नेपालगन्ज ।
बाँकेमा सडक दुर्घटना भयावह बन्दै गएको छ । पछिल्लो ६ महिनामा प्राविधिक कारणले निम्तिने दुर्घटनाले मात्रै होइन तीव्रगतिमा हाँक्ने अराजक चालक, मापदक पदार्थ सेवन जस्ता कारणले सडक दुर्घटनामा अकालमा ज्यान ग्ुमाउनेको संख्या ३६ पुगेको छ भने झन्डै डेढ सय जना घाइते भई अपाङ जीवन जिउन विवश छन् ।
ड्युटीमै खटिएका प्रहरीसमेत सवारीको ठक्करबाट मृत्यु भएको घटनाले सडक दुर्घटनाको भयवाह तस्बिर देखाउँछ । गत मंसिर अन्तिम साता बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोक प्रहरी बिटनजिकै बोलेरोको ठक्करबाट ड्युटीमा रहेका रुकुम पश्चिम मुसिकोट घर भई हाल इलाका प्रहरी कार्यालय कोहलपुरको मातहत प्रहरी बिट मदनचोकमा कार्यरत २९ वर्षीय विशाल वलीको मृत्यु भएको थियो ।
यस्तै सोही ठक्करबाट बर्दिया जिल्ला बाँसगढी नगरपालिका–५ घर भई जिल्ला ट्राफिक कार्यालयको मातहत अस्थायी ट्राफिक पोस्ट चेपाङ बबईमा कार्यरत प्रहरी प्रहरी सहायक हवल्दार लालबहादुर बुढा क्षेत्री गम्भीर घाइते भएका थिए । पश्चिमबाट पूर्वतर्फ आइरहेको भे१च ३४०७ नम्बरको बोलेरोले दुवै जनालाई मदनचोकमा ठक्कर दिएको थियो ।
त्यस्तै, सडक दुर्घटनामा माघ १४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान बर्दिया निवासी विकास डाँगीको निधन भएको थियो । उनलाई नेपालगन्ज–१८ मा ड्युटीमा खटिएका बेला सवारीसाधनले ठक्कर दिएको थियो । यसरी ड्युटीमै खटिएका प्रहरी कर्मचारीदेखि सडकभन्दा पर पैदल हिँडिरहेका सर्वसाधारणसम्मले सवारीको ठक्करबाट ज्यान गुमाउनुपरेको छ ।
अंग्रेजी नयाँ वर्षको दिन कारकाँदोमा भएको सवारी दुर्घटनामा दुई जनाले अकालमा ज्यान गुमाउनुपरेको थियो । सुप्रप्र ०१–००१ प ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिँदा पैदलयात्री नेपालगन्जकी २४ वर्षीया आस्था शाहसहित दुई जनाको निधन भएको थियो । अर्की २५ वर्षीया सहाना शाह घाइते भएकी थिइन् ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म बाँकेमा ८३ वटा सवारी दुर्घटना भएकोमा ३६ जनाको मृत्यु भएको छ । ६९ जना गम्भीर घाइते भएका छन् भने सामान्य घाइतेको संख्या ७८ जना रहेको छ । यही अवधिमा दुई जना प्रहरी कर्मचारीको निधन भएको छ भने ३ जना घाइते भएका छन् ।
गम्भीर घाइते भएका केहीको अझै पनि उपचार भइरहेको जनाइएको छ । प्रहरी अनुसन्धानबाट मादक पदार्थ सेवन, लापरबाही र तीव्र गतिका कारण सवारी दुर्घटना बढ्दै गएको देखिएको जनाउँदै अनाहकमा निर्दोषको ज्यान जाने गरेको पाइएको छ । दुर्घटनाका यी तीन कारणमध्ये सबैभन्दा बढी दुर्घटना मादक पदार्थ सेवनका कारण भएको अनुसन्धानबाट खुलेको हो ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले सबैभन्दा बढी दुर्घटना मादक पदार्थ सेवनका कारण घट्ने गरेको जानकारी दिए । ‘यी दुर्घटना नियन्त्रणका लागि हामीले गर्नुपर्ने काममा कुनै कसर बाँकी राखेका छैनाँै,’ उनले भने ।जिल्ला ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा ठुला सवारी साधनभन्दा पनि मोटरसाइकल र अटोरिक्सा बढी परेका छन् ।
मुख्य राजमार्ग क्षेत्रभन्दा पनि ग्रामीण र भित्री सडकमा दुर्घटना बढी भएको पाइएको छ । भित्री सडकमा मोटरसाइकल र अटोरिक्सा बढी चल्ने भएकाले ठुला सवारी साधनभन्दा पनि साना सवारी साधनले दुर्घटनाको संख्या बढाएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक सुवेदीले बताए ।
उनले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले १२ महिना नै निरन्तर विभिन्न सचेतनाका कार्यक्रम गर्दै आएको जनाउँदै तर पनि दुर्घटना बढ्दै गएको चिन्ता व्यक्त गरे ।जिल्ला ट्राफिक कार्यालयका अनुसार बाँकेमा चालू आर्थिक वर्षको हालसम्म ७ सय वटा सचेतीकरणसम्बन्धी कार्यक्रम गरिएको छ ।
सो क्रममा विद्यार्थी, चालक, सहचालकदेखि सडक प्रयोग गर्ने आमनागरिकलाई समेत ट्राफिक नियमबारे सचेत बनाउने कार्यक्रम सञ्चालन गरिएको छ ।दुर्घटना घटाउने काम कुनै एक निकायले मात्र गरेर नहुने जनाउँदै त्यसका लागि सरोकार राख्ने सबै निकायको उत्तिकै भूमिका हुनु जरुरी रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्