उद्यम गर्न चाहनेलाई लमही नगरपालिकाको साथ



देउखुरी।

विदेशमा आर्जन गरेको पुँजी र सीप स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गर्न सरकारले जारी गरेको पुनः एकीकरण कार्यक्रम लमही नगरपालिकाले लागू गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)द्वारा लमही नगरपालिकाअन्तर्गत नगर क्षेत्रका बासिन्दालाई उद्यमशिलतामा जोड्ने उद्देश्यले तालिमको आयोजना गर्दै आएको छ ।

‘स्वदेशी उद्यम र उत्पादन दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारा अगाडि सार्दै लमही नगरपालिकाले नगर क्षेत्रमा विभिन्न तालिमको आयोजना गर्दै आएको हो । नगरपालिकाले वडाका सबैलाई केही सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न तालिम प्रदान गर्दै आएको छ । गत वर्ष आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले ‘कृषिलाई उद्यम, कृषकलाई उद्यमी’भन्ने अभियानका साथ नगर क्षेत्रभित्रको परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण, विविधीकरण र यान्त्रिकीकरण गर्न सहयोग गरिने बताएका थिए ।

आफ्नो नीति तथा कार्यक्रममा नगर प्रमुख चौधरीले ‘कृषि तथा पशुपालन पकेट क्षेत्र कार्यक्रमलाई अनुसन्धान र सम्भावनाको आधारमा विस्तार गरिने’ उल्लेख समेत गरेका थिए । श्रमिकका परिवारलाई राज्यले राहत उपलब्ध गराउने गरे पनि उद्यम गर्छु भन्नेलाई यसअघि नहेरिएकाले यस्ता कार्यक्रम तय गरिएको लमही नगरपालिका नगर प्रमुख चौधरीले बताए । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले रोजगारीको क्रममा आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभव नेपालमै उद्यमशीलताको विकास तथा सीपको प्रवद्र्धनमा उपयोग गराउने यस कार्यक्रमको लक्ष्य छ ।

उनले विदेशमा कमाएको सीप र पैसा स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गरी पुनः विदेश पलायन हुन नपरोस् भन्ने उद्देश्यअनुरूप यो अभियान सुरु गरिएको बताए । सिकेको सीपलाई समुन्नत राष्ट्र निर्माणमा प्रयोग गर्न ढिला गर्न नहुने उनको भनाइ छ । लमही नगरपालिकाअन्तर्गत स्थानीयलाई स्थापित गर्न सञ्चालन भएको कार्यक्रमलाई सबै स्थानीय तहमा पु¥याउनुपर्ने सरोकारवालाको भनाइ छ । यस्तै लमही नगरपालिकाका उपप्रमुखलक्ष्मी योगीले नगरका पछि परेका वडाहरूलाई लक्षित गरी दिगो विकास र सामाजिक सशक्तीकरणलाई मध्यनजर गर्दै यो कार्यक्रम अघि सारिएको बताइन् ।

उनले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)द्वाराबाट प्रत्यक्ष रूपमा स्थानीयबासी लाभान्वित हुने विश्वास पनि व्यक्त गरिन् । उनले आर्थिक विकास र जीविकोपार्जनमा उल्लेखनीय सफलता हासिल हुने बताइन् । ‘महिलामा पनि नेतृत्व गर्ने क्षमता छ,’ उनले भनिन्, ‘पाएको अवसर छोड्नु हुँदैन, हरेक समस्यासँग जुधेर अगाडि बढ्नसक्नेले नै सफलता प्राप्त गर्छ ।’ उनले सीपलाई आर्थिक आयआर्जनसँग जोड्दै आर्थिक रूपमा बलियो हुन सबैलाई आग्रह गरिन् ।

‘सीप सिकेर त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ, जुनसुकै काममा इमानदारिता हुनुपर्छ अनि मात्र गन्तव्यमा पुग्न सकिन्छ,’ उनले भनिन् ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई नेपालमै पुनःस्थापित गराउन यो कार्यक्रम मात्रैले नपुग्ने बताउँदै तर कार्यक्रमले केही टेवा भने पुग्ने देखिएको उनले जनाए । उनले नगरबासीलाई उद्यमशीलता बनाउन विद्यालयस्तरबाटै उद्यमशीलता शिक्षा आवश्यक भएको भन्दै यस्ता कार्यक्रमले केही प्रारम्भिक सिकाइमात्रै हुने बताए ।

नागरिक लक्षित स्थानीय तहले गरेको कार्यक्रम निकै प्रभावकारी भएको लमही नगरपालिका नेपाली कांग्रेस नगर सभापति सन्तोष बुढाथोकीले बताए । ‘नागरिक लक्षित सरकारले अगाडि सारेको यो कार्यक्रम पहिलोपटक भएको हुँदा कतिपय स्थानीय तह भने अलमलमा परेको देखिन्छ, यो स्वभाविक पनि हो,’ उनले भने ।

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार