‘काज मिलाएर बाँकेमै बसेर देश र जनताको सुरक्षाभन्दा व्यक्तिगत हितमा लागेको, जिल्लाको सुरक्षामा योगदान नगरेको पाइएकाले तत्काल सरुवा भएको कार्यालयमै पठाउने व्यवस्था मिलाउन आग्रह गर्दछौं ।’– संघका अध्यक्ष टंकबहादुर धामी र महासचिव भीम रानाभाटद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कमल डाँगी । नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेमा काजका प्रहरीले ‘व्यक्तिगत फाइदा’ लिएको आरोप लगाएसँगै पहुँचका आडमा प्रहरी सेवाभित्र हुने काज सरुवाका विषयमा गम्भीर बहस सुरु भएको छ । संघले आरोप मात्रै लगाएको छैन त्यस्ता प्रहरीलाई दरबन्दी भएकै ठाउँमा पठाउनसमेत माग गरेको छ ।
शुक्रबार विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउने क्रममा संघले नेपाल प्रहरीमा विभिन्न तहका कर्मचारी सरुवा भएर पनि सम्बन्धित जिल्लामा नगई काज मिलाएर बाँकेमा नै बसेर देश र जनताको सुरक्षाभन्दा व्यक्तिगत फाइदा लिन उद्यत रहेको आरोप लगाएको छ । ‘काज मिलाएर बाँकेमै बसेर देश र जनताको सुरक्षाभन्दा व्यक्तिगत हितमा लागेको, जिल्लाको सुरक्षामा योगदान नगरेको पाइएकाले तत्काल सरुवा भएको कार्यालयमै पठाउने व्यवस्था मिलाउन आग्रह गर्दछौं,’ संघका अध्यक्ष टंकबहादुर धामी र महासचिव भीम रानाभाटद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संघले प्रहरीका सम्बन्धमा मात्रै होइन बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशन दिँदादिँदै पनि सरकारी कर्मचारीहरू किनमेलका लागि रुपैडिया जाने गरेको आरोप लगाएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघले प्रहरीभित्रको काजको विषयमा किन बोल्यो ? सर्वत्र चासोको विषय बनेको छ । सार्वजनिक सरोकारको विषय भएका कारण बोल्नु एउटा कुरा हो तर स्वयम् उद्योगी व्यवसायीहरू नै यस्ता प्रहरी कर्मचारीबाट पीडित भएपछि संघले बाध्य भएर मुख खोलेको हुनसक्ने बुझ्न कठिन छैन ।
त्यसरी काजमा जिल्लामा खटिएका प्रहरीले उद्योगी, व्यवसायीलाई हैरानी दिने गरेका गुनासा व्यक्तिगरूपमा व्यवसायीहरूबाट नसुनिने गरेका पनि होइनन् । यो मुद्दा गृहमन्त्रीसमक्ष उठाएर संघले यसलाई बहसमा ल्याउन खोजेको देखिन्छ । संघले थप स्पष्ट नपारे पनि विज्ञप्तिको मजबुनले यही आसयलाई प्रकट गर्दछ । काजमा प्रहरीका विषयमा बेलाबखत यस्ता विषय नउठेका होइनन् । पहुँचका आधारमा लामो समय सुगम वा ‘राम्रा ठाउँ’ मै बसिरहने प्रवृत्ति मुलुकभरि नै व्याप्त देखिन्छ ।
बाँकेमै पनि कतिपय यस्ता प्रहरी कर्मचारीहरूका बारेमा प्रश्न उठिरहने गरेका छन् । प्रहरी काजको दुरुपयोग हुने गरेको पाइएको छ । काज नै निकाल्न नमिल्ने सामान्य अवस्थामा पनि प्रहरी नियमावलीको दुरुपयोग गर्दै काज सरुवा हुने गरेको छ ।प्रहरी कर्मचारीको आवश्यकतामा नभई संगठनको आवश्यकता एवं सम्बन्धित प्रहरी कर्मचारीको हितमा असर नपर्ने गरी जनशक्तिको आकस्मिक तथा अस्थायी व्यवस्थापन गर्न सकिने निर्देशिकामा उल्लेख छ ।
तर, नियमावली र निर्देशिका अनुसार नै सकेसम्म काजमा नखटाउने तर काजमा नखटाई नहुने अवस्था आए मात्रै खटाउने भनेर प्रस्ट लेखिएको अवस्थामा नियमावलीकै दुरुपयोग गर्दै काज खटाउने रोगले प्रहरी संगठनमा जरा गाडेको पाइन्छ । काजमा खटाउनैपर्ने प्रशासनिक सुविधालाई टेकेर राजनीतिज्ञ, पहुँचवाला तथा शक्तिकेन्द्रहरूले आफ्नो मान्छेलाई चाहेको ठाउँमा पठाउने बाटोको रूपमा काज प्रयोग भइरहेको छ । जुन पहिल्यैदेखि हुन्थ्यो ।
हिमाल तथा दुर्गममा दरबन्दी भएका प्रहरी अधिकारीले अतिरिक्त अंक पाउँछन् । तर, दुर्गममा दरबन्दी भएका अधिकांश प्रहरी अधिकारी काज मिलाएर सुगममा बस्ने गर्छन् । बढुवाका बेला दुर्गममा काम गरेबापतको अंक तिनैले पाउने गरेका छन् ।आर्थिक चलखेलको रूपमा पनि काजको दुरुपयोग गरिन्छ । सरुवा गर्दा लामो प्रक्रिया लाग्ने र आफू निकटका व्यक्तिलाई चाहेको ठाउँमा पठाउन नसक्ने अवस्था पनि हुने भएकाले सुटुक्क काज मिलाएर सरुवा जाने प्रवृत्ति प्रहरीमा हाबी हुँदै आएको छ ।
यसखालको काजको दुरुपयोगले पुलिसिङ, प्रहरी कर्मचारीको मोरल र पर्फमेन्समा समेत प्रभाव पार्ने गरेको छ । बाँके प्रहरी प्रमुख सुवास बोहोरा काज एवम् दरबन्दीका सम्बन्धमा प्रहरी मुख्यालयले बनाएको नीति कार्यान्वयन भइरहेको बताउँछन् । ‘यस सम्बन्धमा जुन नीति बनेको छ, हामीले त्यसलाई फलो गरिरहेका छौं,’ बोहोराले भने ।
उनले बाँके जिल्लामै काजमा प्रहरीले व्यक्तिगत लाभ लिएको भन्ने विषयमा भने त्यस्तो थाहा नभएको जनाउँदै भने, ‘लामो समय त्यसरी बसेकाले राम्रा नराम्रासँग हिमचिम बढाएको विषय उठेको होला । तर कुनै पनि प्रहरी कर्मचारीले गलत गरेको यकिन भए कारबाही हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्