गोठधन्दा छोडेर सडकमा किसान



नेपालगन्ज ।
उत्पादन भएको दूध बिक्री नभएपछि देशभरका कृषकहरू आन्दोलनमा उत्रिएका छन् । गोठधन्दा छोडेर सडकमा बन्द गराउँदै हिँड्नु कृषकहरूको रहर होइन, बाध्यता हो । बिहान उत्पादन भएको दूध कहाँ बेच्ने र साँझ उत्पादन भएको दूध कहाँ बेच्नेसम्मको जुन पीडा उनीहरूले भोगिरहेका छन् त्यो सरकारले महसुस गर्न नसकेपछि सडक आन्दोलनमा जानुपरेको बताउँछन् अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसी ।

महासंघकै अगुवाइमा बिहीबार बाँकेमा पनि कृषकहरूले सरकारको ध्यानार्कषण गराउन एक घण्टा सडक ठप्प पारे । मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म कोहलपुर चौराहामा सडक बन्द गरी पूर्वपश्चिम राजमार्ग ठप्प पारिएको थियो । त्यसरी बन्द गर्दा आवतजावत प्रभावित भएको थियो । अखिल नेपाल किसान महासंघका अध्यक्ष केसी भन्छन्,–‘नागरिकलाई दुःख दिन होइन सरकारलाई किसानले अहिले झेलिरहेको दुःख सुनाउन बन्द गर्नुपरेको हो ।’

अखिल नेपाल किसान महासंघ बाँकेले किसानलाई भुक्तानी गर्न बाँकी रकम तुरुन्त भुक्तानी गर्न, किसानको दूध खरिद गर्न माग गरेको छ । त्यस्तै, दूधको बिक्री मूल्य निर्धारण गर्नलगायतका माग अघि सारेर आन्दोलन गरिरहेको हो ।दूग्ध व्यवसायीहरू पनि आन्दोलनको चरणमा छन् । दूध व्यवसायी संघले कोहलपुर र नेपालगन्ज उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएर स्थानीय तहले गर्न सक्ने समस्या समाधानका लागि पहल लिन माग गरेका छन् ।

दूग्ध व्यवसायी संघ कोहलपुरका महासचिव सन्तोष पौडेलका अनुसार कोहलपुर नगरपालिका क्षेत्रमा विगत ५ वर्षदेखि संस्थागत रूपमा दुग्ध कारोबार हुँदै आए पनि हालसम्म दूधको बजार व्यवस्थित छैन । त्यस्तै, अवस्था नेपालगन्जमा पनि छ । बाँके जिल्लामा १० हजार लिटर दूध उत्पादन हुने र सोही अनुपातमा खपत भएको छैन । बाँके जिल्लामा मुख्य गरेर संगठित रूपमा सहकारी, संस्थान र प्राइभेट डेरी उद्योगबाट दुग्ध कारोबार हुँदै आएको छ । त्यस्तै दर्ताबिना विभिन्न पसल र व्यक्तिबाट समेत मापदण्डविपरीत गुणस्तरहीन दुग्ध कारोबार भइरहेको किसानहरूको गुनासो छ ।

यसरी मापदण्डविपरीत दुग्धजन्य वस्तु कारोबार हुँदै आएकोमा यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने र बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको छ । दूग्ध व्यवसायीहरूले नेपाल सरकारको स्वामित्वमा रहेको नेपालगन्ज दुग्ध विकास संस्थानको जग्गामा पाउडर प्लान्ट तत्काल बनाउन पहल गर्ने, दुध तथा दुग्धजन्य पदार्थहरू सरकारी निकाय, सुरक्षाकर्मी र विद्यालयमा खुवाउने व्यवस्था गर्ने, दुध उत्पादन गर्ने, किसान तथा प्रशोधन गर्ने निकायलाई छिटो छरितो अनुदानको व्यवस्था गर्ने कार्यमा अघि बढ्न माग गरेका छन् ।

भारतबाट आउने दुग्धजन्य पदार्थहरू जस्तै दूध, खुवा, पनिर, बटर मिल्क, धुलो द्घ पाउडर लगायतका वस्तुहरूलाई आजका मितिबाट बन्द गर्नुपर्ने, दूध तथा दूधजन्य पदार्थहरू खुलारूपमा बिनादर्ता गुणस्तरहीन दूधबिक्री वितरण भइरहेको हुँदा सोको छानबिन गरी बन्द गर्नुपर्ने, किसानका गाईभैँसीको बिमा र उपचारमा लाग्ने औषधी खर्च सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

नेपाल सरकारबाट उत्पादित पशु आहार गुणस्तरीय बनाई किसानलाई सरकारले ५० प्रतिशत अनुदानमा दिने व्यवस्था गर्ने साथै डिडिसीबाट उत्पादित दूधजन्य सामग्रीहरू नेपालको जुनसुकै ठाँउमा भण्डारणको व्यवस्था गर्ने पहल गर्न, मिल्क होलिडे बन्द गरी सहज तरिकाले किसानको दूध किन्ने र भुक्तानी व्यवस्थापन, नेपाल सरकारको स्वामित्व रहेको डिडिसी तथा डेरी उद्योगहरूले दिनुपर्ने किसानको ६ अर्ब करिब वक्यौता रकम तत्काल निकासा गरी किसानलाई भुक्तानी दिने व्यवस्था गर्न माग गरिएको छ ।

दूध उत्पादन गर्ने चितवनका किसान यसअघिदेखि नै आन्दोलनमा छन् । उनीहरूले त दूध सडकमै पोखेर विरोध जनाएका छन् । ठ्याक्कै त्यस्तै समस्याबाट पिरोलिएका छन् बाँकेका दुग्ध उत्पादक कृषक पनि । दुग्ध व्यवसायी संघका महासचिव सन्तोष पौडेलका अनुसार, यतिबेला दूध नबिकेर किसान हैरान छन् । दूध कहाँ राख्ने ? कहाँ बेच्ने कुनै टुंगो छैन । निजी तथा सरकारी डेरी उद्योगहरूले लामो समयदेखि किसानको दूधको भुक्तानी नदिएका र पछिल्लो समय दूध पनि उठाउन छाडेको किसानहरू बताउँछन् ।

 

प्रकाशित मिति : २०८० फागुन १८ गते शुक्रबार