19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

‘हाम्रो सात नम्बर वडालाई सबैमा पछि पारिएको छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १७, २०८०  

० निर्वाचित भएर आएको पनि करिब डेढ वर्ष भयो । यो अवधिमा के–के कामहरू गर्नुभयो ?

निर्वाचनबाट निर्वाचित भएर आयपश्चात म वडा नम्बर ७ को विकास निर्माणका लागि निरन्तर लागिपरेको छु । यो अवधिमा सडक पिच, ग्राभेल, नाली र वडाबाट कोहलपुर जोड्न मेनरोडलाई सबैभन्दा पहिलो प्राथमिकता दिएको छु । अहिले वडा कार्यालयसम्म कालोपत्रे गरीएको छ । ७ नम्बर वडा कृषि क्षेत्र भएकाले किसानहरूका लागि मल, बाख्रा पालन र भँैसी पालनलगायतका पशुपालनलाई समेत जोड दिएको छु ।

० विकास निर्माणका कामहरू गर्दा टोल समितिमार्फत गर्नु हुन्छ वा वडा कमिटीको निर्णयबाट गर्नुहुन्छ ?

हाम्रो वडामा ७ वटा टोल विकास समिति छन् । विकास निर्माणको काम गर्नुभन्दा पहिला ७ वटै टोल विकास समितिसँग बस्छौँ । जतिवटा उनीहरूले छानेर प्राथमिकताका आधारमा छानेर योजनाहरू वडालाई उपलब्ध गराउनुहुन्छ । हामी आफैँ गएर समितिसँग बसेर छलफल गरी सातवटै टोलको योजनाहरू केलाएर प्राथमिकताका आधारमा योजनाहरू छनोट गर्ने गर्छाैँ । अति आवश्यक, त्यसपश्चात २, ३, ४ गरेर क्रमशः राख्छौँ र टोल विकास समितिको योजनाबाहेक अरू योजना समेट्दैनाँै ।

० निर्वाचित हुनुभन्दा पहिला र निर्वाचित भएर आयपछि तपाईप्रति स्थानीयको सबैभन्दा धेरै आशा र मागहरू के–के छन् ?

मागहरू मुख्य गरेर ४ वटा छन् । किसानहरूका लागि सिँचाइ, शिक्षा, स्वास्थ्य सेवा र बाटो उनीहरूका प्राथमिकताका विषय हुन् । कोहलपुर नगरपालिकाको पछाडि परेको वडा भएकाले सिँचाइ सुविधा छैन । जसको कारण जग्गाहरू बाँझो राख्नुपर्ने र अकासेपानीको भर पर्नुपर्ने अवस्था छ । शिक्षामा पनि एकदमै पछाडि परेकाले भौतिक पूर्वाधार, शौचालय, खानेपानीलगायतको समस्या छ । बाटाहरू निर्माण गर्ने र कालोपत्रे गर्नेलगायतका कुरा रहेका छन् । यी समग्रलाई गम्भीतापूर्वक लिएको छु । यसका लागि पहल भइरहेको छ ।

० वडामा कतिवडा विद्यालय छन् र ती विद्यालयको अवस्था कस्तो पाउनुभएको छ ?

७ नम्बर वडामा २ वटा सामुदायिक र एउटा बोर्डिङ छ । लखनामा रहेको नेरा प्रावि आधारभूत विद्यालयमा विद्यार्थीहरूको चाप धेरै छ । त्यसैले गत वर्ष दुईकोठे भवन निर्माण गरेर अहिले बाउन्ड्र निर्माण हुँदै छ । अरू एकदमै राम्रो छ । त्यस्तै अर्को बाल नेपाल विद्यालय विद्यार्थीहरूको संख्या न्यून छ । त्यस विद्यालयको विकासका लागि अभिभावक र वडा मिलेर लागिपरेका छौँ । हामीले शिक्षामा लगानी गरेका छौँ । विद्यार्थी संख्या कम भएकाले समस्या भएको छ । भवन मात्रै बनाएर हुँदैन । त्यसैले पहिला विद्यार्थी संख्या त्यसपछि भौतिक पूर्वाधार निर्माण गर्ने हो । नजिकै खुलेका बोर्डिङ स्कुलले गर्दा पनि सरकारी विद्यालयमा विद्यार्थीहरू कम भएका छन् ।

० स्वास्थ्य क्षेत्रलाई कसरी लिनु भएको छ ?

स्वास्थ्य सेवा दिने कुरामा हामी कुनै कन्जुस्याइँ गरेका छैनौँ । सहरी स्वाथ्य केन्द्रमार्फत समय–समयमा चेकजाँच गरिरहेका छौँ । सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ तर भवन निर्माण भएको छैन । कोहलपुर नगरपालिकाभित्र रहेका सबै वडामा स्वास्थ्य केन्द्रहरूको भवन निर्माण भएका छन् तर यहाँ कुन कारणले निर्माण भएन । यस विषयमा म गम्भीरतापूर्वक लागिपरेको छु । यसले गर्दा स्वास्थ्य सेवा दिन कठिनाइ भएको छ । कोहलपुर नगरपालिकाको ७ नम्बर वडा सबैभन्दा पछि परेको छ । यस विषयमा मेयरसापले पनि चासो दिनुभएको छ । अहिले पनि व्यावहारिक रूपमा पछि पारिएको छ । चुनावको बेला पनि अनेकैँ प्रतिबद्धता जनाइए पनि ७ नम्बर वडा सबै कुरामा पछि पारिएको छ । जनसंख्याको हिसाबमा कमी भए पनि भूगोलको आधारमा यो ठूलो छ । थारू समुदायको बाहुल्यता छ । पछि परेको वडालाई नगरपालिकाले पनि हेर्नुपर्छ ।

० थारू समुदायको बाहुल्यता भएको वडा भन्नुभयो सिकलसेल थारू समुदायमा बढी देखिने गर्छ । तपाईको वडामा कस्तो अवस्था छ ?

यस विषयमा भर्खरै एकदिने अभिमुखीकरण राखेका थियौँ । यस विषयमा वडामा घुमेर जनचेतनामूलक कार्यक्रम पनि राखेका छौँ । यदि संक्रमण भएको पाइए नगरपालिकामा पठाउँछौँ । यस विषयमा स्थानीयलाई सिकलसेल भनेको के हा े? किन लाग्छ ? सावधानी अपनाउन के गर्नुपर्छ ? भनेर डाक्टरसहित जानकारी दिने गरेका छौँ । सिकलसेल लागेका मान्छेसँग बिहे गर्नु हुँदैन भन्ने जानकारी दिँदा कतिपयले रोचक रूपमा पनि लिनुभएको छ । यसलाई वडाबासीले पनि गम्भीरतापूर्वक लिएका छन् । यदि यस्ता रोगी भेटिए नगरपालिकामा निःशुल्क उपचार गर्ने गरेका छौँ ।

० उत्पादन सँग किसानहरूलाई कसी जोड्नु भएको छ ?

उत्पादनका लागि पहिलो कुरो सिँचाइ हो । पानी भएन भने सिँचाइ कसरी गर्ने र किसानले खेतिपाती गर्ने ? कोहलपुर नगरपालिका अन्य वडाहरूमा सिक्टा सिँचाइ पुग्यो तर ७ नम्बर वडालाई किन छुट्टाइयो ? त्यसैले अकासेपानी परेन भने वडाका अधिकांश जमिन बाँझो रहने गर्छ । खै किन हो ७ नम्बर वडामा ४ सय फिट गहिराइमा गए पनि पानी भेटिँदैन । व्यावसायिक हिसाबले कृषकले अनुदानमा कृषि शाखाबाट बिउ लिने र उत्पादन गर्ने गरेका छन् । नाम चाहिँ कृषि क्षेत्र भनिन्छ तर, कुनै पनि कुरा वितरण गर्दा अरू वडामा गरिन्छ । अनि पछाडि त त्यत्तिकै परिहाल्छ । प्राथमिकताका आधारमा अनुदान र सहयोग गर्नुपर्छ । धान, आलु, गहुँलगायत धेरै उत्पादन हुन्छ । तर, सिँचाइको समस्या छ ।

० बजारको व्यवस्थापन कसरी गर्नुभएको छ ?

पहलिा आफैँ उत्पादन गर्ने आफैँ घरमा खाने गर्थे । तर, अहिलेको समयअनुसार गाउँमै फुटकरमा बिक्री गर्ने र किन्ने गरिन्छ । त्यसपछि लखनाको तरकारी हवल्दारपुरको र कोहलपुरको हाट बजारसम्म पुग्ने गर्छ । धानको हकमा गाउँमै रहेका मिलमा बिक्री गर्ने गर्छन् । जे होस् बिक्रीमा समस्या हुने गरेको छैन ।

० कोहलपुरमा च्याउको उत्पादन बढेको छ ७ नम्बर वडामा कस्तो अवस्था छ ?

प्रायःजसो किसानहरूले तालिम लिएर सजिलै उत्पादन गर्ने गरेका छन् । प्रत्येक घरमा आफैँ उत्पादन गरी खाने गरेका छन् । कतिपय किसानहरूले बिक्री गर्नेसमेत गरेका छन् । यदि कोही व्यावसायिक रूपमा गर्न चाहनेलाई हामीले सक्ने सहयोग गर्ने गर्छांै । व्यावसायिक रूपमा वडामा दर्ता भएर आए हरकदम सहयोग गर्न हामी तयार छौँ । कुनै पनि स्थानीयले कृषि गर्न चाहे आधा अनुदान सहयोग गर्ने गरिएको छ ।
० वडामा पशुपालनको अवस्था के छ र प्राविधिक सहयोग कसरी गर्नुभएको छ ?

वडा नम्बर ७ पशुपालनका लागि पनि राम्रो क्षेत्र हो । यसका लागि पशु शाखाबाट पनि प्राविधिक सहयोग हुने गरेको छ । तर, व्यावसायिक रूपमा त्यस्तो कसैले गरेको छैन । एक दुई जना किसानलेबाहेक बाख्रा पालन, भैँसी पालनलगायत गर्न सकेका छैनन् । अहिले गाउँमा दूधको उत्पादनसमेत पाउन मुस्किल भएको छ । एक दुई जनाले गाउँमा उत्पादन गरे पनि सिधै नेपालगन्ज बिक्री गर्ने गरेका छन् । यसका लागि बिमा सुविधा छ । गाउँमा रहेका पशुपालन कृषकलाई विशेष ग्राह्यता दिन चाहन्छौँ । यस विषयमा प्राविधिक सहयोग गर्ने गरेका छौँ ।

० लागूऔषधको अवस्था वडा के कस्तो छ ?

लागूऔषधको ठूलो रूप लिएको अवस्था थियो । तर, गाउँका बुद्धिजीवी स्थानीय सबैको प्रयासले अहिले केही सुधार आएको छ । भित्रि रूपमा अझै समस्या रहेको छ । यसका लागि प्रहरीसँग समन्वय गरेका छौँ । प्रहरीले पनि राम्रो साथ दिएको छ । यसलाई गम्भीतापूर्वक लिएका छौँ ।

प्रकाशित मितिः बुधबार, माघ १७, २०८०     7:41:52 AM  |