नेपालगन्ज।
भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठाले बाँकेमा उल्लास छाएको छ । अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा नेपाली मिति अनुसार माघ ८ गते अर्थात २२ जनवरीमा हुँदै छ । विश्वभरका हिन्दु धर्मावलम्बीले निकै महत्वका साथ उक्त दिन पर्खिरहेका छन् ।
त्यसको पूर्वसन्ध्यामा भारतमा सनातन हिन्दु धर्मावलम्बीले उत्सव सुरु गरेका छन् । नेपालमा पनि त्यसको उल्लास कम्ति छैन । बजारमा श्रीराम लेखिएका झन्डा यत्रतत्र देखिएका छन् भने नेपालगन्जको त्रिभुवनचोकका पसल–पसलमा झन्डा बेच्ने र किन्नेको घुइँचो छ । धार्मिक अगुवा र संघसंस्थाले माघ ८ गते शोभायात्रा, दीप प्रज्वलनका कार्यक्रम आयोजना गरेका छन् ।
नेपाल भगवान रामको ससुराली अर्थात माता सीताको माइती हो । त्यसैले राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन जानेको संख्या पनि उल्लेखनीय छ । राम मन्दिर प्राण प्रतिष्ठाका कारण सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ । नाका प्रवेश र आन्तरिक सुरक्षा चुनौतीको विश्लेषणका आधार सुरक्षा निकाय परिचालित छन् । दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले आवश्यक सुरक्षा व्यवस्थाका बारेमा आवश्यक रणनीति बनाइरहेका छन् ।
अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र ‘गणतन्त्र दिवस’को पूर्वसन्ध्यामा बाँके तथा बर्दियासँग जोडिएको सीमावर्ती क्षेत्रको सुरक्षामा भारतीय पक्षले चासो व्यक्त गरेको छ । यही माघ ८ गतेका दिन अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान र माघ १२ गते (२६ जनवरी) हुन लागेको गणतन्त्र दिवस कार्यक्रमलाई मध्यनजर गर्दै भारतीय पक्षले सुरक्षा चासो राखेको हो ।
बाँके र बर्दियाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलाई भारतको नानपारामा शनिबार बोलाएर बहराइच जिल्लाकी ‘डिएम’ मोनिका रानीले गम्भीर चासो व्यक्त गरेकी हुन् । सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीसँगको भेटमा उनले सुरक्षाका विभिन्न विषयमा छलफल गरिन् । त्यस क्रममा उनले भारतमा हुन लागेका दुवै कार्यक्रमका बेला सीमा क्षेत्रको शान्ति सुरक्षा सुदृढ बनाउने विषयमा नेपालको रणनीतिक योजनाका बारेमा सुरक्षा अधिकारीसँग जिज्ञासा राखेकी थिइन् ।
नेपाली पक्षको नेतृत्व गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अयोध्याको श्रीराम भूमि प्राण प्रतिष्ठा अनुष्ठान कार्यक्रम र गणतन्त्र दिवसको अवसरमा सुदृढ सुरक्षा व्यवस्था बनाइराख्न सीमावर्ती दुवैतर्फका सुरक्षा अधिकारीले आपसी समन्वयका साथ काम गर्ने बैठकबाट निष्कर्ष निकालिएको बताए । उक्त छलफलमा सीमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच, गस्ती र पेट्रोलिङ बढाउने जस्ता विषयमा गम्भीर छलफल भएको उनले सुनाए । छलफलमा बहराइचकी डिएम मोनिकाको नेतृत्वमा भारतीय सुरक्षा अधिकारी र नेपालको तर्फबाट बाँकेका प्रजिअ पोखरेलको नेतृत्वमा बाँके तथा बर्दियाका सुरक्षा अधिकारी सहभागी थिए ।
बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (प्रहरी उपरीक्षक) सुवासचन्द्र बोहरा, बर्दियाका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सुधीर शाही, बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्कबहादुर शाही र बाँकेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास श्रेष्ठ उक्त छलफलमा सहभागी थिए । छलफलपश्चात् दुवै देशका सुरक्षा अधिकारीले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ र जमुनाहा नाकाको निरीक्षण पनि गरेको बाँकेका प्रजिअ पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्