मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न छलफल



कोहलपुर ।
मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका अभ्यास र प्रभावकारी उपायहरूको पहिचान गर्न सरोकारवालाहरूसँग छलफल गरिएको छ । पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै जान थालेपछि न्यूनीकरण गर्न वातावरण तथा ग्रामीण विकास केन्द्रले यसबाट बच्ने उपाय र अभ्यासको पहिचान गर्न सरोकारवालासँग छलफल गरेको हो ।

कार्यक्रमको पहिलो चरणमा सल्यान र दाङका मध्यवर्ती उपभोक्ता समितिहरूसँग छलफल गरिएको केन्द्रका परियोजना अधिकृत मनिष घिमिरेले बताए । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न, विगतका वर्षमा अपनाएका पुराना शैलीलाई नयाँ तरिकाले कार्यान्वयन गर्न, वन्यजन्तुको बासस्थान व्यवस्थापन, प्राकृतिक स्रोत दोहन नियन्त्रण र न्यूनीकरण गर्ने विषयमा विशेष छलफल गरिएको थियो ।

वन्यजन्तुले मानव जीवनमा नकारात्मक असर मात्र नपारी यसबाट पर्यटक भित्र्याएर आर्थिक लाभ समेत लिन सकिने उनले बताए । निकुञ्ज क्षेत्रमा रहेका नागरिकहरूले वन्यजन्तुबाट भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल गरी आगामी दिनमा परियोजनामा समावेश गरिने केन्द्रका कार्यक्रम अधिकृत रामकृष्ण छिनालले बताए ।

६० वटाभन्दा धेरै देशहरूमा यो परियोजना सञ्चालन भइरहेको र कार्यक्रमले विज्ञान सम्बन्धी खोज, अनुसन्ध र वन्यजन्तुको संरक्षणमा जोड दिने गरेको फिल्ड कार्यक्रम अधिकृत प्रदीप सेढाइले बताए । सो छलफलमा हात्तीदमार घुइयाबारी र राप्ती मध्यवर्ती क्षेत्र उपभोक्ता समितिअन्तर्गत सम्पन्न परियोजना गतिविधिबारे प्रकाश पारिएको थियो ।

कार्यक्रममा दाङ र सल्यानका विभिन्न मध्यवर्ती उपभोक्ता समितिका ३८ जनाको सहभागिता रहेको थियो । सो अवसरमा सहभागीहरूले पाटे बाघ, मृग, भालु, बँदेल, दुम्सी र बाँदरलगायतका जनावरले क्षति पु¥याउने गरको गुनासो गरेका थिए ।

ऐलानी जग्गामा बसोबास गर्दै आएका स्थानीयले क्षति हुने तर राहत नपाइने गरेको दुखेसो पोख्दै क्षतिको राहतका लागि पनि जग्गा दर्ता प्रमाणपत्र हुनुपर्ने हो भने कहिले जग्गा दर्ता हुने र आफूहरूले राहत पाउने ? भनेर प्रश्न गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार