नामजस्तै शैक्षिक ब्रान्ड बन्ने दिशामा तक्षशिला एकेडेमी



गणेश रावत । कोहलपुर।

तक्षशिला नामले नै यसको ऐतिहासिकता झल्काउँछ । कुनै बेला नालन्दा र तक्षशिला विश्वविद्यालय पूर्वीय दर्शनका शिक्षाका केन्द्र मानिन्थे । त्यस्तै उद्देश्य बोकेर कोहलपुर–१० मा खुलेको तक्षशिला एकेडेमी कोहलपुरमा अब्बल शिक्षण संस्थाको रूपमा विकास हुँदै गएको छ । केही वर्षभित्रै विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ कोहलपुरमा सुरु गरिएको तक्षशिला एकेडेमी छोटै समयमा आफ्नो लक्ष्यमा अग्रसर देखिन्छ।

तक्षशिला एकेडेमी उपत्यकाबाहिरको एक अब्बल शैक्षिक संस्थाका रूपमा विकास भइसकेको छ । जो अन्य विद्यालयहरूभन्दा पृथक् तरिकाले सञ्चालन हुँदै आएको छ । स्थापनाको छोटो समयमा नै शैक्षिक गुणस्तर कायम गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
विद्यालयले शिक्षण विधि मात्र नभई समयसापेक्ष विभिन्न प्रयोगात्मक विधिहरू अपनाएर शिक्षण सिकाइ गर्दै आएको तक्षशिला एकेडेमीका अध्यक्ष विष्णु बेल्बासेले बताए ।

तक्षशिला एकेडेमी स्थापना भएको छोटो समयमै पृथक् र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको उनको भनाइ छ । अहिले विद्यालयले स्मार्ट बोर्डमार्फत पठनपाठन गरिरहेको उनले जानकारी दिए ।कोहलपुर नगरपालिकाभित्र रहेका विद्यालयहरू स्मार्ट बोर्डको अभियान सञ्चालन गर्ने तरखरमा रहका बेला तक्षशिलाले भने जडान गरेर प्रयोगमा समेत ल्याइसकेको छ । ‘प्रविधिको युग भएकाले प्रविधिमैत्री वातावरण र शिक्षण सिकाइमा प्रविधिको प्रयोग अनिवार्य भएको अध्यक्ष बेल्बासेको भनाइ छ ।

स्मार्ट बोर्डले अहिले अभिभावक र विद्यार्थीहरूमा उत्साह थपिरहेको उनले बताए । ‘यो अन्य विद्यालयले पनि सिकून्,’ अध्यक्ष बेल्बासेले भने, ‘सम्पूर्ण समाजको शिक्षामा गुणस्तर कायम गर्न एउटा विद्यालयले मात्र सुधार गरेर हुँदैन । समग्र शिक्षामा सुधार हुनुपर्छ ।’गुणस्तरीय शिक्षाका लागि आफ्नो विद्यालयले कुनै किसिमको सम्झौता नगर्ने बेल्बासेको दाबी छ । उनी भन्छन्,– ‘हामी शिक्षाको गुणस्तरमा सम्झौता गर्दैनौँ । त्यसैेले संख्यालाई भन्दा हामी गुणात्मकतामा ध्यान दिइरहेका छाँै ।’

तक्षशिला विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासन र अभिभावकबीचको त्रिकोणीय सुमधुर सम्बन्ध स्थापित गरेर अघि बढिरहेको उनको भनाइ छ । उनले अभिभावकलाई कुनै पनि किसिमको अतिरिक्त आथि भार नदिइकन विद्यार्थीलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न तक्षशिला टिम नै सक्रिय रहेको उनले बताए ।विद्यालयले विद्यार्थीहरूको अन्तर्निहीत क्षमता विकास र प्रस्फुटन गर्न पाठ्यपुस्तक मात्रै नभई साप्ताहिक रूपमा अतिरिक्त क्रियाकलाप गर्ने गरेको गरेको उनले बताए । ‘जे बोल्छौँ, त्यो गर्छाै’ यो तक्षशिला एकेडेमीको कथन नै हो,’ उनले भने, ‘यो कथन पुरा गर्न हामी जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छौँ ।

बालबालिकाको भविष्यमाथि खेलवाड गर्दैनौँ ।’ शिक्षा भनेको बालबालिकाको भविष्य भएको र यसमा कसैले पनि खेलवाड गर्न नहुने उनको तर्क छ ।अंग्रेजी भाषा शिक्षणलाई निजी विद्यालयहरूले प्राथमिकता दिने गरे पनि आफ्नो विद्यालयले अंग्रेजीका साथसाथै नेपाली भाषालाई जोड दिँदै आएको उनले बताए । विद्यालयले विद्यार्थीको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन बेलाबेला विभिन्न गतिविधि गर्दै आएको छ । केही दिनअघि मात्र विद्यार्थीका अक्षर सुधार गर्न र शुद्धाशुद्धिलाई जोड दिन कार्यक्रम गरिएको उनले जानकारी दिए ।

‘यतिबेला विद्यार्थीलाई शिक्षणका अलावा धेरै कुरामा सचेत गराउनु आवश्यक छ । संस्कारका कुरा, संस्कृतिका कुरा, नैतिकताका कुरा उनीहरूलाई बुझाउनु जरुरी छ,’ बेल्बासे भन्छन्, ‘त्यसैले घरपरिवारको हाम्रो संस्कार र नैतिकतासहितको गुणस्तरीय शिक्षा विद्यालयले प्रदान गर्दै आएको छ ।’ विद्यालयले भरखरै मात्रे आठौँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाउने क्रममा पनि विद्यालयले केही विशेष किसिमको कार्यक्रम गरेको थियो । यस क्षेत्रका शिक्षाप्रेमीहरूलाई राखेर विद्यालयले शैक्षिक बहस चलाउनुका साथै उनीहरूका शिक्षा आर्जन गर्दाका अनुभवहरूलाई विद्यार्थीमाझ राखिएको थियो ।

विद्यार्थीहरूले यस क्षेत्रका बौद्धिक व्यक्तिका अनुभवबाट केही नयाँ कुरा सिकून् भन्ने उद्देश्यले नै यस्तो कार्यक्रमको आयोजना गरिएको बेल्बासे बताउँछन् ।सो अवसरमा मेयर आचार्य, बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुन्दर तिवारी, नगर शिक्षा शाखाकी अधिकृत शिला गौतम र डा. दिलबहादुर सत्यालले आफूले शिक्षा आर्जन गर्दाका अुनभव विद्यार्थीमाझ सुनाएका थिए । उनीहरूले आफूहरूले विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षा आर्जन गर्दाका आ–आफ्ना अनुभूतिहरू बाँडेका थिए । उनीहरूले शिक्षा आर्जनका क्रममा आफूहरूले गर्नुपरेका संघर्षका कथा उनीहरूले सुनाएका थिए ।

त्यसले विद्यार्थीहरूमा पढाइप्रति अभिरुचि जगाएकोे अध्यक्ष बेल्बासेले बताए । ‘समाजका प्रबुद्ध व्यक्तिका शिक्षण सिकाइ अनुभवहरूले विद्यार्थीलाई अध्ययनका लागि प्रेरणा मिल्नेछ,’ अध्यक्ष बेल्बासेले भने, ‘बालबालिकालाई पढाइप्रति अभिरुचि जगाउने उद्देश्यले त्यो बहस कार्यक्रम राखिएका थियौँ ।’ वातावरणीय हिसाबले पनि विद्यालय एकान्त ठाउँमा छ जहाँ कुनै बाहिरी वातावरणले विद्यार्थीको पठनपाठनमा अवरोध सिर्जना गर्न सक्दैन । शान्त वातावरणमा विद्यार्र्थीले पठनपाठन गर्न पाएका छन् ।

‘तक्षशिला एकेडेमीमा धेरै कुरा फरक र सिर्जनात्मक किसिमले व्यवस्थापन गरिएको छ,’ बेल्बासे भन्छन् । विद्यालयलाई उपत्यका बाहिरको नमुना विद्यालय बनाउने ध्याउन्नमा आफूहरू रहेको उनको भनाइ छ ।विद्यालयले भौतिक पूर्वाधार विकासमा पनि जोड दिएको छ । अपांगमैत्री भवनलगायत संरचना निर्माण गरिएका छन् । स्विमिङ पुुल र खेल मैदानको समेत राम्रो व्यवस्था रहेको छ । तक्षशिला एकेडेमीलाई अबको एक दशकभित्र तक्षशिला विश्वविद्यालयको रूपमा लैजाने उद्देश्य रहेको उनले जानकारी दिए ।

त्यसका लागि अभिभावक, फाउन्डर र सम्बन्धित निकायलगायत सबैको साथ चाहिने उनको कथन छ । आठौँ वर्षमा नै विद्यालयले गरेको प्रगति हेर्दा चाँडै नै विश्वविद्यालय स्थापना हुने कुराम आशावादी हुन सकिन्छ ।बाँकेका शिक्षाप्रति सचेत र जागरुक व्यक्तिहरूद्वारा सञ्चालित तक्षशिता एकेडेमीमा शिक्षक तथा कर्मचारीका रूपमा पनि गुणस्तरीय जनशक्तिलई अनुबन्धित गरिएको छ । विद्यालयका प्रधानाध्यापक भीमबहादुर रोकाय आफैँ डबल डिग्री होल्डर भएको अध्यक्ष बेल्बासेले बताए ।

पाठ्य पुस्तकका अलावा अतिरिक्त क्रियाकलापमार्फत पनि विद्यार्थीहरूलाई शिक्षण सिकाइमा सहभागी गराइँदै आएको प्रधानाध्यापक रोकायले बताए । शिक्षणबाहेक विभिन्न विधाका कार्यक्रममा विद्यार्थीहरूलाई सहभागी गराइँदै आएको उनको भनाइ छ । ‘विद्यार्थीको अन्तर्निहीत क्षमता प्रस्फुटन गर्न ट्यालेन्ट हन्टअन्र्तगत गायन आइडल, कमेडी च्यापियन, पोइट आइडल, वक्तृत्व कला प्रतियोगिता आदि गर्ने गरेका छौँ,’ प्रधानाध्यापक रोकायले भने । यस्ता कार्यक्रममा विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहभागिता जनाउँदै आएको उनको भनाइ छ ।

प्रविधिमैत्री वातवरण सिर्जना गर्न स्मार्ट बोर्ड जडान गरिएको र यसबाट शिक्षण कार्य गर्दा पठनपाठन प्रभावकारी हुने उनले बताए । कम्प्युटर ल्याब, विज्ञान ल्याबमार्फत प्रयोगात्मक कक्षा सञ्चालन भइरहेको उनको भनाइ छ । अहिले विद्यालयमा ९ सय जना विद्यार्थी अध्ययनरत छन् ।
अहिलेको शिक्षा नैतिक र जीवनोउपयोगी हुन आवश्यक भएकाले यस्तो शिक्षामा विद्यालयले जोड दिएको उनी बताउँछन् । त्यसैले विद्यार्थीहरूलाई घोकन्ते शिक्षा मात्र नभई कतिपय कुरा फिल्डमै लगेर सिकाउने गरिएको उनले जनाए ।

तक्षशिला एकेडेमीले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि ट्राफिक सचेतना कार्यक्रम गरेको थियो । विद्यार्थीहरूलाई जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरमै लगेर ट्राफिक संकेत तथा ट्राफिक नियमहरूका बारेमा जानकारी दिइएको उनले बताए । प्रयोगात्मक सिकाइबाट विद्यार्थीहरूले चाँडो र प्रभावकारी रूपमा सिक्न सक्ने भएकाले उनीहरूलाई फिल्डमै लगेर जानकारी दिइएको उनको भनाइ छ ।

शिक्षा सँगसँगै प्रतिभाको संरक्षण र वृद्धि विकासका लागि सबै विधाका शिक्षकहरूले आआफ्नो विधामा विद्यार्थीलाई उत्प्रेरित र प्रशिक्षित गर्ने गरेको उनले बताए । प्रविधिको सही सदुपयोग गर्न अभिभावकसँग बसेर छलफल चलाइनुुका साथै मोटिभेसनल क्लाससमेत दिने गरिएको छ। बालबालिकालाई नैतिकवान र क्षमतावान बनाउन विद्यालय प्रशासन कटिबद्ध रहेको उनको भनाइ छ ।

पछिल्लो समय एसइई दिनेबित्तिकै बिदेसिने हतारिने विद्यार्थीलाई आफ्नै भूमिमा केही गर्न उत्प्रेरित गर्ने उद्देश्यले जीवनोपयोगी शिक्षामा जोड दिइरहेको प्रधानाध्यापक रोकायको भनाइ छ ।

प्रकाशित मिति : २०८० फागुन १८ गते शुक्रबार