डुडुवामा शिक्षा सुधारका लागि पाठयक्रम बनाइँदै



डुडुवा ।
बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीति कार्यान्वयनमा ल्याएको छ । पालिकाले यसवर्ष शिक्षाको गुणस्तरीयतासँगै विकासका लागि राणनीतिअनुसारको कार्ययोजना अघि सारेको हो ।

पालिकाअन्तर्गतका विद्यालयहरूको गुणस्तरीयता, शिक्षकको निगरानी, विद्यार्थीको सहभागिता, अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्य गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार अहिले पहिलो चरणमा पालिकाअन्तर्गत रहेका ७ वटा विद्यालयमा सिसी क्यामरामार्फत निगरानी गरिएको छ ।

यसले विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यापन, सुरक्षालगायत विषयको निगरानी सुरु गरिएको अध्यक्ष चौधरीले बताए ।  पालिकाले विद्यालयमा नैतिक तथा संस्कारको कक्षासमेत सुरु गर्ने योजना बनाएको छ । आगामी शैक्षिक सत्रबाट संस्कारिक कक्षा सुरु गर्ने पालिका अध्यक्ष चौधरीले बताए । त्यसका लागि स्थानीय पाठ्यक्रम निर्माणको काम सुरु गरिएको छ ।

अहिले समिति निर्माण गरी कार्य प्रारम्भ भएको छ । डुडुवाले छात्रा विद्यालयसमेत सञ्चालन गर्न लागेको पालिकाले जनाएको छ । डुडुवा–२ को बेतहनीमा यस वर्षदेखि कक्षा १ को स्वीकृति पाएकाले अब पढाइ सुरु गरिनेछ । विद्यालय सञ्चालन गर्नका लागि अहिले भौतिक संरचना निर्माणको कार्य भइरहेको छ ।

मधेसी तथा मुस्लिम समुदायका अभिभावकले आफ््ना बालिकाहरूलाई प्रायः विद्यालय नपठाउने गर्नाले छात्राहरूको छुट्टै विद्यालय सञ्चालन गर्ने योजना अनुरूप छात्रा विद्यालय सञ्चालन गर्न लागेको पालिका अध्यक्ष चौधरीले बताए ।  डुडुवा गाउँपालिकाले शैक्षिक गुणस्तर मापनका लागि अहिले शिक्षण सहजीकरण सुरु गरेको छ ।

सुरुमा माध्यमिक विद्यालयमा गएर शिक्षकले पढाएको कक्षाको अवलोकनको कार्य भइरहेको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताए ।
‘हामी विद्यालयमा जान्छौँ, शिक्षकले विद्यार्थीहरूलाई विषयगत शिक्षा पढाइरहेका बेला शिक्षकको कार्यक्षमता र सिकाइमूलक सीपलगायतका बारेमा मूल्यांकन गर्छांै,’ उनले भने, ‘त्यस क्रममा विद्यार्थीहरूको समेत टेस्ट गर्ने गरेका छौँ ।

अनुगमनबाट देखिएको समस्यालाई समाधानका लागि कार्ययोजना निर्माण गर्छौं र सोहीबमोजिम सुधार गर्छौं ।’विद्यालयको अवलोकन तथा अनुगमनपश्चात समग्र अवस्थाको बारेमा सुधार गर्न विशेष पहल गरिने उनले जानकारी दिए ।

डुडुवा गाउँपालिकामा ७ वटा माध्यमिक विद्यालय, ९ वटा आधारभूत विद्यालय, १८ वटा, एउटा गुरुकुल र ७५ वटा बालविकास केन्द्र सञ्चालित छन् ।

 

प्रकाशित मिति : २०८० माघ २४ गते बुधबार