‘हेलो रमेश के छ ? ‘प्रतिबद्ध’मा प्रकाशित तेरा कथाको निकै चर्चा छ नि हो र ?’
‘नेपालमा अरूको कथा पढ्ने र त्यसको प्रशंसा गर्ने बानी भएका पनि रहेछन् ।’
जो भेटे पनि भन्छन्– ‘रमेशले त यसपटक मास्टरपिस कथा लेखेछ, गजबको
जीवन्त चरित्र खोजेछ उसले । कहाँ भेट्टाइस् तैँले यस्तो जीवन्त चरित्र ? त्यस
पात्रको दुःख, कष्ट र विद्रोहको त्यति सजीव चित्रण गर्न पक्कै पनि तैँले त्यसलाई
राम्ररी चिनेको हुनुपर्छ । राम्ररी अध्ययन गरेको हुनुपर्छ ।’
‘त्यस्ता पात्रहरूको राम्ररी अध्ययन नगरी जनपक्षीय कथा लेख्न कहाँ सकिन्छ
र ? मैले वर्षौं उसका गतिविधिहरूको अध्ययन गरेको छु । पाइला–पाइलामा
उसले भोगेका दुःखकष्टको पीडादायक क्षणहरूलाई नजिकैबाट देख्या छु । उसको
मौन विद्रोहको ज्वारभाटालाई अनुहारका रेखारेखामा मैले पढ्याछु । अनि मात्रै
मैले उसलाई कथामा भित्र्याएको हो ।’
‘यति नजिकबाट अध्ययन गर्न तैँले उसलाई कहाँ भेटिस् ?’
‘ऊ मेरो हली हो, वर्षौंदेखि ऊ मेरै घरमा बसेको छ ।’
‘के ? के भन्दै छस् तँ रमेश ? ऊ तेरो हली ? यस्तो नारकीय र कष्टप्रद
जीवनपायन गर्दै छ, तेरै घरमा हली भएर ? रमेश तँ… त प्रगतिशील विचारको
मान्छे, तैँले उसलाई यस स्थितिमा राख्नु हुन्छ ? तेरो आत्माले यो सबै दृश्य हेर्न
दिन्छ ? उसलाई तैँले उसको मोहियानी हक दिन पर्दैन ?’
‘के कुरा ग¥या तैँले ? आजको यो महँगीको युगमा पहाडको दस मुरी
खेतले खानै पुग्दैन । मेरो जिउडाल हेर् डल्ला फोरेर काम गर्न सक्छु त म ?
दाजुले लिएको ऋण र त्यसको ब्याज तिर्न नसकेर पो बस्या छ त्यो मकहाँ ।
त्यति जाबो खेतबाट मोहियानी छुट्टयाइदिने हो भने मेरा लागि कति बाँकी रहन्छ
र ? उसलाई मुक्त गरिदिएँ भने खेती कसले गर्ने ? अनि मैले के खाने ?’
रमेश तँ जनपक्षीय साहित्यकार होस्, तैँले यसरी सोच्न हुन्न । तैँले त
आफ्नो दायित्व पूरा गर्नुपर्छ र ऊप्रति दया देखाउनुपर्छ ।’
‘ऊप्रति दया लागेर त मैले उसलाई मेरो कथामा स्थान दिएँ । उसलाई
माध्यम बनाएर ऊजस्ता शोषित पीडित नुनिलो आँसु पिएर बाँच्न विवश
जनताको उन्मुक्तिका लागि क्रान्तिको सन्देश दिएको छु । एउटा जनपक्षीय
साहित्यकारले योभन्दा बढी के गर्नसक्छ र ? मैले त आफ्नो दायित्व इमानदारीका
साथ पूरा गरेकै छु ।
प्रकाशित मिति : २०८० पुस २१ गते शनिबार
प्रतिक्रिया दिनुहोस्