19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

मेलामा उत्साहजनक सहभागिता भइरहेको छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ४, २०८०  

छैटौँ बाँसगढी महोत्सवको कसरी चलिरहेको छ । मेलामा मानिसहरूको कत्तिको उपस्थिति भइरहेको छ ?

हामीले बाँसगढीबासीहरूलाई मात्र नभएर हाम्रो पालिकासँग जोडिएका पालिका तथा जिल्लाहरूसम्म व्यापक प्रचारप्रसार गरेका थियौँ । प्रचारप्रसार अनुसार मानिसहरू पनि मेला अवलोकनका लागि आइरहनुभएको छ । पहिलो, दोस्रो र तेस्रो दिन मेलामा राम्रो उपस्थिति भएको छ । आशा छ, अबका दिनमा पनि मानिसहरू मेला अवलोकनका लागि आउनुहुनेछ । अझै पनि हाम्रा आगामी दैनिक सेड्युल के–के छन् भनेर प्रचारप्रसारलाई निररन्तरता दिइरहेका छौँ । हामीले अटोहरूमा जिंगल बजाएर विभिन्न गाउँगाउँमा प्रचार गरिरहेका छौँ ।

अहिलेसम्मका प्रस्तुतिहरू कस्ता रहे ? मानिसहरूको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

मानिसहरूको उत्साहजनक उपस्थिति रहेको छ । उहाँहरूले साँच्चै नै पहिलाभन्दा फरक अनुभूति गरिररहनुभएको छ । मेला अवलोकनकर्ताबाट हामीले सकारात्मक प्रतिक्रिया नै पाइरहेका छौँ । उद्घाटनका दिन हामी औपचारिक कार्यक्रममा अलि बढी व्यस्त भयौँ । त्यसपछिका दिनमा मेलामा मानिसहरूको राम्रो उपस्थिति छ । दैनिक ६–७ हजार दर्शक मेलामा आइरहनुभएको हामीले पाएका छौँ । बुधबारको सवालमा त अझ बढी दर्शकले मेला अवलोकन गर्नुभएको छ । आज मेलामा चर्चित नायक पल शाह आउने भएकाले पनि अवलोकनकर्ताको उपस्थिति बढ्ने अपेक्षा हामीले गरेका छौँ ।

प्रायः मेला महोत्सवमा बाहिरका गायक–गायिका वा कलाकार ल्याएर उनीहरूका प्रस्तुति देखाइन्छ । यसरी त आफ्नो संस्कृति, परम्परा, जातजाति, भेषभूषा, पर्यटन प्रवद्र्धन कसरी हुन्छ र ?

हामीले विशेष गरेर माघी पर्वलाई लक्षित गरेर र थारू समुदायको ठूलो चाड भएकाले यही अवसरलाई मेलाको रूपमा मनाउन चाहेका हौँ । त्यसैले मेलामा थारू समुदायका विभिन्न कला, संस्कृति, परम्परा, भेषभूषा र परिकारलाई हामीले प्राथमिकतामा राखेका छौँ । साथै बाँसगढी नगरपालिकाभित्र भएका विभिन्न पर्यटकीय स्थलहरूको प्रचार हुने र बर्दिया राष्ट्रिय निकुञ्जको पनि प्रचारप्रसार हुने हिसाबले मेला आयोजन भइरहेको छ ।

पहाडी समुदायका मानिस पनि माघी पर्व मनाउँछन् थारू समुदायलाई मात्र समेट्दा पहाडी समुदायलाई अन्याय हुँदैन त ?

होइन, हामीले थारू समुुदायलाई प्रमुखता दिँदा अन्य समुदायका कुरालाई बिर्सेका छैनौँ । अन्य जातजातिका विभिन्न संस्कृति–परम्परा झल्काउने बस्तु पनि मेलामा छन् । जस्तै पहाडी समुदायमा बनाइने सेलरोटी र अचारले मेलामा निकै चर्चा पाइराखेको छ । उद्घाटनका बेला पनि हामीले विभिन्न जातिका संस्कृति र परम्परा झल्काउने झाँकी र नाचगानहरू प्रस्तुत गरेका थियौँ । हामीले सकेसम्म सबैलाई समेटेर लैजाने प्रयास गरेका छौँ ।

पहिलेका मेलाभन्दा अहिलेको मेला केमा फरक छ ?

पहिलेको भन्दा यो मेला किन पनि भिन्न छ भने सबै जातजाति भाषाभाषी र उमेर समूहमा मानिसलाई समेट्ने गरी कार्र्यक्रम बनाएका छौँ । पाको उमेर समूहका मानिसहरू पनि धेरैले मेला अवलोकन गरिरहनुभएको छ । पाका उमेरका मानिसका लागि पुरानो पराम्परागत संस्कृति झल्काउने नाचहरू समावेश छन् । आध्यात्मिक प्रवचनसहितका आत्मज्ञान प्रचारप्रसारका स्टलहरू पनि राखिएका छन् । त्यसैगरी, विद्यालयका बालबालिकाका लागि नाचगानको व्यवस्था छ । नयाँ विधाका रूपमा हामीले यसपालि बाँसगढी आइडल छान्ने व्यवस्था मिलाएका छौँ । विभिन्न स्टलहरूमा स्थानीय उत्पादनका सामानहरू प्रदर्शन भइरहेका छन् । बाँसगढीमा भएका धार्मिक स्थलहरूको प्रचारप्रसारमा पनि जोड दिइरहेका छौँ । त्यसैले पनि अहिलेको मेला पहिलेको भन्दा राम्रो भइरहेको छ ।

स्टलमा के–के कुरामा बढी फोकस छ ?

हामीले विशेष त कृषिमा तरकारी प्रतियोगिता, घरेलु उद्यमी, उद्योगीहरूको प्रदर्शनी, विद्यार्थीहरूका लागि आइटी प्रर्दशनीलगायतका स्टलको व्यवस्था गरेका छौँ । बच्चाबच्चीका लागि खेलकुदका स्टलहरू, युवा उमेरका लागि नाचगान र पाका उमेरकाहरूका लागि विभिन्न मौलिक परम्परागत संस्कृतिका कुराहरू छन् ।

मेलामा विद्यार्थी भाइबहिनीहरूलाई कसरी समेटिरहनुभएको छ ?

हामीले विद्यार्थी भाइबहिनीका लागि छुट्टै स्टलको व्यवस्था गरेका छौँ । यसबाट उनीहरूको ज्ञानसीपको प्रदर्शनी हुन्छ । बाँसगढी नगरपालिकाभित्रका ४९ वटा विद्यालय रहेका छन् । यसमध्ये आइटी पढाइ हुने बाँसगढी नेरामावि, ककौराको त्रिभुवन मावि र राम माविले आइटी प्रदर्शनी कक्ष चलाइरहेका छन् । नगरपालिकाको सहयोगमा त्यहाँ स्टलको व्यवस्था भएको छ ।

बर्दिया जिल्ला आफँैमा सुन्दर छ । यसमा पनि बाँसगढी नगरपालिका यहाँ विभिन्न तालतलैया, मठमन्दिर र निकुञ्जसमेत रहेको छ । यी पर्यटकीय आकर्षणका लागि कस्ता स्टल रहेका छन् ?

हामीसँग राष्ट्रिय निकुञ्जका अलावा केदारेश्वरधाम, बबई भेरी डाइर्भसन, चेपाङ बस्ती, च्यामा ताल, अमैया झुलुंगे पुललगायतका पर्यटकीय कुरा छन् । त्यसैगरी बेलौरीको सीमसार ताल होमस्टे, बढैया ताललगायतका स्थान छन् । जसको प्रचारप्रसारका लागि मेलामा स्टलको व्यवस्था छ । पर्यटकीय प्रचारका हिसाबले नै हामीले यस्ता स्टलमा देखिने गरी राखेका छौँ । अहिले धेरै मेला महोत्सवमा राष्ट्रिय कलाकार बोलाउँदा सबैको एउटै कलाकार बोलाएको पाइन्छ । राष्ट्रिय कलाकारको सवालमा यो मेलामा धेरै राष्ट्रिय कलाकारहरूको उपस्थितिले पनि यो मेलालाई विशेष बनाएको छ । कलाकार धुर्मुस–सुन्तलीले आज बेजोड प्रस्तुति दिएर जानुभएको छ । दर्शक श्रोताको ठूलो उपस्थितिमा उहाँहरुले कार्यक्रम सम्पन्न गर्नुभएको छ । अब आज पल शाह आउँदै हुनुहुन्छ । एकपछि अर्को चर्चिक गायक कलाकारले मेलालाई शोभायमान बनाइरहनुभएको छ भने दर्शक श्रोताले पनि उत्साहपूर्वक उहाँहरूलाई साथ दिइरहनुभएको छ । अहिलेसम्मको अवस्था हेर्दा मेला भव्य तरिकाले सम्पन्न हुन्छ भन्ने विश्वास हामीले लिएका छौँ । सात वर्षपछि धुर्मुस–सुन्तली हाम्रै कार्यक्रममार्फत स्टेज सोमा देखिनुभएको छ । उहाँहरूले स्वयम् हाम्रो पुनरागमन बाँसगढी महोत्सवले गर्दा भएको भनिराख्नुभएको छ । यो हाम्रा लागि अत्यन्तै खुसीको कुरा हो ।

महोत्सवको उद्घाटन पनि उपप्रधानमन्त्रीलाई ल्याएर गर्नुभयो । किन, प्रचार पाओस् भन्ने उद्देश्यले नै हो कि ?

पक्कै पनि । हामी यो मेलालाई विशेष बनाउन चाहन्थ्यौँ । हामीले अलि बढी ख्यातिप्राप्त राष्ट्रिय कलाकारलाई बोलाएकोमा ‘वाहियात खर्च गरेको’ भनेर कतिपयले आलोचना पनि गर्नुभयो । तर हाम्रो उद्देश्य मेलालाई भव्य र सम्झनालायक बनाउनु थियो । उद्योग वाणिज्य संघ मात्र नभएर बाँसगढी नगरपालिकाका हामी सम्पूर्ण अवयवलाई यसमा परिचालित भएका छौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले हाम्रो आमन्त्रणलाई स्वीकार गरेर हाम्रो गौरव बढाइदिनुभएको छ । अझै पनि सबैले मेला अवलोकन गरेर हामीलाई हौसला बढाइदिनुहुनेछ भन्ने आशा लिएका छौँ ।

कतिपय मेला महोत्सवमा मेला सुरु भइसक्दा पनि स्टलहरू प्रायः खाली हुन्छन् । यस मेलामा स्टल खाली छन् कि छैनन् ?

हाम्रा कुनै पनि स्टल खाली छैनन् । ९० प्रतिशत स्टल त मेला सुरु हुनुपूर्व नै बुक भइसकेका थिए । बाँकी १० प्रतिशत पनि मेला सुरु भएसँगै बुक भएका छन् । हामीले सबै पक्षलाई मेलामा समेटेका कारण स्टल खाली राख्नुपरेको छैन ।

मेला विभिन्न प्रतिभासहित प्रस्तुति दिने स्थानीय सहभागीहरूका लागि कस्तो व्यवस्था छ ?

मेलामा हामीले विभिन्न प्रतियोगिताहरू पनि राखेका छौँ । यसमा सहभागिता जनाउने कलाकारहरू वा प्रतिभाहरूलाई पुस्कारको व्यवस्था पनि रहेको छ । उहाँहरूलाई सम्मान गर्ने व्यवस्था पनि हामीले मिलाएका छौँ । स्थानीय कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेलाको आयोजना गरिएका कारण स्थानीय प्रतिभालाई निरुत्साहित गर्ने त कुरै आउँदैन । मेलाका बाँकी दिन पनि यसरी नै उत्साहपूर्ण सहभागितामा सम्पन्न हुनेछन् भन्ने हाम्रो अपेक्षा छ ।

 

प्रकाशित मितिः बिहिबार, माघ ४, २०८०     9:45:43 AM  |