19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

‘एक लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २९, २०८०  

० छैटौँ औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सवको तयारी पूरा भयो होला कसरी समन्वय गर्नुभएको छ ?

बाँसगढी उद्योग वाणिज्य संघले ‘कृषि, पर्यटन, उद्योग व्यापार तथा संस्कृतिको पहिचान विकास र समृद्धिमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ छैटौँ औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव–२०८० पुस २९ देखि ९ माघसम्म सञ्चालन गर्दै छ । यसमा हामीले समन्वय गर्नुपर्ने स्थानीय सरकार, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालय, स्थानीय कृषक सबैसँग समन्वय गरेका छौं । आफ्नो नगरभित्र मात्र नभई जिल्ला तथा छिमेकी पालिकालाई समेत समेटेर महोत्सव भव्य र सभ्य बनाउने हाम्रो प्रयत्न रहनेछ ।

० उद्घाटन समारोहको कार्यतालिका कसरी बनाउनुभएको छ ? कस्ता–कस्ता झाँकी र प्रदर्शनहरू हुनेछन् ?

पहिलो दिन २९ गते समुद्घाटन माननीय रक्षामन्त्री तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गर्नुहुनेछ । उद्घाटनपूर्व विभिन्न समुदायका संस्कृति झल्किनेगरी झाँकी प्रदर्शन हुनेछन् । मयूर नाच, लाठी नाच, पञ्चेबाजा, थारू लोक संस्कृतिलगायत ५०÷६० वटा झाँकीसहित कार्यक्रम उद्घाटन स्थलमा पुग्ने कार्यक्रम छ ।

० यहाँका सबै समुदाय तथा जातजातिलाई कसरी समेट्नुभएको छ ?

बर्दिया थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । तर, यहाँ विभिन्न जात–जाति धर्म–संस्कृतिका मानिसहरूको बसोबास छ । भूगोलका हिसाबले यहाँ ७७ जिल्लाकै मानिसहरूको बसोबास रहेको छ । त्यसैले विभिन्न धर्म, संस्कृति, भेषभूषा, कला, परम्परा र चलनचल्ती भएका मानिसहरू यहाँ छन् । माघी थारू समुदायको विशेष पर्व भए पनि अन्य सबै समुदायले आ–आफ्नै किसिमले यो पर्व मनाउने गरेको पाइन्छ । थारू बहुल क्षेत्र भएकाले २ दिन थारू विषेश नाचका लागि छुट्याएका छौँ । त्यस्तै, अन्य सबै जातजातिहरूको पनि आ–आफ्नो कला संस्कृति झल्काउने अवसर यहाँ प्रदान गरिनेछ ।

० महोत्सवमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री प्रमुख अथिति भएर आउँदै हुनुहुन्छ भन्नुभयो । यहाँका व्यापारी तथा आम नगरबासीका तर्फबाट संघले उपप्रधानमन्त्रीबाट के अपेक्षा गरेको छ ?

हामी व्यवसायीहरू त अहिले व्यापार गर्ने कि बन्द गर्ने भन्ने अवस्था छौँ । ८ प्रतिशतमा लिएको बैंकको ब्याज आज १६ प्रतिशत तिर्नुपरिरहेको छ । आर्थिक मन्दीले त्यत्तिकै चपेटामा परेका छौँ । सुदूरपश्चिम प्रदेशको द्वारको रूपमा परिचित, कृषिमा लुम्बिनी प्रदेशकै अग्रणी र नेपालको धान उत्पादनका हिसाबले दोस्रो जिल्ला हो बर्दिया । कृषिमै आधारित जिल्ला भएकाले कृषिबाटै फड्को मार्न सकिन्छ भन्ने हाम्रो विश्वास हो । तर राजमार्गको उत्तरी भाग सिँचाइबाट पूर्णरूपमा वञ्चित छ । सिँचाइ, औद्योगिक विकास र बाँसगढीमा बिजुली बत्तीको राम्रो व्यवस्थाका लागि पहल गरिदिए हुन्थ्यो भन्ने हामीले अपेक्षा लिएका छौँ । त्यसैगरी, यहाँका व्यापारीले बैंकको ब्याज दरलाई कम गरी १० प्रतिशतसम्म झारिदिने व्यवस्था मिलाउन माग गरेका छन् । बाँसगढीमा ढल निकास नहुँदा वर्षाको समयमा डुबान हुने गरेको छ । बाँसगढीका प्रमुख समस्या यिनै हुन् । यही विषयमा प्रमुख अतिथिबाट सहयोग प्राप्त हुने हाम्रो अपेक्षा छ ।

० मेला महोत्सवमा सुरक्षादेखि अन्य विविध चुनौती हुन्छन् । कसरी व्यवस्थापन मिलाउनुभएको छ ?

जिल्ला प्रशासन कार्यालयबाट मेलाको अनुमति लिएर सुरक्षाका लागि बासँगढी इप्रकालाई व्यवस्थापन गरिदिन अनुरोध गरेका छौँ । इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय नजिकै छन् । त्यस्तै, थप सुरक्षाका लागि संघले युवा समिति गठन गरी १ सय जना युवाको सुरक्षा दस्ता पनि बनाएको छ । उनीहरूले सुरक्षाका लागि काम गर्नेछन् । हामीले प्राइभेट सुरक्षाकर्मीको पनि व्यवस्था गरेका छौँ ।

० बाह्य पर्यटक विशेषगरी भारतीय पर्यटक भित्र्याउन केही त्यस्तो योजना बनाउनुभएको छ कि ?

हामीले समग्रमा आकर्षण हुने कृषि, पर्यटन, उद्योग व्यापारसँग सम्बन्धित चिजहरू प्रदर्शनीमा राखेका छौँ । मेलाका लागि आउनेभन्दा पनि भारतबाट जो नेपालमा व्यवसायका लागि आएकाहरूले अवश्य मेलाको अवलोकन गर्नुहुनेछ । नेपालमा पनि यस्तो भव्य महोत्सव हुँदोरहेछ भन्ने सन्देश दिने किसिमले व्यवस्थापन गरेका छौँ । तर, छुट्टै भारतीयलाई लक्षित गरी त्यस्तो योजना बनाएका छैनौँ ।

० मेला महोत्सवमा आर्थिक हिनामिना हुनेगरेको आरोप लाग्ने गर्छ । तपाईंहरूले आर्थिक पारदर्शिता कसरी अपनाउनुभएको छ ?

यो कुरा जहाँ पनि उठ्ने विषय हो । आयोजकलाई पनि समस्या के हो भने आउने पैसा नआउँदा समस्या हुन्छ । प्रायोजक बन्नेहरूले पनि समयमै पैसा नदिने अवस्था आउँछ । मान्छेले मन्दिरमा गएर बाजागाजासहित दान गरेको पैसा त पछि दिउँला भनेर दिँदैनन् भने मेला महोत्सवमा दिउँला भनेर नदिन पनि सक्छन् । त्यसैले गर्दा पनि वास्तविक आय–व्यय सार्वजनिक गर्न नसक्ने अवस्था हुन्छ । त्यसैले हामीले जति मिल्छ सुरुमै शुल्क लिएका छौँ । जे जति आय–व्यय हुन्छ त्यसको हामी सार्वजनिक सुनुवाइमार्फत विवरण पेस गर्छौं । चैतको दोस्रो साता आय–व्यय सार्वजनिक गर्ने भनेर निर्णयसमेत गरेका छौँ ।

० मेला सञ्चालनका सन्दर्भमा बाँसगढीका राजनीतिकज्ञ, शिक्षक, बुद्धिजीवी, स्थानीयलागातयले कस्ता सुझावहरू दिएका छन् ?

धेरैको महोत्सवमा नृत्य र गायनलाई मात्रै नभई स्थानीय कला संस्कृतिलाई पनि जोड दिन आग्रह छ । त्यसैले हामीले स्थानीय कला संस्कृतिमा जोड पनि दिएका छौँ । थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउने गर्छन् । यसलाई पनि हामीले प्रमुखताका साथ मेलामा समावेश गरेका छौँ । थारूहरूको छुट्टै गाउँ बनाएर उनीहरूका यावत् पक्षबारे जानकारी दिने व्यवस्था मिलाएका छौँ । पहिलाको जस्तो थारू गाउँमा जाँडरक्सी मात्रै खान्छन्, बेच्छन् भन्ने भाष्यलाई चिरेर थारूको संस्कृति के रहेछ ? अँटुवा कसरी बन्छ ? थारू भेषभूषा कस्ता हुन्छन् ? इत्यादि कुराको प्रदर्शन गर्ने चाँजोपाँजो मिलाएका छौँ । परम्परागत शैलीका खानाका परिकारको व्यवस्था छ । हाम्रा मेला महोत्सवहरू विदेशी शैलीमा गए, भड्किला र खर्चिला भए भन्ने गुनासोलाई सम्बोधन गर्न जतिसक्दो मौलिक बनाउने प्रयास गरेका छौँ ।

० पालिकाले कसरी सहयोग गरिरहेको छ ?

स्थानीय रूपमा सञ्चालन हुने गतिविधिहरू र कार्यक्रमहरूमा स्थानीय सरकारको सहयोगबिना सम्भव र सफल नै हुँदैनन् । हाम्रो हकमा पनि बाँसगढी उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको बाँसगढी नगरपालिका संरक्षकको रूपमा रहेको छ । नगरपालिकाले हरेक कुरामा साथ दिएकोे छ । आर्थिक मात्रै नभई हरेक क्षेत्रमा साथ सहयोग गरेर महोत्सवलाई भव्य र सभ्य बनाउन नगरपालिका लागिपरेको छ ।

० प्रवेश शुल्क मेला महोत्सवको प्रमुख आर्थिक स्रोतमध्ये एक हो । यो दुरुपयोगको सम्भावना पनि बढी हुन्छ । यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

हामीले सिजनल पासको व्यवस्था गरेका छौं । मेला अवधिभरि ५ सय रुपैयाँ तिरेर फोटो र छापसहित कार्ड बनाई जतिखेर छिर्ने र निस्कन सक्ने व्यवस्था गरेका छौँ । टिकट व्यवस्थापनका लागि समिति नै बनाएका छौं । सबै कुरा यही समितिले हेर्ने व्यवस्था गरेका छौँ ।

० मेलामा कतिले अवलोकन गर्ने र कति कारोबार हुने अपेक्षा लिनुभएको छ ?

मेलामा ४ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरेका छौँ । महोत्सव सञ्चालन गरेर ४० लाख आम्दानी गर्ने सोच हो । लगभग ७० हजारको हाराहारीमा टिकट बिक्री गर्नेछौँ भने १० हजारजति सिजनल पास बिक्री र मेला अविधिभर १ लाखजति दर्शकले अवलोकन गर्ने अपेक्षा छ ।

० एकातिर राष्ट्रियस्तरका कलाकार ल्याउँदा बढी व्यय हुने गरेको देखिन्छ भने स्थानीय कलाकारले उचित स्थान पाउँदैनन् । स्थानीय कलाकारलाई जोड दिएर व्यय कम गर्न र स्थानीय प्रतिभा प्रस्फुटन गराउनुपर्ने होइन र ?

यसमा एउटा समस्या छ । स्थानीयस्तरको राम्रो कलाकार भए पनि देखिरहेकाले त्यति धेरै महत्व नदिने हुँदोरहेछ । राष्ट्रिय कलाकार ल्याउँदा अवलोकनकर्ता आकर्षित हुँदा रहेछन् । टिकट बिक्री गर्नका लागि पनि राष्ट्रिय कलाकारहरू ल्याउनुपर्ने बाध्यतामा हामी छौँ । त्यसैले हामीले राष्ट्रिय कलाकारका साथसाथै स्थानीय कलाकारहरूलाई पनि जोड दिएका छौँ । डान्स आइडल, थारू नृत्य जस्ता कार्यक्रममा स्थानीय कलाकारका प्रस्तुति रहनेछन् । यसबाट माथि उठ्न नसकेका स्थानीय कलाकारहरूले मञ्च प्राप्त गर्नेछन्् ।

० यस्ता मेला महोत्सवमा उच्छृङ्खल गतिविधि बढी हुने गरेको पाइन्छ । जसले समाजमा नकारात्मक असर परिरहेको हुन्छ । यसलाई कसरी रोक्नुहुन्छ ?

स्वाभाविक रूपमा मेला महोत्सव भनेपछि अलिकति रमाइलोको मुडमा हुन्छ मान्छे । मानिसहरू जन्ती जाँदा मेला महोत्सवमा जाँदा रमाइलो गर्न रुचाउँछन् । तर त्यही मान्छे मलामी जाँदा त रमाइलो गर्दैन नि ! त्यसैले मेला महोत्सवमा आफू रमाउने कुरा ठीकै हो । तर आफू रमाइरहँदा अरूलाई असर नपरोस् भनेर सोच्नुपर्छ । यदि अरूलाई असर पु¥याउने अवस्थामा हामी उसलाई सम्झाइबुझाइ गर्छौं । त्यसपछि पनि भएन भने सुरक्षाका अन्य उपाय त छँदै छन् ।
० सामाजिक उत्तरदायित्व बहन गरेर जनचेतनामूलक सन्देशका लागि राखिएका स्टलहरूलाई आर्थिक छुटको व्यवस्था के गर्नुभएको छ ?

ट्राफिक सचेतना, लैंगिक हिंसा, कृषि, उद्योग र हस्ताकलाका स्टलहरूलाई हामीले निःशुल्क व्यवस्था मिलाएका छौँ ।

० अन्तिममा के भन्न चाहनुहुन्छ ?

यस वर्षको मेलालाई हामीले नितान्त फरक र सिर्जनात्मक बनाउने प्रयास गरेका छौँ । जुन मेला आजबाट सुरु भएको छ । पहिलाको जस्तै त होला नि भनेर घरमै बसिदिनुभयो भने तपाईंले एउटा महत्वपूर्ण अवसर गुमाउनुहुनेछ । त्यसैले म सबै बाँसगढी नगरबासीमात्र होइन, आसपासका पालिका र जिल्लाका बासिन्दाहरूलाई पनि आग्रह गर्न चाहन्छु कि कम्तीमा एकपटक मात्र भए पनि मेला अवलोकन गरिदिनुस् । निश्चित रूपमा पहिलाको र अन्य ठाउँका भन्दा यो मेलामा फरक पाउनुहुनेछ ।
त्यसैगरी यो मेलामा साथ सहयोग दिने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरूलाई धन्यवाद भन्न चाहन्छु । साथै मेलालाई सघाउन आफ्नो ठाउँबाट लाग्न सबैलाई म अनुरोध पनि गर्दछु ।

प्रकाशित मितिः आइतवार, पुस २९, २०८०     9:29:24 AM  |