मिसन संवाददाता
कोहलपुर, १० चैत
‘ग्लोबल मनी विक–२०२४’ का अवसरमा कोहलपुरमा एक वित्तीय साक्षरता तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ । मार्च १८ देखि २४ सम्म हरेक वर्ष विश्वव्यापी रूपमा ग्लोबल मनी विक मनाइँदै आएको छ । सन् २०१२ देखि नेपालमा पनि प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ ।
यसै सन्दर्भमा शुक्रबार स्वावलम्बन लघुवित्त वित्तीय संस्था कोहलपुरले कोहलपुर–२ स्थित कृष्ण माविका व्यवस्थापनक र कानुन संकायका ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबीच वित्तीय साक्षरता तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको हो ।
युवा तथा विद्यार्थीहरूलाई सानैदेखि पैसाको महत्व बुझाउने र बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले विद्यार्थी लक्षित कार्यक्रमको आयोजना गरिएको नेपाल राष्ट्र बैंकका उपनिर्देशक रामकुमार कार्कीले बताए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कार्कीले बचत गर्नु भनेको आफ्नो भविष्य सुरक्षित गर्नु रहेको धारणा राखे । ‘विद्यार्थी भाइबहिनीहरूले अहिलेदेखि नै पैसाको महत्व बुझ्ने र बचत गर्ने बानीको विकास गर्नुपर्छ,’ उनले भने, ‘यसले उनीहरूलाई भविष्यमा आर्थिक रूपमा बलियो बनाउँछ ।’ विद्यार्थीले अहिले देखि नै बचत किन गर्ने, यसको महत्व के छ, नोट कसरी राख्ने, वित्तीय कारोबारमा सचेतता कसरी अपनाउने भन्नेबारे जानकारी राख्नुपर्ने उनले बताए ।
यस वर्षको ग्लोबल मनी विकमा ‘आफ्नो पैसाको रक्षा गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारा तय गरिएको छ ।
त्यसैगरी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका निर्देशक तथा कलस्टर प्रमुख चन्द्रबहादुर थापाले वित्तीय जानकारी नहुँदा कतिपय अवस्थामा हाम्रोे जीवन पद्धति नै बिग्रिने गरेको बताए । भोलि आउनसक्ने आर्थिक विपत्तिलाई व्यवस्थापन गर्न पनि वित्तीय साक्षरता र बचत गर्ने बानीको विकास गर्नुपर्ने उनको भनाइ छ । उनले अहिलेदेखि नै यस कुरामा सचेत हुन विद्यार्थीहरूलाई आग्रह पनि गरे । विद्यार्थी सचेत र जागरुक भए उसले परिवारलाई पनि सचेत बनाउन सक्ने र आर्थिक भविष्य सुरक्षित गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
विद्यालयका सहायक प्रधानाध्यापक वीरेन्द्रकुमार मल्लले स्वावलम्बनले वित्तीय साक्षरताका लागि आफ्नो विद्यालयलाई चयन गरेकोमा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आजका विद्यार्थी नै भोलि विभिन्न ओहदामा पुग्ने व्यक्ति भएकाले यस्ता कार्यक्रमले विद्यार्थीको भावी जीवनलाई मार्गनिर्देश गर्न सक्ने बताए ।
सो कार्यक्रममा नोटको सुरक्षा कसरी गर्ने ? नक्क्ली नोट कसरी पहिचान गर्ने ? बचत किन जरुरी छ ? आम्दानी र खर्चको सन्तुलन कसरी मिलाउने ? आदि विषयमा विद्यार्थीहरूलाई जानकारी दिइएको थियो । नोट केरमेट गरे वा च्याते तीन महिना कैद वा ५ हजार रूपैयासम्म जरिवाना हुने कानुनी व्यवस्था रहेकोबारे पनि विद्यार्थीलाई सचेत गराइएकोे थियो ।
कार्यक्रमपछि विद्यार्थीहरूले अन्तक्र्रियाबाट आफूहरूले वित्तीय कारोबारका सम्बन्धमा धेरै कुरा जानकारी पाएको बताए । व्यवस्थापन संकायमा १२ कक्षामा अध्ययनरत छात्रा गंगा रोकायले कार्यक्रमबाट पैसाको महत्वका बारेमा धेरै कुरा जानकारी मिलेको बताइन् । नोट च्याते वा केरमेट गरेर सजाय हुुन्छ भन्ने कुरा आफूले पहिलो पटक थाहा पाएको उनले बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था कोहलपुर शाखाका प्र्रमुख भीमसेन चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।