17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

दिगो विकासका लागि आमूल परिवर्तन अपरिहार्य !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०८०  

संस्थागत भ्रष्टाचार, सुलभ स्वास्थ्य र शिक्षाको कमी, निषेधको राजनीतिले गर्दा हरेक दलहरूप्रति आम जनताको वितृष्णा बढ्दै गएको स्पष्टै देखिन थालेको छ । सरकारहरू अलोकप्रिय बन्दै गएका छन् । हरेक पार्टीभित्रका नेताले विद्यार्थीहरूलाई प्रयोग गर्ने प्रयोगशाला बनाएका छन् । विद्यार्थीले पनि लाभ व्यक्तिगत स्वार्थका लागि राजनीति गरिरहेका छन् । दलहरूले शक्तिको दुरूपयोग गरी राजनीतिक अस्तव्यस्तता सिर्जना गरेका छन् । जसका कारण समाज र राष्ट्र क्रमशः कमजोर बन्दै गएका छन् भने व्यक्ति मोटाउने प्रवृत्ति बढ्दो छ ।


केशरबहादुर आले
हाम्रो देश नेपालको प्राचीनकालीन इतिहासको परिकल्पना र स्मरणलाई अनुभूति गर्दा मानव जीवनको संस्कार र अनुशासनले सिंगो राष्ट्रको जीवन शैलीलाई चिनाउने थियो । सेवा, त्याग र सदाचारका त्रिवेणीमा फुलेको संस्कृतिलाई आत्मसात् गरी हाम्रा संस्कारहरू बनेका छन् । गुरुले शिष्यलाई ध्यान र योग सिकाउनुका साथै माता, पिता र अग्रजलाई गरिने आदर व्यवहारका बारेमा संस्कारयुक्त ज्ञान दिइने गरिएको थियो । ऋषि मुनीको युगदेखि आर्य युगसम्म आइपुग्दा मानिसमा शिक्षा र संस्कारले गतिशीलता लिएको पाइन्छ ।

सभ्य समाजको परिकल्पना गर्ने संस्कृतिले मानिसलाई एकतामा बाँध्ने काम गरेको थियो । तसर्थ, ती संस्कार र संस्कृति समयको गतिसँगै हाल आएर अनौठो तरिकाले परिवर्तन र विस्तापित हुँदै गर्दा हाम्रो देशको चिनारी नै वास्तवमा ओझेलमा परिरहेको वास्तविकता आज हाम्रो सामु छ। चार जात छत्तीस वर्णको फुलबारी भनेर चिनिने देश, प्रकृतिको मनमोहक वातावरण भएको हाम्रो देश, यहाँको सौदन्र्य, हाम्रा ऐतिहासिक रीतिरिवाज, विभिन्न धर्म, संस्कृति, असल मानवीय व्यवहार एकआपसमा हुने सहयोगी भावना, धमर्, आदर, सत्कार, सेवा जस्ता परोपकारी भावनाहरू आजको २१औं शताब्दीको विकासका कार्यहरू अघि बढ्दै गर्दा कर्त विलिन त हुँदै छैनन् ! भन्ने महसुस भइरहेको छ ।

यस्तै प्रवृत्ति बढ्दै गइरहेको परिपे्रक्ष्यमा देशको राज्य सत्तामा पुगेपछि कानुन छलेर गरिने भ्रष्टाचार अथवा शक्तिको दुरूपयोग गरी व्यक्ति मोटाउने प्रवृत्तिले पनि अनुशासन मिच्ने कारण बनेको छ । देशको कानुन र धर्मभन्दा माथि नातावाद र कृपावादको चलखेलले मान्छेमा कर्तव्यबोधको शिक्षा देखिन्न । पार्टी र आफन्तको पक्षपोषण गर्दा ज्ञान र कर्तव्य पाखा परेका छन् । देशमा अनावश्यक द्वन्द्व, अमानवीयताको व्यवहार, हत्या, हिंसा, अपहरण जस्ता क्रियाकलाप चुलिँदै गइरहेका छन्् । भ्रष्टाचार, छुवाछुत, विभेद तथा सामाजिक सञ्जालमार्फत बढिरहेका विकृति र विसंगतिले सुन्दर र शान्त हाम्रो देश नेपालको ऐतिहासिक संस्कृति र इतिहास आज विश्व सामु लोप हुँदै गइरहेको यथार्थ देखिएको छ ।

आधुनिक शिक्षा र प्रविधिले हिजोका आदर्श विचारमाथि हस्तक्षेप गर्नु पनि संस्कार र संस्कृतिको विकासमा बाधक भएको देखिन्छ । आर्थिक जोहो गर्न युवाशक्ति विदेश पलायन हुन पुग्नु र बाह्य समाजका संस्कार र संस्कृति नेपालमा हावी हुनु पनि अर्को समस्या देखा पर्नु हो । हालको वास्तविकतालाई मूल्यांकन गरी हेर्दा हाम्रो देशको राजनीति (राज्य सञ्चालन) स्थीर रूपमा सञ्चालन नहँुदा मानिसका आधारभूत आवश्यकता शिक्षा तथा स्वास्थ्यको उचित व्यवस्था, विकासमा युवा स्वरोजगारको व्यवस्था, सुरक्षा नीति, अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध, कृषि र कृषक व्यवस्थापनामा तीव्र गति लिन नसक्नु यथार्थ धरातलको परिकल्पना गरिरहँदा वास्तवमै हाम्रो सुन्दर देश नेपाल र हामी यस देशका नेपाली जनताको आगामी भविष्यको आशा भरोसा नै छैन भने जस्तै शासकीय प्रणाली स्थापित भएको महसुस हुन्छ ।

साथै राज्यका सरकारी निकाय, स्थानीय तह, विशेषज्ञ, बुद्धिजीवी सर्वसाधारण जनताप्रतिको चौतर्फी नकारात्मक विकृति, विसंगति, टिप्पणी प्रहारको चाङ मात्र थोपार्ने तर कुनै सकारात्मक पक्षको मूल्यांकन र लेखाजोखा नै नगरिने कार्यले गर्दा हाम्रा भविष्यका कर्णधार बालबालिकालाई केवल नकारात्मक सन्देश र शिक्षा मात्र दिइरहेका छौँ । तसर्थ, अब हामी सबै सरोकारवालाहरूको काँधमा महत्वपूर्ण जिम्मेवारी थपिएको छ । अन्यथा हाम्रो देशको इतिहासका पानाहरू मेटिएर ध्वस्त हुनेमा कुनै शंका छैन ।

त्यसैले अब हरेक नेपाली जागरुक हुनु आवश्यक छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि हामी सबैले हातेमालो गर्नुको विकल्प छैन । यिनै विविध समस्याहरूलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने हेतुले आफ्ना विचार बुँदागत रूपमा यहाँ प्रस्तुत गरेको छु ।

धर्म र संस्कार
१. मानिसले जुनसुकै धर्मप्रति आस्था राख्ने भएता पनि इमान्दारीपूर्वक नियम पालना गर्ने । एकले अर्काको धर्म, संस्कारप्रति बाधा अवरोध खडा गर्न नहुने ।
२. आ–आफ्ना पूर्वजहरूले धर्म, संस्कारमा प्रयोग गर्दै आउनुभएका विधि र पद्धतिबारे ज्ञान हुनुका साथै आफ्ना शिष्यहरूलाई जानकारी दिँदै धर्म त्यस्तो आस्था हो जुन एउटा व्यक्तिले परिवर्तन गर्न मिल्दैन भन्ने चेतनाको विकास हुनु पर्दछ ।
३. यस समाजका शासन सञ्चालकहरूले विभिन्न धर्म, अनुयायीहरूको राज्यको सल्लाहबाट मठ, मस्जिद, चर्च आदि निर्माण गर्दा एक अर्कालाई असर नपुग्ने गरी क्षेत्रहरू निर्धारण गरी व्यवस्थित तरिकाले व्यवस्थापन गर्ने ताकि एकै ठाउँमा हिन्दुको मन्दिरमा पुजाको घण्टी बज्ने र मुस्लिमको मस्जिदमा अल्लाहको पुकार गुन्जन नसुनियोस् र यसको क्षेत्राधिकार योजनाबद्ध ढङ्गले निर्माणमा जोड दिनुपर्छ ।
४. सम्पूर्ण धर्म गुरुहरूले समाजमा सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुताका बारेमा संयम् भएर एक आपसमा मेलमिलाप र शिष्टाचारको भावनाले हाम्रो धर्म संस्कृतिको जर्गेना गर्नमा सहयोग गर्नुपर्दछ ।
५. जबसम्म समाजमा वर्गीय रूपमा गरिने भेदभावको अन्त्य हुँदैन त्यो देशको संस्कार र संस्कृति या त अपांग हुन्छ या त निर्जीव । तसर्थ, भेदभावमुक्त समाजको निर्माणमा जुट्नु आवश्यक छ ।
६. धर्मसापेक्ष जीवनशैली हाम्रो संस्कृति हो भने संस्कृतिबाट विचार र ब्यवहार सिकाउने कर्म पद्धति हाम्रो संस्कार हो । समाजमा राम्रो कार्य गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने हो भने गल्ती गर्नेलाई कानुनी प्रक्रियाअनुसार दण्ड सजायको भागीदार हुनुपर्दछ । ताकि दोषीलाई पार्टी र आफन्तले पक्षपोषण गर्नु हँुदैन ।
शिक्षा
१. राज्यले हरेक शैक्षिक सत्रका लागि वार्षिक शैक्षिक कार्यतालिका तय गरी समयमै कक्षागत रूपमा विषयगत पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकको उपलब्धताबारे व्यवस्था मिलाएको खण्डमा विद्यार्थी सिकाइमा सहज हुने थियो ।
२. प्रत्येक विषय शिक्षकले संक्षिप्त दैनिक पाठययोजना निर्माण गरी विद्यार्थीलाई कक्षाकोठामा क्रियाकलाप तथा प्रयोगात्मक अभ्यास शिक्षण विधि प्रयोग गरी सिकाइलाई पूर्णता दिएमा विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि हुनेछ ।
३. शिक्षा ऐनमा व्यवस्था भएबमोजिम विद्यार्थी, अभिभावक तथा शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता पूर्णरूपमा लागू गर्नु पर्दछ ।
४. बालमैत्रीपूर्ण र दण्डरहित शिक्षण सिकाइ क्रियाकलाप र वातावरणको व्यवस्थापनमा जोड दिनुपर्दछ ।
५. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको सुविधालाई समयानुसार विस्तार गर्ने र उनीहरूकै स्थायित्वका लागि नीति तर्जुमा व्यवस्थापन गर्ने ।
६. शिक्षक तथा कर्मचाारीहरूको क्षमता अभिवृद्धि गरी आधुनिक, प्रतिस्पर्धी र गुणस्तरीय शिक्षण सेवा प्रदान गर्न सक्ने दक्ष, जिम्मेवारी र दायित्व बहनका रूपमा विकसित गर्नुपर्छ ।
७. आवश्यक भौतिक पूर्वाधारको विकास र विस्तार सँगै आधुनिक प्रविधिको प्रयोग गर्दै व्यवहारिक शिक्षामा जोड दिनुपर्छ ।
८. शिक्षण सिकाइलाई पुनर्ताजीकरण गराउन विविद्य किसिमका तालिम, गोष्ठी तथा शैक्षिक भ्रमणहरूको आयोजना गरी असल अभ्यासहरूको अनुकरण गर्नुपर्छ ।
९. हरेक स्थानीय तहमा हाल राज्यले लागू गरेको परिवर्तित पाठ्यपुस्तक कार्यान्वयनमा देखिएका समस्याहरूलाई निराकरण गर्न शिक्षाविद् र विशेषज्ञको ब्यवस्थापन गर्न आवश्यक देखिन्छ ।
१०. सिकाइ उपलब्धिको आधारमा शिक्षकलाई र परीक्षा मूल्यांकनका आधारमा विद्यार्थीलाई पुरस्कारको व्यवस्था गर्नुपर्छ ।
स्वास्थ्य
१. स्वस्थ्य व्यक्तिले नै आफ्नो परिवार, समुदाय र राष्ट्रका लागि केही गर्न सक्छ र आफ्ने लक्ष्य प्राप्तिका लागि निरन्तर अगाडि बढ्न सक्छ । तसर्थ सरकारी, निजी र गैरसरकारी तहका प्रदत्त स्वास्थ्य सेवाहरूमा एकरूपता ल्याउन दक्ष स्वास्थ्यकर्मीहरू व्यवस्थापन र उचित सेवा सुविधा आवश्यक भएकाले तत्काल ती निकायहरूबीच समन्वयको वातावरण मिलाउन पहल गर्नुपर्छ ।
२. साधन र स्रोतको परिचालन प्रभावकारी सुविधा सम्पन्न अस्पतालहरू हरेक स्थानीय तहसम्म पहुँच हुने गरी व्यवस्थापन गर्ने । ताकि उपचार नपाएर बिरामीको अकालमा मृत्यु हुन नपरोस् ।
३. असल स्वास्थ्यले नै व्यक्तिको सुन्दर भविष्यको निर्माण गर्न सक्दछ । समयमा नै बिरामीहरूलाई आवश्यक गुणस्तरीय औषधीहरूको आयात गरी सर्वशुलभ रूपमा उपलब्ध गराउनुपर्दछ ।
४. मानिसको शत्रु नै रोग भएकाले त्यसको निदानका लागि राज्यले सम्पूर्ण नागरिकलाई समेट्ने गरी स्वास्थ्य बिमा अनिवार्य गर्नुका साथै सरकारी अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्नु पर्दछ ।
५. समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमहरू लागू गरी सर्वसाधारण जनतालई रोगका बारेमा जानकारी दिनु पर्दछ ।
६. नेपाल मेडिकल काउन्सिल तथा मेडिकल एसोसिएसनलाई चिकित्सा क्षेत्रमा भएका र हुन सक्ने विकृतिलाई रोकी जनउत्तरदायी संस्था बनाउने दिशामा कार्य गर्न प्रेरित गर्नुका साथै स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको व्यवस्थामा जोड दिनुपर्छ ।
७. स्वास्थ्य सेवाका विभिन्न सूचना केन्द्रहरू तोक्नुपर्ने तथा यस क्षेत्रका नियमनकारी निकायहरूबीच समझदारी र समन्वय कायम गरी आपतकालीन सेवाको व्यवस्थापन गर्नुपर्छ ।
८. बिरामीका लागि आवश्यक पर्ने मेडिकल उपकरणका सामग्रीहरू आधुनिक प्रविधियुक्त बनाई सञ्चालनका लागि व्यवस्थापन गर्नुपर्छ ।

विकास
१. विकासले मानवको आवश्यकता पूरा गर्ने सम्भावना र स्रोतहरूको उपयोग गराउने काम गर्दछ । विकास भन्नु मानव चाहना र आवश्यकताको दिगो पूर्ति हो । सर्वसाधारण जनताका लागि विकासका आवश्यक कार्य बाटो, खानेपानी, विद्युत्, सञ्चार, यातायात आदिलाई प्रमुख प्राथमिकता दिनुपर्छ ।
२. भौतिक पूर्वाधार विस्तारमा जोड दिने देशमा सौर्य वैकल्पिक उर्जा उत्पादन, सडक पुल, सिँचाइ नहर, ढल निकास, फोहर मैला प्रशोधन, विमानस्थल, रेल्वे लाइन, कृषि आदि विकास निर्माण कार्य गर्दै जनतालाई सहयोग र सहजीकरण गर्ने वातावरण बनाउनु पर्दछ ।
३. कृषि प्रधान देश हाम्रो कृषिका लागि आवश्यक मल, बिउबिजन प्रशोधन केन्द्र र रासायनिक मल उत्पादनका लागि कलकारखाना स्थापना गरी किसानलाई सहज उपलब्धताको व्यवस्था गर्दै कृषिमा आधुनिक यन्त्र उपकरणहरूको व्यवस्था गर्नुपर्छ ।
४. देशमा आधुनिक कृषि कार्यक्रम लागू गरी खाद्य उत्पादनमा जोड दिनुपर्छ ।
५. देश विकासको सम्भाव्यतालाई अध्ययन गरी सबै क्षेत्रमा विज्ञहरूको उचित व्यवस्था गर्ने र ‘समृद्ध नेपाल, विकास आधार’ भन्ने अभीष्टलाई पूरा गर्नुपर्छ ।
सुरक्षा
१. देश विकासको मेरुदण्ड शान्ति र सुरक्षा नै हो । सुरक्षाबिना शान्ति र शान्तिबिना दिगो विकासको परिकल्पना गर्न सकिन्न । आजको विश्व परिवेशलाई नियाल्दा शान्ति र सुरक्षालाई कुनै एक देशको आन्तरिक विषयको रूपमा मात्र नहेरी अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय रूपमा सुरक्षाको व्यवस्था गर्नुपर्दछ ।
२. संविधानका मूलभूत विषय जस्तै गणतन्त्र, धर्म निरपेक्षता र संघीयताका मुद्दा सशक्त रूपमा प्रजातान्त्रिक मूल्य र मान्यता अनुरूप छिनोफानो गर्नुपर्छ ।
३. कानुनी सचेतनामूलक कार्यक्रममार्फत् हाल देशमा भइहेका विभिन्न हत्या, हिंसा र यसबाट भयभीत अवस्थाबारे सर्वसाधारणमा जनचेतना जगाउँदै र शिक्षा प्रदान गर्दै सुरक्षाको बाटो अपनाउने रणनीति तय गर्नुपर्छ ।
४. प्राकृतिक प्रकोपको कुनै समय र सीमा हुँदैन तापनि विश्वमा समय–समयमा आउने भँुइचालो, तुफान, ज्वालामुखी, बाढी पहिरो, आँधीबेहेरी, अतिवृष्टि, अनावृष्टि र संक्रामक रोगहरू जस्ता प्रकोपहरूबाट थुप्रै संख्यामा जनधनको क्षति, घाइते भएका घटनाहरूको पाठबाट यसको न्यूनीकरणका विभिन्न उपायहरू अवलम्बन तथा कार्यान्वयन गर्नुपर्छ ।
५. राज्यको कानुन प्रवर्तन र व्यक्तिहरूबीचको सम्बन्धलाई मानव अधिकारका मूलभूत मान्यताका दृष्टिले नियमन गर्नुपर्ने सर्वव्यापी मान्यता छ । व्यक्तिको मानव अधिकार उल्लंघन नहुन नदिन सदैव सचेत रहनु जरुरी हुन्छ । यदि मानव अधिकारका बारेमा जानकार भए मात्र मानिस यसको उल्लंघन नगर्ने कुरामा सचेत र प्रतिबद्ध हुन्छ । त्यसैले यसबारे हरेक व्यक्ति र समाजमा जानकारी गराउनु आवश्यक छ ।
६. बालविवाह, छाउपडी प्रथा, दाइजो प्रथा आदि बारे समाजमा सचेतना पैmलाउँदै यस्ता कार्य कानुनीरूपमा दण्डनीय भएकाले यसको अन्त्यका लागि सुरक्षाको व्यवस्था गर्नुपर्छ ।

निष्कर्ष
यतिबेला २०७२ सालको संविधान संशोधनदेखि आमूल परिवर्तनका विषय उठिरहेका छन् । संस्थागत भ्रष्टाचार, सुलभ स्वास्थ्य र शिक्षाको कमी, निषेधको राजनीतिले गर्दा हरेक दलहरूप्रति आम जनताको वितृष्णा बढ्दै गएको स्पष्टै देखिन थालिएको छ । सरकारहरू अलोकप्रिय बन्दै गएका छन् । हरेक पार्टीभित्रका नेताले विद्यार्थीहरूलाई प्रयोग गर्ने प्रयोगशाला बनाएका छन् । विद्यार्थीले पनि लाभका लागि राजनीति गरिरहेका छन् । दलहरूले शक्तिको दुरूपयोग गरी राजनीतिक अस्तव्यस्तता सिर्जना गरेका छन् ।

जसका कारण समाज र राष्ट्र क्रमशः कमजोर बन्दै गएका छन् भने व्यक्ति मोटाउने प्रवृत्ति बढ्दो छ । यसको अन्त्य हुनुपर्दछ । संविधान प्रदत्त हक, अधिकार र नियमहरूको पूर्णरूपमा पालना गर्नुपर्दछ । भ्रष्टाचारका विकृतिहरूको विस्तारै न्यूनीकरण गर्दै देशलाई आमूल परिवर्तनतर्फ सक्रिय बनाउन सबैको ऐक्यबद्धता जरुरी छ । नेपाललाई जल, थल र हवाइ यातायात प्रणालीको माध्यमबाट विश्वमा खुला प्रवेशको दौडमा सामेल गराउनुपर्छ । यसका लागि दक्ष जनशक्ति आवश्यक छ । तर पूर्वाधार विकासमा नेपालको राजनीति, प्रशासन तथा शैक्षिक क्षेत्र एकमत तरिकाले जुट्न सकिरहेको छैन । रेल सेवाको प्रारम्भमै देशले पहिलो गाँसमा नै दाँतमा ढुंगा सहनु परेको छ ।

यस्ता घटना नदोहोरिने गरी वैज्ञानिक दक्ष, विज्ञ, जनशक्ति विकाससम्बन्धी योजना नीति नियमको खाँचो आवश्यक देखिन्छ । सूचना प्रविधिको प्रभाव समाजमा तीव्र रूपमा परिहेको छ । सामाजिक सञ्जाल प्रभावकारी बन्दै गएको छ । यसको प्रयोगबाट युवा पुस्ता गलत बाटोमा गएको पनि समाजमा देखिइरहेको छ । व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरी विषयहरू उठाउने, गोपनीय रहनुपर्ने कतिपय विषयहरू छताछुल्ल सार्वजनिक हुनुमा ज्ञानको सही उपयोगको कमी अथवा अराजक गतिविधि, गम्भीर सामाजिक विचलन देखिइरहेका छन् ।

तसर्थ सामाजिक सञ्चार सञ्जाललाई नियमन गर्न साइबर ब्युरोको व्यवस्थापनको पक्षलाई अझै प्रभावकारी बनाउनु आवश्यक छ । अहिले बढ्दै गएको विसंगति र विकृतिका साथै व्यस्त जीवनशैलीलाई पुनर्ताजकीकरण गर्न आध्यात्मिक कार्यहरू सञ्चालन गरी सकारात्मक सोचको विकास र समाजमा धार्मिक अनुनायी तथा धर्मगुरुबाट ध्यान र योग शिविर जस्ता कार्यलाई प्राथमिकता दिनु जरुरी छ ।हाल विश्वव्यापीकरणको प्रभावले नेपाललाई पनि छोएको छ । जसका कारण देशका असल संस्कार, धर्म, संस्कृतिमा पश्चिमी सभ्यताको प्रभाव बढ्दै गइरहेको छ । यसले हाम्रो धर्म, संस्कृति, पहिचान र चिनारीलाई समेत असर पारिरहेको छ ।

यसतर्फ हामी सबैको ध्यान जान जरुरी देखिन्छ । देशमा रोजगारीको अवस्था सिर्जना नहुनु, स्वरोजगारको क्षेत्रमा कुनै पहल नुहनु र दक्ष जनशक्तिले आफ्नो योग्यता र क्षमता अनुसार काम नपाउँदा अहिलेका युवा पुस्ता जो देश निर्माणका मेरुदण्ड मानिन्छन् तिनीहरू नै विदेश पलायन भइरहेको अवस्था छ । यस्तो भयावह अवस्थामा आफ्नो सुन्दर भविष्यको कल्पना गर्ने सम्पूर्ण नेपालीहरूमा अस्थिर राजनीतिक अवस्थाले यस देशप्रतिको आशा, विश्वास, भरोसा र आस्थामा कमी आएको कुरा नकार्न सकिँदैन । तसर्थ यी र यस्ता विविध विषयमा सम्पूर्ण सरोकारवालाहरूको बेलैमा ध्यान जानु आवश्यकता छ । अहिलेदेखि ठोस योजना बनाएर नै मुलुकको आमूल परिवर्तन तथा राष्ट्रको दिगो विकास गर्न सम्भव छ ।

(लेखक आले कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलका संस्थापक अध्यक्ष हुन् ।)

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०८०     9:18:29 PM  |