पनि ।

एउटा कुरा बताइदिनुस् न हाम्रो हाइवेमा गाडीले कानुनी रूपमा लिन पाउने स्पिड कति हो ? र यो कसले हेर्ने हो ?

यो गाडीको स्पिड हेर्ने स्थानीय ट्राफिक कार्यालय हुन्छ । यातायात विभाग हुन्छ र हामी व्यवसायी हुन्छौँ । हाम्रो हाइवेमा बाटोको अवस्था हेरेर ४० किलोमिटर प्रतिघन्टा भन्दा बढी स्पिड हाँक्न नपाइने कानुनी प्रावधान छ ।

प्रायः गाडीहरू प्रतिस्पर्धाका नाममा स्पिड कुदाउने, अनावश्यक ओभरटेक गर्ने गरेको पाइन्छ । यसको नियन्त्रणका लागि तपाईंहरूले कुनै कार्ययोजना बनाउनुभएको छैन ?

म आफैँ पनि कहिलेकाहीँ बाइक वा गाडीमा हिँड््दा यो कुरा अनुभूत गर्ने गरेको छु । यस्ता दुश्य देखेपछि म बेलाबेला अफिसमा साथीहरूसँग पनि हाइवेमा गाडीहरूको स्पिड कन्ट्रोल गर्नुपर्छ है भनेर कुरा राख्ने गरेको छु ।

हिजो नेपालमा साझा बस, ट्रली बस जस्ता सरकारी तवरबाट सञ्चालन भएका यातायातहरू आज डुबेका छन् । नेपालमा निजी लगानीका यातायात व्यवसाय फस्टाउने तर सरकारी यातायात चाहिँ डुब्ने किन होला ?

यो त सरकारले व्यवस्थापन गर्न नसक्नुकै परिणाम हो । हिजो साझा, ट्रलीजस्ता यातायातका साधन थिए । तर ती कमिसनका कारण डुबे । तिनकाप्रति राज्यका जिम्मेवार निकाय जिम्मेवार बनेनन् ।

सही व्यवस्थापन गर्न सकेकै कारण निजी व्यवसायीले सञ्चालन गरेका यातायात व्यवसाय चलिरहेका छन् । समयानुकूल व्यवस्थापन गर्न नसक्ने कतिपय निजी यातायात कम्पनी पनि डुबेका छन् ।

प्रकाशित मिति : २०८१ वैशाख १६ गते आइतबार