नेपालगन्ज ।
नेपालगन्ज–१६ जयसपुरका समसुद्दिन अन्सारी उमेरले ३५ पुगे । यो उमेर समुहका उनका साथीहरू खाडीमा दुःख गरिरहेका छन् । तर उनी नेपालगन्जमै बसेर सिकर्मीको काम गरेरै महिनाकै चालीस हजारसम्म आम्दानी गरिरहेका छन् । घरमै खाना खाइसकेपछि बिहान दस बजे नेपालगन्जस्थित नेपाल उड आर्ट इन्जिनियरिङमा पुग्छन् । साँझसम्म काम गरेर घर फर्किन्छन् ।
परिवारसँगै बसेर स्वदेशमै चालीस हजारसम्म कमाउँदा उनी पनि खुसी छन् ।नसिम अन्सारी १९ वर्ष पुगे । दुई वर्षअघि सिकर्मीको काम सिकेका उनले अहिले महिनाको तीस हजारसम्म कमाइरहेका छन् । पढेर अरू केही गर्ने परिवारिक अवस्था नभए पनि नसिम जस्तै फिरोजले पनि सिकर्मीको काम गरेर राम्रै आम्दानी गरिरहेका छन् । घरमै मिठो मसिनो खाई परिवारसँग बसेर आम्दानी गर्ने यस्ता युवा धेरै छन् ।
नेपालगन्जका फर्निचर उद्योगले यस्ता सयौँ युवालाई रोजगारी दिएको बताउँछन् नेपालगन्जस्थित नेपाल उड आर्ट इन्जिनियरिङका सञ्चालक जनक डाँगी । हातमा सीप भए देशमै पैसा कमाउन समस्या छैन भन्ने उदाहरण फर्निचरमा काम गर्ने युवाहरू बनेका छन् । पहिले यो क्षेत्रमा भारतीय कामदारको बाहुल्यता हुने गरे पनि अहिले नेपाली कामदार नै पर्याप्त रहेको डाँगीको भनाइ छ ।
कोभिडका समयमा फर्निचर उद्योगमा फरक तरिकाले सञ्चालन गरिएको यो उड आर्टमा हातबाट बनाइएका आकर्षक ढोका, झ्याल, रोयल बेड, रोयल सोफाहरू उत्पादन भइरहेको छ । पश्चिम नेपालमा यस्ता आकर्षक कलाकृति भएका झ्याल ढोकाहरू नेपाल उड आर्ट इन्जिनियरिङले बनाउने गरेको सञ्चालकको दाबी छ । जहाँ ३३ जना युवाले रोजगारी पाएका छन् । आर्थिक शिथिलताले कहिलेकाहीँ काममा शिथिलता आउने गरे पनि अरू जस्तो खाली बस्न नपरेको सिकर्मी युवाहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्