कोहलपुर।
कोहलपुरमा निर्मित लामो दूरीको अत्याधुनिक बसपार्कको टर्मिनल भवन र भ्युटावर सञ्चालनका लागि कोहलपुर नगरपालिकाले नगरबासीसँग अन्तक्र्रिया गरेको छ । निर्माण सम्पन्न भएर उद्घाटनसमेत भइसकेका यी संरचना सञ्चालनका लागि ठेक्का लाग्न नसकेपछि नगरपालिकाले शुक्रबार एक अन्तक्र्रिया गरेर नगरबासीसँग सुझाव लिएको हो । नगरपालिकाले पटक–पटक प्रस्ताव आह्वान गर्दासमेत ती संरचना सञ्चालनमा आउन सकेका छैनन् ।
गत भदौदेखि नयाँ बसपार्क सञ्चानलमा आए पनि त्यसको टर्मिनल भवन भने अझै सञ्चालन हुन सकेको छैन । त्यसैगरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले न्युरोडको माझमा निर्मित भ्युटावर गत असारमै निर्माण सम्पन्न भए पनि सञ्चालन हुन नसकेको हो ।
नगरपालिकाले टर्मिनल भवन सञ्चालनका लागि पहिलोपटक २०७९ चैत १६ गते, २०८० वैशाख २० गते र २०८० जेठ ११ गते वार्षिक न्यूनतम १ करोड ७४ लाख ६५ मूल्य कायम गर्दै प्रस्ताव आह्वान गरेको थियो ।
सो अवधिमा कसैको पनि आवेदन नपरेपछि फेरि दोस्रोपटक आधा मूल्य घटाएर ८७ लाख ३३ हजार न्यूनतम मूल्य कायम गर्दै २०८० जेठ २९ गते, २०८० असार १३ गते र २०८० साउन २६ गते अर्को प्रस्ताव आह्वान गरेको थियो । तर यो अवधिमा पनि एउटै आवेदन परेको थिएन । त्यसैगरी भ्युटावर सञ्चालनका लागि पनि वार्षिक २४ लाख रुपैयाँ भाडा निर्धारण गरेर तीन पटकसम्म सूचना प्रकाशन गरिएको थियो । तर कुनै पनि प्रस्तावमा कोही इच्छुक नदेखिएको नगरपालिकाले जनाएको छ ।
शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यी संरचना कोहलपुर नगरपालिकाका साझा सम्पत्ति भएकाले चाँडो सञ्चालनमा ल्याउन सुझाव दिएका छन् । कोहलपुरका उद्योगी, व्यापारी, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरूको सहाभागिता रहेको कार्यक्रममा उनीहरूले बनिसकेका संरचना जसरी पनि उपयोगमा ल्याइनुपर्ने बताएका थिए । सर्वप्रथम यहाँस्थित सम्पूर्ण राजनीतिक दलहरूले सामूहिक प्रतिबद्धता जनाएर ती संरचना सञ्चालनका लागि बाटो तय गर्नुपर्ने कतिपयको भनाइ थियो ।
उनीहरूले नगरपालिकाले सार्वजनिक रूपमा छलफलको सुरुवात गरेकाले अब कुनै निकास निस्किनेमा उनीहरूले आशा व्यक्त गरे । भ्युटावर सञ्चालनका लागि सर्वप्रथम नगरपालिकाले भ्युटावरवरिपरि निर्माण गर्ने भनिएका संरचना निर्माण गरिदिनुपर्ने सहभागीहरूको भनाइ थियो । नयाँ बसपार्क सञ्चालनमा आएसँगै पुरानो बसपार्क सुनसान बनेकाले व्यापारीहरू मारमा परेको पनि उनीहरूले बताए । यसप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनीहरूको आग्रह थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले संरचना तयार भइसकेकाले अब त्यसलाई कसरी सञ्चालनमा ल्याउने भनेर सबैले सोच्नुपर्ने बताइन् । ‘निर्माण हुनुपथ्र्यो वा हुनुहुँदैनथ्यो भनेर अब वादविवाद गर्नुको कुनै अर्थ छैन,’ उनले भनिन्, ‘बनिसकेका संरचना अब सबै मिलेर सञ्चालनमा ल्याउनुपर्छ ।’ योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्नेमा विगतमा त्यसो हुन नसके पनि अब बनिसकेका संरचनालाई उपयोगमा ल्याउनुको विकल्प नभएको उनको भनाइ थियो ।
‘संरचना बन्नु आफैँमा नराम्रो होइन,’ मन्त्री नमुनाको भनाइ थियो, ‘तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्छ । लगानी गर्दा अलि छिटो प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्छ ।’ उनले कोहलपुर पश्चिम नेपालका २४ जिल्लाहरूको गेटवे भएकाले यसको महत्व बेग्लै भएकोे बताइन् । कोहलपुरमा पर्यटकीय विकासको सम्भावना अत्यधिक भएकाले भविष्यका लागि यी संरचनाबाट फाइदा लिन सकिने पनि उनको भनाइ थियो ।
उनले आफू यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले यहाँको विकासका लागि हरसम्भव प्रयास जारी राख्ने प्रतिबद्धता पनि जनाइन् । बाँकेका कार्यालयहरू धमाधम अन्यत्र सरिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले कोहलपुरमा यातायातको शाखा भए पनि ल्याउन आफूले प्रयास गरिरहेको बताइन् । यातायात कार्यालयको एउटा शाखा भए पनि कोहलपुरमा ल्याउन आफूले सम्बन्धित मन्त्रालयसँग छलफल सुरु गरिसकेको उनले जानकारी दिइन् । ‘कोहलपुरमा यातायातको एउटा शाखा कार्यालय जसरी पनि म ल्याउँछु ।
यो मेरो प्रतिबद्धता भयो,’ उनले भनिन्, ‘अब त्यो कहाँ राख्ने नगरपालिकाले त्यो ठाउँको व्यवस्थापन गरोस् ।’कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले टर्मिनल भवन र भ्युटावर सञ्चालनका लागि पटकपटक प्रस्ताव आह्वान गर्दा पनि व्यवसायीहरू इच्छुक नदेखिएकाले यसबारे विस्तृत छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । यी संरचनाबारे वास्तविक जानकारी दिने र सञ्चालनका लागि सल्लाह सुझाव लिने उद्देश्यले यो छलफल चलाइएको मेयर आचार्यको भनाइ थियो ।
सुरुमा तीन करोड बढी प्रस्ताव गरिए पनि पछि त्यसको आधा १ करोड ६५ लाख र त्यसमा पनि घटाएर ८७ लाखमा प्रस्ताव आह्वान गर्दा पनि टर्मिनल भवन सञ्चालनका लागि कोही इच्छुक नदेखिएको उनले जानकारी दिए । उपप्रमुख संगीता सुबेदीले टर्मिनल भवन तथा भ्युटावर सञ्चालनका लागि सबै नगरबासीको सहयोग अपेक्षा गरिएको बताइन् । बसपार्क तथा भ्युटावरबारे विविध जानकारी प्रस्तुत गर्दै कोहलपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धोलकराज ढकालले यी संरचनाका विविध आयामबारे जानकारी दिँदै सञ्चालन तथा व्यवस्थापनका लागि सुझाव संकलन गर्ने उद्देश्य कार्यक्रमको रहेको बताए ।
पालिकाले निजी क्षेत्रसँगको साझेदारीमा गर्न सकिने कामहरू पहिचान गर्न कार्यक्रम उपयोगी हुने अपेक्षा लिइएको उनको भनाइ थियो ।
पहिलोपटक नगरपालिकाले यी संरचना सञ्चालनका लागि खुला रूपमा छलफल आयोजना गरेकाले आफूहरूको ध्यानाकृष्ट भएको उद्योगी व्यवसायीहरूको भनाइ थियो । यसबारे आफूहरू नगरपालिकासँग कुरा गर्न तयार रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए । ‘नगरपालिकासँग यस विषयमा छलफल गर्न हामी तयार छौँ,’ उनले भने, ‘सकभर कोहलपुरकै व्यवसायीले सञ्चालन गर्नोस् भन्ने हाम्रो चाहना हो ।
यदि उहाँहरू तयार हुनुहुन्न भने हामी तयार छौँ ।’ उनले भ्युटावर सञ्चालनका सम्बन्धमा छोटो समयको सम्झौता गर्ने भए बाँकी संरचना नगरपालिकाले निर्माण गरिदिनुपर्ने र १५–२० वर्षका लागि सम्झौता गर्ने भए बाँकी संरचना निर्माण गरेर भए पनि आफूहरू सञ्चालन गर्न तयार रहेको जानकारी दिए । त्यस्तै, नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले कोहलपुरको बसपार्क मुलुककैै नमुना बसपार्क भएकाले यसको सञ्चालनका लागि सबै पक्ष लाग्नुपर्ने बताए । वादविवादमा अल्झिनुभन्दा एकताबद्ध भएर आफ्नो ठाउँको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो । ‘सबै मिल्ने हो भने यी संरचना सञ्चालनमा ल्याउन कुनै कठिन छैन,’ उनले भने, ‘दिनको १० हजार कमाउन सक्यो भने बसपार्क चलाउन सकिन्छ ।’ यसका लागि सबै मिलेर वातावरण बनाउनुपर्ने उनको धारणा थियो ।
अन्तरक्रियामा कोहलपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा वडा नम्बर ११ का पूर्वअध्यक्ष कर्णबहादुर थापा, संघका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठ, गोपालप्रसाद अधिकारी, व्यवसायीहरू सतिश अग्रवाल, देवानन्द अर्याललगायतले आ–आफ्ना धारणा राखेका थिए । उनीहरूले भाडा समायोजन गरेर भए पनि नगरपालिकाले ती संरचना सञ्चालनमा ल्याउने वातावरण बनाउनुपर्ने बताएका थिए ।
४० प्रतिशत नगरपालिकाको र ६० प्रतिशत नगर विकास समितिको ऋण लगानी रहेको बसपार्क जम्मा २९ करोड ५३ लाखमा निर्माण सम्पन्न भएको हो । त्यसैगरी, भ्युटावरको निर्माण लागत ५ करोड ६३ लाख रूपैयाँमा रहेको नगरपालिकाले जनाएको छ । भ्युटावरवरिपरिका अन्य संरचना निर्माण गर्दा करिब १२ करोड लगानी हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्