रैथाने सामग्रीको उत्पादनमा महिला सहभागिता बढ्दो



नेपालगन्ज।
रैथाने बस्तु तथा सामग्रीको उत्पादन र प्रवद्र्धनमा महिलाको सहभागिता बढ्दै छ । तर त्यसलाई कतैबाट पनि प्रोत्साहन र सहयोग हुन नसकेको उनीहरूको गुनासो छ । अल्लोको कपडा बनाउन होस् चाहे हस्तकला उत्पादन † ठेट नेपाली सामग्रीको उत्पादनमा महिलाको अग्रसरता उदाहरणीय छ । मंगलबारदेखि नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको आठौं संस्करणका महिला उद्यमीले मिसन टुडेसँगको कुराकानीमा एकै स्वरमा भने, ‘हराउँदै गएको ठेट घरेलु सामग्रीको उत्पादन र प्रवद्र्धन महिलाको मात्रै जिम्मा हो झैं भएको छ ।

यसको समाज र सरकारका तर्फबाट उचित मूल्यांकन हुनुपर्छ ।’ रुकुम पूर्वबाट अल्लोका उत्पादन बेच्न आएकी दिलमाया पुनले भनिन्, ‘तर खै † कसैले वास्ता गर्दैनन् ।’ वर्षौंदेखि थारू समुदायमा प्रचलित हस्तकला उत्पादन र प्रर्बद्धन गर्दै आएकी निरु चौधरीका अनुसार, रैथाने बस्तु तथा सामग्रीको उत्पादनमा महिला सहभागिता ज्यादा छ । ‘आर्थिक सशक्तीकरणका सवालमा अहिले पनि महिलामाथि विभेद छ । जे जसरी महिलाहरू उदाइरहेका छन् त्यो पनि घरेलु र रैथाने सामग्री उत्पादनमा केन्द्रित छ ।

हराइसकेका सामग्रीको उत्पादनमा महिलाको यस्तो अग्रसरता प्रेरणादायी तर ठूलो व्यावसायिक आकार लिन चुनौती छ,’ चौधरीले भनिन् ।
आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको उद्घाटन गर्दै नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि पहल गर्ने बताए । उनले भने, ‘महिलाहरूलाई व्यवसाय क्षेत्रमा कसरी संग्लन गराउने र कसरी उहाँहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणमा साथ र सहयोग गर्छौ ।’

तृतीय उपाध्यक्ष बसन्ती प्रधानले महिलाका उत्पादनलाई सरकारी निकायले साथ दिनुपर्ने बताइन् । महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीहरूको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरूमा रहेको सीप, क्षमता र शंक्तिलाई देशको आर्थिक विकासमा रूपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरिएको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताइन् ।

स्थानीय उत्पादन र महिला उद्यमीहरूको उत्पादनलाई बजारीकरणमा प्रदर्शनीले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताइन् । पुस २४ देखि २८ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वारी मन्दिर परिसरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरूको उत्पादनहरू प्रदर्शनमा राखेका छन् ।

प्रदर्शनीमा विशेषगरी स्थानीयस्तरमा महिला उद्यमीले सञ्चालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडा, खाद्यान्न तथा परिकार, हस्तकलाका सामग्री, काठबाट बनेका वस्तुहरू, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवद्र्धन स्टललगायतका सामग्रीहरूका स्टल प्रदर्शनीमा रहनेछन् । यसपटक ६५ वटाभन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहेका छन् ।

प्रकाशित मिति : २०८० पुस २६ गते बिहीबार