29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

नेपालगन्ज आइसिपी सञ्चालनको तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०८०  

नेपालगन्ज ।
नेपाली र भारतीय सरोकारवाला पक्षले नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) अबको एक हप्ताभित्र पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेका छन् । बुधबार आइसिपीस्थलमै बसेको दुवै देशका अधिकारीहरूको बैठकले यस्तो सहमति गर्दै बाँकी रहेका काम तीव्ररूपमा गर्ने रणनीति बनाएको हो ।

नेपाल र भारतका सरोकारवाला निकायका अधिकारीहरूले आइसिपीस्थलमै आइसिपी चाँडोभन्दा चाँडो कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा बाँकी रहेको सफ्टवेयर जडानसम्बन्धी काम पनि तत्काल सकेर पहिला हस्तान्तरण र त्यसपछि औपचारिक रूपमा सञ्चालन गर्ने निष्कर्षमा दुवै देशका अधिकारीहरू पुगेका हुन् ।

भारतीय लगानीमा नेपाल र भारत दुवैतर्फ निर्माण भइरहेको आइसिपी भारतीय ठेकेदार कम्पनीले भारतीय सरोकारवाला निकायलाई हस्तान्तरण गर्नेछ । त्यसपछि सोही दिन भारतीय निकायले नेपालको सहरी विकास मन्त्रालयलाई आइसिपी हस्तान्तरण गर्नेछ । हस्तान्तरणका यी प्रक्रिया पूरा गरेपछि नेपाल इन्टरमोडेल यातायात विकास समितिले नेपालतर्फको आइसिपी सञ्चालनको जिम्मा पाएको ठेकेदारलाई हस्तान्तरण गर्नेछ ।

समितिका इन्जिनियर जीवन ढकालकाअनुसार आइसिपी सञ्चालनको अन्तिम तयारीका लागि सबै कार्यालयले तीव्र्र तयारी गरिरहेका छन् । अब मात्रै सफ्टवेयर सम्बन्धी काम बाँकी छ, जो तत्काल सकेर आइसिपी सञ्चालन हुनेछ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख झविन्द्र सुनारले पनि अब अन्तिम तयारीका साथ त्यहाँ जानुपर्ने कार्यालयहरू सर्ने तयारीमा रहेको जानकारी दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २० जेठ २०८० मा भारतको दिल्लीबाट संयुक्त रूपमा उद्घाटन गरेको आइसिपी अझै सञ्चालनमा आउन नसक्दा आलोचना भइरहेको छ । उद्घाटनका बेला दुई देशका मालबाहक गाडी वारपार गराइएको थियो ।

दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि दुवै देशले आ–आफ्नो क्षेत्रमा औपचारिक कार्यक्रम गरेर आइसिपी छिट्टै नियमित सञ्चालन गर्ने बताएका थिए । आइसिपी सञ्चालनमा आउने भएपछि उद्योगी व्यवसायी मात्र नभई सर्वसाधारणले समेत खुसियाली मनाए । तर, उद्घाटन भएको नौ महिना बित्दासमेत सञ्चालन अनिश्चित भएको थियो, तर अब भने सञ्चालन हुने लगभग निश्चित भएको छ ।

आइसिपी नेपालगन्ज र भारतको रुपैडिहामा अवस्थित छ । नेपालतिर ८७ बिघामा फैलिएको आइसिपीमा पार्किङ, गोदाम, भन्सार, प्रशासनिक भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, नापतौल तथा गुणस्तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका लागि पूर्वाधार निर्माण गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०८०     7:59:55 AM  |