बाँकेमा पछिल्लो समय अन्य सामानहरू जस्तै कुखुरा र दूधको तस्करी समेत बढ्दै गरेको तथ्यांकले देखाउँछ । चालु आवको ८ महिनामा सशस्त्र प्रहरीले ५० लाख र नेपाल प्रहरीले ८ लाख मूल्य बढीको कुखुरा तथा त्यसको मासु र दूध बरामद गरेको छ ।
नेपालगन्ज ।
बाँके र बर्दियाका कुखुरापालक र दुग्ध उत्पादक कृषकले आफ्नो उत्पादनले बजार नपाउँदा हैरानी खेपिरहेका बेला तस्करहरूले ठूलो मात्रामा भारतबाट प्रतिबन्धित कुखुराको मासु र दूध नेपालगन्ज भित्र्याएर बेच्ने गरेको भेटिएको छ । यसरी नाका कटाएर भित्र्याइएको करिब ६० लाख हाराहारीको कुखुराको मासु र दूध त सशस्त्र प्रहरी र नेपाल प्रहरीले बरामद नै गरेका छन् ।
सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिमल डाँगीका अनुसार, चालु आर्थिक वर्षको आठ महिनामा ५० लाख ३९ हजार ४ सय ५० रुपैयाँको कुखुराको मासु र अण्डा बरामद गरिएको छ ।
उनका अनुसार २५ लाख ४२ हजार मूल्य पर्ने ६ हजार ३ सय ५६ किलो कुखुरा, ६ लाख ४३ हजार ३ सय पर्ने एक हजार ६ सय किलो कुखुराको मासु, १८ लाख ५२ हजार मूल्य पर्ने २३ हजार १ सय ५० गोटा चल्ला र एक हजार ४ सय पर्ने ४ क्यारेट अण्डा बरामद गरिएको छ ।
चालु आवको ८ महिनाकै अवधिमा ६५ हजार २ सय मुल्य पर्ने ५ सय ६४ लिटर दूध बरामद गरेको छ । सशस्त्र प्रहरीका उपरीक्षक डाँगी भन्छन्, ‘उल्लिखित मासु र दूध नाकामै बरामद गरी सरोकारवाला निकायमा थप अनुसन्धानका लागि बुझाइएको छ ।’
जिल्ला प्रहरी कार्यालय बाँकेले समेत यस्ता अवैधरूपमा भित्रिएका मासु बरामद गरेको छ । बाँकेको नेपालगन्जस्थित खजुरा रोडमा रहेको प्रदीप मासु प्याकेजिङ सेन्टरमा प्रहरीले गत सोमबार अवैध रूपमा भारतबाट चोरी पैठरी गरी ल्याइएको बोनलेस मासु फेला पारेको थियो ।
उक्त सेन्टरबाट नेपालगन्जका व्यवसायीहरूले २ सय ९१ केजी बोनलेस मासु फेला पारेर प्रहरीलाई बुझाएको जानकारी गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार, चालु आवको चैतको पहिलो हप्ताभित्र १ सय ९६ वटा बोइलर कुखुरा, ५ हजार ९ सय चल्ला, माछा ६१ किलो र मासु ३ सय ६६ किलो बरामद भएको छ । यसको मूल्य ८ लाख १२ हजार ९ सय हुन आउँछ । डिएसपी डाँगीले मासु एवम् दूधलगायत अवैध सामान नियन्त्रणमा प्रहरीले सक्रिय भूमिका निर्वाह गरिरहेको बताए ।
खुला सिमानाका कारण अवैध रूपमा चोरी पैठरी गरेर निकासी गर्ने गरेको हुनाले आफूहरूकोे व्यवसाय नै धरापमा परेको कुखुरा व्यवसायीले बताएका छन् । आफूहरूको व्यापार नै ठप्प बनाएपछि सिमानाकामा निगरानी बढाउन आफूहरू सुराकी तैनाथ गर्ने अवस्थासमेत आएको उनीहरूको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ मा रहेको कादरी पोल्ट्री फर्मका सञ्चालक एवम् कुखुरा व्यवसायी संघका सदस्य अहमद हुसैन खान भन्छन्, ‘तस्करीका कारण बाँके र बर्दियाका किसान हैरान छन्, विस्थापित भएका छन् ।’
सिमानाकाबाट भारी मात्रामा अवैध रूपमा मासु निकासी हुने जानकारी पाएपछि नेपालगन्जका विभिन्न मासु सेन्टरसम्म पुग्ने गरेको तथ्य बाहिर आएको व्यवसायीहरू बताउँछन् । दूधको अवस्था झनै कहालीलाग्दो रहेको छ ।
भारतीय दूधका कारण यहाँका कृषकले उत्पादन गरेको दूध बिक्री नभएर ‘मिल्क होलीडे’ गर्नुपर्ने अवस्था आएको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए । अध्यक्ष भण्डारीका अनुसार, भारतीय दूधको तस्करीमा संगठित गिरोह नै सक्रिय छ । सीमावर्ती भारतीय गाउँमा ठेकेदारहरूले जम्मा गरेको दूध एकाबिहानै भारतीय मोटरसाइकल र साइकलमा क्यारिङ गर्नेहरूले नाका कटाएर नेपालका सीमावर्ती गाउँमा ल्याइपु¥याउँछन् । त्यसरी भित्रिएको दूध नेपाली दूधका बिक्रेताहरूले नेपाली दूधमा मिसाएर बजार पठाउँछन् ।
उक्त दूधको नेपाल सरकार, स्थानीय सरकार, पशु क्वारेन्टाइन कार्यालय, भन्सार कार्यालयसँग सूचना माग गर्दा कुनै अधिकारिक तथ्यांक नभएको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष भण्डारीले जानकारी दिए । ‘भारतबाट सरदर दैनिक ६ हजारदेखि ८ हजार लिटर दूध भित्रिने गरेको जिल्ला दुग्ध व्यवसायी संघ बाँकेको अध्ययनले देखाएको छ,’ भण्डारीले भने, ‘उक्त अध्ययन अनुसार बाँके जिल्लामा हाल २४ हजार लिटर दूध दैनिक उत्पादन हुने गरेको छ भने छिमेकी जिल्ला बर्दियाबाट ७ हजार लिटर दूध बाँकेमा आएको छ ।’ यसरी जम्मा ३७ हजार लिटर दूध दैनिक बाँकेमा आउने गरेको देखिन्छ ।
बाँकेमा जम्मा दूधको खपत २२ हजार लिटर रहेको अध्ययनले देखिन्छ भने ७ हजार लिटर दूध दैनिक बाँकेबाट अन्य जिल्लामा पठाएको छ । ‘यसरी दैनिक ८ हजार लिटर दुग्ध बाँकेमा बढी भएको देखिन्छ । यो बढी भएको दूधलाई व्यवस्थापन गर्न समस्या परेको छ, जसले गर्दा बाँकेका किसानहरूले उत्पादन गरेको दूध बिक्री हुन नसकेर मिल्क होलिडे भएको छ ।’
अन्य सामानजस्तै क्यारिङ गरेर सीमावर्ती गाउँमा दूध भित्रिन्छ । त्यसरी भित्रिएको दुध नेपाली दुग्ध बिक्रेताले नै नेपाली दूधसँग मिसाउँछन् अनि त्यो दूध बजारसम्म आइपुग्छ । कतिपय क्यारिङ गर्नेले मिठाई पसलदेखि घरसम्म अवैध दूध ल्याइदिने गरेको पाइन्छ ।
भारतीय अवैध दूधबाट वाक्कदिक्क बनेका व्यवसायीहरूले नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्यका लागि गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ खानुपर्ने भए पनि सस्तोको नाममा बजारमा अवैध रूपमा भित्रिने भारतीय कम गुणस्तरको दूधको बिक्री वितरण भइरहेको उल्लेख छ ।
मापदण्ड पूरा गरी गुणस्तरीय र वैधानिक रूपमा दुग्ध पदार्थ बिक्री वितरण गर्ने व्यवसायीलाई मर्का परेको देखिन्छ जसले गर्दा नेपाली कृषकहरूले उत्पादन बजार नपाएर मिल्क होलिडे भइरहेकोप्रति ध्यानार्कषण गराइएको छ ।
खुला सिमाना भएका कारण भारत तर्फबाट अवैध रूपमा सहजै आयात हुने खुला दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर जाँच नभई आयात भई बिक्री वितरण भइरहेकाले गुणस्तरीय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार हनन् भइरहेको उल्लेख छ ।
नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बजारमा बिक्री वितरण भइरहेको दूध र दुग्धजन्य पदार्थले अस्वस्थ प्रतिस्पर्धालाई बढावा दिन मद्दत पु¥याएको बताउँदै व्यवसायीहरूले यस्तो कार्यलाई निरुत्साहित गर्न माग गरेका छन् ।
भारतीय बजारबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल र साइकलमार्फत बिक्री वितरण गरिएको दूध र दुग्धजन्य पदार्थको गुणस्तरीयतामा कुनै पनि निकायले ध्यान नदिएको भन्दै यसरी भारतीय मोटरसाइकल अवैध रूपले नेपालमा आउने गरेकाले सम्बन्धित निकायसँग यसलाई रोक्न माग गरिएको छ ।