व्यावहारिक शिक्षामा जोड दिँदै ब्राइटलाइट



कोहलपुर ।
ब्राइटलाइट एकेडेमी विद्यालय कोहलपुरले शैक्षिक गुणस्तर र व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ । २०६४ सालमा स्थापना भएको विद्यालयले घोकन्ते शिक्षालाई विस्थापित गर्दै व्यावहारिक शिक्षामा जोड दिएको हो ।भविष्यमा शिक्षा क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा समेत केही गरेर जीवन चलाउन सक्ने दक्ष जनशक्ति उत्पादन गर्न विद्यालय तल्लीन रहेकोे प्रधानाध्यापक गोविन्द चौधरीले बताए ।

दक्ष जनशक्ति उत्पादन गर्न विद्यार्थीहरूलाई अतिरिक्त समयमा समूहगत रूपमा प्लम्बिङ, वाइरिङ, वल्डिङ, घरायसी खानाका परिकार बनाउने तौरतरिका आदिबारे सिकाइँदै आएको उनले जानकारी दिए । पछिल्लो समय शैक्षिक गुणस्तर प्रदान गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धाले सोचेअनुसार लक्ष्य प्राप्त गर्न केही कठिनाइ भएको उनले बताए ।

अनेकौँ चुनौतीको सामाना गर्दै गुणस्तरीय शिक्षा सँगसँगै व्यावहारिक शिक्षा प्रदान गर्न विद्यालय सफल भएको उनको भनाइ छ । सयौँ निजी विद्यालयहरूका बीच आफ्नो छुट्टै पहिचान बनाई विद्यालयलाई डिजिटल ब्राइटलाइट एकेडेमी बनाउन लागिपरेको उनको दाबी छ । अहिले विद्यालयले स्मार्ट बोर्ड र प्रोजेक्टरबाट पठनपाठन गर्दै आइरहेको छ ।

विद्यालयमा शिक्षण सिकाइका लागि कम्प्युटर ल्याब, लाइब्रेरीलगायतका बस्तु विद्यार्थीहरूको सहज पहुँचमा पु¥याएको छ । ब्राइटलाइटमा हप्ताको ५ दिन कोर्सको पढाइ अन्य १ दिन अतिरिक्त क्रियाकलाप, प्रयोगात्मक अभ्यास र खेलकुद क्रियाकलाप हुने गरेको सहायक प्रिन्सिपल अरुण कुमार यादवले बताए ।

२०७६ सालदेखि विद्यालयले कक्षा ११ मा व्यवस्थापनमा कम्प्युटर साइन्स र शिक्षा संकायमा स्वास्थ्य, अंग्रेजी, गणित र नेपाली विषयमा अध्यापन गराउँदै आएको छ । नयाँ शैक्षिकसत्रबाट होटेल म्यानेजमेन्टको पनि पढाइ सञ्चालन गर्ने योजना बनाइएको उनले जानकारी दिए । माध्यमिक तह कक्षा–१२ सम्म अध्ययन–अध्यापन हुँदै आएको विद्यालयमा ७ सय बढी बालबालिका अध्ययनरत छन् ।

कन्टेनका लागि शिक्षकहरूले किताबको प्रयोग गर्ने गरेको भन्दै प्रधानाध्यापक चौधरीले कक्षा ५ सम्म ५ वटा विषयको मात्र पढाइ हुने र अन्य २ विषयका रूपमा विभिन्न सन्देश एवम् चेतनामूलक विषयबस्तु मार्सल आर्ट, तेक्वान्दोलगायत अन्य खेलहरूका साथसाथै पाक शिक्षा र प्रयोगात्मक अभ्यासलाई जोडिरहेको बताए ।

२०७२ सालदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत क्रिसा, नगरस्तरीय, जिल्लास्तरीय र राष्ट्रपति रनिङ शिल्डमा छात्र भलिबलमा विद्यालयले निरन्तर स्वर्ण पदक जित्न सफल भएको उनले बताए । त्रैमासिक रूपमा अभिभावक भेला गर्ने गरिएको र उनीहरुका समस्या संकलन गर्ने र समस्या समाधानका खाकासमेत तय गर्दै आएको शिक्षिका दुर्गा श्रेष्ठले बताइन् ।

विद्यालयकी कार्यबाहक प्रिन्सिपलसमेत रहेकी श्रेष्ठको वाककला र मनिटरिङको पाटोले समेत विद्यालयलाई मद्दत पुगेको दाबी गरिन् ।
६३ जनाले आवासीय शिक्षा लिइरहेका छन् भने कक्षा ८ र कक्षा १० का विद्यार्थीहरूको परीक्षा तयारीका लागि विद्यालयले विद्यार्थीहरूलाई प्रि–टेष्ट र शैक्षिक पुनरावलोकनका कार्यक्रमलाई तिब्रता दिएको छ । एसइई र कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजाका लागि विद्यालयले विद्यार्थीहरूलाई थप क्रियाशील बनाउँदै लगिएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत १ गते बिहीबार