३३औँ प्याब्सन स्थापना दिवस देशभर विभिन्न कार्यक्रम मनाइँदै छ । सोही क्रममा मंगलबार पहिलोपटक कोहलपुरमा जिल्लास्तरीय कार्यक्रम आयोजना गर्न लागिएको छ । प्याब्सन स्थापना दिवसको अवसरमा त्यस क्षेत्रसँग सम्बन्धित विभिन्न अगुवाहरूको धारणा ः
यम रावत
प्याब्सन बाँके अध्यक्ष
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ३३औँ स्थापना दिवसको अवसरमा यसक्षेत्रसँग सम्बन्धित सबै महानुभावलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । विद्यालयका सञ्चालक, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, अभिभावकलगायत सबैलाई यो शैक्षिक उत्सवको शुभकामना प्रदान गर्न पाउँदा खुसी महसुस गरेको छु । हामीले ३३औँ प्याब्सन स्थापना दिवस्, शिक्षक सम्मान कार्यक्रम तथा विविध कार्यक्रम गरी मनाउँदै छौं । पहिलोपटक ऐतिहासिक रूपमा कोलपुरमा खुला चौरमा स्थापना दिवस मनाउन लागिएको हो । देशको भन्डै ३१ प्रतिशत शिक्षामा राज्यलाई निजी विद्यालयहरूले सहयोग गर्दै आएका छन् । देशको कुल राजस्व संकलनमा ७ प्रतिशत राजस्व सहयोग निजी विद्यालयहरूले गर्दै आएका छन् भने थुप्रैलाई रोजगारी पनि दिँदै आएका छौँ ।
निजी स्रोत र व्यवस्थापनबाट सञ्चालित निजी विद्यालयहरूको संरक्षकको रूपमा देशभर छरिएर रहेका निजी विद्यालयलाई एउटै छातामुनि ल्याउने उद्देश्यले २०४७ सालमा प्याब्सनको स्थापना गरिएको हो । ११ हजार निजी विद्यालयहरूमध्ये बाँकेमा १ सय २४ विद्यालय प्याब्सनमा आबद्ध रहेका छन् । अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सक्षम विद्यार्थीहरू उत्पादन गर्दै आएका छौं ।
केशर आले
संस्थापक अध्यक्ष, गोरखा युनाइटेड स्कुल
३३औँ स्थापना दिवस एउटा शैक्षिक उत्सव पनि हो । यस अवसरमा सम्बन्धित सबै पक्षलाई शुभकामना दिन चाहन्छु । विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेर यो कार्यक्रम मनाउँदै आएको अवस्था हो । यसपटक पनि निरन्तरता दिइएको छ । अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सक्षम विद्यार्थीहरू उत्पादन गरेर निजी विद्यालयले बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसको मूल्यांकन ती विद्यार्थी र उनीहरूका अभिभावकले पक्कै पनि गर्नुभएकै होला । बाहिरबाट हेर्दा टन्नै पैसा कमायो होला भन्ने सोचिन्छ होला तर वास्तविकता त्यो होइन । गहिरो गरी सोच्ने हो भने निजी विद्यालय सञ्चालनका पनि अनेकौँ कठिनाइ छन् ।
विद्यालय सञ्चालनका कठिनाइका बीच शिक्षा, राजस्व र रोजगारी सिर्जनामा गरेको योगदानको उचित मूल्यांकन हुनुपर्छ । शिक्षा राज्यको जिम्मेवारी हुँदाहुँदै पनि निजी विद्यालय सञ्चालनको प्रचलन विश्वभर छ । त्यस्तै, यहाँ पनि शिक्षा ऐनको दायरामा रही विद्यालय सञ्चालनमा छन् । स्थानीय तहले समेत निजी विद्यालयलाई सकारात्मक सहयोग गर्नुपर्छ । शिक्षकहरूको तालिम, प्रशिक्षण जस्ता गतिविधिमा संलग्न गराउनुपर्छ । त्यसका लागि हामीले के गर्नुपर्छ गर्न तयार छौं । तर सहकार्य गरौं ।नारायण सिग्देल
संस्थापक, रामजानकी बोर्डिङ स्कुल
निजी विद्यालयमा ठूलो संख्यामा विद्यार्थीहरू पढ्छन् भने करोडौँको लगानी भएको छ । त्यो लगानीको प्रतिफल लगानीकर्तालाई मात्रै नभई उन्नत विद्यार्थी उत्पादन, राजस्व वृद्धि र रोजगारी सिर्जनामा भइरहेको छ । शिक्षा, राजस्व र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि नीति निर्मातादेखि समाजका कतिपय पक्षले नकारात्मक दृष्टिकोण निर्माण नगरेको पाइएको छ । यस्तो नकारात्मक सोचको अन्त्य हुनुपर्छ । निजी विद्यालयले निर्वाह गरेको योगदानको उचित मूल्यांकन हुनुपर्छ । फाइदाका लागि मात्रै निजी विद्यालय खुलेका छन् भन्ने एकोहोरो सोच राख्ने हो भने त्यसले निजी विद्यालयले देशलाई पु¥याएको योगदानको उचित मूल्यांकन गरेको ठहर्दैन । राज्यका नीति निर्माण र समाजले पनि स्वतन्त्र मूल्यांकन गरेर निजी विद्यालयका कठिनाइमा साथ दिनुपर्छ जस्तो लाग्छ । निजी विद्यालयले भोगेका कठिनाइको चर्चा कहीँकतै नहुँदा चित्त दुखाइ हुन्छ ।
दिनेश शर्मा
प्याब्सन खजुरा अध्यक्ष
पछिल्लो समय उत्पन्न आर्थिक संकटले निजी क्षेत्रलाई प्रभावित बनाएको छ । त्यही पनि विद्यालय निरन्तर सञ्चालन गरिरहेका छन् । कतिपय अप्ठ्यारा अवस्थामा नीति निर्माताहरूले साथ दिनुपर्छ । निजी विद्यालय भनेको शिक्षा क्षेत्रको उन्नति प्रगतिमा क्रियाशील छन् भन्ने बुझाइ आउनुपर्छ जस्तो लाग्छ । निजी विद्यालयले विद्यार्थीबाट शुल्क लिएर राम्रो सुविधा, योग्य शिक्षकको व्यवस्थापन र थप अनुकूल सिकाइ वातावरण प्रदान गर्दै आएका छन् ।
विकास बज्राचार्य
प्याब्सन नेपालगन्ज अध्यक्ष
थुप्रै चुनौतीको सामना गरेर भए पनि निजी विद्यालयले देशको शिक्षा प्रणालीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सार्वजनिक शिक्षा प्रणालीको विकल्पका रूपमा नेपालमा निजी विद्यालयलाई हेर्ने गरिएको कुरा सत्य हो । निजी विद्यालय औपचारिक रूपमा नेपालमा निजी शिक्षालयहरूको स्थापना भएको झन्डै तीन दशक पूरा गरेको छ । यो अवधिमा शिक्षा क्षेत्रले जुन फड्को मारेको छ त्यसमा निजी विद्यालयको भूमिका अहम् छ ।
गोविन्द सुवेदी
प्याब्सन कोहलपुर अध्यक्ष
निजी स्रोत र व्यवस्थापनबाट सञ्चालित निजी विद्यालयको संरक्षकको रूपमा देशभरि छरिएर रहेका निजी विद्यालयलाई एउटै छातामुनि ल्याउने उद्देश्यले प्याब्सनको स्थापना २०४७ सालमा भएको हो । स्थापना भएपश्चात देशभरि शैक्षिक कार्यक्रममा एकरूपता ल्याउने संस्थागत हकहितका लागि काम गर्नेलगायतका काम गर्दै आएको छ । स्थापना दिवसलाई शैक्षिक उत्सवका रूपमा मनाउन लागिएको छ । पहिलो पटक कोहलपुरमा हुन लागेको स्थापना दिवसमा विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणलगायतका कार्यक्रम छन् । यस अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु ।
प्रतिक्रिया दिनुहोस्