रामबहादुर हमाल
प्रमुख
कोहलपुर नगरपालिका, शिक्षा शाखा
भर्खरै मात्र कक्षा ८ को परीक्षा सकिएको छ । यसको व्यवस्थापन कत्तिको सहज असहज के रह्यो ?
हामीले वर्षभरि यो वर्षको शैक्षिक क्रियाकलाप गरिसकेका छौँ । वर्षभरिको सिकाइ क्रियाकलाप गरेपछि अन्त्यमा स्वाभाविक रूपमा त्यसको मूल्यांकन गरिन्छ । त्यही परिपाटीअन्तर्गत हामीले कक्षा ८ को परीक्षा सम्पन्न गरेका छौँ ।
विद्यार्थीलाई कसरी सकारात्मक तरिकाले उत्प्रेरित गर्दै माथिल्ला कक्षासम्म पु¥याउन सकिन्छ भन्ने उद्देश्यले कक्षा ८ को आन्तरिक र बाह्य परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ ।
यो परीक्षामा प्रश्नपत्र बाहिरियो र समयमै सूचना पाएकाले अर्को प्रश्नपत्र तयार गरेर परीक्षा लिइयो भन्ने चर्चा पनि बाहिर आएको छ । यसको आधिकारिकता के हो ?
विद्यार्थीहरूको क्षमता के छ त्यो अनुसारको नतिजा उनीहरूले पाउनुपर्छ भन्ने कुरामा नगरपालिका प्रतिबद्ध छ, शिक्षा शाखा प्रतिबद्ध छ । हामी वर्षभरि विद्यार्थीलाई कक्षा कोठामा शिक्षण सिकाइ गर्छौं । अभिभावकहरूको ठूलो लगानी शिक्षामा छ ।
सरकारले पनि ठूलो लगानी गरेको छ । त्यसैले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने छुट कसैलाई छैन । विद्यार्थीको सही क्षमताको सही मूल्यांकन गर्नु हाम्रो कर्तव्य हो । जहाँसम्म प्रश्नपत्र बाहिरिएको हल्ला हो यसमा कुनै आधिकारिकता छैन । अब बजारमा के हल्ला आउँछ त्यसको पछि लागेर हुँदैन । हल्लाको पछि लाग्नुभन्दा पनि यथार्थ धरातलमा पुगेर विश्लेषण गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
हामीले परीक्षा व्यवस्थापनका पूर्व चरण, परीक्षापछिका काम पनि मर्यादित, कानुनसम्मत र गोपनीयता राख्नुपर्ने कुरालाई गोपनीय ढंगले सम्पन्न गरेका छौँ ।
कक्षा ८ को परीक्षा भनेको अहिलेको समयमा त्यति धेरै महत्वको परीक्षा होइन तर यो परीक्षामा पनि प्रश्नपत्र बाहिरिएका हल्ला आउने प्रश्नपत्रमा त्रुटि भेटिएका जस्ता कुरा सुनिए । यो के हामीले अझै राम्रोसँग व्यवस्थापन गर्न नसक्नुको परिणाम हो ?
हामीकहाँ धेरै चिजहरू गोप्य राख्ने नाममा पनि बिग्रिएको छ । बाहिरतिरको अभ्यास के छ भने विद्यार्थीले कक्षामा के सिके त्यसको मूल्यांकन त्यही दिन कक्षामै हुन्छ ।
यदि शिक्षण सिकाइ उपलब्धि प्राप्त भएन भने फेरि सिकाइ कक्षा सञ्चालन हुन्छ । त्यसको ट्रयाकिङ गर्दै सिकाइ गरिन्छ । तर हाम्रोमा त्यसको ठीक उल्टो छ । वर्षभरि पढाउने र त्यो कुरालाई २–३ घन्टामा लेखाएर उपलब्धि प्राप्त हुन्छ जस्तो मलाई लाग्दैन । यसलाई हामीले सुधार गर्दै जानुपर्छ । यो नीतिगत कुरा हो । बाँकी रह्यो प्रश्नपत्रको कुरा ।
यो गोप्य विधि प्रक्रिया भएको हुनाले जति कम व्यक्तिको सहभागिता गराउन सकियो त्यति गोपनीयता कायम हुन्छ भन्ने मान्यता हुन्छ । यति हुँदाहुँदै पनि आदरणीय विज्ञ सरहरूबाट हामी कोइसन लिन्छौँ । र त्यो कोइसन बैंकमा जम्मा हुन्छ ।
हामी त्यो कोइसन बैंकबाट मोडरेड गरेर निकाल्छौँ । त्यसलाई पनि फेरि मोडरेड गर्छौं । त्यसपछि टाइपिङ, प्रिन्टिङमा जान्छ । यति हुँदै जाँदा टाइपिङ, प्रिन्टिङमा कतै साना ल्याप्सेसहरू आउन सक्छन् । त्यसलाई हामीले स्वीकार पनि गर्नुपर्छ । त्यसलाई त्यति ठूलो इस्यु बनाउन जरुरी छैन ।
विद्यार्थी शिक्षण सिकाइलाई ‘माइक्रो मोनिटरिङ’ गर्ने परिपाटी हामीकहाँ कत्तिको छ ?
नेपाल सरकारबाट निर्धारित स्वीकृत पाठ्यक्रमलाई कसरी डेलिभरी गर्ने भन्ने स्ट्याटेजी छ । विद्यार्थी मूल्यांकन गर्ने छुट्टै निर्देशिकाहरू छन् । यसको सर्वाधिकार कक्षामा शिक्षण सिकाइ र सहजीकरण गर्ने आदरणीय गुरुहरूलाई जान्छ । उहाँहरूले दिनभरि कक्षा कोठामा आफ्ना नानीबाबूहरूसँग कसरी शिक्षण सिकाइ गर्नुहुन्छ, के–के क्रियाकलाप गर्नुहुन्छ त्यसको मूल्यांकन त भइरहेकै हुन्छ ।
जहाँसम्म मोनिटरिङको कुरा छ त्यो भनेको शिक्षकहरूको पेसागत विकासमा उत्प्रेरित गर्ने भन्ने कुरा हो । पाठ्यक्रममा भएका परिवर्तनका विषयमा अपडेट गर्ने कुरा हो । पाठ्यक्रममा भएका कुरालाई कक्षामा कसरी डेलिभरी दिने भन्ने कुरा हो । पाठ्यक्रम र कक्षाकोठाबीच कसरी सेतुको काम गर्ने कुरामा नै हाम्रो मोनिटरिङ रहने हो ।
अनुसन्धानका क्रममा हाम्रो प्रणालीमा कहाँनिर त्रुटि देखिएको छ भने विशेषगरी तालिम प्रणालीहरू कक्षामा प्रभावकारी रूपमा ट्रान्सफर भएनन् भन्ने छ । यसतर्फ हामीले अलिकति ध्यान दिन जरुरी छ । र विद्यार्थी मूल्यांकनलाई गुणस्तरीय, वैध, सभ्य र विश्वसनीय बनाउनुपर्छ भनेर नगरपालिका लागेको छ । कोहलपुर नगरपालिकाको शैक्षिक स्तर सुधार्नुपर्छ भन्ने नै हामी सबैको एउटै ध्येय हो ।
विद्यालय अनुगमन कम भयो भन्ने आम गुनासो रहन्छ । त्यही भएर पनि होला सरकारले पनि हालै यही कुरालाई प्राथमिकता दिएर शूक्ष्म विद्यालय अनुगमनका लागि निर्देशन जारी गरेको छ । यहाँहरूले यसलाई कत्तिको फलो गर्र्नुभएको छ ?
मुख्य कुरा कक्षा कोठाको शिक्षण सिकाइ सहजीकरण के भइरहेको छ र कक्षाभित्र के गतिविधि भइरहेका छन् भन्नेमा हामीले विशेष ध्यान दिनुपर्छ । कक्षामा पाठ्यक्रममा निर्धारण गरेका विषयवस्तु मिट हुने गरी क्रियाकलाप सञ्चालन हुनेगरेका छन् कि छैनन्् भन्ने कुरामा केन्द्रित रहनुपर्छ भन्ने हो । यसका लागि विद्यालय आफैँ सरकार हो । विद्यालय व्यवस्थापन समिति भनेको आफैँ विद्यालय सरकार हो ।
आफ्नो कार्यक्षेत्रभित्र रहेर विद्यालय व्यवस्थापन समितिले आफ्नो प्राज्ञिक र प्रशासनिक कुराको दैनिक सुपरभिजन गरिरहेको हुन्छ । हामीसँग विद्यालय अभिभावक संघ पनि छ । विद्यालय व्यवस्थापन समिति, गुरुवर्गहरू र अभिभावक संघ यी मेकानिज्म हुँदाहुँदै पनि हामीसँग त्यसलाई प्रशासनिक रूपमा प्राविधिक रूपमा मोनिटरिङ गर्ने अन्य राज्य संयन्त्रहरू पनि छन् ।
तर हामीले गरेको सुपरभिजनहरू अलिकति प्राज्ञिक, प्राविधिक खालको, कक्षा कोठामा पुग्ने खालको, सुधारात्मक, सिर्जनशील, मेन्टरसिपमा आधारित अथवा समस्या समाधान कसरी गर्ने भन्नेतर्फ केन्द्रित हुन नसकेको हामीले स्वीकार गुर्नुपर्छ ।
यो समस्या हाम्रोमा मात्र नभएर अन्यत्र पनि छ । यसका लागि हामीसँग मौजुदा पूर्वाधार, जनशक्ति र हामीलाई दिइएको अधिकार, हामीसँग भएको कार्यक्षमता, कार्यकुशलता, विद्यालयको वातावरण आदिले पनि प्रभाव पारिरहेका छन् ।
एक विद्यालय एक बगैँचा, शिक्षकलाई आवश्यक पर्ने सबैखाले सामग्री सुनिश्चि गर्ने र शिक्षक झोला कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो । नीति तथा कार्यक्रममा घोषित यो कार्यक्रम कत्तिको लागू भएको छ ?
यो अब शतप्रतिशत सफल भयो भन्ने होइन । यो त एउटा सिम्बोलिक कार्यक्रम हो । यसले वेभ अर्थात भाइभ क्रियट गर्न मात्र खोजेको हो । ‘शिक्षकको झोला’ एउटा सिम्बोलिक वाक्य हो । झोला त हामी सबैले बोक्छौँ तर गुरुहरूले बोक्ने झोलाको विशेष अर्थ हुन्छ ।
त्यसमा उहाँहरूले प्रयोग गर्ने शैक्षिक सामग्री हुन्छ । उहाँहरूलाई चाहिने पाठ्यक्रम हुन्छ । उहाँहरूलाई चाहिने पाठयोजना होला । त्यो झोला आफैँमा ज्ञानको झोला हो । त्यो झोला बोकिरहँदा शिक्षकले कक्षा कोठामा जाँदै गर्दा तयारी गरेर जानुपर्छ भन्ने बोध गर्र्नुपर्छ ।
यो कार्यक्रमको गुरुवर्गले कत्तिको कार्यान्वयन गरेको पाउनुभयो त ?
यसमा बढोत्तरी हुँदै गइरहेको छ । माथिल्लो क्लासहरूमा जाँदै गर्दा गुरुवर्गहरूका लागि यो निकै सहायकसिद्ध पनि हुँदै आएको छ ।
यस वर्षको एसइई परीक्षा पनि सञ्चालन भइरहेको छ । परीक्षामा जनप्रतिनिधिलाई निरीक्षणमा अगाडि सारिएको छ भने अर्कोतिर आजको प्रविधिको जमानामा विद्यार्थीहरूका लागि क्यालकुलेटरसमेत प्रयोगमा बर्जित गरिएको छ । के यो ठीक छ ?
अब जनप्रतिनिधिको सन्दर्भमा दुईवटा आसयबाट यसलाई हेर्नुपर्छ जस्तो मलाई लाग्छ । मौजुदा कानुनले माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी पालिकालाई दिएको छ । यस सन्दर्भमा जनप्रतिनिधिलाई अरू सबै कुरामा विश्वास गर्ने तर परीक्षामा विश्वास नगर्ने भन्ने हुँदैन । अहिले नगरपालिकाले जे गरेको छ त्यो कानुनसम्मत छ । हामीले बालबालिकालाई तर्साउनका लागि यसो गरेका होइनौँ ।
बरु बालबालिकालाई भयमुक्त वातावरणमा आफूले पढेका कुरा निर्धक्क लेख्न सकून् भनेर यसो गरिएको हो । जहाँसम्म क्यालकुलेटर प्रयोगको कुरा छ यो परीक्षा सञ्चालन निर्देशिकाले निर्धारण गरेको आधारमा गरिएको हो । उच्च प्रविधिको विकासका कारण विद्यार्थीले त्यसको दुरूपयोग गर्न सक्ने भएकैले पनि त्यसलाई रोक्नका लागि क्यालकुलेटर बर्जित गरिएको हो ।
अहिले बजारमा मेमोरीवा, चिप्सवाला र डाटा सेभिङ गर्न मिल्ने एड्भान्स खाले क्यालकुलेटर पनि पाइने गरेको छ । त्यसैले त्यसको दुरूपयोग नहोस् भनेर नै यसो गरिएको हो । यस विषयमा मौखिक छलफल पनि भएको छ । परीक्षा सञ्चालन समिति पनि छ । त्यसबाट पनि केही निर्देशन आउला । बच्चाले कक्षामा प्रयोग गर्ने गरेका सामान्य क्यालकुलेरसम्म चलाउन दिने कि भन्ने कुरा भइरहेको छ । तर स्मार्ट क्यालकुलेटर भने बर्जित नै छ ।
कोहलपुरलाई शिक्षाको हब बनाउने भनेर निकै चर्चा परिचर्चा हुने गरेको छ । त्यसका लागि कोहलपुर नगरपालिका शिक्षा शाखाले कस्तो खालको रोडम्याप बनाएको छ ?
यो सुन्न र पढ्न कोहलपुरबासी आतुर छन् । कोहलपुरको जियोपोलिटिक वातावरणका कारण कोहलपुरमा केही प्रयास गर्ने हो भने यो शिक्षाको हब बन्न सक्छ भन्ने कुरामा दुईमत छैन । कोहलपुर एउटा ट्रान्जिट प्वाइन्ट हो ।
यसका लागि हामीले विद्यालयभित्र र बाहिरबाट संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ । विद्यालयमा सहभागिता बढाउनेदेखि शिक्षक सिकाइका प्रक्रियालाई प्रभावकारी बनाउने काम गर्नुपर्छ । त्यसैगरी विद्यालयमा टिकाउ दर वृद्धि गर्नुपर्छ ।
त्यसैगरी अभिभावकहरूले आफ्ना नानीबाबूको शिक्षाप्रति चासो वृद्धि गर्नुपर्छ । विद्यालय सुशासनका पक्षमा आमअभिभावक सचेत बन्नुपर्छ । कोहलपुरबाट पासआउट भएका नानीबाबू उच्च शिक्षामा सफल छन् भन्ने कुरालाई स्थापित गर्न सक्नुपर्छ । सकारात्मक शैक्षिक वातावरण सिर्जना गर्नुपर्छ । यसैका लागि पनि हामीले कक्षा ८ र एसइईका परीक्षाहरूलाई व्यवस्थित बनाउने प्रयास गरिरहेका हौँ ।
हामीले कोहलपुरको आगामी १० वर्षको शैक्षिक नीति कस्तो बनाउनुपर्ला भनेर काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेसनसँग सम्झौता पनि गरेका छौँ । कोहलपुरको शैक्षिक नीति तर्जुमा गर्न नै यो सम्झौता गरिएको हो ।
यसको ड्राफ्ट आएपछि त्यसमा फेरि छलफ हुन्छ । कोहलपुरलाई शिक्षाको आकर्षणको केन्द्र बनाउनका लागि शिक्षक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सबैको चासो प्रकट हुनु जरुरी छ ।