रचनात्मक कार्यमा जोड दिँदै बालज्योति विद्यालय



कोहलपुर ।
कोहलपुरमा अवस्थित बालज्योति सेकेन्डरी स्कुलले विगत लामो समयदेखि रचनात्मक काम गर्दै आइरहेको छ । जसअन्तर्गत विद्यालयले लामो समयदेखि भित्ते पत्रिकाहरू प्रकाशन गर्दै आएको छ । विद्यालयले भित्तेपत्रिका प्रकाशन गर्न थालेको अहिले झन्डै एक दशक पूरा भएको छ । पत्रिका प्रकाशनलाई निरन्तरता दिँदै आएको छ । अझ नयाँ नयाँ प्रकाशनसमेत गर्दै आएको छ ।

विद्यार्थीहरूलाई औपचारिक पठनपाठनमा थप रुचि जागोस् भन्ने उद्देश्यले सिर्जनात्मक कार्यमा जोड दिइँदै आएको प्रधानाध्यापक दामोदर पौडेलको भनाइ छ । ‘हामी विद्यार्थीहरूलाई विभिन्न सिर्जनात्मक माध्यमले शिक्षण सिकाइमा जोड्न चाहन्छौँ,’ उनले भने, ‘त्यसैका लागि पनि हामीले नियमित भित्तेपत्रिका प्रकाशन, रचना वाचनलगायतका कुरालाई महत्व दिएका छौँ ।’ बालबालिकामा पढाइप्रति अभिरुचि जगाउन सकिए मात्र उनीहरूले अध्ययनमा रुचि राख्ने र पढेका कुरा सजिलै ग्रहण गर्र्न सक्ने उनले बताए ।

२०४७ सालमा स्थापना भएको बालज्योति सेकेन्डरी स्कुलले शैक्षिक कार्यक्रमलाई अझ प्रभाकारी बनाउन भित्तेपत्रिका प्रकाशन आरम्भ गरेको र त्यसलाई निरन्तरता दिँदै आएको विद्यालयका प्रधानाध्यापक पौडेलको भनाइ छ । नेपाली मात्र नभएर अंग्रेजी भाषामा समेत भित्तेपत्रिका प्रकाशित हुँदै आएका छन् । विद्यालयले चारवटा भित्तेपत्रिका प्रकाशन गर्दै आएको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

उनका अनुसार विद्यालयले पाक्षिक रूपमा ‘बाल कोपिला’, मासिक रूपमा ‘बाल प्रतिभा’, र अंग्रेजी भाषामा ‘एस्प्रियसन’ र ‘स्याडो’ गरी चारवटा भित्तेपत्रिका प्रकाशन गर्ने गरेको छ । पछिल्लो समय मासिक प्रकाशनका रूपमा ‘प्रतिभा’को समेत प्रकाशन आरम्भ गरिएको छ । प्रतिभा मासिक ३ अंक निस्किएको उनले बताए । ‘स्याडो’ भने विज्ञानसम्बन्धी विषयलाई लिएर निकालिने पत्रिका हो ।

पौडेल २०६९ सालमा प्रधानाध्यापकका रूपमा आएपछि उनले विद्यार्थीहरूलाई सिर्जनात्मक सिकाइमा जोड दिँदै आएका छन् । ‘आधुनिक शिक्षाका तीन आधार ः वैज्ञानिक शिक्षा, स्वास्थ्य र संस्कार’ भन्ने मूल नारा आत्मसात् गर्दै विद्यालय सञ्चालन भइरहेको पौडेलको भनाइ छ । ‘शिक्षाले यदि व्यावहारिक जीवनमा परिवर्तन ल्याउन सकेन भने त्यो शिक्षाको कुनै अर्थ रहँदैन,’ उनी भन्छन्, ‘त्यसैले संस्कार र सचेतनासहितको शिक्षा हाम्रो प्राथमिकता हो ।’

सुरुवातका दिनहरूमा विद्यालयमा भित्तेपत्रिका सञ्चालन गर्न सागर गैरे, शंकर असान्तलगायतका बाँकेका साहित्यकारहरूको सहयोग लिने गरिएकोमा अहिले विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले नै निरन्तर रूपमा पत्रिकाको लेखन तथा सम्पादन गर्दै आएका छन् ।
भित्तेपत्रिका प्रशासनपछि यहाँ अध्ययनरत बालबालिकाले साहित्यमा राम्रो गरिरहेको पौडेलको भनाइ छ । भित्तेपत्रिका प्रकाशनकै अनुभवबाट यहाँका विद्यार्थीले अन्य पत्रपत्रिकामा समेत लेख रचना छपाउन सक्ने क्षमता विकास गरेका छन् ।

कोहलपुरबाटै प्रकाशित हुँदै आएको पूर्णिमा साहित्यिक पत्रिका तथा अन्य पत्रपत्रिकामा समेत विद्यार्थीका लेख, रचना प्रकाशित हुँदै आएको पौडेलले बताए । बालज्योतिले राष्ट्रिय कलाकारसमेत उत्पादन गरिसकेको प्रधानाध्यापक पौडेलको भनाइ छ ।विद्यार्थीले साहित्यकार महानन्द ढकालको उपन्यास बुह्रानमाथि चर्चा परिचर्चासमेत गरिसकेका छन् । साप्ताहिक साहित्यिक कार्यक्रमअन्तर्गत विद्यार्थीहरू कविता, गीत, गजल, मुक्तक जस्ता रचना वाचन गर्ने गरेका छन् ।

५ कक्षादेखि माथि सबै कक्षाका विद्यार्थीले अनिवार्यरूपमा साहित्यिक डायरी बनाउने गरेको प्रधानाध्यापक पौडेलले बताए । विद्यार्थीका लागि मात्र नभएर डायरी शिक्षकका लागि पनि अनिवार्य बनाइएको छ । विद्यालयले औपचारिक शिक्षणका अलावा कला, साहित्य र विज्ञानमा बढी जोड दिने गरेको छ । अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयले विभिन्न कार्यक्रमहरू पनि गर्दै आएको उनले जानकारी दिए ।

विद्यालयले भौतिक संरचनामा पनि विशेष ध्यान दिएको पौडेलले बताए । उनले वातावरण संरक्षणसम्बन्धी पनि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । विद्यालयले समयसमयमा वृक्षरोपण कार्यक्रम पनि गर्दै आएको छ । बालज्योति स्कुलले नै कोहलपुरमा पहिलो पटक विद्यालय स्तरमा फिल्ड जिन बैंकको स्थापना गरेको छ । फिल्ड जिंन बैंकमा कीट, बनस्पति, रैथाने बाली तथा जलीय जीवको संरक्षण गर्ने गरिएको छ ।

विद्यालय अहिले १० कक्षासम्म अध्ययन गराइरहेको छ । करिब ८ सयभन्दा धेरै विद्यार्थीहरू अहिले अध्यन्तर रहेको विद्यालयका संस्थापक लक्ष्मी सुवेदीले जानकारी दिइन् । विद्यालयले सुरुका दिनहरूमा २ सय रुपैयाँ खर्च गरेर चार्ट पेपर किनेर हस्त लिखित पत्रिका बोर्डमा सजाइदिने गरिएको स्मरण गरिन् ।त्यसले गर्दा विद्यार्थीहरूको लेखनशैलीमा परिष्कार आउनुका साथै व्याकरणमा समेत सुधार भएको उनको भनाइ छ । अहिले डिजिटल युग आएपछि विद्यार्थीहरूका रचना उनीहरूकै रोवहरमा सम्पादन गरी प्रकाशन गरिँदै आएको छ ।

वितगमा लेखकद्वय शंकर असान्त र सागर गैरेको सहयोगमा ८ देखि १० कक्षासम्मका विद्यार्थीहरूको सहभागितामा बाल प्रतिभा मासिक भित्तेपत्रिका प्रकाशित हुने गरेको उनी सम्झिन्छन् । विद्यालयले साहित्य, संगीत, कला र विज्ञानको क्षेत्रमा नवप्रतिभाहरू उत्पादन गरिरहेको उनको भनाइ छ । अहिले बालज्योतिले उत्पादन गरेका जनशक्ति राष्ट्रियस्तरमा समेत पुग्न सफल भएको उनले दाबी गरिन् । पछिल्लो पुस्ताका सौरभ लामिछाने गीत संगीतमा, प्रकृति पोखरेल, सरिता खासु मगर मोडल एवम् दिपेश पौडेल पत्रिका प्रकाशका रूपमा चर्चित भएको उनी बताउँछिन् ।

विद्यालयले संस्कारसहितको शिक्षा प्रदान गर्नुका साथै गीत, संगीत, कला र साहित्यमा समेत राम्रा राम्रा प्रतिभा उत्पादन गरेको उनले बताइन् । भित्तेपत्रिकाको प्रभावले साहित्यिक तथा सामाजिक व्यक्तिहरू जन्मिरहेको उनले दाबी गरि ।विद्यालयले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्ने खालको शिक्षामा पनि जोड दिने गरेका छ । बेलाबखत फिल्डमै लगेर अतिरिक्त क्रियाकलाप गराउने गरिएको छ । बाँकेका साहित्यिक व्यक्तिहरूसँग विद्यालयको सुमधुर सम्बन्ध रहेकाले त्यसको फाइदा विद्यार्थीहरूले लिन पाइरहेको उनले जानकारी दिइन् ।

विद्यालयले अन्य विद्यालयभन्दा फरक तरिकाले शिक्षा प्रदान गरिरहेको उनको भनाइ छ । बोर्डिङ स्कुलमा अध्यनतर विद्यार्थीहरू नेपालीमा कमजोर हुन्छन् भन्ने भाष्य चिर्न बालज्योति सफल भएको उनको भनाइ छ । उनले भनिन्, ‘जबसम्म विद्यार्थी नेपाली जान्दैन, तबसम्म ती विद्यार्थीले अन्य भाषा वा विषयमा राम्रो गर्न सक्दैनन् ।’

शिक्षक सेवा आयोग, लोकसेवा आयोग, पत्रकार, साहित्यकार आदि बन्न वा जागिर खान नेपाली पढ्न लेख्न जानेको हुनु आवश्यक रहेको उनको तर्क छ । ‘अंग्रेजी एउटा भाषा मात्रै हो । सबैथोक होइन्,’ उनी भन्छिन्, ‘बालज्योतिले अंग्रेजीलाई मात्रै नभई नेपालीलाई समेत जोड दिने गरेको छ ।’

जबसम्म शिक्षकलाई उपयुक्त वातावरण हुँदैन् तबसम्म शिक्षकले शिक्षा प्रदान गर्न कठिन हुने उनको बुझाइ छ । त्यसैले विद्यालयले विद्यार्थीहरूका लागि पनि ‘जंकफुड’ खानबाट रोक्न क्यान्टिनको व्यवस्था मिलाएको उनले बताइन् ।

प्रकाशित मिति : २०८० फागुन ११ गते शुक्रबार