17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

नेपालगन्जमा टिकेनन् लाखौँ लगानीका यी पूर्वाधार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ १४, २०८०  

कमल डाँगी । नेपालगन्ज ।
निर्वाचनताका नेताहरूले स्मार्ट नेपालगन्जको नारा घन्काउन पछि परेनन् । तर लाखौँ लगानीमा निर्माण गरिएका डिजिटल पूर्वाधार टिकाउन भने उनीहरूले कुनै भूमिका निर्वाह गर्न सकेका छैनन् । सहरमा प्रत्यक्षदेखि गरी तीनवटा यस्ता पूर्वाधार प्रयोगविहीन भए जसमा ठूलो लगानी निजी क्षेत्र र स्वयम् सरकारले लगाएको थियो ।

डिजिटल चर्पी, डिजिटल बस बिसौनीदेखि वायु प्रदूषण मापन गर्ने यन्त्र ! यी यहाँ निर्माण भए तर सञ्चालनमा आउन नपाई बन्द भए । सात करोड लगानी गरेको डिजिटल बस बिसौनीको अवस्था त झनै बेहाल छ । उसले लगानी गरेर निर्माण गरेका बस बिसौनी प्रयोगविहीन छन् र डिजिटल बोर्डमा भित्तामा पम्प्लेट टाँसेझै टाँसिएको छ ।

कोभिड महामारी पूर्व नेपालगन्ज उपमहानगरपालिकासँगको समझदारीमा निजी क्षेत्रले नेपालगन्जको ट्राफिक चोकदेखि राँझा चोकसम्म सुर्खेतरोडका २१ स्थानमा डिजिटल बस बिसौनी र १० स्थानमा ट्राफिक बुथ निर्माण गरेको थियो । त्यसका लागि झन्डै ७ करोड लगानी गरिएको थियो । बिपी चोक, जिल्ला शिक्षा कार्यालय, धम्बोझी, भेरी अस्पताल, त्रिभुवन चोक, बागेश्वरी मन्दिरलगायतका विभिन्न स्थानमा निर्माण कार्य भइरहेकोे डिजिटल बस बिसौनी तथा चोकमा डिजिटल ट्राफिक बुथको काम गरेको कम्पनी एपेक्स नेपालले कुनै आम्दानी गर्न सकेको छैन ।

काठमाडौं महानगरको सुन्दरता र व्यावसायिक रूपले समेत सफल भएपछि पोखरा, चितवन, विराटनगर, बुटवल, भैरहवा, अत्तरिया, धनगढीमा यस किसिमको डिजिटल बस बिसौनी तथा ट्राफिक बुथ बनाइसकिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले एपेक्स नेपाल प्रालिसँग १० वर्षका लागि वार्षिक १५ लाख २६ हजार तीन सयमा रूपैयाँमा सम्झौता गरेको छ भने निर्माण कार्यको सम्पूर्ण खर्च एपेक्सकै रहेको र त्योबापत एपेक्सले कानुनले निषेध नगरेका विज्ञापन गर्न पाउनेछ ।

‘नगरलाई सुन्दर बनाउन र ऊर्जाको समेत बचतका लागि सोलारको व्यवस्था गरेर रातिमा बत्ती बल्ने डिजिटल बस बिसौनी बनेका हुन्,’ एपेक्स नेपाल प्रालिका निर्देशक कृष्णप्रसाद आचार्यले भने, ‘यो व्यापारिक परियोजना भए पनि यसले सहरलाई सुन्दर बनाउँछ ।’ झन्डै ७ करोड अनुमानित लागत भएको बताउँदै आचार्यले तर कतिपय सर्तविपरीत डिजिट बोर्डको प्रयोग भएको जथाभावी घरमा विज्ञापन राखिएको र आर्थिक मन्दीका कारण केही पनि आम्दानी नभएको बताए ।

डिजिटल बस बिसौनी जस्तै नियति डिजिटल चर्पीले भोगेको छ । बहुचर्चित डिजिटल शौचालय सञ्चालन नै नगरी भत्काइएको छ जहाँ नयाँ चर्पी बन्दै छ । नेदरल्यान्ड्स विकास कोषको लगानीमा ४६ लाख ३६ हजारमा चार वर्षअघि नेपालन्जको धम्बोझीचोकमा बनाइएको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काइएको छ ।

नमुना शौचालयका रूपमा धम्बोझी चोकमा राखिएको शौचालयलाई मर्मत सम्भार गरेर सञ्चालन गर्न छाडेर ४ वर्ष बन्द गरेर अन्त्यमा भत्काइएको छ । उपमहानगरले डिजिटल प्रविधिलाई सुचारु गर्न नसकेपछि भत्काउने निर्णयमा पुगेको हो । शौचालयमा स्वचालित डिजिटल प्रविधि जडान गरिएकोमा लामो समय सञ्चालन नहुँदा सामानमा खिया लागेको थियो । सञ्चालनमा नै नल्याई शौचालयलाई जीर्ण अवस्थाको खण्डहर बनाएपछि उपमहानगर नेतृत्वको सर्वसाधारणले आलोचना गरेका थिए ।

नेपालगन्जमा निर्माण गर्दा डिजिटल शौचालयको फरक विशेषताका कारण चर्चामा रहेको थियो । जमिनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त थियो भने शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिन्थ्यो । डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको र अपांगता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता भएका व्यक्तिले शौच गर्न सक्ने गरी बनाइएको थियो ।

पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका नखुल्ने सेन्सर जडान गरिएको थियो । शौचालय प्रयोगमा आए÷नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्थ्यो भने शौच गर्दा स्वचालित रूपमा संगीत बज्ने र जो–कोहीले संगीत सुन्दै शौच गर्न सक्ने बताइएको थियो ।  नेपालगन्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा राखिएको डिजिटल शौचालय बनाइएको थियो ।

एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय अहिले सदुपयोग नभई भत्काइएको हो । नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले डिजिटल शौचालय भत्काएर अब सामान्य शौचालय बनाउन लागिएको जानकारी दिए । उनले प्रविधिको शौचालय प्रयोगमा जटिलता उत्पन्न भएको र डिजिटल प्रविधिमा आउने समस्याले हैरान भएपछि अब सामान्य खाले शौचालयमा यसलाई परिवर्तन गर्ने निष्कर्षमा उपमहानगरपालिका पुगेको बताए ।

२०७६ माघ ६ गते स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत ४६ लाख ३६ हजार रूपैयाँ लागतमा स्वचालित शौचालय निर्माण गरिएको थियो । त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका परिसर भित्र वायुको प्रदूषण जाँच गर्ने डिजिटल बोर्ड सञ्चालनमा ल्याए पनि त्यो पनि सञ्चालन हुन सकेन । नेपालगन्ज उपमहानगरपालिकाले नगर सञ्चालन गर्न भन्दै किनेका नगर बस र घुम्ती शौचालय ठेकेदारको हातमा छन् ।

प्रकाशित मितिः आइतवार, माघ १४, २०८०     8:14:14 AM  |