सिर्जनात्मक कक्षा कार्य र गृहकार्यको प्रसङ्ग



बालबालिकालाई गृहकार्य भनेर किताबमा भएको सार्ने काम दियो भने रुचि लाग्दैन उनीहरूलाई । उनीहरूलाई त सिर्जनात्मक कामहरू दिनुपर्छ । काम के हो र कसरी गर्ने भन्नेबारेमा भने उनीहरूलाई स्पष्टसँग बुझाउन सक्नुपर्छ ।

जीतबहादुर शाह

पुसको चिसो मौसम । शनिबारको दिन । बिहानको घाम ताप्दै सुशीला कार्कीको आत्मसंस्मरण‘न्याय’ पढ्दै थिएँ । एकाएक म बसेको घरको करिब एक सय पचास मिटर पूर्वको छतको दृश्यतिर नजर दौडियोे । उक्त छतमा एउटा हातमा लौरो समातेर आमाले बच्चालाई घरको छतभरि लघार्दै थिइन् । अन्दाजी सातआठ वर्षको बच्चा एक हातमा किताब समातेर भाग्दै थियो । ‘तैँले होम वर्क किन गरिनस्’ भन्दै पछाडिबाट लौरोले पिठ्यूँमा दिइहालिन् आमाले । बिचरा बच्चा अइया भनेर कराउँदै छतमा लडेर रोयो, चिच्यायो ।

आमाले अझै लौरोले हिर्काउन छोडिनन् । उसका खुट्टा, ढाड र पाखुरातिर पनि हिर्काइन् । बच्चा रोयो, चिच्यायो, भक्कानियो । मलाई भने बच्चालाई होम वर्क गर्ने गराउने यो पारा देखेर पीडाले निर्थुक्कै रुझायो । बच्चाले यसरी जन्म दिने आमाबाट निर्घात कुटाइ खानुमा दोष कसको हो ? होम वर्क दिने शिक्षकको ? होम वर्क नगर्ने बच्चाको ? होमवर्क गराउने आमाको ? होम वर्कको व्यवस्था गर्ने शिक्षण सिकाइ पद्धतिको वा हाम्रो पाठ्यक्रम र मूल्याङ्कन पद्धतिको ? के यो मामिलामा हाम्रा देशका सरकारहरू पनि अछुता छन् त ?

मलाई त लाग्छ, दोष उल्लिखित सबै पक्षको छ । उल्लिखित सबै पक्षले सर्वप्रथम बालविज्ञानको बारेमा बुझ्नु आवश्यक छ । बालमनोवैज्ञानिक दोरोथी ल नोल्तले भनेका छन् ‘शान्त वातावरणमा हुर्केको बालकले धैर्यवान बन्न सिक्छ, आदर र सम्मानमा हुर्केको बालकले प्रशंसा गर्न सिक्छ, सद्भावना र मित्रतामा हुर्केको बालकले माया र स्नेह गर्न सिक्छ, सुरक्षित रूपमा हुर्केको बालकले कदर गर्न सिक्छ, समानतामा हुर्केको बालकले न्याय गर्न सिक्छ र सहमतिमा हुर्केको बालकले समाजलाई मन पराउन सिक्छ ।

त्यसैगरी उनकै अनुसार आलोचनाबीच हुर्केको बालकले भत्र्सना गर्न सिक्छ, अमर्यादाबीच हुर्केको बालकले लज्जित हुन सिक्छ, तनाव र विवादमा हुर्केको बालकले झैझगडा गर्न सिक्छ र लाज र शरममा हुर्केको बालकले पछुुताउन सिक्छ ।’ यसबाट स्पष्ट हुन्छ कि हामी हाम्रा बालकलाई अपमान, आलोचना, अमर्यादा र तनावको बीचबाट बालकलाई हुर्काएर उसलाई के बनाउँदै छौं ? असल वा खराब ? यही कुरा बुझ्नका लागि वेद पढिरहनुपर्छ जस्तो लाग्दैन ।

पुस, २०८० को शिक्षक मासिकमा द्रोण साहू (अनुवाद ः शरच्चन्द्र वस्ती) मा ‘विद्यार्थीलाई गृहकार्य होइन चुनौती दिऊँ’ शीर्षकमा आलेख छापिएको छ । कक्षा ५ मा रोबोटले गर्ने कार्यहरू भन्ने पाठमा रोबोटका केही कामहरू किताबमै लेखिएको हुन्छ । शिक्षकले रोबोटको बारेमा सामान्य परिचय बताइसकेपछि विद्यार्थीहरूलाई कक्षा कार्यको रूपमा तीस मिनेट समय दिएर रोबोटले गर्ने कार्य कम्तीमा बीस वटा लेखेर बुझाउ भन्छन् । त्यसपछि सबै त्यसैमा जुट्छन् । कतिपयले बेलाबेलामा यो काम हुन्छ कि हुँदैन भनेर पनि सरलाई सोध्छन् ।

अन्ततः रोबोटले गर्ने काम सबैले बीस भन्दा बढी लेख्छन् । दुई जना विद्यार्थीहरूले त रोबोटले गर्ने कार्य तीस भन्दा बढी लेख्छन् । जब कि किताबमा रोबोटका पाँच–छ वटा काम मात्रै दिएको हुन्छ । शिक्षकले गृहकार्यको रूपमा पनि त्यही प्रश्न दिएर यो भन्दा थपेर ल्याउनु भने । विद्यार्थीहरूले घरमा गएर गुगल हेरे । आफ्ना दाजुदिदीलाई सोधे । उनीहरू त्यसैमा व्यस्त भए र भोलिपल्ट सबैले अझै थपेर ल्याए । पत्याउनै गाह्रो, एक जना विद्यार्थीले त सबैतिर खोजेर रोबोटका एक सय तीसवटा कामहरू लेखेर ल्याए ।

बालबालिकालाई गृहकार्य भनेर किताबमा भएको सार्ने काम दियो भने रुचि लाग्दैन उनीहरूलाई । उनीहरूलाई त सिर्जनात्मक कामहरू दिनुपर्छ । काम के हो र कसरी गर्ने भन्नेबारेमा भने उनीहरूलाई स्पष्टसँग बुझाउन सक्नुपर्छ । उक्त लेखकै अनुसार जस्तै निश्चित समय तोकेर दिएको पाठमा ‘म’ अक्षरबाट सुरु भएका शब्दहरू कति छन् पहिल्याऊ, मात्रा नलागेका दुई वा तीन अक्षरले बनेका शब्दहरू जतिसक्यो धेरै लेख, तिम्रो नामको पहिलो अक्षरबाट सुरु हुने कम्तिमा पचास वटा शब्द लेख, दिइएको पाठ पढेर कम्तिमा पाँच वटा नयाँ प्रश्नहरू बनाऊ, पाँच मिनेटमा ‘ग’ अक्षरबाट सुरु हुने कम्तिमा १५ वटा शब्द लेख, दश मिनेटभित्र धेरै भन्दा धेरै त्यस्ता अङ्कहरूको जोडी बनाऊ जसलाई जोड्दा चालीस हुन्छ, आफ्नो वरिपरि देखिने बढीभन्दा बढी तीन कुने वस्तुहरूको नाम लेखेर ल्याऊ, तिमीसँग चार वटा सुन्तला छन्, त्यसमा कतिवटा थप्यो भने बीस वटा हुन्छन्, यस्तै किसिमका दश वटा नयाँ प्रश्न बनाएर ल्याऊ, तीन–तीन वटा अङ्कहरू राखेर जोड र घटाउका कम्तिमा दशवटा प्रश्न तयार गरेर ल्याऊ आदि ।

शिक्षालाई जीवनोपयोगी, व्यावहारिक र कामयावी बनाउनका लागि पाठ्यक्रम, पाठ र शिक्षण सिकाइ क्रियाकलापहरूसँग सम्बन्धित हुने गरी विद्यालयदेखि घरपरिवार हँुदै समुदायसम्म विभिन्न किसिमका प्रयोगात्मक क्रियाकलापहरू सम्पादन गर्नका लागि विद्यार्थीहरूलाई परियोजना कार्य वा गृहकार्य दिन सकिन्छ । जस्तैः घरपरिवारमा भएका परिवारका सदस्यहरूको नाम, उनीहरूले गर्ने पेसा वा काम र उनीहरूसँग भएका आफूलाई मन पर्ने र मन नपर्ने स्वभावहरू सङ्कलन गरेर ल्याऊ, समाजमा भएका ज्येष्ठ नागरिकहरूलाई भेटघाट गरेर उनीहरूले जीवनमा भोगेका सुख र दुःखका प्रसङ्गहरू उनीहरूबाटै सुनेका आधारमा टिपोट गरेर ल्याऊ, समाजमा भएका विपन्न र अशक्त

मानिसहरूलाई आफू एक्लै वा साथीहरू मिलेर सक्दो सहयोग गरी त्यसबाट भएको लाभ र सन्तुष्टिको बारेमा लेखेर ल्याऊ, घरायसी कामकाजमा आमालगायत परिवारका अन्य सदस्यहरूलाई सहयोग गरेको कामको विवरण र त्यसबाट भएको फाइदाको बारेमा लेखेर ल्याऊ, घरको भान्सा वा सुत्ने कोठामा भएका विभिन्न किसिमका सामानहरूको सूची र त्यसको काम लेखेर ल्याऊ, नजिकैको जङ्गलमा गएर विभिन्न किसिमका पातहरूको नमुना सङ्कलन गरेर त्यसको नामसहित टिपोट गरेर ल्याऊ, जङ्गलमा गएर अवलोकन गरेका विभिन्न बोटविरुवाहरूकोे नाम लेखेर ल्याऊ आदिजस्ता कामहरू गृह कार्य वा परियोजना कार्यको रूपमा दिन सकिन्छ ।

एउटा कुरा सत्य के हो भने बालबालिकालाई कक्षा कार्य, गृहकार्य वा परियोजना कार्य घोक्ने र जीवनसँग असान्दर्भिक होइन कि गरेर सिक्ने, नवीन, सिर्जनशील र जीवनसँग सान्दर्भिक हुने किसिमले दिनुपर्छ । कक्षामा अध्ययन अध्यापन गरिने हरेक पाठले जीवनको कुन पाटोलाई उज्यालो बनाउन योगदान गर्छ भन्ने कुरामा शिक्षकले विद्यार्थीले बुझ्ने भाषामा स्पष्टसँग बताइदिनुपर्छ । शिक्षकको यो विधिले पाठप्रति प्रेरित हुनका लागि विद्यार्थीलाई ध्यानाकर्षण गर्न म्याक्सिम गोर्कीले भनेझँै दुम्सीको प्वाखले जस्तैगरी दिमागमा घोचिरहोस् । यस किसिमको पाठलाई जीवनमा उतार्न र चरितार्थ गर्नका लागि परियोजना कार्य वा गृहकार्यले थप योगदान गरोस् ।

यस्तो अवस्थामा सिकाइ र शिक्षा जीवनका लागि सार्थक हुन्छ । अन्यथा सिकाइ बोझिलो हुन्छ । विद्यार्थीका निम्ति शिक्षक कहिले भेट्न नपरे हुन्थ्यो भन्ने पात्रको रूपमा परिणत हुन्छ र विद्यालय कहिले जान नपरे हुन्थ्यो भन्ने स्थानको रूपमा परिणत हुन्छ । आफूले जीवनमा चुनौतीको रूपमा भोगिरहेका विषयवस्तुको बारेमा कक्षाकोठामा छलफल हुने र त्यसलाई गृहकार्य र परियोजना कार्यको रूपमा सम्पादन गर्नका लागि अवसर पाएको अवस्थामा मलाई लाग्छ जो कोही विद्यार्थी पनि स्वअभिप्रेरित भएर समर्पणका साथ लाग्छ न कि यसका लागि आमा वा शिक्षकले लौरोले कुटेर ।

शिक्षक वा अभिभावकले यो पनि बुझ्नु आवश्यक छ कि बालक सानो भए पनि ऊ पनि मानिस हो र उसका आवश्यकता र संवेदनाहरू पनि हाम्रा जस्तै हुन्छन् । हामीलाई जसरी माया, सम्मान र इज्जतको आवश्यकता पर्दछ, उनीहरूलाई पनि पर्दछ । कसैले घृणा, गाली र अपमान ग¥यो भने जसरी हाम्रो मन दुख्छ उनीहरूको पनि त्यसरी नै दुख्छ । त्यसैले बालकबाट माया पाउने हो भने उसलाई माया दिन सक्नुपर्दछ । बालकबाट सम्मान पाउने चाहना छ भने हामीले उसलाई सम्मान गर्न सक्नुपर्दछ । यसका लागि बालबालिकाको हृदयभित्र बस्न सक्नुपर्दछ ।

उसको निम्ति सबैभन्दा प्यारो पात्रको रूपमा आफूलाई स्थापित गर्न सक्नुपर्दछ । यसका लागि उसको रहर के हो ? उसको आवश्यकता के हो ? उसलाई आफ्नो रहरसम्म पुग्न के कुराले बाधा पु¥याइरहेको छ ? जस्ता कुराहरूलाई अन्तर मनदेखि विश्लेषण गरेर समाधानतिर लाग्यौं भने त्यो बढी फलदायी र बालमैत्री हुनेगर्दछ । बच्चालाई गृहकार्य वा परियोजना कार्य किन गर्ने, गरेपछि के हुन्छ र नगरेपछि के हुन्छ ? भन्ने बारेमा उसँगै बसेर भलाकुसारी गर्दै मीठो भावले उसका समस्याहरूलाई समेत समाधान गर्ने विश्वास दिलाउँदै उभित्र आत्मविश्वासको विकास गर्न सकियो भने उसलाई हामीले चाहेको बाटोमा विस्तारै हिँड्न प्रेरित गर्नसक्ने कुरामा कुनै सन्देह छ जस्तो लाग्दैन मलाई ।

मध्यपश्चिम विश्वविद्यालयका गणित विषयका उपप्राध्यापक जसवीर रोकायको शिक्षण सिकाइका सम्बन्धमा एउटा मीठो अनुभव छ । गाउँको विद्यालयबाट गणितमा कक्षा १२ उत्तीर्ण गरेर एक जना विद्यार्थी स्नातक तहमा गणित विषयमा भर्ना हुन विश्वविद्यालयमा आउँछन् । प्रवेश परीक्षाको जिम्मा लिएको एक जना उपप्राध्यापकले उनीसँग भलाकुसारी गर्छन् । गणितको जग कमजोर देखेर ‘तिमी गणित विषय अध्ययन गरेर पार लाग्दैनौ भन्दै अर्को विषयमा भर्ना हुन सल्लाह दिन्छन् । उनलाई पनि हो जस्तै लाग्छ र जनसङ्ख्या अध्ययन विषयमा भर्ना हुने निधो गर्छन् । यस्तैमा उक्त विद्यार्थीको भेट उपप्राध्यापक जसवीर सरसँग हुन्छ ।

उनले ती विद्यार्थीलाई अलिकति मेहेनतको मात्रा बढायौं भने तिमी गणित विषय अध्ययन गर्न सक्छौ भनेर हौसला दिन्छन् । हौसला मात्रै होइन, उनलाई केही दिनसम्म केही समय निकालेर उनलाई सहजीकरण पनि गर्छन् । नभन्दै ती विद्यार्थी अहिले स्नातक मात्र होइन गणितमा स्नातकोत्तर गरिसकेका छन् । उनले जसवीर सरलाई आदर्श मान्छन् र जीवनको महत्वपूर्ण टर्निङ प्वाइन्टमा जसवीर सरले गरेको योगदानलाई स्वर्ण अक्षरले हृदयमा लेखेका छन् ।

त्यसैले शिक्षकले सतहमा होइन कि विद्यार्थीको अन्तरमनमा प्रवेश गरेर उसको सम्भावनालाई गोडमेल र जगेर्ना गर्न सक्यो भने मेहेनत गर्ने त विद्यार्थी आफैँ छँदै छ ।विद्यार्थी गलत हुन सक्छ शिक्षकको नजरमा तर विद्यार्थीलाई ठाडै गलत भनिहाल्नु हुँदैन भन्छन् शिक्षाविद् र शिक्षाका मनोवैज्ञानिकहरू । विद्यार्थीले गरेका कार्य र व्यक्त गरेका विचारहरूलाई सर्वप्रथम त विद्यार्थीलाई धन्यवाद दिन सक्नुपर्दछ । त्यसपछि विद्यार्थीले गरेका कार्य र व्यक्त गरेका विचारहरूको असर के हुन्छ ? त्योभन्दा अर्को विचार वा अर्को कार्य गरेको भए त्यसको असर के रहन्थ्यो भन्ने बारेमा छलफल गर्नुपर्छ । यसरी विभिन्न विकल्पहरू र ती विकल्पहरूले पार्ने असरहरूका बारेमा छलफल गर्दै कुन विकल्प रोज्ने भन्ने बारेमा स्वविवेक प्रयोग गर्ने अधिकार विद्यार्थीहरूलाई नै प्रदान गर्नुपर्दछ ।

त्यसैले गृहकार्य वा कक्षा कार्य, परियोजना कार्य वा अन्य अध्ययनसम्बन्धी कार्यका बारेमा स्वविवेक प्रयोग गर्ने वातावरण विद्यार्थीहरूका निम्ति निर्माण गर्नुपर्दछ । यसरी विद्यार्थीलाई बाल्यकालदेखि नै निर्णय गर्ने, स्वविवेक प्रयोग गर्ने र उनीहरूका विचार र भावनाहरूलाई हाम्रो तर्फबाट स्वागत, सम्मान र प्रोत्साहन गर्ने परिपाटीको विकास भयो भने विद्यार्थीहरू स्वयम्ले नै आफूले गर्ने कार्य र त्यसको असरको आफँैले विश्लेषण गरी काम गर्न सक्छन् । द्विविधा हुँदा जिज्ञासा राखे भने जिज्ञासाहरूका लागि स्वागत र त्यसको प्रोत्साहनपूर्ण समाधान भने हामीले दिन सक्नुपर्छ । यसो गर्न सकियो भने हाम्रो शिक्षा सिर्जनात्मक कसो नहोला !

  • No tags available
प्रकाशित मिति : २०८० पुस २६ गते बिहीबार