बाँसगढी नगरपालिका–५ मा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको आज हुने निर्वाचनमा राजनीतिक दलका नेता–कार्यकर्ता खुला रूपमा मैदानमा उत्रिएका छन् । निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन र माओवादीका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।
बाँसगढी ।
विद्यालयमा दलहरूले पठनपाठन प्रभावकारी बनाउन भूमिका खेल्नुपर्ने हो । तर दलहरू आफ्नो जिम्मेवारी पूरा गर्न छाडेर विद्यालय व्यवस्थापन समिति कब्जा गर्ने अस्वस्थ होडबाजीमा लाग्ने गरेका छन् । अझ उदेकलाग्दो कुरा त पदीय उच्च ओहदामा रहिसकेका व्यक्ति समेत विद्यालय वा क्याम्पसका व्यवस्थापन-सञ्चालक समितिमा रहने खोज्ने प्रवृत्ति देखिएको छ ।
बर्दिया बाँसगढीको एक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका लागि आज हुने निर्वाचनमा पनि राजनीतिक दलका नेता–कार्यकर्ता खुला रूपमा मैदानमा उत्रिएका छन् । उनीहरू आ–आफ्ना दलगत प्यानल नै बनाएर प्रतिस्पर्धामा ओर्लिएका हुन् ।
बाँसगढी नगरपालिका–५ मा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन र माओवादीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । मनोनयन दर्ता गर्ने बुधबार अन्तिम समयसम्म पनि सहमति कायम हुन नसकेपछि दलहरू आ–आफ्ना दलीय प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् ।
मंगलबार व्यवस्थापन समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । निर्धारित तालिकाअनुसार नै बुधबार अभिभावकको नामावली प्रकाशन, उम्मेदवारी दर्ता र दाबीविरोधको कार्यक्रम सम्पन्न भएको छ ।
उम्मेदवारी दर्ताका लागि दिइएको बुधबार दिउँसो ३ बजेसम्मको समयमा ८ जनाको उम्मेदवारी परेको छ । चार सदस्यका लागि हुने निर्वाचनमा ८ जनाले उमेदवारी दर्ता गराएका छन् जसमध्ये एमालेका २ जना, कांग्रेसका २ जना र माओवादी केन्द्रबाट ४ जना उमेदवार उठेका छन् ।
निर्वाचनबाट ४ जना, विद्यालयका तर्फबाट एक जना शिक्षक र प्रधानाध्यापक र वडाध्यक्ष गरी ७ जना र मनोनीत दुई जनासहित ९ जना चुनिनेछन् । यिनैमध्येबाट एक जना विद्यालय व्यवस्थापन अध्यक्ष बन्ने प्रावधान रहेको छ ।
विद्यालयजस्तो गरिमामय संस्थामा नांगो राजनीति भइरहेकोप्रति भने आम अभिभावक चिन्तित छन् । बाँसगढीका अभिभावकले विद्यालयमा भइरहेको यस्तो राजनीतिक हस्तक्षेपको चर्को आलोचना गरेका छन् ।
एक जना अभिभावकले आश्चर्य व्यक्त गर्दै भने– ‘विद्यालयजस्तो ठाउँ त यस्तो नांगो राजनीति हुन्छ भने हाम्रा विद्यालयहरूमा शिक्षाको अवस्था के होला !’ आज हुने निर्वाचनमा ९ सय ४५ जना अभिभावक मतदाताका रूपमा सहभागी हुँदै छन् ।