‘तरकारी बिमामा किसानहरूको आकर्षण खासै देखिएन’



० कोहलपुर नगरपालिकाभित्र रहेका किसानहरूले उत्पादन गरेको बाली र बेमौसमी तरकारीको अवस्था कस्तो पाउनुभएको छ ?

कोहलपुर नगरपालिकाभित्र रहेका किसानहरूले उत्पादन गरेका हिउँदे बाली र बेमौसमी तरकारीहरूको हामी प्रविधिकसहित खेतबारीमै पुगेर अनुगमन गर्ने गरेका छौँ । पछिल्लो समय कोहलपुरका किसानहरूले मौसमअनुसार उत्पादन बढाइरहनुभएको छ । जसमा ५ वर्षको लामो समयपछि मौसम प्रतिकुलताका कारण केही मात्रामा उत्पादन ह्रास भएको पाएका छौँ । जस्तैः समयमै पाक्नुपर्ने गोलभेँडा नपाक्दा बिक्री हुन सकेन त्यो किसानका लागि घाटाको कुरा हो । अहिलेसम्म हेर्दा आलुमा अलिकति क्षति भएको देखिन्छ । कार्तिकको दोस्रो तेस्रो हप्तामा लगाएका आलुमा मात्रै केही क्षति भएको छ । व्यावसायिक हिसाबले खेतिपाती गर्ने किसानको संख्या त कोहलपुरमा कम नै छ । अहिलेसम्म मौसमले गर्दा त्यस्तो ठूलो क्षति पनि किसानहरूले व्यहोर्नुपरेको छैन । यस विषयमा हामीले किसानहरूको खेतमै पुगेर सजक बनाउने र प्रविधिक सल्लाह सुझाव दिने गरेका छौँ ।

० किसानहरूलाई बिमासँग जोड्नु भएको छ त ?

किसानहरूका लागि बिमा उपलब्ध गराउन निरन्तर नेपाल सरकारको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण बिमाको अधिकार पाएका संघसंस्थाहरूसँग सहकार्य गरे पनि बाली र तरकारीहरूको बिमामा किसानहरूको आकर्षण भने खासै देखिएन । पशुमा बिमा गर्न किसानहरूले सक्रियता देखाएकाले लागू गर्न भने केही सहज भयो । यसका लागि कृषि शाखाबाट पहिला च्याउमा बिमा गरेका किसानहरूले केही केस बिमा कम्पनीमा पेस गर्दा झन्झट व्यहोर्नुपर्ने गुनासो आयो र बिमा गरेका किसानले पनि छोडे । हाम्रो प्रयास भयो तर किसानहरूले चासो दिएनन् ।

० कृषि शाखाबाट किसानलाई के कस्ता सहयोग गर्नुभएको छ ?

कोहलपुर नगरपालिका कृषि शाखाबाट हामीले जहाँ किसानहरूको बाली, तरकारी क्षति र उत्पादन ह्रास हुन्छ उनीहरूका लागि लहरे तरकारीको बिउ वितरण गर्ने गरेका छौँ । हालै मात्र पनि हामीले लहरे तरकारीमध्येका ९ सय प्याकेटजति करेला, बोडी, काँक्रा, भेन्टाका बिउहरू वितरण ग¥यौँ । हामीले जो व्यवसायी किसानहरू क्षति भयो भयो भनेर कृषि शाखामा आउँछन् उनीहरूका लागि बिउ वितरण गर्ने गरेका छौँ ।

० बिघौँबिघामा खेती गर्नेलाई मात्रै अनुदान दिने तर एक दुई कठ्ठा खेती गर्ने किसानलाई बिउ र अनुदान नदिने गरेको किसानहरूको गुनोसो छ नि ?

अहिलेसम्म हामीले कोहलपुरमा स्वीकृत भएका वार्षिक कार्यक्रममा कुनै पनि किसानलाई क्षेत्रफलका आधारमा पनपक्ष गरेका छैनौँ । एक बिघा, दुई बिघा, १० कठ्ठा, १ कठ्ठा जतिमा खेती गर्ने किसान हुन् उनीहरूलाई अनुदान दिने गरिएको छ । छुट्टै किसिमको कुनै अनुदान भन्ने केही छैन । अनुदान भनेकै ५० प्रतिशत किसानको लगानी र ५० प्रतिशत नगरपालिकाको अनुदान हो । एक कठ्ठा होस् वा एक बिघा सबैलाई यो अनुदान उपलब्ध हुन्छ । यो सबै किसानको सम्मान हो । सूचना निकाल्दा हामीले कृषि संलग्न भएका समूह र सहकारी फर्मका साथै कृषि व्यवसाय गर्ने कृषकहरूलाई भनेर सूचना निकालेका हुन्छाँै । जसमा साना किसानहरू पनि सहकारीमार्फत समेटिने भएकाले खुला तरकारी बिउ, अनुदान र सिँचाइका सामग्री दिने गरेका छौँ । गुनासो आएको खण्डमा हामी अनुगमन गरेर जोड्छौँ ।

० आइपिएम कृषक पाठशाला भनेको के हो ? र यो किन सञ्चालन गर्नुभयो ?

आइपिएम कृषक पाठशाला भनेको विषादी न्यूनीकरण गर्ने माध्यम भनेर कृषि पाठशालालाई बुझ्ने गरेका छौँ । अहिले हामीले कोहलपुर नगरपालिका वडा नम्बर ४, ५, १० नम्बर वडामा प्रविधि र फिल्ड स्तरमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेका छौँ । जुन हामीले व्यावसायिक हिसाबले ६ र ३ नम्बर वडालाई पनि जोड दिएका छौँ । सबैलाई समेट्ने सहकारीमार्फत समता सहकारीले १५ किसानलाई समेटेर कार्यक्रम सञ्चालन गरेको छ । यसले विषादीमुक्त तरकारी उत्पादनमा जोड दिएको छ । यसमार्फत अर्गानिक तरकारी उत्पादन सँगसँगै विषादीरहित तरकारी उत्पादन हुनेगर्छ । प्रविधिकहरू खेतबारीमै गएर रोप्न, मलजल हाल्न सिकाउने गर्छौं । यसबारे अहिले सबै किसानलाई जानकारीसमेत भएको छ ।

० व्यावसायिक किसानले उत्पादन गरेका बस्तुहरूको बजार व्यवस्थापनका लागि के कस्तो काम गर्नुभएको छ ?

किसानहरूले उत्पादन गरेका बस्तुहरूको बजारका लागि मैले हवल्दारपुर कृषि हाटबजार र कोहलपुर कृषि हाट बजार व्यवस्थापन समितिका अध्यक्षसँग पनि छलफल गरेको छु । हाम्रो बजारलाई चाहिने तरकारी स्थानीयस्तरबाट थोरै उत्पादन हुने गरेको र उत्पादनमा जोड दिँदा बजारमा उपभोग्य बस्तुहरू उपलब्ध गराउन समस्या देखिएको उनीहरूको भनाइ छ । बजारमा आउने अरू उत्पादनसँग ग्रेडिङ र प्रतिस्पर्धा गर्न नसक्ने गरेको उनीहरू बताउँछन् । साथै बजारको मूल्य घटबढ हुने तर हाम्रा कृषकहरू मूल्य घटाउन नमान्ने पनि उनीहरूको भनाइ छ । यस विषयमा गहन छलफल गर्नु आवश्यक छ ।

० व्यवसायी किसानहरूसँग यस्ता विषयमा कहिले छलफल गर्नुभएको छ ?

छलफल भएको छ । स्थानीयस्तरमा भएका उत्पादनलाई जोड दिनु हाम्रो मुख्य उद्देश्य हो । सक्दो प्रयास अनुदानमा जोड दिने, सिँचाइ, यान्त्रीकरण र बजारीकरणलगायत एकीकृत सामग्री वितरण गरेर उत्पादनमा जोड दिने हो । त्यस्तै किसानलाई समयमै बिउ, सिँचाइ र आइपर्ने प्रकोपबाट बच्ने उपायमा जोड दिने सोच बनाएका छौँ ।

० कृषि शाखाबाट उपलब्ध भएका बिउ नउम्रिने र गुणस्तहीन बिउ वितरण गर्ने गरेको गुनासो आउने गरेको छ नि ?

पहिलो कुरा हामीले नेपाल सरकार बिउ बिजनले प्रमाणीकरण गरेका बिउ मात्रै खरिद गर्ने गरेका छौँ । जुन गुणस्तरीय नै हुन्छन् । यदि कुनै केही कारणवश गुणस्तरहीन बिउ आए भने बिउ उत्पादन र बिक्री वितरण गर्ने संस्थालाई कानुन अनुसार कारबाही हुन्छ । कतिपय किसानले धेरै उत्पादन हुने भ्रममा रूपैडियाबाट बिउ ल्याउने गरेका पनि छन् । तर, हामीले किसानलाई हाइब्रिड लगाउन सुझाव दिने गरेका छौँ । यो अहिलेसम्म गुणस्तरहीन बिउ भन्ने त्यस्तो भेटिएको छैन । भेटिए कानुनअनुसार अघि बढ्छौँ ।

० बिउ वितरण मात्रै गर्ने कि रोप्न र अन्य प्राविधिक कुरा पनि सिकाउने गर्नुभएको छ ?

बिउ कसरी छर्ने र उत्पादन गर्नेबारे किसानहरू जानकार नै छन् । उनीहरूलाई सिकाइरहनु आवश्यक छैन । हामीले केही नयाँ कुरा भए प्राविधिकहरूमार्फत सिकाउने गरेका छौँ । खेतबारीमै पुगेर अनुगमन गर्ने र सहयोग गर्ने, औषधी प्रयोग गर्ने विधि पनि सिकाउने गरेका छौँ ।

० मौरीपालक किसानहरूको समस्या कसरी सम्बोधन गर्नुभएको छ ?

मुख्य त मौरीपालक किसानहरूलाई चरनको समस्या छ । कोहलपुर नगरपालिकाभित्र रहेका मौरीपालक किसानहरू बर्दियामा चरनका लागि लैजानुपर्ने बाध्यता छ । लामो समयसम्म जाडो बढेकाले मौरी बचाउन र चरनका लागि टाढा लैजानुपर्ने समस्या छ । यहाँ जम्मा साढे ४ सय हाराहारीमा मौरीका घारहरू रहेका छन् । जसका कारण उत्पादनमा कमी भयो । अर्काे मौरीलाई खाना दिनुपर्ने अवस्था छ । यसमा चाहिने उपकरणहरू हामीले व्यवस्थापन गरेका छौँ । गतवर्ष बजारसम्म बिक्री सामग्री, मौरी बस्ने खाली मौरी घार उपलब्ध गरायौँ । अहिले पनि हामीले मौरीसहितका घारहरू दाङबाट ल्याएर दिएका छौँ । नजिकबाट निहालेका पनि छौँ । बेलाबखत अनुगमन पनि गर्ने गरेका छौँ ।

० गहुँ उत्पादनमा किसानहरूलाई कृषि शाखाबाट कसरी जोड्नुभएको छ ?

बाँकेमा सबैभन्दा धेरै उत्पादन हुने धान बाली हो । दोस्रो बालीमा गहुँ पर्छ । त्यसैले किसानलाई उत्पादनमा वृद्धि गर्न यो वर्ष १५० क्विन्टल बिउ वितरण गरेका छौँ । त्यो पनि किसानको रुचि र मागका आधारमा । तीन वटा जातको बिउ वितरण भएका छन् । गहुँबालीका लागि सिँचाइको समस्या भएकाले पाइपसमेत वितरण गर्ने गरेका छौँ ।

० बसन्ते मकैको बिउ कसरी वितरण गर्नुभयो ?

हामीले बसन्ते मकैँको बिउ किनेर ल्याएर वितरण गरिसकेका छौँ । दुईवटा उन्नत जातका बसन्ते मकैँको बिउ वितरण गरेका हौँ । त्यस्तै, अरूण दुई र रामपुर कम्पोजिट १० भन्ने बिउ वितरण ग¥यौँ । यो डेक नेपाललाई कृषि ज्ञान केन्द्र खजुराले अनुमति दिएर हामीले वितरण गरेका हौँ । यसपालि साढे ३ क्विन्टल बिउ वितरण गरेका छौँ । यो पहिलो पटक र नयाँ भएकाले चुनौतीपूर्ण पनि छ । यो वर्ष उत्पादनमा वृद्धि भए आगामी वर्ष पक्कै सहयोग गर्ने अपेक्षा लिएका छौँ ।

० कृषिमा के कस्ता कामहरू गर्नु भयो आज सम्म ?

हामीले कोहलपुर नगरपालिका भित्र रहेका किसानहरूका लागि यान्त्रीकरण सँगै बिउ वितरणमा जोड दिएका छौँ । सिचाईँ सुविधा,यान्त्रिकरण वितरण,बिउँ,मल,च्याउ लगायतमा किसानहरूको खेतमैँ पुगेर सल्लाह दिनेृ गरेका छौँ । अहिले कोहलपुर च्याउमा आतम निर्भर समेत भएको छ । त्यसैगरी तरकारीमा पनी रूपैडियाको रोके आफ्नै धान्न सक्ने अवस्था छ ।

० भर्खरै परेको पानीले किसानलाई कस्तो फाइदा गर्छ?

लामो समय देखि पानी परेको थिएन । सिचाइको सुविधा नपुगेको ठाउँहरूमा हिउँदे बाली तरकारीहरूको लागि फाइदा नैँ गरेको छ ।

 

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार