सुन खोज्नेका अनेक दुःख



नेपालगन्ज ।
काम छ सुन खोज्ने तर दुःख छन् अनेक । राप्ती नदीको बगरमा सुन खोज्नेहरूका आफ्नै दुःख छन् । सुन खोज्नेका पीडा कस्ले सुनिदिने ? हरेक ठूला नदीकिनारमा सुन भेटिने आशामा वर्षौंदेखि बालुवा चाल्ने काम मानिसले गर्दै आएका छन् । पुख्र्यौली पेसाकै रूपमा सोनाहा जातिले सुन चाल्ने काम गर्दै आएको भए पनि अहिले अन्य समुदायका मानिसले पनि यो पेसा अपनाएको पाइन्छ ।

तर सुनजस्तो कुरा सजिलै कहाँ भेटिन्थ्यो र ! तै पनि सुन भेटिने आशामा बालुवा चाल्दै गरेकी रूपा थारू भन्छिन्, ‘खुट्टा पाकेर टेक्नै मिल्दैन । त्यही पनि सुन पाउने आशामा नदी धाउन छोडेकी छैन ।’बाँकेको राप्ती नदी बगरमा वर्षौदेखि सुन खोज्न नदीमा पुग्नेहरू धेरै छन् । सुन भेटिएला न भेटिएला तर सुन खोज्नेहरूमा देखिएको स्वास्थ्य समस्या भनिसाध्य छैन । रुपा भन्छिन्,–‘खुट्टा पाक्ने र ढाड दुख्ने समस्याले हैरान बनाएको छ ।’ अनेक दुःख भए पनि सुन भेटिने आशामा रूपा दैनिक नदी पुग्ने गरेकी छन् ।

आज कति लाल सुन भेटिएला ? नदी जान तयारी गर्दैगर्दा श्रीमतीसँग गफिन्छन् देवम थारू । दिउँसोका लागि नास्ता रोटी, अचार झोलामा प्याक गरिरहेकी उनकी श्रीमती मुसुक्क मुस्कुराउँछिन् र भन्छिन्– जति भेटिए पनि भेटिएला । जाम छिटो नदी । घरमै बसिरहेका दुवै जना जुरुक्क उठ्छन् अनि सुन खोज्न राप्ती नदीतिर लाग्छन् । बाँके राप्ती सोनारी गाउँपालिका–६ का देवम थारूसहित उनका छिमेकीले एक दशकदेखि नजिकैको राप्ती नदीमा सुन खोज्दै आएका छन् ।

चिसो पानीमा बालुवा चाल्दै बसेका उनीहरू बालुवा चालेर सुन भेटाउँछन् । पुख्र्यौली पेसा नभए पनि विगतमा सुन खोज्ने पुख्र्यौली पेसा भएका समुदायबाट सिकेर उनीहरूले सुन खोज्न थालेका हुन् । नदीमा सुन भेटिन्छ, भेटिएको सुन बजार मूल्यअनुसार बिक्री हुन्छ । अहिलेसम्म कति सुन भेटियो ? जवाफमा मुस्कुराउँदै भन्छन्, ‘नुन–तेल किन्न पुगेको छ ।’

सुन भेटिए जीविकोपार्जन हुने नत्र नहुने गरेको उनीहरू बताउँछन् । ‘मानिसलाई धेरै सुन भेट्टाउँछन् होला भन्ने लागेको हुन सक्छ । केही हुँदैन बिहानदेखि साँझसम्म दुःख गर्दा हातमुख जोड्ने खर्च जुट्छ,’ रामबहादुर थारू भन्छन् । बर्से भेलले बगाएर ल्याएको बालुवामा सुन खोज्ने र भेटिएको सुन नेपालगन्ज सुन व्यवसायीकहाँ गएर बिक्री गर्ने गर्दछन् उनीहरू ।

‘राप्ती नदीमा ठूलो बाढी आयो भने बालुवामा सुन चाल्नेहरू खुसी हुने गर्दछन्,’ थारूले भने, ‘राप्तीमा ठूलो भेल आयो भने सुन बढी भेटिन्छ तर यो वर्ष खासै ठूलो बाढी आएन सुन पनि त्यति भेटिँदैन ।’ राप्ती नदीको अवस्था हेरेर उनीहरू सुन चाल्न राप्ती नदी झर्ने गर्दछन् ।
‘सानो नदी भयो भने भदौबाटै सुरू गरिन्छ नत्र असोजतिर जान्छौँ,’ उनले भने, ‘सुन चाल्ने काम माघ–फागुनसम्म गर्दछौं, चैत–वैशाखमा गर्मी हुन्छ त्यो बेला सकिँदैन ।’

बालुवा चालेर सुन निकाल्नका लागि काठबाट बनेको डुर, हेर्ने र सुन झिक्न प्रयोग गर्ने करौती, बाँसबाट बनेको टट्टी र बालुवा कोट्याउन दाबिलो चाहिन्छ ।एकलाल बराबरको सुन निकाल्न कम्तीमा एकदेखि डेढ घन्टासम्म समय लाग्ने गर्दछ । ‘दुःख नगरी हुँदैन यो कामबाट महिनाको १५ हजार कमाउँछु,’ रूपा भन्छिन्, ‘बालुवामा सुन खोज्दै दैनिकी चलेको छ ।’

प्रकाशित मिति : २०८० फागुन ११ गते शुक्रबार