स्थानीय तहको खर्च ६ महिना बितेपछि उकालो चढ्दै



प्रेम विश्वकर्मा । कोहलपुर ।
संघीय सरकारले बर्सेनि १५ जेठमा आगामी आर्थिक वर्षका लागि बजेट र त्यसअघि वार्षिक नीति तथा कार्यक्रम ल्याउने गर्दछ । प्रदेश, स्थानीय सरकारले असारमा बजेट ल्याउँछन् । साउन १ गतेबाटै बजेट खर्च गर्ने बाटो खुल्छ । तर तोकिएको समयसीमाभित्र तीनवटै तहका सरकारले बजेट ल्याउँदा पनि स्थानीय तहका विकास योजनाअनुसार बजेट खर्च भएको छैन ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले १० माघ २०८० मा एकैदिन तीन वटा विकास निर्माणका योजना सुरु ग¥यो । १ करोड ६५ लाख रुपैयाँ बजेटका विकास निर्माणका योजनाको निर्माण २०८१ साल असारसम्ममा सम्पन्न गर्नुपर्छ । यी योजनामा वडा नम्बर १९ फुटाहा हुँदै एसके डेरीसम्म ३ सय ७५ मिटर लम्बाइ र ६ मिटर चौडाइ भएको सडक, नेपालगन्ज सुर्खेत रोड हुँदै स्थानीय टाँगा स्टेशनसम्म ५ सय ५० मिटर लम्बाइ, ८ मिटर चौडाइ भएको पासाङ ल्हामुमार्ग जोड्ने सडक बनाउने काम पर्छन् ।

यी दुवै सडकमा अस्फाल्ट पिच गरिनेछ । यस्तै, यसक्षेत्रकै प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको वागेश्वरी चिल्ड्रेन पार्कमा पर्खाल निर्माण, माटो भर्ने र ग्राभेल गर्ने योजना छ । नेपालगन्ज उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि १ हजार ८ सय ५९ वटा योजना छन् । तर यी योजना सम्पन्न भइसक्नुपर्ने म्याद र योजना सङ्ख्यालाई हेर्दा विकासे योजनाको ग्राफ कुनै उकालो चढेको छ भने कुनै ओरालो लागेको छ ।

चालु आर्थिक बर्ष २०८०÷०८१ को ६ महिना बितिसक्दा नेपालगन्ज उपमहानगरपालिकाले विकास निर्माणसम्बन्धी उपभोक्ता र उपमहानगरपालिकाको संयुक्त लगानीका ३० वटा योजनाको काम गर्नुपर्नेछ । यिनमा २० प्रतिशत खर्च उपभोक्ता समिति, ८० प्रतिशत खर्च उपमहानगरपालिकाले बेहोर्नुपर्छ । विगतका आर्थिक वर्षका ठेक्का ९ वटा छन् ।

यस्ता योजनामध्ये कोटेसनमार्फत् गर्न सकिने स–साना योजनाको मात्र काम भइरहेको छ । जस्तै, १३ वटा मठ–मन्दिरको रङरोगनको काम । गत आर्थिक वर्ष २०७९÷०८० को तुलनामा यस वर्ष काम ढिलै भएको छ । उपमहानगरपालिकाको योजना शाखाका अनुसार समन्वय नभएकाले, फिल्डमा विवाद भएकाले, नगरसभाबाट योजना पारित गर्न ढिलो भएकाले र कार्यविधि अस्पष्ट भएकाले ढिला भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका आर्थिक प्रशासन शाखा, लेखा अधिकृत लोकेन्द्र रावत भन्छन्, ‘पहिलो र दोस्रो चौमासिकमा क्रमागत (पुराना) बाहेक टेन्डर, सूचना, मूल्याङ्कन गर्ने कार्य हुन्छ, चालु खर्च देखिन्छ, अन्य प्रगति देखिँदैन । पुँजीगत खर्च तेस्रो चौमासिकमा देखिन्छ ।’
यस हिसाबले पहिलो र दोस्रो चौमासिक अर्थात् वर्षको आठ महिना कागजी काम मात्र हुन्छ ।

वास्तविक काम आर्थिक वर्षको पछिल्लो चार महिना अर्थात् चैत, वैशाख, जेठ र असारमा हुन्छ । यी महिनामध्ये कुनैमा असाध्यै गर्मी हुन्छ, तातो लु चल्छ भने कुनै महिना पानी पर्छ । यस्ता महिनामा निर्माणका काम हुन पाउँदैन । नेपालगन्ज उपमहानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतका अनुसार चालु आर्थिक बर्ष २०८०÷०८१ का लागि नेपालगन्ज उपमहानगरपालिकाको कुल वार्षिक बजेट १ अर्ब ८३ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दीन राई भन्छन्, ‘विकास निर्माणको काममा ढिलाइ भएको छैन । ७५ प्रतिशत काम अघि बढिसक्यो । १० प्रतिशत विकास निर्माणको काम सम्पन्न भइसक्यो । प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर नयाँ आउन, वार्षिक योजना किताब पनि प्रकाशित हुन समय लाग्यो, तर पनि हामी अरु पालिका भन्दा विकास निर्माणको काममा अगाडि नै छौँ ।’

जानकी गाउँपालिका योजना शाखा अधिकृत तथा सूचना अधिकारी शोभा पौडेल भन्छिन्, ‘आन्तरिक राजस्व कम छ, बजेट समयमा आउँदैन । त्यसैले योजना लागू गर्न समस्या हुने गरेको छ ।’ चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि जानकी गाउँपालिकाले ५ सय ९४ भन्दा बढी वार्षिक योजना बनाएको छ ।

जानकी गाउँपालिकाको लेखा शाखाको वार्षिक बजेट विवरण अनुसार गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ४७ करोड ५० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को ६ महिना बितिसक्दा जानकी गाउँपालिकाले चालुतर्फ १३ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ भन्छन्, ‘हामी असार, साउन कुरेर बस्दैनौं । तपाईंहरू आएर हेर्न सक्नुहुन्छ, फिल्डमा ५० प्रतिशत विकास निर्माणको काम भइसक्यो । किस्ता–किस्तामा रकम निकासा हुन्छ, त्यसैमा सरकारले बजेट कटौती गर्दा काम गर्न केही समस्या भइरहन्छ ।’ बाँकेको छिमेकी जिल्ला बर्दियाको बाँसगढी नगरपालिकामा चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि ६५७ वटा योजना छन् । अहिले ६ वटा विषयगत योजना कार्यान्वयनकै क्रममा रहेका छन् ।

बाँसगढी नगरपालिका योजना शाखाका मदन भण्डारी भन्छन्, ‘टुक्रे योजना धेरै भए, टोल विकास संस्थासँग मिलेर काम गर्नुपर्छ । टोल विकास संस्थाहरू कम सक्रिय छन् । त्यसकारणले पनि योजना कार्यान्वयनमा केही ढिलाइ भइरहेको छ ।’ बाँसगढी नगरपालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल वार्षिक बजेट ९४ करोड २८ लाख रुपैयाँ छ ।

बाँसगढी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को ६ महिना बितिसक्दा १८ करोड ५९ लाख रुपैयाँ मात्र बजेट खर्च गर्न सकेको छ ।
बाँसगढी नगरपालिका, आर्थिक प्रशासन शाखाका लेखापाल डोलराज वली भन्छन्, ‘चालु खर्च ठिकै भए पनि पुँजीगत खर्च कम छ । औसतमा सन्तुलित खर्च अर्थात एकै किसिमको खर्च भएको देखिँदैन । समयमा लाभग्राही सम्झौता गर्न नआइदिँदा सन्तुलन हुन सकेन । वडाले जिम्मेवार बनाउनुपर्छ लाभग्राहीलाई ।’

बाँसगढी नगरपालिकाका नगर उपप्रमुख इन्द्रिरा चौधरी भन्छिन्, ‘काम रोकिएको छैन, पुल, बाटो, भवनलगायत विकास निर्माणका कामको अनुगमन पनि गरिहेका छौं । उपभोक्ता समितिमार्फत गरिने काममा केही ढिलाइ भएको छ । टोल विकास संस्थाहरूमा आर्थिक समस्या देखियो । सम्पन्न भएका विकास निर्माणका काममा पनि केही भुक्तानी हुन ढिलाइ हुने गरेको गुनासो छ, हामीले सक्दो सहजीकरण गरिरहेका छौं ।’

 

 

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार