यातायात व्यवस्था कार्यालय बाँकेका नाममा ‘फेसबुक’मा आधा दर्जनभन्दा बढी ‘पेज’हरू छन् । यीमध्ये कुन आधिकारिक हुन् कुन होइनन् भन्नेमा सेवाग्राही अन्योलमा छन् । कति पेज त दलालहरूले गैरकानुनी सूचना सम्प्रेषण गर्दै सेवाग्राही ठग्न प्रयोग गरिरहेको भेटिएको छ ।
तिलक गाउँले । नेपालगन्ज ।
‘दलाल’हरूले सेवाग्राहीलाई ठग्नका लागि यातायात व्यवस्था कार्यालय बाँकेको नाममा ‘फेसबुक’मा आधा दर्जन ‘एकाउन्ट’ र ‘ग्रुप’ बनाएको खुलेको छ । गैरकानुनी रूपमा सरकारी कार्यालयको नाम र लोगो प्रयोग गर्दै बनाइएका यस्ता ‘एकाउन्ट’ र ‘ग्रुप’मार्फत दलालहरूले सेवाग्राहीलाई ठग्ने काम गरिरहँदासमेत सम्बन्धित निकाय यातायात कार्यालयले रोक्न कुनै चासो दिएको छैन ।
त्यसै पनि यातायात कार्यालयमा दलालका कारण सेवाग्राही वाक्कदिक्क बन्दै आएका छन् । उनीहरूलाई पैसा नदिएसम्म सेवाग्राहीले कुनै पनि काम समयमै गर्न सक्दैनन् । दलालहरूमार्फत हुने घुसखोरीका कारण यातायात कार्यालय सधँै बदनाम छ । सेवाग्राही ठग्ने अनेक उपाय अपनाउने गरिरहेका बेला सामाजिक सञ्जाललाई समेत दलालहरूले ठग्ने माध्यम बनाएको भेटिएको हो ।
यातायात कार्यालय बाँकेका नाममा मात्रै तीनवटा ग्रुप फेसबुकमा भेटिए । यिनको एडमिन अर्थात सञ्चालन गर्ने व्यक्ति को हुन् ? भन्ने यकिन छैन । ४२ हजार सदस्य रहेको यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँके (हेल्पिङ ग्रुप), १६ हजार सदस्य रहेको यस्तै नामको अर्को ग्रुप र भेरी यातायात कार्यालय नेपालगन्ज बाँके नामको गरी तीनवटा ग्रुप सामाजिक सञ्जालमा भेटिन्छन् । जसमा दुईवटामा नेपाल सरकारको लोगो र एउटामा कारकाँदोमा रहँदाको यातायात कार्यालयको फोटो राखिएको छ ।
हजारौं सदस्य रहेका यी ग्रुप अहिले पनि सञ्चालनमा छन् र यातायात कार्यालयसँग सम्बन्धित लेख्नै नमिल्ने गैरकानुनी सूचना सम्प्रेषण भइरहेको छ । उदाहरणका लागि सोमबार दिउँसो २ बजेतिर एक जना युवतीले लाइसेन्सको थोरै कोटा रहेकाले छिटोभन्दा छिटो फाराम भर्न आउन भन्दै सूचना सम्प्रेषण गरेकी छन् । उक्त सूचनामा नेपालगन्जबासीका लागि खुसीको खबर भन्दै आफूहरूमार्फत लाइसेन्सको फाराम भरे दुई दिनमै पालो आउने हाकाहाकी उल्लेख गरिएको छ ।
कोटा सीमित भएकाले आजै अर्थात सोमबार नै डकुमेन्ट पठाएर आफ्नो सिट सुरक्षित गर्न भन्दै ती युवतीले आफ्नो ह्वाटस्एप नम्बर उक्त ग्रुपमा सेयर गरेकी छन् । यो हदसम्मको गैरकानुनी सूचना सम्प्रेषण गर्दै सेवाग्राही ठग्ने काम सामाजिक सञ्जालमार्फत भइरहेको बारेमा यातायात कार्यालयले कि त पत्तो पाएको छैन होइन भने पत्ता पाएर पनि किन चुपचाप लागिरहेको छ ? प्रश्न उठेको छ ।
यी त भए फेसबुकमा बनेका यातायात कार्यालयको नामका ग्रुप । जति ग्रुप बनेका छन् त्यति नै संख्यामा एकाउन्ट र पेजसमेत बनेको भेटिएको छ । ‘ट्रायल’ दिइरहेको र सूर्यास्तको फोटो प्रोफाइल बनाइएको यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँकेसहित कैयौं पेज र एकाउन्ट सञ्चालनमा छन् । यातायात व्यवस्था कार्यालयको आधिकारिक एकाउन्ट र पेज हुँदै नभएको होइन ।
तर तीबाहेक आधा दर्जन बढी अन्य पेज र एकाउन्ट सञ्चालन गरेर दलालहरूले सेवाग्राहीसँग मोलमोलाइ गरिरहेका छन् जुन गैरकानुनी काम भएको बताउँछन्, नेपालगन्ज–१२ का दिलबहादुर परियार । उनी भन्छन्, ‘फेसबुकमा यातायात कार्यालय बाँकेमा नाममा जति पनि आइडी बनाएको भेटियो । त्यसले सेवाग्राहीलाई भ्रममा मात्रै पारेको छैन । ठगिने अवस्थासमेत सिर्जना गराएको छ ।’ यातायात कार्यालयले अग्रसरता लिएर त्यस्ता एकान्ट बन्द गराउनतिर लाग्नुपर्ने र आधिकारिक कुन हो भन्ने स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
सबैभन्दा धेरै राजस्व उठाउने र सबैभन्दा धेरै सेवाग्राहीले सेवा लिने यातायात कार्यालय नेपालगन्जको न आफ्नै भवन छ न त जग्गा नै । जबकि यही कार्यालयले २०८० पुस मसान्तसम्म विभिन्न शीर्षकमा ३६ करोड रूपैयाँ राजस्व उठाएको छ । बाँकेमा संघीय कार्यालय समेतलाई जोड्दा पनि नेपालगन्ज भन्सार कार्यालयपछि सबैभन्दा धेरै राजस्व उठाउने कार्यालयमा यातायात दोस्रो नम्बरमा छ ।
एक वर्षअघि यातायात कार्यालय फेरि पनि अस्थायी भाडाकै भवनमा कारँकादोबाट बाँकेगाउँमा सरेको छ । कार्यालय सार्दा सेवाग्राहीले झेल्ने दुःख त बयान गरिसाध्य छैन । कर्मचारीलाई पनि यो कुराले सहजता पक्कै दिएको छैन । त्यसमाथि प्रविधिको दुरुपयोग गरेर सेवाग्राही झुक्याउँदा पनि सम्बन्धित कार्यालय मौन रहनु दुःखद पक्ष हो ।
प्रतिक्रिया दिनुहोस्