15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

राप्ती नदीमा जल उत्पन्न प्रकोप उद्धार अभ्यास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १०, २०८१  

शिवु खनाल । दाङ ।

दाङको राप्ती नदी किनारमा कार्यक्रम सञ्चालन भइरहेको बेला राप्ती नदीको पानीमा डुब्दै गरेका तीन गाउँले गुहार माग्दै कराउन थाले । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीसहितको उपस्थितिमा कार्यक्रममा भइरहेको स्थलभन्दा झन्डै एक सय मिटर उत्तरबाट आएको त्यो आवाजले सबैको ध्यान उतै तान्यो ।

लमही नगरपालिका–६ मध्यनगरस्थित राप्ती नदीमाथिको झोलुंगे पुलमा रहेका तालिम प्राप्त सशस्त्र प्रहरी बल नेपालका जवानहरूले तुरुन्तै पुल माथिबाट डोरी फाले, त्यसैमा झुन्डिएर उर्लिएको राप्ती नदीमा पसे र बगिरहेका लमही नगरपालिका–६ देउपुरका तीन जनालाई नदी किनारमा सुरक्षित स्थानमा पु¥याए । नदी किनारमै रहेको सशस्त्र प्रहरीको मेडिकल टिमले उनीहरूको प्राथमिक उपचार गरे । राप्ती नदीकिनारमा तीन जनाको उपचार हुँदै गर्दा नदीबाट फेरि गाउँले चिच्चाएको आवाज आउन थाल्यो ।

केही गाउँले नदीमा बग्दै बचाउ बचाउ भनेर कराइरहेका थिए । नदी किनारमै रहेको सशस्त्र प्रहरीको अर्काे एक टोली रबरबोट लिएर डुबिरहेका गाउँलेतर्फ गए तर, गाउँलेलाई जोगाउन गएको उक्त रबरबोट राप्ती नदीको भेलमै आफैँ पल्टियो । नदी किनारमा रहेका दाङका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिसहित प्रहरीका सुरक्षा अधिकारीहरु हेरेको हे¥यै भए ।

राप्ती नदीमा डुबेकालाई उद्धार गर्न गएको रबरबोटलाई सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले फेरि पहिलेकै अवस्थामा ल्याउँदै गोताखोरहरूको मद्दतले बगेकाहरूको उद्धार गरी नदी किनारमा ल्याए ।

आइतबार देउखुरीको राप्ती नदीमा देखिएको यो दृश्य नगरस्तरिय जल उत्पन्न प्रकोप उद्धार अभ्यासको प्रदर्शनी थियो । राप्तीमा डुबेका ती सबै गाउँलेहरू सुरक्षाकर्मी नै थिए । तालिम प्राप्त सशस्त्र प्रहरी बल नेपाल सुरक्षा निकायले विपद् र विपद्पश्चात तत्काल उद्धार गर्न राप्ती नदीमा संयुक्त अभ्यास प्रदर्शनी गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी सुबेदीले सशस्त्र प्रहरीले देखाएको प्रदर्शनी अभ्यासको प्रशंसा गरे । सीमित स्रोत साधनका बाबजुद सुरक्षाकर्मीहरूले विपद्का बेला आफ्नो ज्यानको समेत पर्वाह नगरी काम गर्ने गरेको उनले बताए । ‘दाङ जिल्ला त्यसमा पनि अझ देउखुरी क्षेत्र वर्षातको बेला बाढी र डुबानले ठूलो क्षति गर्ने गर्दछ । क्षति न्यूनीकरण गर्न हामीले दक्ष जनशक्तिको तयारी गर्नुपर्ने आवश्यकता छ । उद्धारकहरूलाई चाहिने आवश्यक सामग्रीको तिनै तहका सरकारले व्यवस्था गर्नुपर्छ ।’

सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ हेक्वा ज्वालामाई गण भालुवाङ र सशस्त्र प्रहरी बल नेपाल ४१ रिजर्भ हेक्वा ज्वालामाई गण अर्जुनखोला (कपिलवस्तु)को आयोजनामा सम्पूर्ण सरोकारवाला निकायहरूको सहभागितामा आयोजित आगलागी तथा जलउत्पन्न प्रकोप उद्धारसम्बन्धी सचेतना एवम् अभ्यास कार्यक्रम सञ्चालन गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नगरपालिका क्षेत्रमा वर्षातका बेला बाढी र डुबानको समस्या आउने हुनाले विपद्भन्दा पहिले पूर्वतयारीको काम आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख रमेशकुमार थापाले कुनै पनि समयमा आम समुदायलाई जोखिमबाट उद्धार गर्ने गरि तयारीमा रहेको बताए । विपद्सम्बन्धी जनतामा सचेतता जगाउन आवश्यक रहेको जनाउँदै उनले घरका प्रत्येक सदस्यले विपद्बाट हुने क्षति न्युनीकरणबारे जानकार हुनुपर्ने बताए ।

कार्यक्रममा सुरक्षाकर्मीहरूले विपद्का बेला उद्धार कार्यमा प्रयोग गरिने सामग्रीहरूको प्रदर्शनीसमेत गरेका थिए ।

प्रकाशित मितिः सोमवार, बैशाख १०, २०८१     7:38:11 AM  |