नेपालगन्ज ।
आर्थिक वर्ष २०७९÷८० मा नेपालगन्ज भन्सार नाका हुँदै ६ करोड ८७ लाख १३ हजार मूल्यबराबरको ७ सय ६९ मेट्रिक टन रिठ्ठा विदेश निर्यात भयो । चालू आवको मंसिरसम्म ३६ लाख ४४ हजार मूल्यको ४९ मेट्रिक टन रिठ्ठा निर्यात भएको छ । असारसम्म गत वर्षकै हाराहारी रिठ्ठा निर्यात हुने व्यवसायीहरू बताउँछन् ।
यसरी हरेक वर्ष रिठ्ठा बेचेरै नेपालले लाखौं रूपैयाँ आम्दानी गर्दै आएको छ । नेपालगन्जसहित विभिन्न भन्सार नाकाबाट रिठ्ठा जस्ता जडिबुटी निर्यात हुने भएको हुँदा यसको आकार अझ ठूलो हुन आउँछ । आयुर्वेदिक र औद्योगिक क्षेत्रमा बराबर महत्वका साथ हेरिने रिठ्ठो बहुउपयोगी वनस्पति हो ।
समुद्री सतहबाट ९ सयदेखि १५ सय मिटरसम्मको उचाइमा नेपालमा मध्यपहाडी क्षेत्रमा उम्रने यो वनस्पति १८ मिटरसम्म अग्लो हुन्छ । यो वनस्पति प्रत्येक वर्ष वैशाखदेखि असारसम्म फुल्छ र फलेर पहेँलो भई पाकेको दाना मंसिर पुसतिर संकलन गरिन्छ । यसको दानालाई ओखल वा ढुंगामा कुटेर पानीमा ढड्याई निस्कने फिँज प्रयोग गरी लुगा धुने र नुहाउने काम गरिँदै आएको पाइन्छ ।
परम्परादेखि प्रयोग गरिँदै आएको यो वनस्पतिको फल पछिल्ला दिनहरूमा स्याम्पु, साबुन, कीटनाशक औषधि, डिटर्जेन्ट पाउडर बनाउन पनि प्रयोग गरिएको छ । पहाडबाट संकलन गरी नेपालगन्ज ल्याइएको रिठ्ठा ग्रेडिङ गरी निर्यात गरिने जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रशाद शर्मा बताउँछन् ।
उनका अनुसार नेपालमा उत्पादन हुने रिठ्ठाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा यिनै असंख्यक उपयोगिताको कारण निकै लोकप्रिय हुँदै गएको छ । विगत चार÷पाँच वर्ष अगाडिसम्म घरायसी प्रयोगमा मात्र सीमित रहेको रिठ्ठा आजभोलि छिमेकी राष्ट्र भारतका अतिरिक्त युरोपसम्म निर्यात हुन थालेको छ ।
नेपालबाट विदेश निर्यात गरिने रिठ्ठामध्ये सबभन्दा बढी परिमाण साबुन र स्याम्पु बनाउने उद्देश्यले खरिद गर्ने गर्छन् र निर्यातको केही भाग नेपालबाटै निर्यात कम्पनीहरूले आकर्षक प्याकहरूमा ती राष्ट्रहरूका डिपार्टमेन्टल स्टोरहरूलाई बिक्री गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्