फाइल तस्बीर
नेपालगन्ज।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बाँकेले आफ्नोे ३३औँ प्याब्सन स्थापना दिवस आज (मंगलबार) कोहलपुरमा मनाउँदै छ । ३३औँ प्याब्सन स्थापना दिवस फरक तरिकाले मनाउन थालिएको बाँके प्याब्सनले जनाइएको छ । स्थापना दिवस मनाउनुपूर्व आइतबार आयोजित पत्रकार सम्मेलनमा समाजमा निजी विद्यालयलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएकोमा यसका सञ्चालकहरूले चिन्ता व्यक्त गरेका छन् ।
सम्मेलनमा प्याब्सन बाँकेका अध्यक्ष यम रावतले भने, ‘बोर्डिङ स्कुलले शिक्षा क्षेत्रमा ३१ प्रतिशत, राजस्व संकलनमा ७ प्रतिशत र ३ लाखभन्दा बढीलाई रोजगारी दिएर देश निर्माणमा योगदान पु¥याएका छन् ।’ प्याब्सन स्थापना दिवस पहिलोपटक ऐतिहासिक रूपमा कोहलपुरको खुला चौरमा मनाउँदै गर्दा निजी विद्यालयले शिक्षा, राजस्व र रोजगारी सिर्जनामा पु¥याएको योगदानको चर्चा भइरहेको छ । स्थापना दिवसको पूर्वसन्ध्यामा रेडियो मिसनसँग कुराकानी गर्दै अध्यक्ष रावत भन्छन्, ‘अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सक्षम विद्यार्थीहरू उत्पादन गरेर हामीले बालबालिकाको भविष्य निर्माणको वातावारण देशमै बनाएका छौं ।
यसको मूल्यांकन ती विद्यार्थी र उनीहरूका अभिभावकले गरेका छन् ।’ निजी स्रोत र व्यस्थापनबाट सञ्चालित निजी विद्यालयहरूको संरक्षकको रूपमा देशभर छरिएर रहेका निजी विद्यालयलाई एउटै छातामुनि ल्याउने उद्देश्यले २०४७ सालमा प्याब्सनको स्थापना गरिएको उनले जानकारी दिए । ११ हजार निजी विद्यालयहरूमध्ये बाँकेमा १ सय २४ विद्यालय प्याब्सनमा आबद्ध रहेका छन् । त्यसमा ठूलो संख्यामा विद्यार्थीहरू पढ्छन् भने करोडौँको लगानी छ । त्यो लगानीको प्रतिफल लगानीकर्तालाई मात्रै नभई उन्नत विद्यार्थी उत्पादन, राजस्व वृद्धि र रोजगारी सिर्जनामा भइरहेको अध्यक्ष रावत बताउँछन् ।
शिक्षा, राजस्व र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि नीति निर्मातादेखि समाजका कतिपय पक्षले नकारात्मक दृष्टिकोण निर्माण गरेकोप्रति निजी विद्यालयका सञ्चालकहरूको चित्त दुखाइ छ । उनीहरू सबैको एउटै स्वर छ, ‘यस्तो नकारात्मक सोचको अन्त्य हुनुपर्छ ।’ बेलायतको सैनिक सेवाबाट सेवानिवृत भई स्वदेशमै रहेर शैक्षिक जागरण अभियानमा सहभागी गोरखा युनाइटेड पब्लिक स्कुल संस्थापक अध्यक्ष केशरबहादुर आले भन्छन्, ‘बाहिरबाट हेर्दा टन्नै पैसा कमायो होला भन्ने सोचिन्छ होला तर वास्तविकता त्यो होइन । गहिरो गरी सोच्ने हो भने निजी विद्यालय सञ्चालनका कठिनाइ बुझ्न सकिन्छ ।’
विद्यालय सञ्चालनका कठिनाइका बीच शिक्षा, राजस्व र रोजगारी सिर्जनामा गरेको योगदानको उचित मूल्यांकन हुनुपर्ने उनको भनाइ छ । संस्थापक अध्यक्ष आलेले शिक्षा राज्यको जिम्मेवारी हुँदाहुँदै पनि निजी विद्यालय सञ्चालनको प्रचलन विश्वभर भएको उल्लेख गर्दै भन्छन्, ‘त्यस्तै यहाँ पनि शिक्षा ऐनको दायरामा रही विद्यालय सञ्चालनमा छन् ।’ अध्यक्ष आलेले स्थानीय तहले समेत निजी विद्यालयलाई सकारात्मक सहयोग गर्न नसकेकोमा चित्त दुखाएका छन् । शिक्षकहरूको तालिम, प्रशिक्षण जस्ता गतिविधिमा निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्नेमा जोड दिदै अध्यक्ष आले भन्छन्, ‘त्यसका लागि हामीले के गर्नुपर्छ गर्न तयार छौं । तर सहकार्य गरौं ।’
कोहलपुरको पहिलो निजी विद्यालय रामजानकी बोर्डिङ स्कुलका संस्थापक नारायण सिग्देल निजी विद्यालयले निर्वाह गरेको योगदानको मूल्यांकन हुन नसकेको बताउँछन् । ‘फाइदाका लागि मात्रै निजी विद्यालय खुलेका छन् भन्ने एकोहोरो सोच राख्ने हो भने त्यसले निजी विद्यालयले देशलाई पु¥याएको योगदानको उचित मूल्यांकन गरेको ठहर्दैन,’ सिग्देल भन्छन्, ‘राज्यका नीति निर्माण र समाजले पनि स्वतन्त्र मूल्यांकन गरेर निजी विद्यालयका कठिनाइमा साथ दिनुपर्छ जस्तो लाग्छ ।’ निर्देशक सिग्देलले निजी विद्यालयले भोगेका कठिनाइको चर्चा कहीँकतै नहुँदा चित्त दुखाइ हुने बताउँछन् ।
कोभिड र पछिल्लोपटक देशले भोगिरहेको आर्थिक मन्दीको मारमा निजी विद्यालय पनि परेका छन् तर उकास्न कुनै पक्षको चासो र चिन्ता नभएको सञ्चालकहरूको गुनासो छ । बैंकले स्कुलका सञ्चालकविरुद्ध ३५ दिने सूचना सार्वजनिक गर्दै कर्जा भुक्तानी गर्न अन्यथा कालोसूचीमा राख्न दिएका चेतावनी अब सामान्य भइसकेको उनीहरू बताउँछन् । पछिल्लो समय आर्थिक मन्दीले अभिभावकले शुल्क तिर्नै नसकिरहेको उनीहरूको भनाइ छ । ‘आर्थिक संकट गहिरिए पनि बैंकको ब्याज र किस्ता नतिरी सुखै छैन,’ निजी विद्यालय सञ्चालकहरूको साझा भनाइ छ, ‘अन्यथा धितोमा रहने सम्पत्ति लिलामीमा राख्ने तथा कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश हुने त्रास छ ।’
प्याब्सन खजुराका अध्यक्ष दिनेश शर्माको भनाइमा पछिल्लो समय उत्पन्न आर्थिक संकटले निजी क्षेत्रलाई प्रभावित बनाएको छ । त्यही पनि विद्यालय निरन्तर सञ्चालन गरिरहेको भन्दै शर्मा भन्छन्, ‘कतिपय अप्ठ्यारो अवस्थामा नीति निर्माताहरूले साथ दिनुपर्छ । निजी विद्यालय भनेको शिक्षा क्षेत्रको उन्नति प्रगतिमा क्रियाशील छन् भन्ने बुझाइ आउनुपर्छ जस्तो लाग्छ ।’ शर्मा निजी विद्यालयले विद्यार्थीबाट शुल्क लिएर राम्रो सुविधा, योग्य शिक्षकको व्यवस्थापन र थप अनुकूल सिकाइ वातावरण प्रदान गर्दै आएको उनी बताउँछन् ।
प्याब्सन नेपालगन्ज नगर समितिका अध्यक्ष विकास बज्राचार्य थुप्रै चुनौतीको सामना गरेर भए पनि निजी विद्यालयले देशको शिक्षा प्रणालीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् । सार्वजनिक शिक्षा प्रणालीको विकल्पका रूपमा नेपालमा निजी विद्यालयलाई हेर्ने गरिएको कुरा सत्य रहेको बज्राचार्य बताए । निजी विद्यालय औपचारिक रूपमा नेपालमा निजी शिक्षालयहरूको स्थापना भएको झन्डै तीन दशक पूरा गरेको छ । निजी स्रोत र व्यवस्थापनबाट सञ्चालित निजी विद्यालयको संरक्षकको रूपमा देशभरि छरिएर रहेका निजी विद्यालयलाई एउटै छातामुनि ल्याउने उद्देश्यले प्याब्सनको स्थापना २०४७ सालमा भएको हो ।
स्थापना भएपश्चात देशभरि शैक्षिक कार्यक्रममा एकरूपता ल्याउने संस्थागत हकहितका लागि काम गर्नेलगायतका काम गर्दै आएको प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुवेदी बताउँछन् । स्थापना दिवसलाई शैक्षिक उत्सवका रूपमा मनाउन लागिएको उनको भनाइ छ । पहिलो पटक कोहलपुरमा हुन लागेको स्थापना दिवसमा विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणलगायतका कार्यक्रम हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्