नेपालगन्ज ।
अनवर अली इद्रिसीको जीवनको चार दशक झन्डा बनाउनै बित्यो । नेपालगन्ज वडा नम्बर ४ घोसीटोलका इद्रिसीको उमेर ७० वसन्त पार भइसकेको छ । तर अझै पनि उनले आफ्नो काम छाडेका छैनन् । उनले बनाएका आकर्षक झन्डा अहिले पनि धमाधम बिक्री भइरहेका छन् ।
बुबाले गर्दै आएको कामलाई उनले निरन्तरता दिएका हुन् । त्यही कामले अहिले बेग्लै पहिचान त दिएको छ नै थपमा जीवन धान्ने पैसा पनि आर्जन गर्न सफल भएका छन् । झन्डा बनाउन उनी राजा वीरेन्द्रको सवारीसम्म पुगेका थिए ।
पञ्चायतकालमा जिल्ला पञ्चायत सुर्खेतले इद्रिसीलाई ठूलो संख्यामा राष्ट्रिय झन्डा बनाउन ‘अर्डर’ गरेको थियो । आफ्नो मनपर्ने ठाउँ सुर्खेतमा राजा वीरेन्द्र ‘सवारी’ भएका थिए । राजाको सवारी तामझामपूर्ण बनाउन जिल्ला पञ्चायतले कुनै कसर बाँकी राखेको थिएन । त्यसका लागि नेपालगन्जका अनवरलाई राजाको सवारीको तीन महिनाअघि नै राष्ट्रिय झन्डा, ब्याच जस्ता सामग्री बनाउन भनेको थियो । अनवर राष्ट्रिय झन्डा बनाउने एक्ला व्यक्ति थिए ।
राजाको सवारीमा फहराउने झन्डा बनाउने जिम्मा पाएपछि अनवर खुसी नहुने कुरै भएन । दिन रात नभनी उनले काम सके । सडक यातायातको पूर्वाधारसँग नजोडिएको सुर्खेतमा जानुपर्ने एकमात्र विकल्प पैदल नै थियो । तर जुन दिन अनवर जाने तयारी गर्दै थिए, सुर्खेतमा हावाहुरी मात्र होइन हिउँ नै परेर जानै नसकिने अवस्था आएछ । मौसमका कारण उनी हच्किए । तर राजाको सवारीमा झन्डा नपु¥याई नहुने । तर कसरी ? उनलाई टाउको दुखाइ भयो ।
त्यही बेला राँझास्थित सेनाको ब्यारेकबाट नेपाली सेनाका सुवेदार आइपुगे । ‘अनवर साब राजाको सवारीमा जाने होइन ? भन्दै सुवेदार आउनुभयो । मैले जानैपर्ने हो तर कसरी ?’ ती दिन सम्झिँदै अनवरले भने– ‘सुवेदारले म तपाईलाई लिन आएको हो । ल हिँड्नुहोस् ब्यारेक तपाईंलाई हेलिकोप्टरमा सुर्खेत लैजाने आदेश छ भन्नुभयो ।’ एक त आफ्नो काम बन्ने अर्कोतिर हेलिकोप्टरमा पहिलोपटक चढ्न पाइने भएपछि अनवरलाई खुसीको सीमा नै भएन । अर्डर गरेको सामानको भारी बोकेर अनवर राँझा ब्यारेकतिर लागे । त्यहाँबाट सिधै सुर्खेत ।
‘राजा पहिल्यै त्यहाँ आइसक्नुभएको रहेछ । बुलबुले तालको छेउमा राजा वीरेन्द्रको टेन्टसहितको बस्ने व्यवस्था थियो । त्यहीँ थियो हेलिप्याड पनि । म चढेको हेलिकोप्टर त्यहीँ ओर्लियो,’ अनवरले भने– ‘जब हेलिकोप्टरबाट ओर्लिए त्यहाँ राजालाई नजिकबाट देख्न पाए । सेनाका ठूला ठूला मान्छे सँगै थिए । त्यत्रा मान्छेका अगाडि म जस्तो सामान्य मान्छेलाई देख्दा धेरैले मुखामुख गरेको महसुस गरेँ ।’ उनले राजासँग प्रत्यक्ष कुराकानी गर्न भने पाएनन् । हेलिकोप्टरबाट ओर्लिएपछि सेनाको टिमसँगै उनी जिल्ला पञ्चायततर्फ लागे, जहाँ उनले अर्डर बुझाउनुपथ्र्यो । करिब एक हप्ता सुर्खेत बसेपछि उनी घर फर्किए ।
पञ्चायतकालमा झन्डा बनाउन सुरु गरेका उनलाई उछिन्न गणतन्त्रसम्म आइपुग्दा पनि कसैले सकेको छैन । वैशाखमा नेपालगन्जमा सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनैले बनाएका झन्डा प्रयोग भए । जसको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । ‘देशमा जुनसुकै व्यवस्था आओस् मेरो राष्ट्रिय झन्डा बनाउने काम चलिरहन्छ । देशमा झन्डा फहराइरहन्छ,’ अनवर भन्छन् । पञ्चायतकालमा सुर्खेत मात्र होइन झन्डा बनाउन राजाकै सवारीमा दिपायलसम्म पुगेको उनको अनुभव छ । उनी भन्छन्, ‘पश्चिममा जहाँ–जहाँ राजाको सवारी हुन्थ्यो त्यहाँको झन्डा बनाउने जिम्मा मेरै हुन्थ्यो । सेना, प्रहरीका झन्डा बनाउने जिम्मा पनि मलाई नै मिल्थ्यो ।’
४२ वर्षको उमेरदेखि झन्डा बनाउन सुरु गरेका अनवरले राष्ट्रिय झन्डा बनाएर नाम र दाम दुबै कमाए । झन्डा बनाउने अनवर भन्नेबित्तिकै ठूला ठूला मान्छेले माया गरेर बोलाउँथे । आर्थिक उपार्जन पनि राम्रै भएको छ । ‘त्यहीँबाट आएको पैसाले घर बनाएँ । छोराछोरीको पढाइदेखि बिहेसम्म गराउन सकेँ, उनी भन्छन्, ‘अब अहिले बूढाबूढीलाई आराम छ । हरेक नेपालीका लागि देशको झन्डा गौरवमय हुन्छ नै तर मेरा लागि अझ खास हो । यसले मलाई नाम र दाम दुबै दियो ।’
प्रतिक्रिया दिनुहोस्