शिवु खनाल । देउखुरी ।
देउखुरीमा पछिल्ला वर्षहरूमा मानवीय कारणले सीमसार क्षेत्र मासिँदै जाँदा पानीचरा हराउँदै गएका छन् । यहाँका सीमसार नासिएसँगै यहाँ पाइने चरामा सानो जलेवा, ठुलो जलेवा, चखेवा बकुल्ला प्रजातिलगायतका चरा लोप हुनलागेको अनुसन्धानकर्ता चिरन्जीवी खनालले बताए ।
उनका अनुसार लमही नगरपालिका–३ टिकुलीगढमा रहेको सीमसार क्षेत्र अहिले जखेरा तालको रूपमा परिणत भएको छ भने लमही नगरपालिका–९ बगार बाबा धर्मिक विकास क्षेत्र रिहार धाममा रहेको सीमसार क्षेत्र अहिले बगार बाबा तालको रूपमा परिणत भएको हो ।
सीमसार क्षेत्रको कतै संरक्षण भएको छ भने कति नासिँदै गएको पाइएको हो । मुख्य बासस्थान सीमसारको विनाशसँगै अवैध चरा सिकार तथा व्यापार, उडान मार्गमा हुने अवरोध र जलवायु परिवर्तनले पानीचरा संकटमा परेको जनाइएको छ ।
ताल, तलाउ, पोखरी, नदी नाला, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसेमैदान जस्ता सीमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने आश्रित चराहरू लोप हुँदै गएको अनुसन्धानकर्ता खनालको भनाइ छ ।
यसवर्ष दाङमा गरिएको जलपन्छी गणनामा पन्ध्र प्रजातिका चराहरू मात्र अभिलेख गरिएको छ । जो पछिल्ला वर्षहरू भन्दा धेरै कम हो । सानो जलेवा, ठुलो जलेवा, चखेवालगायतका हाँस प्रजातिको धेरै संख्यामा रहे पनि अन्य पन्छीहरू घट्दै गएको अनुसन्धानकर्ता चिरन्जीबी खनालले बताए । कालो गरुण, लोभी पापी गरुण, तिलहरी चराजस्ता पन्छीहरू यो वर्ष देखिएनन् ।
नदीजन्य पदार्थका लागि खोला–नदीमा दोहन र ताल तथा पोखरीहरूमा बसको नाममा अनावश्यक निर्माण कार्य गरी सिमेन्टका संरचना मात्र बनाउने कार्यले गर्दा चराहरू बस्ने अनुकूलको वातावरण नभएको अवस्था रहेको उनको भनाइ छ । जखेरा तालमा पहिले देखिने जलेवाहरू अहिले हराउन थालेका छन् ।
चराहरू बस्ने बीचको टापुमा मन्दिर बनाउँदा र तालनजिकै पिकनिक स्पोटले निकाल्ने ध्वनि प्रदूषण, वरिपरि बनिरहेका संरचनाजस्ता विकासे कामले चराको विनास भएको छ । हिमाली प्रकृति संस्थाको आयोजनामा हरेक वर्ष नेपाल भर जलपन्छी गणना हुने गर्दछ । सोही क्रममा देउखुरीको राप्ती नदी र आसपासको सीमसारहरूमा पनि जलपन्छी गणना हुने गर्दछ ।
राजपुर गाउँपालिका–५ जंग्रहवा निवासी चक्रबहादुर खड्का (शिखर)ले गाउँको सीमसार क्षेत्र नासिएपछि थुप्रै चरा देख्न छाडेको बताए । सीमसार क्षेत्रका पानीको मुहान थुनेर माछापोखरी निर्माण गरिएपछि यहाँका पानीचरा देखिन छाडेका छन् । सीमसार जमिनमा पोखरी निर्माण गरिएको यस ठाउँ लमही नगरपालिका–९ रिहारस्थित पूर्वपश्चिम राजमार्ग देखि उत्तरतर्फ क्षेत्रमा पर्छ । दलदल जमिन सुक्दै गएपछि यहाँ देखिने गरेका पानीचरा पनि हराउन थालेको छ ।
सीमसार क्षेत्र मासिँदै गएपछि कुनै ठाउँमा पुग्नुपर्ने चरा अन्त जाने कारणले चराको संख्यामा कमी आएको हो । नदीहरू दिन प्रतिदिन कुरूप बन्दै गएको छ, पानीका स्रोतमा ढल फोहोर मिसाउँदा, पानीको मुहान मासिँदै गर्दा विगतभन्दा अहिले चरा घटेका छन्, अनुसन्धानकर्ता चिरन्जीबी खनालले बताए ।
नदी छेउछाउ, तालतलैया तथा सीमसार आसपास विकास निर्माणसँगै मानवीय गतिविधिले गर्दा पानीमा आश्रित चरालाई असर परिरहेको छ । यसको प्रत्यक्ष उदाहरण भर्खरै गरिएको चरा गणनाले देखाएको छ । मानवीय क्रियाकलापले गर्दा चराको संख्यामा कमी हुँदै गएको हो ।
नेपालमा हालसम्म अभिलेख भएका ४३ प्रजातिका विश्वकै दुर्लभ चरामध्ये १२ प्रजाति पानीचरा भएको अनुसन्धानकर्ता चिरन्जीबी खनालले बताए । सीमसार आसपास विकास निर्माणसँगै मानवीय गतिविधिले गर्दा आगन्तुक जलपन्छीको संख्यामा कमी हुँदै गएको उनले बताए । हाल राप्ती नदीकिनार क्षेत्रमा विभिन्न प्रजातिका चराहरू गणनामा सूचीकृत छन् ।
प्रतिक्रिया दिनुहोस्