गणेश रावत । कोहलपुर ।
कुमार उप्रेतीको जन्म बुटवलमा भयो । सामान्य घरपरिवारमा जन्मेका कुमार घरको कान्छो सन्तान हुन् । प्रायः कान्छो सन्तान मायाले पुलपुलिएको हुन्छ भनिन्छ । खासै संघर्ष गर्नु नपर्ने ठानिन्छ । तर, कुमारका हकमा भने यो कुरा लागू हुँदैन । घरको कान्छो सन्तान भए पनि कुमारलाई सानैदेखि संघर्ष गर्नुपर्ने बाध्यात आइलाग्छ ।
कुमारका बुबा पदमराज उप्रेती सामान्य हार्डवेयर पसल सञ्चालन गर्थे । आमा गीतादेवी भने गृहिणी थिइन् । जेनतेन खाना लाउन पुगेकै थियो । कमाएर छोरा पढाउन र खान लगाउन दुःख थिए । कुमार सानैदेखि बुबाआमासँग कहिलेकाहीँ पसलमा बस्थे । उनलाई पनि भविष्यमा व्यवसायी बन्ने र पैसा कमाउने रहर थियो ।
तर, दुःखद कुरा उनी ११ वर्षको हुँदा उनले बुबाको अचानक निधन भयो । जन्डिसले गर्दा उनका बुबाको मृत्यु भएको थियो । सानै उमेरमा परिवारको अभिभावक गुमाउनुपर्दा कुमारलाई ठूलो धक्का लाग्यो । कुमार एक्लो महसुस गर्न थाले । घरमा आमा र दुई जना दाइ थिए । तर, पनि घरमूली बुबा नहुँदा कुमारलाई घर नै रित्तो रित्तो महसुस हुन थाल्यो । उनलाई घरमा बस्न मन लागेन । त्यसपछि उनी अंकलकोमा केही महिना बसे । त्यहाँ पनि उनको मन अडिएन ।
त्यसपछि उनी दाइकहाँ बस्न थाले । करिब तीन वर्ष उनी दाइको हार्डवेयरमा बसेर काम गर्न थाले । त्यहाँ काम गर्दै उनले व्यावसायिक अनुभव बटुले । दाइको पसलले उनलाई व्यापारका बारेमा धेरै कुुरा सिकायो । उनलाई पनि अब दाइको पसलमा बसेर काम गर्नुभन्दा आफैँले केही व्यापार व्यवसाय गर्ने आँट आयो । आफैँ केही गर्ने हुटहुटीले गर्दा उनले दाइसँग छुट्टिएर सुर्खेतको वीरेन्द्रनगरमा २०६२ सालदेखि आफ्नै हार्डवेयर व्यवसाय सञ्चालन गरे ।
व्यवसाय सुरु गर्दा उनीसँग पैसा भने थिएन । थियो त केवल काम गरेको अनुभव मात्रै । तर, कुमारले दाइको पुरानो पसलका सामग्री म्याद मागेर पैसा तिर्ने सर्तमा लिए । आफ्नो भविष्य खोज्ने क्रममा उनले पनि बुबाले गरेकै व्यवसाय रोजे । सुरुका दिनमा उनले अनेकौँ बाधा अवरोध झेल्नुप¥यो । तर, कुमारले हार नमानी निरन्तर संघर्ष गरे । उनलाई साथ दिने कोही थिएनन् ।
तर पनि उनले एक्लै व्यापारमा संघर्ष गरिरहे । उनले रातदिन नभनी मिहिनेत गरे । जसको परिणामस्वरुप अहिले उनी मालिक अर्थात सफल हार्डवेयर व्यवसायी बनेका छन् । २०५५ सालमा घर छोडेका कुमारको त्यतिखेर आफ्नो भन्नु त्यही व्यवसाय गर्ने कोठा मात्र थियो । विस्तारै उनले सञ्चालन गरेको व्यवसाय फस्टाउन थाल्यो । दिन बित्दै गयो । अहिले उनीसँग आफ्नै घर, घडेरी, जग्गा, गाडी र हार्डवेयर पसल छ ।
जीवनलाई उनी अवसरको रूपमा लिने गरेको बताउँछन् । उनी अहिले कोहलपुर बाबा नगरमा त्रिशक्ति टे«ड हार्डवेयर सञ्चालन गरिररहेका छन् । आफू मात्र होइन उनले तीन जनालाई रोजगारीसमेत दिएका छन् । एक छाक खान र राम्रो लगाउन हम्मेहम्मे हुने कुमार यतिबेला करोडका मालिक भएका छन् । संघर्षले उनलाई महिनामा लाखौँ कारोबार गर्ने व्यवसायी बनाएको छ ।
उनी भन्छन्– ‘सानो छँदा धेरै पैसा कमाउने र मालिक भएर अरूलाई सहयोग गर्ने इच्छा थियो । मालिक त बनेँ तर सहयोग गर्ने चाहना पूरा गर्दै छु ।’सुरुका दिनमा एक्लै व्यवसाय धानेका कुमारले २०६३ सालमा रेष्मासँग विवाह गरे । रेष्माको साथ पाएपछि उनलाई सँगसँगै काम गर्न केही सहज हुन थाल्यो । ‘दुःख सुखमा साथ दिने असल जीवन साथी पाएँ,’ उनले भने, ‘जसको साथले आज यो अवस्थामा पुग्न सम्भव र सफल भएको छु ।’
श्रीमती नहुँदा उनलाई व्यवसाय चलाउनदेखि घरायसी सबै काम एक्लै गर्नुपथ्र्यो । एक्लै हुँदा खाना पकाउनेदेखि घरधन्दा गर्न कठिन हुने गथ्र्याे । तर विवाह गरेपछि काम घटेको छ । सुर्खेतमा दुई लाखबाट व्यवसाय सुरु गरेका उनी अहिले करोडौँका मालिक छन् । ‘जे होस् भगवान्को कृपाले व्यवसाय पनि राम्रो भयो । यसैमा सन्तुष्ट छु,’ उनले भने ।
२०७५ सालमा स–परिवार कोहलपुर झरेका कुमार अहिले कोहलपुरमा जमेर बसेका छन् । व्यवसायका लागि अझ बढी सम्भावना देखेर उनी कोहलपुर झरेका थिए । कोहलपुर ‘ट्रान्जिट प्वाइन्ट’ भएकाले कोहलपुरमा व्यवसाय गर्न र समान खरिद–बिक्री गर्न अझ सहज हुने ठानेर कोहलपुर झरेको उनले बताए ।
कोहलपुर आउँदा नगर विकास समितिको जग्गा उनलाई चिट्टामा प¥यो । उनले व्यवसायमा १ डेढ करोड लगानी गरे । सुर्खेत हुँदा कमाएको र ऋण निकालेर कोहलपुरमा व्यवसाय गर्न सुरु गरे । ‘एक समय मलाई व्यवसायले यतिसम्म दियो कि अब पैसा पुग्यो भन्ने अवस्थामा समेत पुगेको थिएँ,’ उनले सुनाए, ‘अब व्यवसाय छोडेर आध्यात्मतिर लाग्छु भन्ने सोचिसकेको थिएँ ।’
२०७५ सालमा कुमारलाई फेरि बज्रपात प¥यो । १० वर्षको कलिलै खाऔँ खाऔँ लाऔँ लाऔँ भन्ने उमेरमा छोरीको नुहाउने क्रममा बाथरुममा लडेर मृत्यु भयो । एक मात्र सन्तानको अकालको मृत्युले उनलाई निकै पीडा दियो । उनलाई केही समय त सम्हालिन गाह्रो भयो । उनी लामो समय शोकमा डुबे । भावुुक हुँदै उनले भने, ‘तर जतिसुकै पीडा भए पनि आखिर सहनै पर्दोरहेछ । मैले आफ्नो मनलाई शान्त पार्न आध्यात्मतिर मन डुलाएँ । ध्यान गर्न थालेँ । अहिले पनि प्रत्येक दिन म ध्यान गर्छु ।’
जतिसुकै पीडा भए पनि आखिर सम्हालिनै पथ्र्यो । उनले पनि आफूलाई आफैँले समालेर अघि बढे । ‘यो घटनापछि त म सन्तान नै नजन्माउने सोचमा पुगेको थिएँ,’ उनले भने, ‘तर श्रीमतीको सन्तानप्रतिको रहरलाई मैले मार्न सकिनँ ।’ श्रीमान् श्रीमतीको सहमतिमा उनीहरूले एउटासम्म सन्तान जन्माउने विचार गरे । तर नियतिको खेल अर्कै रहेछ । उनीहरूलाई एकैपटक तीन सन्तान प्र्राप्त भए ।
श्रीमतीले एकैपटक तिम्ल्याहा सन्तानलाई जन्म दिइन् । ‘हामीले एउटासम्म सन्तान खोजेका थियौँ,’ कुमारले भने, ‘तर एकै पटक तीनवटा छोरैछोरा जन्मिए ।’ सबै सन्तान सकुशल जन्मिएका थिए । एकैपटक तिम्ल्याहा जन्मिएपछि कुमार दम्पतीलाई एकातिर खुसी र अर्काेतिर चुनौती थपियो । तर सामना गर्नैप¥यो । दुःख गरेर उनीहरूले ती सबै सन्तानलाई हुर्काउन सफल भए । अहिले पनि उनका तीनै तिम्ल्याहा सकुशल छन् । अहिले छोराहरूको नामबाटै व्यवसायको नाम त्रि–शक्ति टे«ड राखिएको छ ।
शिवरात्रीको दिन जन्मेकाले छोराहरूको नाम सत्यम, शिवम, सुन्दरम् राखिएको उनले जानकारी दिए । कुमारका तीनै दाजुभाइ बुबाको कामलाई पछ्याउँदै हार्डवेयर व्यवसायी बनेका छन् । दुई जना दाइ र कुमार सबै हार्डवेयर व्यवसायी हुन् । कुमार एक जना व्यवसायी मात्रै नभई खेलाडी, समाजसेवी र आध्यात्मिक व्यक्ति पनि हुन् । कोहलपुरमा आफ्नो छुट्टै पहिचान बनाएका उनी अहिले हार्डवेयर व्यवसायी संघ बाँकेका अध्यक्ष छन् ।
उनले भने, ‘म कहिले व्यवसायी, खेलाडी, समाजसेवी भएर आफ्ना कुरा मिडियामा गर्थें । तर, मेरो संघर्ष सुनाउन पाएको थिइनँ । आज सुनाउन पाएँ,’ कुमारले खुसी हुँदै भने । हार्डवेयर व्यवसायी संघ बाँकेको अध्यक्ष पनि भएकाले आफूले व्यवसायीका गुनासा, सुन्न र बुझ्न प्रत्येक हप्ता बजारमा निस्कने गरेको उनले बताए । बजारमा जाँदा व्यवसायीहरूमा अहिले निराशा छाएको आफूले पाएको उनको भनाइ छ । आर्थिक मन्दीले निर्माण क्षेत्रमा ठुलो चुनौती आएको उनले बताए ।
यस्तो समयमा व्यवसायीहरूले आफू कसरी टिक्ने भन्नेतिर ध्यान दिनुपर्ने उनले सुझाव दिए । आर्थिक मन्दीले व्यवसाय थिलथिलो भएका कारण कतिपय व्यवसायी डिप्रेसनमा समेत पुगेको उनले बताए । उनीहरूको मनोबल बढाउन पनि बेलाबेला आफूले सल्लाह र सुझाव दिने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्