सनत सापकोटा । कोहलपुर।
कोहलपुर नगर विकास समितिले सहरी विकासका क्रममा घरहरूमा एकरूपता कायम गर्ने उद्देश्यले निर्माण गरेको ‘नमुना घर’ यतिबेला ‘नमुना’कै रूपमा रहेको छ । सबैले नमुनाका रूपमा त्यसैअनुरूपका घर निर्माण गरुन् र सहरको एकरूपता कायम होस् भन्ने उद्देश्य राखिएको भए पनि सो घरको अनुशरण कसैले नगरेकाले अहिले कोहलपुरको माझ न्युरोडमा सो घर ‘एक्लो नमुना’को रूपमा ठिङ्ग उभिएको छ ।
कोहलपुरमा खासै पक्की संरचना नै नभएका बेला ‘नमुना घर’का रूपमा विसं २०४७ सालमा सो घर निर्माण गरिएको थियो । तत्कालीन सहरी विकास मन्त्री स्वर्गीय बलबहादुर राईले घरको शिलान्यास गरेका थिए । नगर विकास समितिले वितरण गरेका घडेरीमा त्यही नमुना अनुरूपका घर बनाउने आग्रह र अपेक्षा गरिएको थियो । त्यसयता आजसम्म कोहलपुरमा सयौँ घर बनिसकेका छन् ।
कोहलपुर एउटा आधुनिक सहरका रूपमा विकसित हुने क्रममा छ । तर नमुना घरको मोडलमा कोहलपुरमा त्यस्तो दोस्रो घर अहिलेसम्म बनेको छैन । ‘सुरु–सुरुमा एक दुई जनाले त्यस्तै घर बनाउने प्रयास पनि गरेका थिए,’ कोहलपुरका पुराना बासिन्दा तथा नगर विकास समितिका तत्कालीन कर्मचारीसमेत रहेका सुवासचन्द्र विष्ट भन्छन्, ‘तर उपयुक्त नदेखेपछि ती घर पनि मोडिफाइ गरिए । पछि बनाउनेहरूले त त्यतातिर ध्यानै दिएनन् ।’
समितिकै कर्मचारीले गरेनन् फलो
२०४२ सालमा कोहलपुर नगर विकास समिति गठन भएको थियो । २०४६ सालमा समितिले पहिलोपटक जग्गा प्लानिङ गरेर घडेरीका लागि चिठ्ठा खोलेको थियो । त्यसमा त्यति धेरै आकर्षण नभए पनि केही सर्वसाधारणले चिठ्ठामा घडेरी लिएका थिए । त्यसपछि फाट्टफुट्ट टाउन प्लानिङभित्र आधुनिक घर बनाउने क्रम सुरु भएको थियो ।
यही बीचमा समितिले ३० मिटर बाटो भएको आफ्नै एउटा महत्वपूर्ण घडेरीमा ‘नमुना घर’ बनायो । त्यतिबेलाका लागि त्यो अत्याधुनिक र आकर्षक घर नै थियो । अरूले पनि घर बनाउँदा त्यसकै अनुशरण गरुन् भन्ने उद्देश्य राखिएको थियो । तर घर बनाउने अरू कसैले त्यसको अनुशरण गरेनन् । अरू त अरू घर बनाउने क्रममा नगर विकासकै कर्मचारीहरूले पनि त्यसलाई फलो गरेरनन् ।
‘मैले पनि यहीँ घडेरी लिएर केही समयपछि घर बनाएँ,’ विष्ट भन्छन्, ‘मलाई समेत नमुना घर मन नपरेर आफ्नै पाराले बनाएको हुँ ।’ उनलाई सो घरको संरचना नै त्यति बलियो, आकर्षक र सुविधायुक्त नभएको लाग्छ । उनका अनुसार त्यो घरमा एउटा सरिया बीचमा राखेर पिलरजस्तो बनाइएको छ, चौध इन्चको गाह्रो छ ।
सो घर बन्दै गर्दा आफ्नै आँखाले नजिकबाट नियालेका विष्टले नै मन नपराएपछि अन्य सर्वसाधारणले पनि त्यो घरको सिको गर्ने रुचि देखाएनन् । आफ्नै पारामा घर बनाउन थाले । ‘अहिले मानिसले बलिया पिलर हालेर ७–८ तलेसम्म घर बनाएका छन्,’ उनी भन्छन्, तर त्यो घरमा पिलर नै छैन, पिलर नभएका कारण धेरै तला बनाउन नपाइने भएपछि पनि मानिसको रुचि नजागेको हुनसक्छ ।’
फेरि नमुना घरको नक्सा बनाउने क्रममा पनि आफैँ सहभागी भएकाले त्यतिबेला नगर विकास समितिले गम्भीरतापूर्वक नलिएर ख्यालख्यालमै सो घर बनाएको जस्तो उनलाई लागेको छ । ‘संयोगले त्यो घरको नक्सा बनाउँदा म काठमाडौँमै थिएँ । अफिसबाट मलाई सहरी विकास मन्त्रालयको भवन विभागमा पसेर नक्सा ल्याउन भनियो । म नक्सा लिन भनेर विभागमा गएँ । नक्सा त बनेकै रहेनछ ।
हाकिमले एक जना ओभरसियर हुन् कि इन्जिनियरलाई अह्राएर भने– ‘फटाफट कोहलपुर नगर विकास भवनका लागि एउटा नक्सा बनाइदेऊ त ।’ उनले टेबुलमा बसेर खरर्र दुईवटा नक्सा बनाएर मलाई दिए । म त्यही खेस्रा बोकेर आएँ । त्यही दुईवटा मध्ये एउटा नक्साका आधारमा त्यो घर बन्यो ।’
तर सो घर बनाउँदा नगर विकास समितिमै ओभरसियरका रूपमा कार्यरत इन्जिनियर होमनाथ भुुसाल भने नमुना घर कमजोर रहेको कुरा स्वीकार्दैनन् । प्राविधिक रूपमा सम्पूर्ण मापदण्ड पूरा गरेर सो घर बनाइएको र घर निकै बलियो रहेको उनको भनाइ छ । तर मानिसहरूले सो घरको अनुशरण गरेर आफ्ना घर किन बनाएनन् त ? इन्जिनियर भुसाल भन्छन्– ‘त्यस्तो वनैवन र झाडी मात्र भएको कोहलपुरमा केही समयपछि नै कल्पनै गर्न नसकिने हिसाबले बस्ती विकास यो ।
कोहलपुर यस्तो होला भनेर कसले कल्पना गरेको थियो र ! हामीले यहाँ प्लानिङ गर्दा जंगली जनावर नाच्थे । त्यस्तो ठाउँमा लगातार ४२ दिन लगाएर मैले नै टाउन प्लानिङमा ब्लकिङ गरेको थिएँ । त्यही ठाउँ अहिले यस्तो भयो ! यत्रायत्रा घर बन्न थालेपछि त्यो घरको महत्व नै हराएर गयो ।’
भवन निर्माणको अर्को उद्देश्य
इन्जिनियर भुसालका अनुसार चर्चित साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेका छोरा इन्जिनियर उमेशबहादुर मल्लले कोहलपुर नगरको प्लानिङ गरेका थिए । पछि उनी भवन विभागका डिजी भएर सेवा निवृत्त भए । कोहलपुरको सहरी योजनाका लागि विभागले रुकुमका निरज शाहीलाई इन्जिनियरका रूपमा नेपालगन्ज खटाएको थियो । सुरुमा कोहलपुर नगर विकास समितिको कार्यालय नेपालगन्जको रामलीला मैदानमै थियो ।
नेपालगन्जबाट कोहलपुर आउजाउ गर्न अपायक भएकाले पछि कोहलपुरमै एउटा भाडाको घरमा कार्र्यालय सारियो ।तत्कालीन समयमा सो ‘नमुना घर’ निर्माणको अर्को एउटा उद्देश्य पनि थियो । भाडाको घरमा बस्नुभन्दा आफ्नै भवन बनाएर कार्यालय पनि त्यहीँ राख्ने उद्देश्यले समितिले आधाुनिक घर निर्माण गर्ने निर्णय गरेको थियो ।
घडेरी बेचेकाले समितिसँग पैसा पनि थियो । त्यही क्रममा समितिले भवन निर्माणका लागि विभागसँग नक्सा बनाइदिन आग्रह ग¥यो । सोही आग्रहबमोजिम विभागले नक्सा बनाइदिएको इन्जिनियर भुसाल बताउँछन् । तर समयमै सो भवन बने पनि समितिको कार्यालय भने लामो समय त्यहाँ बसेन ।
‘करिब एक वर्ष बस्यो होला,’ इन्जिनियर भुसाल भन्छन्, ‘एक वर्ष पनि नपुग्दै कार्यालय एनडिलेले बनाएको चौराहानजिकको भवनमा स¥यो ।’ अहिले पनि समितिको कार्यालय त्यहीँबाट सञ्चालन हुँदै आएको छ । सो नमुना घरलाई लामो समयदेखि समितिले व्यवसायीहरूलाई भाडामा दिएको छ । यसरी सो नमुना घरको दोस्रो उद्देश्य पनि पूरा भएन ।
कसरी बनेको छ घर ?
यो घर रेसिडेन्स कम कमर्सियल हिसाबले बनाइएको इन्जिनियर भुुसालको भनाइ छ । दुवै प्रयोजनलाई ध्यानमा राखेर सो घर निर्माण गरिएको थियो । त्यसका लागि तल्लो तलामा दुईवटा सटर निकालिएको छ । त्यसैको पछाडि दुईवटा स्टोर रुम छन् । साइडमा ट्वाइलेट र माथि जाने भ¥याङ बनाइएको छ । कारपोर्च छ । यो पूर्णरूपमा व्यापारिक प्रयोजनको छ,’ भुसाल भन्छन् ।
माथिल्लो तलामा ४ कोठाको आवासीय संरचना छ । सबैभन्दा माथिल्लो तलामा २ कोठा र बरन्डा गरेर माथिल्ला दुई तलालाई रेसिडेन्सियल हिसाबले बनाइएको छ । ‘पूरै मापदण्ड पु¥याएर भवन निर्माण भएको छ,’ इन्जिनियर भुसाल भन्छन्, ‘भवनमा ७५ प्रतिशत जग्गा अकुपाइ भएको छ ।’
भवन बलियो र सुरक्षित नभएको भनाइप्रति पनि इन्जिनियर भुसाल सहमत छैनन् । भवन निर्माणको सिद्धान्त अनुसार तलको फुटिङ स्टेप ९० सेन्टिमिटरसम्मको बनाएर ल्याइएको छ भने बेयरिङ क्यापासिटीलाई चेकिङ गर्दा तीन तलासम्मको घर निर्माण गर्दा कुनै पनि पिलर नचाहिने भुसाल बताउँछन् । ‘यसमा वान इज टु फोरको मसला चाहिँ अनिवार्य हुनुपर्छ,’ उनी भन्छन्, ‘जुन यसरी नै हालिएको छ । घर निकै बलियो छ । यदि भूकम्प गइहालेछ भने पनि अरू घर भत्केलान् तर त्यो घर भत्किँदैन ।’
फाउन्डेसनमा पनि पूरै मापदण्ड फलो गरिएको भुसाल बताउँछन् । ‘फाउन्डेसनमा पहिला कटिङ छ । त्यसपछि सोलिङ । सोलिङपछि ३ इन्ची पिसिसी छ । पिसिसीपछि ९० सेन्टिमिटरदेखि–१ मिटरसम्मको फुटिङ छ । त्यसमाथि ८५, ७०, ५५, ४५ र ३५ को स्टेपिङ गर्दै लगिएको छ,’ उनी भन्छन्, ‘यो त म आफैँले बनाएको हुँ । त्यो घर कसरी बनेको छ त्यो मलाई राम्रोसँग थाहा छ ।’
नगर विकास समितिको स्थापना
२०४२ सालमा व्यवस्थित सहरी विकासका लागि कोहलपुर नगर विकास समिति गठन गरिएको थियो । सहरी विकास मन्त्रालयअन्तर्गत रहनेगरी समितिको निर्माण भएको थियो । तत्कालीन पञ्चायती व्यवस्थामा अञ्चलाधीश यसको अध्यक्ष र एलडियो सदस्य–सचिव हुने व्यवस्था थियो ।
नगर विकास ऐन २०४५ ले सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालयको हाकिम सदस्य–सचिव हुने व्यवस्था ग¥यो । २०४६ सालपछि केही समय सिडियो समितिको अध्यक्ष तोकिए । तर व्यवस्था परिवर्तनसँगै मन्त्रिपरिषद्को निर्णयबाट राजीनितिक नियुक्ति गर्ने परम्परा बसालियो । लामो समयसम्म नगर विकासको अध्यक्षमा राजनीतिक नियुक्ति हुँदै आयो ।
तर पछिल्लो समय मुलुक संघीय संरचनामा गएर तीन तहका सरकार बनेपछि नगर विकास समितिलाई नगरपालिकाअन्तर्गत राखिएको छ । नगरपालिका नभएका ठाउँहरूका समिति भने खारेज भएका छन् । हाल आएर नगरपालिकाका मेयर समितिको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सदस्य–सचिव हुने व्यवस्था छ ।
नगर विकाससँगै सौन्दर्यीकरण गर्ने उद्देश्यले नै योजनाबद्ध विकासका रूपमा फराकिला बाटाघाटा, पार्क, खेलमैदानसँगै नमुना घरको निर्माण गरिएको देखिन्छ । त्यसैअन्तर्गत कोहलपुरमा पनि नमुना घरको अवधारणा अघि सारिएको थियो । तर कोहलपुरमा नमुना घरजस्तै नगर विकास समितिले अघि सारेका योजनाहरू एकपछि अर्को गर्दै अधूरा बन्दै गएका छन् ।
अहिले नै बाटाघाटा साँघुरा भएर चक्ल्याउनुपर्ने अवस्था छ । कतिपय स्थानमा बाटा साँघुरा बन्दा नालीको व्यवस्था गर्न सकिएको छैन । पार्कहरू व्यवस्थित छैनन् । पार्कका लागि छुट्याइएका खाली ठाउँहरूमा विभिन्न संघसंस्थाले कब्जा जमाउने र त्यहाँ अव्यवस्थित संरचना निर्माण हुने क्रम बढ्न थालेका छन् । ‘
यस्ता दीर्घकालीन योजनाहरू बनाउँदा कम्तिमा ५० वर्षभन्दा बढी समयलाई आँकलन गरेर बनाइनुपथ्र्यो,’ कोहलपुरका पुराना बासिन्दा एवम् लेखक सागर गैरे भन्छन्, ‘यसमा कोहलपुर नगर विकास समितिले योजना बनाउँदा दूरदृष्टि नपु¥याएकै हो ।’ कोहलपुरमा अनपेक्षित तीव्र गतिमा सहरीकरण भएका कारण सो नमुना घरलगायतका योजना अपर्याप्त भएको इन्जिनियर भुसाललाई लाग्छ ।
‘सुरुमा नगर विकास समितिले ७५ वटा घडेरी बिक्रीका लागि आह्वान गर्दा बल्लबल्ल न्यूनतम मूल्य सकार गरेर २० वटा घडेरी बिक्थे,’ उनी सम्झन्छन्, ‘जब १० बिघामा अस्पताल बन्न थाल्यो, घडेरी यसरी बिक्री हुन थाले र घर बन्न थाले कि अब यो प्लानिङ अपर्याप्त भयो भन्ने हामीलाई त्यतिबेलै महसुस हुन थालेको थियो ।’
हिजोको कोहलपुरको अवस्थामा जे भएका थिए ती पर्याप्त थिए भन्ने उनलाई अझै पनि लाग्छ । हिजोको कोहलपुर नदेखेको मान्छेले आजको मात्र कोहलपुर हेरेर सही मूल्यांकन गर्न नसक्ने उनको भनाइ छ । तर निष्कर्षमा के भन्न सकिन्छ भने यसरी थालिएका विकास योजनाहरू आम जनताबाट अस्वीकृत हुनु भनेको योजना बनाउँदा दूरदृष्टि पुगेको पक्कै मान्न सकिँदैन ।
अहिले अगाडि सारिएका कतिपय योजनाहरू पनि भविष्यमा यसरी नै अस्वीकृत वा अपर्याप्त हुने अवस्थामा देखिन्छन् । अबका योजना बनाउँदा सम्बन्धित निकायले इतिहासबाट पाठ सिक्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्