कठिनाइसँगै मुस्कुराएको भरैया



गणेश रावत । कोहलपुर ।

चारैतिर निकुञ्जले घरेको घना जंगल । अग्ला र सुन्दर डाँडाकाँडा । शान्त र सुन्दर वातावरण । खेतमा लहलह झुलिरहेका गहुँ । लटरम्म फलेका टमाटर, तरकारी । आँखाले हेरेर नभ्याइने भूगोल । चारैतिर हरियाली । त्यहीबीचमा अवस्थित छ, कोहलपुर–१३ भरैया गाउँ ।
कोहलपुरदेखि २ किलोमिटर जंगलभित्र अवस्थित भरैया पुग्नुअघि मुखैमा जंगल छ ।

भरैया बाट कोहलपुर ओहोर दोहोर गर्दै स्थानीय ।

जंगल पार गर्नेबित्तिकै एउटा गाउँ आउँछ । जसलाई भरैया भनेर चिनिन्छ । तर, भरैयाभित्र पनि खड्कवार, भरैया र सिम्री गरी तीनवटा गाउँ छन् । त्यही गाउँको मुखैमा छ ७२ वर्षीय चन्द्रनाथ योगीको घर । यो पंक्तिकार भरैया पुग्दा योगी खाना खाएर बाख्रालाई घाँस हालिरहेका थिए । उमेर ७२ कटे पनि उनमा भएको जोस कुनै युवाभन्दा कम थिएन ।

उनी भरैयामा बस्न थालेको ३२ वर्ष भयो । योगी दैलेखबाट बसाइँसराइ गरेर आउँदा भरैया घना जंगल थियो रे ! उनका अनुसार यहाँ करिब ५० वटा थारू समुदायका घर मात्रै थिए । ‘पहिला कोहलपुर जाने बाटोसमेत राम्रो थिएन,’ उनले भने, ‘हिँडेर जानुपर्ने बाध्यता थियो ।’ उनले साइकलमै कोहलपुरसम्म आवतजावत गर्ने गरेको अनुभव सुनाए ।

बाख्रालाई घाँस हाल्दै चन्द्रनाथ योगी । 

अहिले यहाँबाट कोहलपुरका लागि छ्यापछ्याप्ती अटो पाइन्छन् । केही काम परे अटोबाटै आवतजावत गर्न सकिन्छ ।विगतमा बगाल बाख्रा पाल्ने गरेका उनले अहिले भने जम्मा १२ वटा बाख्रा मात्र पालेका छन् । अहिले जंगलमा घाँस काट्न नदिइने गरेका कारण धेरै पशु पाल्न नसकिएको उनको भनाइ छ । ‘सुरुका दिनमा घरनजिकै घाँस पाउनेगथ्र्याे, बस्तु पाल्न सहज हुने गथ्र्याे,’ उनले भने, ‘अहिले बस्ती बाक्लो भएपछि र निकुञ्जले धेरै कुरामा बन्देज लगाएपछि बस्तुभाउ पाल्न समस्या भएको छ ।’

तोरी घर भित्र्याउँदै किसान ।

कोहलपुर नगरपालिकाबाट भरैया हेर्दा आज पनि उत्तिकै सुन्दर देखिन्छ । यहाँको प्राकृतिक वातावरण र स्वच्छ हावा मन लोभ्याउने खालको छ । तर यहाँको जनजीवन उत्तिकै कठिन छ । खड्कवार, भरैया र सिम्री गाउँ जंगलको बीचमा छन् । वातावरण शान्त छ । तर, उत्तिकै असुरक्षित पनि छ । निकुञ्जभित्र रहेकाले जंगली जनावरले आक्रमण गर्ने डर उनीहरूमा सदासर्वदा रहिरहन्छ ।

उत्पादन पनि धेरै हुने गर्छ । ‘तर, उत्पादन सकुशल घर भित्र्याउन भने स्थानीयले नपाएको अमर थापाले गुनासो गरे वर्षभरि दुःख गरेर लगाएको बाली र मिहिनेत गरेर हुर्काएका पशु चौपाया जंगली जनावरले खाइदिने गरेको उनले बताए ।२०६७ सालमा राष्ट्रिय निकुञ्जको स्थापना हुँदा पर्यटक आउने र प्रशस्त रोजगारी सिर्जना हुने आशामा रहेका स्थानीय अहिले निकुञ्जका कारण पाएको दुःख सम्झेर वाक्क भएका छन् ।

घाँसपात, दाउरा गर्नसमेत पाएका छैनन् । ‘निकुञ्जले गर्दा स्थानीयले धेरै दुःख पाएका छन्,’ वडाध्यक्ष डम्बर खड्का भन्छन् । ३ वर्षअघि यही ठाउँमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको वडाध्यक्ष खड्काले जानकारी दिए । तारबार नहँुदा यहाँका किसानले धेरै क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।

भरैया उत्पादनका हिसाबले उत्तम ठाउँ हो । यहाँको हावापनी र माटोमा मौसमी र बेमौसमी तरकारी उत्पादन धरै हुनेगर्छ । तर, बजारको व्यवस्थापन नहुँदा डोको बोकेर कोहलपुर बजार डुलाउनुपर्ने कृषक लक्ष्मी विकले बताइन् । गहँु, धान र टमाटर, गोभीलगायतका तरकारी प्रशस्तै उत्पादन हुने गरेको छ । तर त्यसको उचित बजार नपाउँदा किसानले उत्पादन गरेका कृषि उपज खेर जाने गरेका छन् ।

वनको बीचमा भएकाले यहाँको माटो उब्जाउ रहेको कृषि शाखाले जनाएको छ । यकिन तथ्यांक नभए पनि भरैया उत्पादनका हिसाबले कोहलपुर नगरपालिकामा अग्रस्थानमा रहेको छ । यहाँ विशेषगरी तरकारी उत्पादन धेरै हुने गर्दछ । निकुञ्जका कारण कृषकलाई कृषि तथा पशुपालनमा केही सहज भए पनि सुरक्षा र विकास निर्माणका दृष्टिले यो ठाउँ पछाडि परेको छ ।

पानी पिउँदै विद्यार्थी ।

यहाँ पर्याप्त विकास निर्माणका काम हुन नसक्दा उत्पादन बढाउन र त्यसलाई बजारीकरण गर्न किसानलाई समस्या हुँदै आएको छ । यहाँको अर्को प्रमुख समस्या के छ भने वर्षौंदेखि बसोबास गर्दै आए पनि यहाँका किसानले जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । ‘एकातिर जंगली जनावरको डर, अर्काेतिर बसोबासमा कठिन हुने गरेको छ ।

उत्पादन गरेका बाली जोगाउन पनि हम्मे–हम्मे हुने गरेको छ,’ स्थानीय रत्न भण्डारीले भने । क्षति एक लाखको भए किसानले २५ हजार पनि राहत नपाउने गरेको उनको गुनासो छ । विगत ३० वर्षदेखि खेतिपाती र बसोबास गर्दै आएका स्थानीयले अहिलेसम्म लालपुर्जासमेत पाउन सकेका छैनन् ।

बालशिक्षा माध्यमिक विद्यालय भरैया ।

निकुञ्जले पर्यटक भित्र्याएर आर्थिक विकासमा जोड दिनुका साथै स्थानीयलाई रोजगारीमा जोड्नु पर्नेमा दिनदिनै क्षति व्यहोर्नुपरेको स्थानीयको गुनासो छ । कोहलपुरमा आउने प्रायः सबै पर्यटकको नजरमा ठोकिन्छ, हात्तीसार । कोहलपुर–१३ मा अवस्थित खड्कवार हात्तीसार सफारी गर्न अहिले पनि दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन् ।

स्थानीय उत्पादनको स्वाद लिन होमस्टेको समेत व्यवस्था गरिएको छ । यति मात्रै होइन अहिले १३ नम्बर वडा कार्यालयले आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन रानीघाट सामुदायिक वनभित्र रहेका ताल संरक्षण गर्न र होमस्टे बनाउन ३ लाख बजेट विनियोजिनसमेत गरिदिएको छ ।
तर अन्य संरचना नबन्दा हात्तीसारले अझै पनि उचित प्रचारप्रसार पाउन सकिरहेको छैन ।

घरआँगनमा ग्राबेल सडक पुगेका छन् । तर, सडक बने पनि भरैया र सिम्री जोड्ने पुल नबन्दा वर्षायाममा विद्यार्थीलाई स्कुल जानदेखि सुत्केरीलाई अस्पतालसम्म पु¥याउन गाह्रो हुने गरेको अर्की स्थानीय शिखा विकले बताइन् ।

एकातिर निकुञ्जले पढ्न जाँदा बाघलगायतका जनावरले आक्रमण गर्नेसमेत गरेको उनको भनाइ छ । अहिले भर्खरै रोहिणी खोला भरैया र सिम्रहवा जोड्ने पक्की पुल डिपीआर भएपछि स्थानीयमा केही आशा भने पलाएको छ ।

तस्वीहरुः गणेश रावत

 

  • No tags available
प्रकाशित मिति : २०८० माघ २९ गते सोमबार