यतिबेला मेला महोत्सवको सिजन चलिरहेको छ । एकपछि अर्को गर्दै जताततै मेला र महोत्सव लागिरहेका छन् । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा प्रायः यस्ता मेला महोत्सव चलिरहेका छन् । कतैका मेला सकिइसकेका छन् । कुनै ठाउँमा जारी छन् भने कतै मेलाको तीव्र तयारी भइरहेको छ । विशेषगरी पश्चिम तराईमा माघेसंक्रान्ति अर्थात माघीको छेको पारेर यस्ता मेला महोत्सवको आयोजना गर्ने गरिएको छ ।
पश्चिम तराईमा आदिवासी थारू समुदायको बाक्लो बसोबास भएको र माघी थारूहरूको विशेष पर्व भएकाले पनि यही समयलाई मेला महोत्सवका रूपमा मनाउने गरेको पाइन्छ । जुन स्वाभाविक पनि हो । पर्वलाई उत्सवमय बनाउने यो एउटा तरिका हो । तर यसले समाजमा कस्तो असर पारिरहेको छ भन्ने विषयमा भने खासै कसैले ध्यान पु¥याउन सकिरहेको पाइँदैन । यसको व्यापारिक वा आर्थिक हिसाबले मूल्यांकन गरिए पनि अन्य हिसाबले यसको समीक्षा हुने गरेको छैन ।
यतिबेला मुलुक आर्थिक चपेटामा छ । आर्थिक गतिविधि शून्यप्रायः छन् । यो कुनै एक ठाउँ विशेषको अवस्था होइन । मुलुकका हरेक भूगोल र क्षेत्रमा आर्र्थिक क्रियाकलाप हुन सकिरहेका छैनन् । व्यापार ठप्प छ । बजार सुनसान छन् । त्यसैले बजारलाई गतिशील र चलायमान बनाउन पनि यस्ता मेलाले भरथेग गर्ने मेला आयोजकहरूको विश्वास रहने गरेको छ । यस्ता मेला महोत्सवका आयोजक प्रायः व्यापारिक क्षेत्रसँग सम्बन्धित संघसंस्था नै रहने गरेका छन् । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, साना तथा घरेलु उद्योग महासंघलगायतका संस्थाले मेला आयोजना गर्ने गरेका छन् ।
भनाइको मतलब व्यापार व्यवसायलाई टेवा दिनु नै यस्तो मेलाको प्रमुख उद्देश्य रहने गरेको छ । तर त्यसका लागि सहायक हुने गरेका छन्– हाम्रा कला, संस्कृति, धर्म, परम्परा, कृषि, उद्यम, पर्यटन आदि विषय । यस्ता मेला महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि, उद्यम, पर्यटनलगायतका विषयलाई नै मेलाका प्रमुख आकर्षणका रूपमा जोड्ने गरिएको छ । तर यिनले यस्ता मेलाहरूमा आवश्यक ठाउँ पाउने गरेका छन् त ? अथवा मेलापश्चात ती क्षेत्रको प्रवद्र्धनको समीक्षा वा मूल्यांकन हुने गरेको छ त ? पक्कै पनि त्यस्तो देखिँदैन ।
कृषि, उद्यम, पर्यटन वा उत्पादनले मेलामा आवश्यक प्रचारप्रसारसमेत पाउने गरेका छैनन् । मेलामा मनोरन्जनलाई नै प्रमुख प्राथमिकता दिइने गरेको छ । अझ मनोरन्जनका नाममा उच्छृङ्खल र उत्ताउला गतिविधि समेत हुने गरेका छन् । मेला महोत्सवलाई कृषि, उद्यम, प्रविधि र उत्पादनसँग जोडेर त्यसबाट लाभ लिने कुरामा न आयोजक नै सचेत देखिन्छन् न उपभोक्ता वा सम्बन्धित पालिकाहरू नै । मेलामा जानु भनेको मात्र मनोरन्जन लिनका लागि मात्र हो भन्ने मानसिकता विकसित भएको पाइन्छ ।
यस्ता मेला महोत्सवहरूले आर्थिक गतिविधिका लागि दीर्घकालीन समाधान पनि दिने गरेका छैनन् । मेला अवधिभरि केही समय बजारहरू चलायमान देखिए पनि त्यसपछि आर्थिक गतिविधि पुरानो अवस्थाबाट अझ तल झर्ने गरेका मानिसका कतिपय अनुभवहरू छन् । मेला आयोजकले केही चर्चा र दाम उठाए पनि त्यसको सही सदुपयोग पनि हुने गरेको पाइँदैन । दीपावलीका समयमा समूहमा भैली खेलेर पिकनिक मनाएभन्दा फरक अवस्था मेला महोत्सवपछि आयोजकको देखिने गरेको छैन ।
केही व्यक्ति वा समूहले यस्ता मेला महोत्सवबाट क्षणिक फाइदा पनि पाउलान् । तर आम रूपमा समुदाय वा समग्र अर्थतन्त्रमा त्यसको दीर्घकालीन सकारात्मक प्रभाव खासै देखिने गरेको पाइँदैन । यस्ता मेला महोत्सव भनेका ‘मुतको न्यायो’ मात्र हुन् । जसले क्षणिक तातोपन त देलान् तर समाप्त भएलगत्तै फेरि चिसो थप्नेछन् । त्यसैले यस्ता मेला महोत्सवलाई वास्तविक रूपमै स्थानीय उत्पादन वा उद्यमसँग जोडेर समाजलाई दीर्घकालीन लाभ लिने कुरामा जबसम्म जोड दिइँदैन तबसम्म यिनको औचित्य पुष्टि हुन सक्दैन ।
मनोरन्जनका नाममा स्थानीयले अनुत्पादक काममा खर्च गर्ने र आयोजकले पनि यसरी जम्मा गरेको पैसा अनुत्पादक क्षेत्रमै खर्च गर्ने परिपाटीले निरन्तरता पाइरहन्छ । अझ संस्कृतिका नाममा विकृति पनि थप्दै जाने अवस्था रहन्छ । त्यसैले यस्ता मेला महोत्सवहरूलाई फलदायी बनाउन आयोजक तथा स्थानीय पालिकाहरू सचेत हुनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्