18 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

थारू संस्कृति तथा भेषभूषालाई प्राथमिकता दिएका छौँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २५, २०८०  

हामीकहाँ चितवन राष्ट्रिय निकुञ्जपछिको सबैभन्दा व्यवस्थित राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज छ । जहाँ सबैभन्दा धेरै बाघको संख्या पनि छ । यी चिज हाम्रा पर्यटनका पूर्वाधारहरू हुन् । मेला महोत्सवबाट यी चिजको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो ।


० यतिबेला आर्थिक मन्दीका कारण व्यापारमा गिरावट आइरहेको छ । व्यापारीहरू निराश छन् । यस्तो बेला व्यापारीमा उत्साह थप्न यहाँहरूले कस्तो योजना बनाउनुभएको छ ?

हामी सधैँ व्यापार भएन भनेर निराशामै बसिरहँदा त्यसले आशा जगाउँदैन । आशा जगाउनका लागि नयाँ काम र नयाँ सिर्जनाहरू गर्नुपर्ने हुन्छ । त्यसैका लागि बाँसगढीको बजार अलिकति चलायमान होस् भन्नका लागि पनि यसपालिको महोत्सव हामी गर्दै छौँ । यसबाट केही आर्थिक लक्ष्य हासिल गर्दै बाँसगढीको व्यापार वृद्धिमा टेवा पुग्ने लक्ष्य राखेका छ ।

० अहिले व्यापारीका खास असन्तुष्टि वा गुनासा के छन् ?

बैंकिङ प्रणालीबाट सञ्चालन गर्नुभएका व्यवसायीहरूको दुखेसो भनेकै के छ भने हिजो बैंकले लोन दिने बेलामा ८ प्रतिशत ९ प्रतिशतमा लोन दियो आज यो आर्थिक क्राइसिसको अवस्थामा जतिबेला व्यापारीहरूको व्यापार छैन त्यो समयमा आएर बैंकले सावाँ ब्याज भुक्तानी गर्न तारन्तार गर्ने, ब्याजको दरहरू वृद्धि गर्र्ने जसका कारण धेरै व्यापारीहरूलाई व्यापार मन्दी भएको अवस्थामा ऋण चुक्ता गर्नुपर्दा, ऋणको ब्याज बढेर आउँदा किस्ता बढी हाल्नुपर्दा अलिकति समस्यामा परेको हामीलाई महसुस भएको छ । धेरै व्यापारीहरूको गुनासो यही छ । अर्कोतिर देशको राजनीति चलायमान नहुँदा यहाँका युवाहरूमा वितृष्णा बढ्दै विदेश पलायन हुुँदै जानेक्रमले गर्दा स्थानीयस्तर व्यापार गरेर बसेका व्यापारीहरूको व्यापार घट्दोक्रममा रहेको छ । यो ठूलो चिन्ताको विषय छ । यसलाई एउटा विषय बनाएर हामीले विभिन्न सरकारी निकायमा ज्ञापनपत्रहरू बुझाउने गरेका छौँ । यसका बारेमा राष्ट्रियस्तरबाटै नेपाल सरकारले अब युवाहरूलाई विदेश पलायन हुन कसरी रोक्ने र यहाँको व्यापार व्यवसायलाई कसरी वृद्धि गराउन सकिन्छ भन्ने खालको प्लान नै सार्वजनिक गर्नुपर्छ ।

० कतिपय साना व्यापारीहरू व्यापार नभएर ग्रसित त छन् नै । पालिकाहरूका विभिन्नखाले कर र सडकपेटीमा व्यापार गर्न नदिने रबैयाले साना व्यापारीहरू थप पीडित बनेका गुनासा सुनिन्छन् । बाँसगढीमा यसको के छ अवस्था ?

धेरै व्यवसायीले स्थानीय सरकारलाई कर तिरेर व्यवसाय सञ्चालन गर्नुभएको छ । कर तिरेर व्यवसाय सञ्चालन गर्दागर्दै बाहिर अन्य जिल्लाबाट, भारततिरबाट व्यापारीहरूले मोटरसाइकलमा, टोकरीमा डुलाएर सामान बेच्ने काम हुँदै आएको छ । यस्तो कामलाई उद्योग वाणिज्य संघको तर्फबाट नगरपालिकाभित्र प्रतिबन्ध लगाउने धेरै कोसिस पनि ग¥यौँ । यसलाई केही हदसम्म सुधार पनि गरेका छौँ । यहाँका स्थानीय स्तरमा उत्पादन भएका कृषिजन्य सामग्रीहरू जुन टोकरीमा बोकेर आउनुहुन्छ, यहाँ उत्पादित हस्तकलाका सामग्री जो बाटोमा बेच्दै ल्याउनुहुन्छ हामीले त्यसमा कुनै छेकबार गरेका छैनौँ । हाम्रो पालिकामा त्यो समस्या पनि छैन ।

० कतिपय ठाउँमा बजारीकरणको अवस्था शून्य भएका कारण वा बजार व्यवस्थापन राम्रो नभएका कारण पनि उपभोक्ता र साना व्यापारी मारमा परेको पाइन्छ । यहाँहरूले यो समस्यालाई कसरी समाधान गर्नुभएको छ ?

हाम्रो नगरपालिकामा नगरपालिकाले नै कृषि हाट सञ्चालनमा ल्याउन धेरै ठूलो कोसिस गरेको हो । तर त्यहाँ उत्पादन गर्ने कृषकहरूले त्यो हाटबजारमा लगेर बेच्नुभन्दा पनि उहाँहरूलाई खोइ किन हो घरघरै जान नै राम्रो लाग्छ । टोकरीमा लिएर आउनुहुन्छ अनि बेचेर जानुहुन्छ । त्यो व्यवसायलाई हामी उद्योग वाणिज्य संंघले पनि यो स्थानीय उत्पादन नै हो । यसमा रोक लगाउनुहुँदैन । अब उहाँहरूलाई एक ठाउँमा बसेर बेच्नोस् भन्दा अलिकति समस्याको पाटो देखिने भएकाले त्यो तर्फ चाहिँ हामीले हात हालेका छैनौँ । अन्य बजारमा ठेला राखेर, सटरमै तरकारी राखेर बेच्नेहरूले व्यवस्थित रूपमै बेच्नुभएको छ ।

० यहाँहरू निर्वाचनमा जाँदै गर्दा व्यापारीलाई विभिन्न खालका योजनाहरू दिनुभयो । तीप्रति तपाईहरू कत्तिको प्रतिबद्ध भएर काम गरिरहनुभएको छ ?

हामीले काम गरिरहेका छौँ । हाम्रो मुख्य समस्या भनेकै डुलुवा व्यापारीको कुरा हो । डुलुवा व्यापारीमा कृषिलाई छोडेर अन्य व्यापारमा हामीले कसेका नै छौँ । स्थानीय स्तरमा भएका चिजहरूलाई हामीले हेरेर छोड्ने गरेका छौँ भने बाहिरी जिल्ला वा भारतबाट आउने व्यापारीलाई हामीले पूर्णतया रोक लगाएकै छौँ । अर्को बाँसगढी उद्योग बाणिज्य संघ महासंघको सदस्य होइन अहिले पनि । हामी प्रदेशसँग मात्रै जोडिएका छौँ । महासंघसँग जोडिनका लागि यो साल हामीले पहल गरेका छौँ । सँगसँगै बाँसगढीलाई ग्रिन जोन बनाउने भन्ने कुरा छ । यसपालि असार साउनमा हामीले बाँसगढीको ग्रिन लाइन जोनमा पहिला लगाएर मरेका बिरुवाका ठाउँमा बिरुवा थप्ने काम गरेका छौँ । नलगाएका ठाउँमा बिरुवाहरू रोप्ने काम ग¥यौँ । त्यसैगरी, आर्थिक मन्दीले थला परिरहेका व्यापारीका भाडा घटाउनका लागि पहल ग¥यौँ जसमार्फत कतिपय घरधनीले भाडा घटाएर सहयोग पनि गरिदिनुभएको छ । हाम्रो अधिकार क्षेत्रभित्र रहेर हामीले गर्नसक्ने काममा यदि कसैले गुनासो गर्नुहुन्छ भने हामी ती गुनासा सम्बोधन गर्न प्रतिबद्ध भएर लागेका छौँ ।

० भर्खरै पनि तपाईहरूले बाँसगढीमा धार्मिक महोत्सव गर्नुभयो । यसबाट यहाँका व्यापारीले कत्तिको लाभ पाए ?

पक्कै पनि कुनै महोत्सव भइसकेपछि त्यहाँ मानिसहरूको भीडभाड हुने नै गर्छ । त्यो धार्मिक महोत्सवमा आउने सम्पूर्ण भक्तालुहरूले बाँसगढीको बजारबाट केही न केही सामान पक्कै किनमेल गर्नुभएको छ । त्यसले गर्दा बाँसगढीको बजारमा व्यापार वृद्धि भएको महसुस हामीलाई भएको छ ।

० महोत्सव मनाउँदै गर्दा आन्तरिक वा बाह्य पर्यटक कत्तिको बाँसगढीमा आएका छन् ?

हाम्रो बाँसगढीमा महोत्सव गर्दैगर्दा हाम्रा दर्शक भनेका बढैयाताल, बारबर्दिया, कोहलपुुर, नेपालगन्जका दर्शक त्यहाँ पुग्दैगर्दा बाटोमै केदारेश्वर धाम देख्नुहुन्छ । यसले थोरै भए पनि केदारेश्वर धामको पर्यटकलाई टेवा पुग्छ । हामीकहाँ चितवन राष्ट्रिय निकुञ्जपछिको सबैभन्दा व्यवस्थित राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज छ । जहाँ सबैभन्दा धेरै बाघको संख्या पनि छ । यी चिज हाम्रा पर्यटनका पूर्वाधारहरू हुन् । मेला महोत्सवबाट यी चिजलाई अझ आकर्षित गरेर त्यहाँ पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो ।

० यदि बाँसगढीमा पर्यटकले एक दिन बिताउनुप¥यो भने त्यहाँ के गरेर बिताउन सक्छन् ? के छ त्यस्तो ?

तपाईं बाँसगढीमा एक दिन त भक्ति गरेरै बिताउन सक्नुहुन्छ । नेपाल सरकारले पर्यटकीय गन्तव्यको सयौँ सूचीमा राखेको केदारेश्वरधामको १०८ फिटको ज्योतिर्लिङ्ग हामीकहाँ छ । त्यहाँ दिनभरि तपाईंले ध्यान स्तुति गरेर पनि आफ्नो एक दिन बिताउन सक्नुहुन्छ । त्यसको साथसाथै तपाईं बाँसगढीको अलिकति दक्षिणतिर लाग्नुभयो भने त्यहाँ तपाईंले बढैयातालको माछा खाँदै ताल घुम्न सक्नुहुन्छ । त्यस्तै, बाँसगढी बजारबाट अलिकति उत्तर जानुभयो भने ७–८ किलोमिटरभित्र च्यामा ताल छ । यो च्यामा तालका बारे धेरै प्रचारप्रसार हुन सकेको छैन ।
च्यामा ताल बाँसगढी मात्र होइन, बाँके बर्दियाकै एउटा राम्रो पर्यटकीय स्थल तथा पिकनिक स्पट बन्न सक्छ । त्यस्तै, बाँसगढीबाट अलि भित्र बेलौली भन्ने ठाउँमा बेलौली सीमसार क्षेत्र रहेको छ ।

० तपाईंले च्यामा तालको कुरा त गर्नुभयो । योे तालको खास विशेषता के हो ?

यो एउटा सीमसार क्षेत्र हो । बर्दिया राष्ट्रिय निकुञ्जसँग यो नजिक छ । यहाँको शान्त र सुन्दर वातावरण नै यसको खास विशेषता हो । यहाँ गएर तपाईं प्रकृतिको भरपूर आनन्द उठाउनुका साथै पिकनिकको रमाइलो उठाउन सक्नुहुन्छ । यो तालमा सदाबहार पानी हुन्छ । निकुञ्जका वन्यजन्तुले पानी पिउने ताल हो यो ।

० यहाँ वन्यजन्तुले पानी खाने ठाउँ भन्नुभयो । त्यहाँ त बाघ भालुको पनि डर होला नि ! अहिले बर्दियामा पनि बाघको आक्रमणबाट धेरै जनाको ज्यान गइसकेको छ !

होइन, त्यहाँ अहिले मानिसहरूको बाक्लै आवतजावत हुन्छ । पिकनिक खान र घुम्न मानिसहरू आउजाउ गरिरहनेहुँदा यहाँ बाघको त्यस्तो डर छैन ।

० अहिले बर्दियाका बढैयाताल, राजापुर, ठाकुरबाबालगायतका ठाउँमा मेला तथा माघी महोत्सव लाग्दै छन् । तपार्इंहरूले पनि बाँसगढी छैटौँ माघ महोत्सव गर्दै हुनुहुन्छ । अन्य मेलाभन्दा तपाईंहरूको मेला के मानेमा फरक वा विशेष हुन्छ ?

यी मेला प्राय सबै ठाउँका उस्तै–उस्तै नै हुन्छन्् । तर यसपटक हामीले थारू समुदायको बाहुल्यता भएको क्षेत्र भएकाले थारू संस्कृतिका कुरालाई विशेष प्राथमिकतामा राखेका छौँ । थारूका विभिन्न देवीदेवताका कुरा, समुदायका भेषभूषा, उनीहरूले प्रयोग गर्ने ढिकी, जाँतो, छतरीलगायतका कुरा मेलामा प्रदर्शनीमा राखेर अन्य मेलाभन्दा नयाँ बनाउने सोचमा छौँ ।

० मेलाको मुख्य उद्देश्य के हो ?

मेलाको मुख्य उद्देश्य त स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने, पर्यटनको विस्तार गर्ने नै हो । उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउनुका साथै मेलाका माध्यमबाट स्थानीय स्तरका पर्यटकीय क्षेत्रको पहिचान गराउने हो । स्थानीय प्रतिभाहरूको पहिचान गर्ने र उनीहरूलाई प्रस्फुटनको अवसर प्रदान गर्नु पनि मेलाको उद्देश्य हो ।

० मेलामा लक्षित वर्ग कुन हो ?

हामीले बाँके र बर्दिया जिल्लालाई नै लक्षित गरेका हौँ । तर हाम्रा प्रचार सामग्री देशका कुनाकुनामा पुगेका छन् । सामाजिक सञ्जाल नै अहिले प्रचारको मुख्य माध्यम बनेको छ । त्यसले गर्दा बाटो पर्दा बाँसगढीमा मेला छ लौ न त पसेर जाउँ भन्ने लागेर पस्न सक्ने सम्भावना रहन्छ ।

प्रकाशित मितिः बुधबार, पुस २५, २०८०     8:25:03 AM  |