दैलेखमा पेट्रोल उत्खनन गर्न आइपुगे मेसिन



नेपालगन्ज आइपुगेका सामान आवश्यक प्रक्रिया पूरा गरेर दैलेख पठाइँदै छ । अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गर्नका लागि बन्दोबस्तीका सामान, मेसिन, औजार, उपकरण बोकेका सयभन्दा बढी ट्रक दैलेख आउने जनाइएको छ ।

नेपालगन्ज ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक चीन भ्रमण जाँदा चीन सरकारसँग भएको सम्झौता अनुसार दैलेखको पेट्रोलियम अन्तिम अन्वेषण कार्य सुरु गर्नका लागि ड्रिलिङ मेसिन नेपाल भित्रिएका छन् । पहिलो चरणमा कोलकाताबाट हिँडेका आठवटा ट्रक नेपालगन्जस्थित जमुनाह नाकामा पुगेका छन् । यो नाका हुँदै सय ट्रकभन्दा बढी सामान भित्रिने जनाइएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार, नेपालगन्ज आइपुगेका सामान आवश्यक प्रक्रिया पूरा गरेर दैलेख पठाइँदै छ । अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गर्नका लागि बन्दोबस्तीका सामान, मेसिन औजार, उपकरणलगायत सयभन्दा बढी ट्रक दैलेख आउने जानकारी सम्बन्धित पक्षले दिएको लम्सालले बताए ।

केही महत्वपूर्ण सामग्री ल्याएका आठवटा ट्रकमा भन्सार छुटको कागज नमिलेपछि रुपैडिया नाकामै रोकिएको खानी तथा भूगर्भ विभागका अन्वेषण प्रमुख डा. गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् ।  चीनको जिओलोजिकल सर्भे कम्पनीको नाममा भन्सार छुट पत्र तयार गरिएको भए पनि उत्त पत्रमा नेपाल सरकार र जिओलोजिकल सर्भे कम्पनीको नाम समावेश गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा डेढ महिनाअघि नै पत्र पठाइएको थियो र मन्त्रालयले भन्सारमा पत्राचार नगरेका कारण केही ढिलाइ भएको भए पनि पहिलोपटकको समस्या समाधान भए अन्य सामानहरू आउन सहज हुने खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।

भन्सारमा रोकिएका सामान नेपालगन्जबाट सुर्खेतदेखि कर्णाली राजमार्ग हुँदै चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट मध्यपहाडी राजमार्गको सडक प्रयोग गरेर अन्वेषणस्थल दैलेखको जलजले आउनेछन् ।यसअघिका अन्य तीनवटा चरणमा काम गर्दा दैलेखका करिब तीन हजारभन्दा बढी युवाले रोजगारी पाएका थिए, अहिले पनि अन्तिम अन्वेषणका बेला धेरैभन्दा धेरै स्थानीय बासिन्दाले रोजगारी पाउने आशा गरिएको छ ।

नेपालको दैलेखमा रहेको भू–भाग पेट्रोल र ग्यासको स्रोतका रूपमा विश्वकै महत्वपूर्ण स्थान हुनसक्ने अहिलेसम्मका अध्ययनले देखाएको छ । अन्तिम अध्ययनबाट के कति परिणाममा ग्यास र पेट्रोल छ भनेर पत्ता लाग्ने जनाउँदै यसले देशकै आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण स्रोत प्राप्त हुनेमा स्थानीय आशावादी छन् ।

 

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार