अवरोधका बाबजुद प्लाइउडको निर्यात बढ्दो



                                                                                                                 फाइल तस्बीर

नेपालगन्ज ।
नेपालगन्ज भन्सार नाका हुँदैे चालु आर्थिक वर्षको ६ महिनामै १३ करोड ९४ लाखको प्लाइउड निर्यात भएको छ । उत्साहजनक निर्यात भइरहेको प्लाउड भारतले थपेको सर्तअनुसार अब के हुन्छ भन्ने अन्योलका बाबजुद नेपालबाट प्लाइउड निर्यात गर्ने क्रम घटेको छैन । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार प्लाइउड धेरै निर्यात हुने नेपाली बस्तुमा परेको छ ।

खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाहरूबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उद्योगी व्यवसायीहरू बताउँछन् । जसका कारण पूर्वी र पश्चिमी दुवै तर्फका नाकाहरूबाट भारततर्फ गत आर्थिक वर्षमा मात्रै ६० लाख क्युविक मिटर बढी प्लाइउड निर्यात भएको थियो । यस्तै चालु आर्थिक वर्षको पहिलो ४ महिनामा पनि यसको निर्यात प्रशस्तै भएको पाइएको छ ।

धेरै निर्यात हुने ३० वस्तुभित्रको सूचीमा परेको प्लाइउड पछिल्लो ५ महिनामा मात्रै २७ लाख क्युविक मिटर निर्यात भएको छ । खासगरी भारतीय बजारमा बढेको प्लाइउडको मूल्यका कारण नेपालमा पाइने सस्तो मूल्यको प्लाइउडको निर्यात बढेको हो । भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु, नेपालको निर्माण क्षेत्रमा सुस्तता आउनु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे बताउँछन् ।

यसरी यसको निर्यात बढेपछि नेपालबाट निर्यात हुने प्रमुख वस्तुको रूपमा यसलाई राखिनुपर्ने उद्योगी व्यवसायीहरू बताउँछन् । नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतका लखनउ, कानपुर, दिल्ली, आग्रा, देहरादुनलगायतका बजारसम्म हुने गरेको छ । भारतले भने नेपालबाट बढिरहेको प्लाइउड निर्यातमा निहुँ खोजेको जस्तो गरेको छ । नेपालबाट यसको निर्यात बढेको जानकारी पाएसँगै भारतले आगामी फेबु्रअरी २८ देखि लागू हुनेगरी प्लाइउड आयातमा भारतीय गुणस्तर प्रमाण (आइएसआई) अनिवार्य गरेको छ ।

हालसम्म बिना आइएसआई प्लाइउड भारततर्फ निर्यात गरिरहेका नेपाली उद्योगीलाई यसले अवरोध गर्ने संघका अध्यक्ष घिमिरेले बताए । उनका अनुसार भारतले अब आइएसआई खोज्ने भएपछि नेपालबाट जाने प्लाइउडमा केही समस्या सिर्जना हुने भएको छ ।भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेबु्रअरी २८ पछि प्लाइउडमा आइएसआई प्रमाण अनिवार्य गरेको हो ।

यसपश्चात नेपाली प्लाइउड उद्योगीले नेपालको उद्योग मन्त्रालयसँग विभिन्न चरणमा छलफल गरेर यसको सहजीकरणको पहल गरिदिन आग्रह गरेको छ । यस्तै यसैको सहजीकरणका लागि भन्दै भारतीय राजदूतावाससँग पनि सहजीकरणको माग गरिरहेको अध्यक्ष घिमिरेले बताए ।

‘हुन त भारतीय यो नीति सबै देशका लागि लागू हुने भएको हो, तर पछिल्लो समय नेपालबाट यसको निर्यात बढिरहेकाले हामीलाई केही समय अप्ठ्यारो अवस्था आउन सक्छ,’ उनले भने, ‘यसमा सहजीकरण या यो समय केही लम्ब्याउन हामीले सम्बन्धित निकायसँग आग्रह गरिरहेका छौं ।’ सबैजसो उद्योगले आइएसआई लिन करिब ५ देखि ६ महिनाको समय लाग्ने भए पनि भारतले तोकेको समय केही अपुग हुने उनी बताउँछन् ।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार