पश्चिम नेपालमा वर्षा र हिमपात ,किसान हर्षित हवाई सेवा प्रभावित



बाँके।
पश्चिम नेपालका विभिन्न जिल्लामा वर्षा र हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका विभिन्न भूभागमा वर्षा र हिमपात भएको हो । पश्चिमका हिमाली क्षेत्रमा हिमपात भएको छ भने पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालका भूभागमा हिमपात र वर्षा भएको उनले बताए । सूदुरपश्चिम, कर्णाली र लुम्बिनीका हिमाली जिल्लाहरूमा हिमपात भएको छ । कर्णालीका हिमाली जिल्लामा हिमपात भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार हिमपातका कारण जुम्ला–गमगढी सडकखण्ड, रुकुम पश्चिममा मध्यपहाडी राजमार्गलगायतका सडक अवरुद्ध भएका छन्।

हिमाली जिल्लामा रहेका विमानस्थलमा हिउँ जम्दा हवाई सेवा अवरुद्धबाहेक अन्य क्षतिको विवरण नआएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पामा वर्षासँगै हिमपात भइरहेको छ । कर्णालीका अन्य पहाडी जिल्लाका माथिल्लो क्षेत्रमा समेत हिमपात भएको छ । मौसममा बदली भई भारी हिमपात भएसँगै चिसोले जनजीवन प्रभावित भएको छ ।

यो यस वर्षको दोस्रो हिमपात हो । यस वर्ष गत मंसिर १८ गते पहिलो हिमपात भएको थियो । गत वर्ष भने माघमा मात्र हिमपात भएको थियो ।
हुम्लाका उत्तरी क्षेत्र नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका सबै क्षेत्रमा भारी हिमपात भएको छ । दक्षिणी क्षेत्रका सर्केगाड, चंखेली, अदानचुली र तांजाकोट गाउँपालिकाका लेकतिर हिमपात र बेसीतिर वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । माथिल्लो, मध्य र तल्लो तीन भागमा बाँडिएको हुम्लाको माथिल्लो, मध्य क्षेत्रका सबै गाउँलगायत स्थानमा बढी हिमपात भएको छ ।

सुदूरपश्चिम प्रदेशमा समेत वर्षा र हिमपात भइरहेको छ । बिहीबार बिहानैदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू–भागमा हिमपात भइरहेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनका अनुसार दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र डडेल्धुराका उच्च हिमाली तथा लेकाली भू–भागमा हिमपात भइरहेको छ ।

उनका अनुसार डोटीको खप्तड क्षेत्र, अछामको चौखुट्टे, बाजुराको सदरमुकाम मार्तडी, बैतडीको खोड्पे, ढोल्यामोड, अनारखोली, डडेल्धुराको भत्काँडा, दार्चुलाको सितापुल र बझाङका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातसँगै वर्षा पनि भइरहेकाले पहाडी भू–भागमा चिसो बढेको छ । राजमार्ग क्षेत्रमा हिमपात भइरहे पनि अहिले नै सवारीसाधन आवागमनमा समस्या नभएको प्रहरीले जनाएको छ । यद्यपि निरन्तर हिमपात भएको खण्डमा भने राजमार्ग अवरुद्ध हुने सम्भावना रहेको छ ।

धर्तीको स्वर्ग भनेर चिनिने खप्तड क्षेत्रमा समेत हिमपात भइरहेको छ । खप्तड क्षेत्रमा बिहान नै पाँच फिटसम्म हिउँ परेको छ । खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको छ । सुदूरपश्चिम प्रदेशमा यो हिउँदमा पहिलो पटक वर्षा र हिमपात भएको हो । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पूर्वी रुकुममा बिहीबार बिहानैदेखि हिमपात भइरहेको छ । हिमपातले मध्यपहाडी राजमार्ग अवरुद्ध रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । प्रदेशका पहाडी र तराईका जिल्लामा भने दिनभर मध्यम वर्षा भएको थियो ।

वर्षा र हिमपातले किसान हर्षित 
लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशका जिल्लाहरूमा हिमपात र वर्षा भएपछि किसानहरू हर्षित भएका छन् । हिउँदे बालीलाई पानी चाहिने बेलामा ढिलै भए पनि हिमपात वर्षा भएपछि किसानहरू हर्षित भएका हुन् । गहुँ बालीलाई पानी आवश्यक परेको बेला हिउँदे वर्षा भएको बाँके राप्ती सोनारीका किसान रामलाल थारूले बताए ।

‘हिउँदे बालीले पानी खोजे पनि सिँचाइको सुविधा नभएपछि कहिले पानी पर्छ भनेर कुरिरहेका थियौं,’ उनले मिसन टुडेसँग भने, ‘बिहीबार बिहानैदेखि दिउँदे वर्षा भएपछि खुसी लागेको छ ।’ तराई र पहाडी क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुँदा हिउँदे बालीनाली उत्पादनमा सहयोग पुग्छ ।

वर्षा र हिमपात हुँदा चिसो बढे पनि बालीनाली उत्पादनमा सहयोग पुग्ने भन्दै किसानहरू हर्षित भएका हुन् । हिमाली क्षेत्रमा हिमपात हुँदा पशुपालनलाई भने असर पुग्ने हुम्ला अदानचुलीका टंक लामाले बताए । ‘हिउ पर्दा पशुपालनलाई असर गरे पनि हिउँदे बालीनालीलाई राम्रो हुन्छ,’ उनले भने, ‘समयमै हिमपात भएकाले उत्पादनसमेत बढ्ला ।’

हिमपातले हवाई सेवा प्रभावित 
बिहीबार बिहानैदेखि भएको हिमपात वर्षाका कारण कर्णाली र हिमाली जिल्लामा हवाई उडान प्रभावित भएको छ । नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थलबाट हिमाली क्षेत्रमा रहेका विमानस्थलमा हुने हवाई उडान प्रभावित भएका हुन् ।  कर्णालीका हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, डोल्पा तथा सूदूरपश्चिमको बाजुरालगायतका जिल्लामा हवाई उडान अवरुद्ध भएको हो । यी जिल्लामा रहेका विमानस्थलहरूमा नेपालगन्ज, धनगढी र सुर्खेत विमानस्थलबाट हवाई उडान हुँदै आएको थियो ।

नेपालगन्ज विमानस्थलबाट कर्णाली र सूदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा हुने सबै उडानहरू बिहीबार प्रभावित भएको नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालले जानकारी दिए । नेपालगन्जबाट काठमाडौं हुने उडान भने नियमित नै रहेको उनले बताए । हिमाली जिल्लाका विमानस्थलहरूमा बाक्लो हिउँ जमेको छ । तारा, सीता, समिट र नेपाल एयरलाइन्सले कर्णाली र सूदूरपश्चिमका हिमाली जिल्लामा नियमित उडान गर्दैै आएका छन् ।

हवाई उडान अवरुद्ध भएपछि यात्रुहरू भने अलपत्र परेका छन् । विमानस्थलमा बाक्लो हिउँ जमेका कारण हवाई उडान नियमित हुन अझै केही दिन लाग्नसक्ने मुगुको रारा विमानस्थलका प्रमुख सन्तोष गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रबार