19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

‘राम माविमा गरिएको लगानी खेर जान दिन्नौँ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ११, २०८०  

                                               कोहलपुर नगरपालिका नगर प्रमुख ,पूर्णप्रसाद आचार्य
० निर्वाचनका बेला गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ? कसरी काम गरिरहनुभएको छ ?

निर्वाचनका बेला व्यक्तिगत धारणा, पार्टीले तयार गरेका एजेन्डा र घोषणापत्र लिएर आम जनताको घरदैलोमा गयौँ र प्रतिबद्धता जारी ग¥यौँ । अहिले निर्वाचित भएपश्चात क्रमशः तिनै प्रतिबद्धताको पेरिफेरिमा रहेर हाम्रा काम, कारबाही र गतिविधिहरू अघि बढिरहेका छन् । ठ्याक्कै यति प्रतिशत काम ग¥यौँ भन्ने त छैन । तर, क्रमशः घोषणापत्रलाई आत्मसात् गरेर त्यसभित्रका जटिल र सहज प्रकृतिका कामहरू भइरहेका छन् । कामकोे वर्गीकरण गरेर घोषणापत्र र प्रतिबद्धतापत्रमा जनाएका विषयलाई अघि बढाएका छौँ ।

० निर्वाचनका बेला नेपाली कांग्रेसले मेयर पदमा सिफारिस गरेका १३ जनाको नाममध्येमा युवा नेतृत्व भनेर तपाईंलाई टिकट दियो र निर्वाचित पनि हुनुभयो । अहिले ती १२ जनालाई भेटेर सुझाव सल्लाह लिने वा छलपफल गर्ने गर्नुभएको छ ?

छलफलको विषय बन्छ । म पार्टीको तर्फबाट निर्वाचित भएकाले त्यो छलफलको संयोजन पार्टीले गर्छ । हामी पटक–पटक स्थानीय सरकारको काम कारबाहीका बारेमा, स्थानीयस्तरमा पार्टीले खेल्ने भूमिकाका बारेमा र पार्टीले अन्य सामाजिक संघसंस्थाको निर्वाचनमा खेल्ने भूमिकाका सन्दर्भमा छलफल र बहसको विषय बनाउँछौँ ।

० निर्वाचनका बेला तपाईंका पार्टीभित्रका प्रतिस्पर्धीसँग छलफल नगर्ने गरेको र आफ्नै ढंगले चल्दा पार्टीभित्र असन्तुष्टि बढेको पाइन्छ नि ?

सकेसम्म कम असन्तुष्टि हुने वातावरण सिर्जना गर्ने हो । वडा तहदेखि केन्द्रसम्म नेपालको राजनीतिक परिवेश हेर्दा पार्टीभित्र धेरै असन्तुष्टिका स्वरहरू सुनिँदै छन् । तर, हामीकहाँ पनि त्यस्तै होस् भन्ने त मेरो चाहना होइन । आफ्नो तर्फबाट अधिकतम् प्रयास गर्ने हो । पार्टीले हामीलाई काम गर्नका लागि पालिकामा उम्मेदवार बनाई निर्वाचित गराएर पठाएको हो । हामी हाम्रो काममा केन्द्रित हुने हो । विशेषगरी हाम्रो पार्टीका साथीहरू र नेतृत्वहरूले हाम्रा कामहरू बाहिर बसेर हेरिरहनुभएको छ । हामीबाट काममा केही त्रुटि भए हामीकहाँ आउने हो । ‘तपाईंले लिएको नीति, कार्यक्रमले सिंगो कोहलपुरलाई नोक्सान पु¥याउँदै छ । यसमा सच्चिएर अगाडि बढ्नुस्’ भनेर सुझाव दिने हो । यदाकदा पार्टीले संयोजन गरेर राखेका कार्यक्रमहरूमा केही कुरा उठ्ने पनि गरेका छन् । म एउटा पार्टीको मात्रै नभई सिंगो कोहलपुरको प्रतिनिधि भएकाले सबैका सुझावहरूलाई समेटेर अघि बढ्नुपर्छ । विभिन्न माध्यमबाट यस्ता सुझाव प्रसस्तै आउँछन् । अहिले प्रविधिमैत्री जमाना भएकाले कतिपय अवस्थामा सामाजिक सञ्जालमा पनि सल्लाह सुझावहरू आउँछन् । यी कतिपय सुझाव हामीसँग तालमेल नखाने पनि हुन्छन् । हामीले गरेका कतिपय कामहरूमा भ्रमपूर्ण अभिव्यक्ति र समाचारहरू सम्प्रेषण हुने गर्छन् । हामीसँग छलफल गरेर कतिपय उत्तर प्राप्त गर्न सकिन्छ ।

० ३ नम्बर वडामा आगलागी हुँदा विभिन्न रेडियो, पत्रपत्रिका, अनलाइन नभए जसरी तपाईंले फेसबुकलाई किन सूचनाको प्रमुख आधार बनाउनुभयो ?

त्यो समयमा दमकल बिग्रेको कुरालाई लिएर हामी आलोचित हुनुप¥यो । त्यो कुरा म स्वीकार गर्छु । दमकल एउटा मेसिनरी सामान हो । एकपटक मात्रै नभई पटक–पटक बिग्रन्छ । हामी बनाउँछौँ । तर, त्यो बेला जस्तो भवितव्य यसअघि भएको थिएन । कुनै पनि सवारी साधन बिग्रेको खण्डमा ग्यारेजमा बनाउँदैनौँ । सोरुममै मर्मत गर्ने गछौँ । दमकल चाहेर पनि कोलपुरमा बनाउने ठाउँ छैन । बाहिर पठाउँदा निश्चित समय लाग्छ । बनाउने ठाउँमा केही समय लाग्ने भएकाले हामीले नगरपालिकाको फेसबुक पेज, नगरपालिकाको वेबसाइट र नगर प्रहरीको आफ्नो फेसबुक पेज र मेरो आफ्नै फेसबुकमा त्यो सूचना सेयर गरेका थियौँ । त्यो बेला हामीले नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरेका थियौँ । तर, दमकल आइनपुग्दै धेरै क्षति भयो ।

० आगलागी पीडितलाई राहत दिनुभयो त ?

नगरपालिकाले राहत दिने पनि प्रक्रिया छ । मैले चाहँदैमा राहत दिन सक्ने अवस्था छैन । किन भने त्यहाँ कानुन, विधि, विधान र नीतिहरू छन् । त्यो नाघ्ने छुट एउटा मेयर र कार्यपालिकालाई छैन । हाम्रो विपद् व्यवस्थापन समितिमा कार्यविधि छ । त्यो कार्यविधिका आधारमा राहत दिने व्यवस्था छ । र त्यहाँ कतिपय पसलहरू नगरपालिकामा दर्ता गरेको पाइएन । हाम्रो पालिकामा दर्ता नवीकरण नभएका पसलहरूलाई राहत दिन सक्ने अवस्था छैन । म व्यवसायीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्दछु नगरपालिकामा दर्ता र नवीकरण गर्नुहोस् । कतै यस्ता भवितव्य घटना घटे सहजीकरणमा सहयोग पुग्छ ।

० व्यवसायीहरू किन नगरपालिकामा दर्ता हुन चाहँदैनन् ? र दर्ता गर्न नगरपालिकाले उनीहरूलाई सहमत गराउन के योजना अघि बढाएको छ ?

व्यवसायीहरू दर्ता नभएका होइनन् । केही व्यवसायी दर्ता हुनुहुन्छ । र यो पहिलो सर्त पनि हो । व्यवसाय दर्तामा त्यति ठूलो कर लाग्ने, रकम खर्च हुने पनि होइन । साना, मझौला र ठूला व्यवसायीहरूलाई आफ्नो व्यवसायको प्रकृतिअनुसार दर्ता नवीकरण शुल्क छ । गत वर्ष दर्ताको प्रक्रियालाई कार्यक्रमको रूपमा लगेका थियौँ । तर, व्यवसायीहरूले आर्थिक मन्दीको समयमा व्यवसायीलाई अप्ठ्यारो नपार्ने सहमतिमा विस्तारै तिर्ने सहमति भएको हो ।

० कोहलपुर नगरपालिकाभित्र रहेका विद्यालयहरू कति भूकम्प प्रतिरोधी छन् ?

कहिलेकाहीँ मलाई पनि बडो लाज लाग्छ । कोहलपुरमा राम्रो पढाइ र राम्रो पूर्वाधार छन् भनेर हाम्रा छिमेकी जिल्लाका अभिभावकहरूले बालबालिका पढ्न पठाउँछन् । तर, अनुगमनमा जाँदै गर्दा विद्यालयमा त्यहाँको जनशक्ति, पूर्वाधार, शौचालय, खानेपानी राम्रो हुँदैन । त्यो विद्यालय क्षेत्र हो या अन्य क्षेत्र भन्ने अनुभूति हुन्छ । मेरो करिब २० महिनाको अनुभवले हामीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका रहेनछौँ जस्तो लागिरहेको छ । भाषण गर्ने, बोल्ने तर लगानी गर्न हिचकिचाउने । तर, म दाबाका साथ भन्छु हामी आइसकेपछि १६ वटा विद्यालयमा पूर्णरूपमा भवन बनाएका छौँ । त्यो प्रदेश, संघ होस् या विभिन्न संघसंस्थाको र पालिकाको सहयोगमा किन नहोस् । हामीले पहिलो प्राथमिकता शिक्षा र त्यसमा जनशक्ति व्यवस्थापनमा दिएका छौँ ।

० तपाईंले आफ्नो अनुकूलतामा एउटै विद्यालयमा धेरै बजेट हालेको तर अन्यमा ध्यान नदिएको आरोप पनि छ नि ?

हामीले गरेको लगानीले भोलि प्रतिफल दिन सकेन भने भोलि हामीले नैतिक जिम्मेवारी लिने साहस राख्नुपर्छ । यो कुरा राम माध्यमिक विद्यालयका सन्दर्भमा भनिएको होला । राम माध्यमिक विद्यालय कोहलपुर नगरपालिकोका ६ वटा वडाको एउटा मात्रै १२ कक्षासम्म पढाइ हुने विद्यालय हो । राम माध्यमिक विद्यालय ४, ७, ८, ९, १४ र १५ नम्बर वडाकोे ठूलो भूगोल समेटेर थारू, मधेसी, दलित बालबालिकालाई शिक्षा दिने विद्यालय हो । तर, त्यस विद्यालयको जीर्ण भौतिक पूर्वाधार र कमजोर आयस्रोत हामी सबैले देखेका छौँ । त्यसैले त्यस विद्यालयमा लगानी आवश्यक थियो । त्यहाँ गरेको लगानी खेर जाँदैन र जान दिँदैनौँ भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

० निर्वाचित भएर आएपछि केही गौरवको योेजना निर्माण गर्नुभएको छ ?

अघिल्लो वर्ष भ्युटावर दायित्व र बसपार्क निर्माणको धेरै ठूलो बजेट व्यवस्थापन गर्नुप¥यो । म निर्वाचित भएर आउनुपूर्व त्यो बन्दै गरेको र नगरपालिकाको प्रशासनिक भवन ठेक्का प्रक्रियामा नगएको भए तत्काललाई निर्माण गर्ने थिएनौँ । म निवार्चित भएर आउँदा ठेक्का प्रक्रियामा गएकाले मैले उद्घाटन गरेँ । किनभने जहाँ पालिकाको सेवा प्रवाह गरिरहेका छौँ त्यहाँभित्र नगर अस्पताल बन्दै छ । हाम्रो पुरानो स्वास्थ्य चौकीको भवन खाली भइसकेपछि बाहिर रहेका शाखा पनि समायोजन गर्न सक्ने अवस्था छ । यता करिब १६ करोड लगानीमा प्रशासनिक भवन निर्माण गर्दै छौँ । उता लाखौँको पुरानो स्वास्थ्य चौकीको भवन जीर्ण बन्नेछ । त्यसैले हामीले आवश्यताका आधारमा मात्रै संरचना निर्माण गर्नेछौँ ।

० क्रिकेट मैदानको अतिक्रमण हटाउने प्रयास गर्नुभयो तर, हटाउन सक्नु भएन नि ?

योे एकदम गम्भीर कुरा हो । यस विषयमा पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्नुपर्छ कि भन्ने मलाई पनि लागेको छ । म अन्तिम प्रयासमा छु । यसका लागि नगरपालिकाको एक्लो प्रयास पर्याप्त नहुनसक्छ । कोहलपुरका स्थानीयहरू लाखौँ संख्यामा उत्रनुपर्छ । संघीय सरकार गृह प्रशासनले पनि सहयोग गर्नुपर्छ । आजका मितिसम्म संघीय सरकार अर्थात गृह प्रशासनले कोहलपुर नगरपालिकालाई सहयोग गरेको अवस्था छैन । सहयोग कस्ले, किन गरिरहेको छैन ? भन्ने कुरा मैले कोहलपुरका स्थानीयलाई जबाफ दिनुपर्ने हुन्छ । हाम्रो अगाडि आएर साथमा छौँ भन्ने तर, माथि प्रधानमन्त्रीसम्म गलत सूचना प्रवाह गर्ने दलहरूलाई निश्चित समय आएपछि जबाफ दिनेछौँ ।

० नगर विकासभित्र रहेका संरचना निर्माणमा आफूनजिककालाई कोटेसन दिएको आरोप पनि सुनिन्छ नि ?

हामीले कोटेसनहरू बाँडेका छैनौँ । गएको वर्षको समयमा टेन्डरको प्रक्रियामा जाँदा प्रक्रिया लामो हुने भएकाले ७ लाखसम्मको ट्री गार्ड खरिद गर्दा कोटेसन भएको छ । अहिले पनि विभिन्न संघसंस्था र व्यक्तिहरूबाट ट्री गार्ड सहयोग भइरहेका छन् । यसमा पनि सस्तोमा ट्री गार्ड उपलब्ध गराउने सर्तमा काम गरेका छौँ । त्यसमा अरू सत्यता छैन ।

० भौतिक संरचना अनुगमन प्रभावकारी नहुने तर बिल हचुवाको भरमा फछ्र्यौट हुन्छन् भन्ने आरोप के सत्य हो ?

हामी काम कोहलपुरमा गछौँ तर, कानुनचाहिँ सिंहदरबारको पालना गर्छौं । हाम्रा पनि केही बाध्यता र विवशता छन् । अनुगमनको पाटो उपप्रमुखले हेरिरहनुभएको छ । ल्याब टेस्ट र कतिपय कुरा आँखाले नहेरी बिल भरपाइ र योजना पास गर्ने गरेका छैनौँ । ल्याबमै सेटिङ मिलेमतो हुन्छ भने त हामीसँग अर्काे आधार के छ र ! ७ सय ५३ वटा पालिकामध्ये विलम्ब गर्ने निर्माण व्यवसायीहरूलाई कसैले जरिवाना असुलेको छ भने त्यो कोहलपुर नगरपालिका नै हो । दण्ड जरिवाना लगाएर काम सम्पन्न गरेका छौँ ।

० स्थानीय पाठ्यक्रम वितरण ढिलाइ हुनुको कारण के हो ?

स्थानीय पाठ्यक्रम निर्माण गरिसकेका छौँ । बाँके जिल्लामा कोहलपुर नगरपालिकाले नै सबैभन्दा पहिला यो काम गरेको छ । लेख्दा केही त्रुटि भएकाले विज्ञ टोलीले सच्याउने काम भयो । जसले सस्तोमा छपाइ गर्ने आवदेन दिनुभयो त्यो प्रेसलाई दियौँ । छापेर उपलब्ध भइसकेको छ । ती पुस्तकहरू विद्यार्थीहरूको संख्या अनुसार विद्यालयले खरिद गरेपछि १ र ३ कक्षाका लागि केही महिनामै उपलब्ध गराउँछौँ ।

० कोहलपुरमा खानेपानी योजना सञ्चालनमा ल्याउनका लागि के प्रयास गर्नुभएको छ ?

अहिले जति पनि ठूला खानेपानी योजानाहरू छन् ती सबै प्रदेश सरकारका योजना हुन् । कोहलपुर नगरपालिकाको सिंगो बजेट हाले पनि हामीले एउटा खानेपानी एक वर्षमा निर्माण गर्न सक्दैनौँ । त्यति ठूलो लगानी खानेपानीमा लगाउनुपर्छ । ओभरहेड ट्याङ्की निर्माण गर्ने र शुद्ध पिउने पानी जनताको घरदैलोमा पु¥याउने काममा लगानी प्रदेश र संघीय सरकारको हुन्छ । हाम्रो केही भूमिका नै रहँदैन भन्ने होइन । थोरै रकमको अभावमा सञ्चालनमा आउन नसकेका योजनामा हाम्रो पनि क्षमताअनुसार थोरै पुँजी (१५ लाख सम्म)को बजेट र्खच र सञ्चालनमा ल्याउन सक्छौँ ।

० सिकलसेलको बजेट अन्य ठाउँमा खर्च गरिएको कुरा साँचो हो ?

कोहलपुरमा ठूलो संख्यामा रहेको थारू समुदायलाई बढी आक्रमण गर्ने सिकलसेल रोग हो । यो कार्यक्रम जरुरी थियो । र, सञ्चालन पनि भइरहेको छ । राष्ट्रिय योजना आयोगमार्फत विशेष अनुदानमा कार्यक्रम सञ्चलान गरिरहेका छौँ । खर्च गर्न नसकेको पैसा त्यहाँको भौतिक निर्माणका लागि तला थपेका छौँ । जुन विषयका लागि ल्याइएको हो त्यसै अनुसार प्रयोग भइरहेको छ । दुरुपयोग भएको छैन ।

० नगरभित्रका सार्वजनिक स्थल तथा सरकारी जग्गाको संरक्षण कसरी गरिरहनुभएको छ ?

कोहलपुरमा अहिले हामीले भूमिहीन, दलित अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रियामा छौँ । करिब २० हजार घरधुरीलाई लालपुर्जा वितरण गर्दा अब कोहलपुरमा कति नै सार्वजनिक र सरकारी जग्गा रहला र ! कोहलपुरमा जग्गाको अभाव छ । अतिक्रमित जग्गाको संरक्षण गर्न नगर प्रहरी लागिपरेको छ र अतिक्रमण हटाउने काम भइरहेको छ । सार्वजनिक स्थल तथा सरकारी जग्गाको संरक्षण गर्नु सबैको दायित्व हो ।

प्रकाशित मितिः बिहिबार, माघ ११, २०८०     3:02:22 PM  |