18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

‘दुई लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य लिएका छौँ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १०, २०८०  

० घरेलु महासंघ बैजनाथ गाउँपालिकाले सञ्चालन गर्न लागेको प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, प्रदर्शनी व्यापार एवम् पर्यटन महोत्सव–२०८० को तयारी पुरा भयो ?

सर्वप्रथम ‘कृषि, पर्यटन, उद्योग, उत्पादन, संस्कृतिको पहिचान, विकास र समृद्धि बैजनाथको अभियान’ भन्ने मूल नाराका साथ प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८० आजबाट सञ्चालन हुँदै छ । गाउँपालिकाको समन्वयमा विभिन्न राजनीतिक दलदेखि स्थानीयहरूसँगको सहकार्यमा यो महोत्सव आयोजना हुन लागेको छ । हामीले सबै सरोकारवाला पक्षसँग सर्वपक्षीय बैठक बसेर प्रायोजक खोज्नेदेखि स्टलको व्यवस्थापन गरेर मेलाको तयारी सम्पूर्ण पूरा गरिसकेका छौँ । आज महोत्सवको उद्घाटन हुँदै छ ।

० महोत्सवमा कस्ता स्टलहरू राख्ने व्यवस्था मिलाउनुभएको छ ?

स्टलहरूमा कृषि उत्पादन, मौलिक कला–संस्कृति एवम् प्रविधि, स्थानीय पर्यटकीय स्थलको जानकारी र महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामग्री एवं बस्तुहरू, सांस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलापहरू, थारू परिकार, बुद्ध र बाघका मूर्तिलगायत स्थानीय उत्पादनलाई महोत्सवमा राख्ने व्यवस्था मिलाएका छौँ । स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता पनि दिएका छौँ । हाम्रा संस्कृतिदेखि यहाँ उत्पादित बस्तु र यहाँका पर्यटकीय क्षेत्रहरूका बारे जानकारी बाहिर ल्याउन र परिचित गराउन हामी लागिपरेका छौँ । स्थानीय स्तरमा रहेका उद्यमीहरूलाई २५ प्रतिशत सहुलियतमा स्टलको व्यवस्था मिलाएका छौँ । अति विपन्न वर्गलाई कृषि शाखामार्फत सिफारिस भए निःशुल्क राख्नेसमेत प्रबन्ध गरेका छौँ ।

० महोत्सव सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ?

बैजनाथ गाउँपालिकाभित्र रहेका कला–संस्कृति, उत्पादन, कृषि तथा पर्यापर्यटनसँग जोडिएका कुराहरूलाई राष्ट्रिय स्तरमा चिनाउने नै हाम्रो मुख्य उद्देश्य हो । गाउँपालिकाभित्र उत्पादन भएका विभिन्न कृषकका उत्पादनलाई प्रवद्र्धन गर्न, साना उद्यमी, किसान र कमजोर आर्थिक अवस्था रहेका कृषकहरूका उत्पादनलाई बजारीकरण गर्नु नै हाम्रो उद्देश्य हो । महोत्सवले बैजनाथमा रहेका कला, संस्कृति, भेषभूषा, मौलिक तथा सांस्कृतिक महत्व बोकेका विविधतायुक्त झाँकी, बाजा, परम्परागत पेसा, सीपलगायतका कुराहरूलाई राष्ट्रियस्तरमा उजागर गर्न सहयोग पुग्नेछ भन्ने विश्वास हामीले लिएका छौँ ।

० महोत्सव सञ्चालन गर्न स्थानीय तहलगायत अरू क–कसको साथ सहयोग पाउनुभएको छ ?

बैजनाथ गाउँपालिकाले भरपुर साथ सहयोग गरेको छ । गाउँपालिकाभित्र भएको यो पहिलो र ऐतिहासिक महोत्सव हो । महोत्सवलाई सम्पन्न गर्न र गाउँपालिकाभित्र भएका सम्पूर्ण संघसंस्था, व्यक्ति तथा निकायको यसमा सहयोग छ । यतिमात्रै नभई सहकारी, संघसंस्था, विद्यालय, युवा, मिडियादेखि सबैले आ–आफ्नो ठाउँबाट आफ्नो क्षमता अनुसार सहयोग गरिरहनुभएको छ । कतिपय व्यक्तिले व्यक्तिगत रूपमा पनि मेला सञ्चालनका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

० महोत्सवमा विभिन्न गुनासो आउने गर्छन् । यस्ता गुनासा आउन नदिन तपाईंहरूले के गर्नुभएको छ ?

हामी पहिलो पटक यो मेला सञ्चालन गर्दै छौँ । पहिलो र नयाँ अनुभव भएकाले सतप्रतिशत सबै डेलिभरी गर्न सक्छौँ भनेर म दाबी गर्न त सक्दिनँ । तर, हामी सकेसम्म राम्रो गर्छाैँ । सकभर गुनासो नआउने गरेर काम गर्नेछोँ ।

० मेला महोत्सवमा आर्थिक हिनामिना भएको आरोप लाग्दै आउने गरेको छ । यसलाई कसरी लिनुभएको छ ?

हामीले महोत्सव सकिएपश्चात सबैको सहभागिता हुने गरी सार्वजनिक सुनुवाइ गर्नेछौं । महोत्सवबाट आम्दानी हुने रकममध्ये २० प्रतिशत रकम गाउँपालिकाको साझेदारीमा विभिन्न रचनात्मक काममा खर्च गर्ने योजना छ । २० प्रतिशत रकम विपन्न, असहाय र क्षमता अभिवृद्धिका काम सञ्चालन गर्नेछौँ । केही रकम महासंघको भवन निर्माणका लागि खर्च गर्ने पनि योजना छ ।

० ज्येष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्ति, एकल महिलालगायतलाई सुविधाका रूपमा के दिनुभएको छ ?

साधारण टिकट भनेर १ सय रूपैयाँ तोकेका छौँ । तर ज्येष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्ति, एकल महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेका छौँ । र, मिडियाकर्मी साथीहरूलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

० कतिपय अपांगता भएका व्यक्ति, एकल महिलालगायतलाई प्रोत्साहन गर्न स्टलको के कस्तो व्यवस्था मिलाउनुभएको छ ?

उनीहरूको हकमा निःशुल्क स्टलको व्यवस्था गरेका छौँ । थारू संस्कृति, स्थानीय स्तरमा सीम प्रयोग गरेर बनाइएको चोया, डोको, ढकिया, गुन्द्रीलगायतका सामग्री प्रदर्शनीमा राखेका छौँ । स्थानीयलाई आफ्नो कला र सीप निःशुल्क प्रदर्शन गर्ने व्यवस्था मिलाएका छौँ । विभिन्न सामाजिक संस्थाहरूले निःशुल्क स्टलमा आफ्नो सेवा प्रदान गर्न सक्नेछन् । पर्यटन क्षेत्र चिनाउनका लागि खोलिएका होटल, होमस्टेलगायतलाई समेत निःशुल्क स्टलको व्यवस्था मिलाइएको छ ।

० प्रथम बैजनाथ महोत्सव मनाउँदै गर्दा राजनीतिक दलदेखि स्थानीयका के कस्ता सुझावहरू आएका छन् र तिनलाई कसरी समेट्नुभएको छ ?

केही दिन अघिमात्रै हामीले सबै दललगायत स्थानीय संघसंस्थाको सर्वपक्षीय बैठक बोलाएका थियौँ । त्यस बैठकमा राजनीतिक दल, बुद्धिजीवी, शिक्षक, विभिन्न संघसंसथाका पधादिकारी, अन्य पेसामा आबद्ध रहेका व्यक्तिहरूले सहभागिता जनाएका थिए । समुचित व्यवस्थापनसँगै महोत्सव भव्य र सभ्य रूपमा सम्पन्न गर्न दर रेटलगायतका कुरामा छलफल गरेअनुसार पुनः विचार गरेर कार्यान्वयन गरेका छौँ । सबैको रचनात्मक सुझावअनुसार मेला सुरु हँुदै छ । पहिलो वर्ष हो र पहिलो महोत्सव भएकाले केही सिक्दै अनुभव प्राप्त गर्दै सक्दो राम्रो गर्ने प्रयास गरेका छौँ ।

० महोत्सव स्थलमा राष्ट्रिय कलाकार नआउँदासम्म स्टेज खाली हुने अवस्था देखिन्छ ? यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

हामीले त्यो खाली समयमा स्थानीय कलाकारहरूका प्रस्तुतिलाई जोड दिएका छौँ । उनीहरूले स्थानीय कला संस्कृति झल्किने गीत तथा नृत्यहरू प्रस्तुत गर्नेछन् । ३ बजेपछि मात्रै राष्ट्रिय कलाकार स्टेज चढ्ने भएकाले त्यसभन्दा अघिको समयमा स्थानीय कलाकारहरूलाई नै स्टेज र अवसर दिन्छौँ । साथै खुला प्रतियोगिता पनि सञ्चालन गरेका छौँ । उत्कृष्ट स्थान हासिल गर्ने वा प्रथम हुने समूहलाई ३० हजार, द्वितीय, तृतीय र सान्त्वना हुने समूहललाई क्रमशः २० हजार, १० हजार र ५ हजरा रूपैयाँसहित अन्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौँ । यसले गर्दा स्थानीय कलाकारले पनि आफ्नो क्षमता प्रस्फुटन गरी अघि बढ्ने अवसर प्राप्त गर्नेछन् ।

० थारू समुदायलाई समेट्न के कस्ता कार्यक्रम अघि सार्नुभएकोे छ ?

बाँके जिल्ला थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । त्यसैले पनि थारू समुदायलाई प्राथमिकता दिएका छौँ । महोत्सवमा थारू समुदायका उत्पादन, कला, संस्कृतिलगायतका कुरा प्रत्यक्ष अवलोकन गर्न पाइनेछ । अर्काे कुरा थारू समुदायका विभिन्न मौलिकता झल्किने नाचहरूका लागि पनि मञ्चको व्यवस्थापन गरेका छौँ ।

० महोत्सवमा गर्नुपर्ने र हुनुपर्ने तर अपुग भएको के लागेको छ ?

सर्वप्रथम त पहिलो अनुभव भएकाले सिक्दै काम गर्दै गर्नुपर्ने अवस्था छ । दोस्रो कुरा हामीसँग समय अत्यन्तै छोटो भयो । हामीले तयारीका लागि लामो समय प्राप्त गर्न सकेनौँ । यसका बाबजुद हामी तीव्रतर गतिमा व्यवस्थापनका काममा लागेका छौँ । बैजनाथ गाउँपालिकाभित्रका सबै पक्ष यतिबेला मेलालाई सफल बनाउन लागिपरेका छौँ । राष्ट्रिय निकुञ्ज नजिकै रहेकाले हात्ती चढ्ने व्यवस्था गर्न पाएको भए अझ राम्रो हुन्थ्यो जस्तो हामीलाई लागेको छ । त्यसका लागि हाम्रो प्रयास पनि जारी छ । हाम्रो पर्यटन क्षेत्रलगायतका विषय समेटेर भिडियो बनाएर स्क्रिनमा राख्न पाएको भए अझै राम्रो र प्रभावकारी हुने थियो भन्ने लागेको छ । तर, समय अभावले यी कुरा कत्तिको सम्भव होलान् थाहा छैन ।

० बैजनाथ महोत्सव हेर्न किन जाने ?

बैजनाथ गाउँपालिकाभित्र रहेका सम्पूर्ण पर्यापर्यटनदेखि यहाँका सबै उत्पादनहरू एउटै डालो (एकै स्थान)मा यहाँ देख्न सकिन्छ । महोत्सवमा यहाँका स्थानीय कला, संस्कृति पनि देख्न पाइनेछ । सिम्ताली नाच, रुकुमेली नाच, सिंगारु नाचलगायतका नाचहरू र गाउँपालिकाभित्र रहेका पर्यटन क्षेत्रहरूबारे एउटै ठाउँबाट प्रचारप्रसार हुनेछ । त्यसैले एक पटक भए पनि यो महोत्सव हेर्न पुग्नुस् केही नयाँ अवश्य महसुस गर्न पाउनुहुनेछ ।

० कति दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राख्नुभएको छ ?

हामीले अहिले गरेको अनुमान अनुसार १२ दिनसम्म सञ्चालन हुने भएकाले २ लाख बढी दर्शकहरूले अवलोकन गर्ने लक्ष्य लिएका छौँ । हामीले छिमेकी पालिकाहरूबाट पनि धेरै अवलोकनकर्ता आउनुहुन्छ भन्ने विश्वास लिएका छौँ ।

प्रकाशित मितिः बुधबार, माघ १०, २०८०     9:27:58 AM  |